व्यवस्थित जीवनशैली र प्राकृतिक चिकित्साको मार्गदर्शन : ‘होलिस्टिक दर्शन’

होलिस्टिक संवाददाता

जनस्वास्थ्य, प्राकृतिक चिकित्सा र पोषणपूरक आहारको क्षेत्रमा क्रियाशील रहँदै आएका डा. डीबी सुनुवारको पछिल्लो कृति ‘होलिस्टिक दर्शन’ हालै बजारमा आएको छ । झण्डै आधा दर्जन पुस्तकाकार कृतिका सर्जक डा. सुनुवारको यो कृति विषयवस्तुको छनोट र नामकरणका हिसाबले यसअघिका कृतिहरूको तुलनामा निकै गम्भीर, व्यापक र बोझिलो छ ।

हालसम्म प्रयोगमा रहेका नेचुरोपेथी, होमियोपेथी, आयुर्वेदिक र एलोपेथी– चारै थरी उपचार पद्धतिको समष्टिगत संयोजनमा सर्वप्रथमतः रोग लाग्नै नदिने र लागिहालेमा उपचार गर्ने स्वास्थ्य दृष्टिकोणलाई यस पुस्तकले ‘होलिस्टिक उपचार पद्धति’ का रूपमा परिभाषित गरेको छ । त्यसैगरी, विभिन्न शास्त्र, ग्रन्थ र विद्वान्हरूका उद्धरणहरू समेत समाविष्ट गरी यस कृतिले ‘दर्शन’ पदावलीबारे प्रष्ट्याउने जमर्को गरेको छ ।

पुस्तकको भूमिकामा लेखिएको छ– नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा दर्शन शब्दलाई यसरी अथ्र्याइएको छ– ‘१. कुनै पनि वस्तुलाई हेर्ने काम; नजरगराइ; हेराइ । २. कुनै देवदेवीका प्रतिमा आदि वा योगी, महात्मा, सज्जन आदि आफ्ना मान्यजनलाई भक्तिपूर्वक गरिने ढोग र साक्षात्कार; नमस्कार । ३. प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचना र विश्लेषण गरिने विद्या; तत्सम्बन्धी विषयमा व्यापकरूपले यथार्थ परिचय दिने शास्त्र; आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन वा विश्लेषण ।’ दर्शन शब्दका यहाँ उल्लेखित तीन मुख्य अर्थ र सन्दर्भमध्ये यस कृतिका सन्दर्भ र अर्थ पहिलो र तेस्रोसँग सम्बन्धित छन् ।

‘मानव सभ्यताको विकासक्रमसँगसँगै सुरुआत भएको दर्शन नै आजको विकसित अवस्थामा आइपुगेको हो । मानव विकासका क्रममा जो जस्तो वातावरणमा रहँदै आयो, उसले त्यही वातावरणलाई पहिचान र समायोजन गर्ने प्रयत्न ग¥यो । समाजमा भएका विभिन्न वस्तु र ब्रह्माण्ड कहाँबाट सुरु भई कहाँ पुगेर अन्त्य हुन्छन् ? समाज किन गतिशील बन्यो ? गतिशीलताका कारण के–के हुन् ? ब्रह्माण्ड, सत्य, खोज, आत्मा, चेतना, विश्वास, संस्कृति आदि विभिन्न विषयको सुरुआत र अन्त्य के–कसरी हुन्छन् ? आदिजस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा नै दर्शनको सुरुआत भएको पाइन्छ । दर्शनको उत्पत्ति मानवजगत्, विचार, वातावरण, जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दुःखजस्ता विविध कारणबाट भएको मानिन्छ । यसको उत्पत्तिकाल यही हो भनेर किटान गर्न सकिँदैन तर मानव विचारको सृष्टि, ब्रह्माण्ड, सत्य, विश्वास र खोजीको सुरुआतबाटै दर्शनको पनि सुरुआत भएको हो भन्न सकिन्छ’– स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियामा दर्शनको अर्थ, उत्पत्ति र विकासक्रमबारे यसरी उल्लेख छ । दर्शन र दर्शनशास्त्रबारे केही विद्वान्हरूका परिभाषा हेरौं–

– सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् –सोक्रेटस् ।
– परलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान नै दर्शन हो –एरिस्टोटल ।
– सम्पूर्ण कलाहरूको जननी र दिमागको सच्चा औषधि दर्शन हो –सिसेरो ।
– विज्ञानका आधारहरूको तार्किक अध्ययन नै दर्शन हो –बर्त्रन्ड रुसेल ।

उल्लेखित अर्थ, परिभाषा र व्याख्याका आधारमा दर्शनका केही खास–खास क्षेत्र र उपक्षेत्रहरू छन् । (क) वास्तविकताको सिद्धान्त अर्थात् तत्त्व–मीमाङ्शा (ख) ज्ञानसिद्धान्त र (ग) मूल्यसिद्धान्त दर्शनका प्रमुख क्षेत्र हुन् भने १. धर्मशास्त्र २. आत्मासँग सम्बन्धित तŒवज्ञान ३. ब्रह्माण्डविज्ञान ४. सृष्टिविज्ञान र ५. जीव–सृष्टिविज्ञान वास्तविकताको सिद्धान्त अर्थात् तत्त्व–मीमाङ्शाका उपक्षेत्रहरू हुन् ।

अर्को भाषामा भन्ने हो भने ‘दर्शन’ भनेको ‘तेस्रो आँखा’ हो । मान्छेको टाउकामा देखिएका दुई आँखाले बाहिरी जगत् हेर्दछन् र देख्दछन् भने भित्री या अदृश्य आँखा अर्थात् विवेक, ब्रह्म, ज्ञान या अन्तर्दृष्टिले ब्रह्माण्ड, जगत्, समाज र व्यक्तिका अन्तर्निहित पक्षलाई ठम्याउँछ । यसैलाई मूर्त भाषामा ‘दर्शन’ पदावलीले अभिव्यक्त गरिएको मान्न सकिन्छ ।

मानवजाति र मानव समाज प्रकृतिको अभिन्न अङ्ग हो । प्रकृति दूषित हुँदै जाँदा मानवजाति र मानव समाज पनि दूषित हुन्छ र प्रकृतिको विनाश हुँदा मानवजाति समेत विनष्ट हुने भएकाले प्रकृतिको संरक्षण गरौं र प्रकृतितिर फर्कौं भन्ने नै प्राकृतिक चिकित्साको मूल मन्त्र हो । आजको विश्वमा एलोपेथ, होमियोपेथ, आयुर्वेद र नेचुरोपेथमध्ये कुनै एउटा मात्रै विधि अपनाएर वा एकले अर्कोलाई निषेध गरेर मानवजातिको समग्र स्वास्थ्यको प्रत्याभूति सम्भव छैन भन्ने कुरा विभिन्न घटनाक्रमहरूले पटक–पटक प्रमाणित गरिसकेका छन् । त्यसैले यी सबैको सह–अस्तित्व र सहकार्यमा समष्टिगत, एकीकृत र समायोजित उपचार पद्धतिको विकास र अवलम्बन अपरिहार्य छ भन्ने मान्यता नै होलिस्टिक उपचार पद्धति हो । र, ज्ञानसिद्धान्तका आधारभूत पक्ष र उत्पत्ति क्रमदेखि नै होलिस्टिक पद्धतिको यथासम्भव विश्लेषण एवम् विहङ्गम परिचर्चा नै ‘होलिस्टिक दर्शन’ पुस्तकको मुख्य अन्तर्वस्तु हो ।

यो पुस्तक समग्र स्वास्थ्य : उत्तम विकल्प; पञ्च–तत्त्व, पञ्च–सिद्धान्त र पञ्च–इन्द्रीय; सभ्यता, आध्यात्मिकता, जीवन, सङ्घर्ष, प्राण र मृत्यु; समग्र उपचार, जीवनशैली र विश्वसनीयता; तनावको स्रोत : नकारात्मक सोच, सर्वत्र आवश्यकता : नैतिक शिक्षा; शरीर रचना, क्रिया विज्ञान र प्रकृति खोज्ने जीवन; स्वच्छ आचरण, स्वस्थ विचार, वैकल्पिक चिकित्सा र आशाको दियो गरी सात अध्यायमा संरचित छ । तीन सय पचास रुपैयाँ मूल्य राखिएको डेढसय पृष्ठको ‘होलिस्टिक दर्शन’ को अध्ययन जीवन र जगत् तथा स्वास्थ्य र व्यवस्थित जीवनशैलीका निम्ति निकै नै लाभदायी हुने कुरामा विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)