कसरी गर्ने मृत्युको घोषणा ?

डा. दिनेश बाँस्तोला

हाम्रो गाउँघर तथा समुदायमा कसैको मृत्यु हुनासाथ तत्कालै शवको व्यवस्थापन गर्ने चलन अझै पनि कायम छ । तर, मृत्यु हुनासाथ शवको व्यवस्थापन गरिहाल्नु उचित होइन ।

शरीरका सम्पूर्ण कोषहरूको कार्य बन्द हुनु, अङ्गहरूले काम गर्न छाड्नु तथा सम्पूर्ण प्रणालीहरू काम गर्न पूर्णरूपले असफल हुनुलाई नै चिकित्सकीय भाषामा ‘मृत्यु’ भनिन्छ । तर, सबै कोष र अङ्गको एकैसाथ मृत्यु हुँदैन । कोष र अङ्गहरूको फरक–फरक समयमा मृत्यु हुन्छ । पाचन नली र सानो–ठूलो आन्द्राको मृत्यु सबैभन्दा अन्तिममा हुन्छ ।

मृत्यु घोषणा गर्नका लागि चिकित्सकको टोलीकै आवश्यकता पर्छ । ड्युटीमा खटिएका स्वास्थ्यकर्मी वा चिकित्सकले मात्रै मृत्युको घोषणा गर्नु उपयुक्त होइन । मृत्यु भएको दुई घन्टापछि मात्रै मृत्यु घोषणा गर्नुपर्छ किनकि कतिपय व्यक्ति त मृत्यु घोषणा भइसकेपछि पनि ब्युँतने सम्भावना हुन्छ । केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पताल तथा निजी एवम् सामुदायिक अस्पतालहरूमा सिद्धान्ततः अग्रज चिकित्सकको आदेश र अनुमतिमा मृत्युको घोषणा गर्ने प्रावधान छ तर अभ्यासमा भने अस्पतालमा बिरामीको हेरचाहमा खटिएका चिकित्सक, परिचारिका, स्वास्थ्यकर्मीले नै मृत्युको घोषणा गर्ने गरेको पाइन्छ । मृत्युको प्रमाणपत्रमा भने चिकित्सकले नै हस्ताक्षर गर्नुपर्ने प्रावधान छ ।

समुदाय, धर्मशाला, वृद्धाश्रमजस्ता ठाउँमा मृत्यु भएका व्यक्तिको भने सहायक स्वास्थ्य कार्यकर्ता, परिचारिका, स्वास्थ्यकर्मी, अगुवा व्यक्तिले नै मृत्युको निर्क्योल गर्छन् । जीवन जिउनका लागि आवश्यक पर्ने मुख्य लक्षणहरूको अनुपस्थितिमा उनीहरूले त्यस्ता ठाउँमा रहेका व्यक्तिको मृत्यु भएको बताउँछन् । घरमै मृत्यु भएकाको हकमा भने परिवारका जान्नेमान्ने अग्रज सदस्य, छिमेकी तथा समाजका अगुवा व्यक्तिले मृत्युको घोषणा गर्ने प्रचलन छ ।

विभिन्न जाति तथा धर्म, परम्परा, संस्कारअनुसार परिवार र समुदायले शवको व्यवस्थापन गर्दछन् । कुनै रोग नै नलागिकन घर, पिँढी, आँगन र मठमा मृत्यु भएको अवस्थामा चिकित्सकले मृत्यु प्रमाणित गरिदिएको खण्डमा मात्र शवको व्यवस्थापन गर्न सकिन्छ । यस्तो अवस्थामा मृत्युको यकीन गरी मृतक घोषणा गर्नका लागि मात्र अस्पताल लगेर चिकित्सकलाई देखाउनु आवश्यक पर्दैन ।

आफन्तलाई सहानुभूति

अस्पतालसम्म पुर्‍याइएका मृतकको हकमा उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अनिवार्यतः मृत्युको विस्तृत इतिहास र शारीरिक अवस्थाको जाँचपड्ताल गर्नुपर्छ । मृतक अस्वस्थ हुन थालेको समय र मृत्युको कारणका विषयमा चिकित्सकीय र पारिवारिक स्थितिबारे मानचित्रको पुनरावलोकन गर्नु आवश्यक हुन्छ ।

यस्ता मानचित्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीले ऊ परिवारको को हो, त्यस परिवारको धर्म र निष्ठा के हो, स्वास्थ्य संस्थामा को–को पुगेका छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ । मृत शरीर परीक्षणका लागि अनुरोध गरिएको छ वा छैन, शव परीक्षणको उपयोगिताबारे मृतकका आफन्तको बुझाइ, मृतकका अङ्गदानको चर्चाजस्ता अत्यावश्यक पक्षसँग चिकित्सक तथा स्वास्थ्यकर्मी प्रत्यक्षरूपमा जानकार हुनुपर्छ ।

मृतकका परिवारका सदस्य र आफन्तहरूसँग स्वास्थ्यकर्मीले शान्त रहेर, नम्रतापूर्वक अभिवादन गर्ने बानी बसाल्नुपर्छ । मृतकका आफन्तसँगको कम्तिमा एक मिटरको शारीरिक दूरी हुनुपर्छ । मृतकका आफन्तले पोख्ने पीडा चिकित्सक र स्वास्थ्यकर्मीले धैर्यतापूर्वक सुन्नुपर्छ ।

मृतकका परिवार तथा आफन्तले कुनै कुरा भन्न चाहेका भए उनीहरूलाई स्वतन्त्रतापूर्वक त्यो अवसर प्रदान गर्नु चिकित्सकीय धर्म हो । मृतकका आफन्तको कुरा सुनिसकेपछि उनीहरूलाई सहानुभूति मिल्ने गरी जिज्ञासा मेटाइदिन स्वास्थ्यकर्मीले कोशिश गर्नुपर्छ । यदि आफूले मृतकका आफन्तको जिज्ञासा मेटाउन सकिँदैन भने आफूभन्दा अग्रज तथा सम्बन्धित स्वास्थ्यकर्मीलाई भेटाइदिनुपर्छ ।

मृत्यु घोषणापूर्वका सर्त

बिरामीको निधन भएमा मृत्यु घोषणा गर्नुपूर्व स्वास्थ्यकर्मीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । मृत्यु घोषणा गर्नुअघि चिकित्सकले बिरामीको पहिचान गर्नुपर्छ । उपचार केन्द्रमा रहेको अवस्थामा स्वास्थ्यकर्मीले आफू कार्यरत संस्थाको परिचयपत्र प्रयोग गर्नुपर्छ ।

मृत्यु घोषणा गर्नुपूर्व मृत शरीरका बाहिरी अङ्गमा देखिने अवस्थाको टिपोट गर्नुपर्छ र ध्यान दिएर मुटुको धड्कनको अनुपस्थिति सुन्ने कोशिश गर्नुपर्छ । स्वाभाविक श्वास–प्रश्वासको अनुपस्थिति ध्यानपूर्वक हेर्नुपर्छ र सुन्नुपर्छ । रक्तप्रवाहको अनुपस्थिति, आँखाका गेडीको चाल र नानीको खुम्चने–फुल्ने अवस्थाको परीक्षण गर्नुपर्छ । मस्तिष्कको मृत्यु भएको छ–छैन भनेर क्यालोरी परीक्षण गर्नुपर्छ । शरीरका जोर्नीहरूबाट निस्कने प्रतिवर्ति परीक्षण गर्न पनि भुल्नु हुँदैन ।

स्वास्थ्यकर्मीले मृतकको जाँच तथा मूल्याङ्कन गरिसकेपछि मृत्यु घोषणा भएको मिति, समय र स्थानजस्ता विषय समेटेर तथ्याङ्क लिपिबद्ध गरी राख्नुपर्छ । मृतकका परिवार र आफन्तलाई बोलाउनुपूर्व नै चिकित्सक तथा स्वास्थ्यकर्मीले तथ्यहरूको निधो गरिसक्नुपर्छ । मृतकका आफन्तलाई चिकित्सकले शान्त ठाउँमा भेट्नुपर्छ । मृतक र त्यहाँ उपस्थित आफन्तबीचको नाता–सम्बन्धका बारेमा पूर्ण जानकारी लिनुपर्छ । त्यसबेला चिकित्सक वा स्वास्थ्यकर्मीले कुरा गर्ने व्यक्ति सकभर मृतकको सबैभन्दा नजिकको व्यक्ति हुनु उचित हुन्छ ।

शिष्ट भाषामा गर्ने मृत्युको घोषणा

चिकित्सक तथा स्वास्थ्यकर्मीले स–साना बालबालिकालाई मृत्युको जानकारी दिनु हुँदैन । सम्पर्कमा आएका आफन्तले के बुझे, जाने र थाहा पाए भन्ने कुरा चिकित्सकले सोध्नु उचित हुन्छ । चिकित्सकले सरल तथा शिष्ट र बुझिने भाषामा परिवारजन र आफन्तलाई मृत्युको कारणलगायतका बारेमा विस्तृत जानकारी दिनुपर्छ ।

‘मलाई यो कुरा सुनाउनुपर्दा दुःख लागिरहेको छ, तर तपाईंका आफन्तलाई बचाउन सकिएन…’ जस्ता शिष्ट भाषाको प्रयोग गरी चिकित्सकले मृतकका आफन्तलाई प्रस्टरूपमा यथार्थ बुझाउनुपर्छ । बिरामीका आफन्तलाई मृतकका बारेमा जानकारी दिँदा ‘म्याद सकियो’, ‘बिदा हुनुभयो’, ‘आफ्नो बाटो लाग्नुभयो’, ‘परलोक हुनुभयो’ जस्ता शब्द र वाक्याङ्शको प्रयोगबाट चिकित्सक र स्वास्थ्यकर्मी सधैं टाढा रहनुपर्छ ।

मृत्युको जानकारी गराइसकेपछि मृतकका परिवार तथा आफन्तलाई चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका तर्फबाट कुनै सहायता चाहिए–नचाहिएको बुझ्नुपर्छ । मृतकका आफन्तलाई कुनै सहायताका निम्ति सम्पर्क सूत्रका रूपमा सेवा गर्न सकिन्छ कि भन्ने कुरामा चिकित्सक वा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्छ । परिवार, आफन्तजन तथा आगन्तुकले मृतकलाई देख्न र भेट्न चाहेमा चिकित्सक तथा स्वास्थ्यकर्मीले भेटघाटको प्रबन्ध मिलाइदिनुपर्छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन नसकेको कुरा आफन्तले महसुस गर्ने वातावरण बनाउने कर्तव्य चिकित्सक तथा स्वास्थ्यकर्मीकै हो । अथक प्रयासका बावजुद बिरामीलाई बचाउन नसकिएको मृतकका आफन्तलाई महसुस भएमा शोकका बाबजुद पनि चिकित्सक तथा स्वास्थ्यकर्मीप्रतिको सद्भाव कायम रहन्छ ।

अन्त्यमा, स्वास्थ्य संस्थाको निश्चित प्रक्रिया पूरा गरेर मृत शरीरलाई आफन्तको जिम्मा लगाउनुपर्छ । आफ्नो संस्कारअनुसार शव व्यवस्थापन र अन्तिम संस्कार गर्नु आफन्तको जिम्मेवारी हो । आफन्त शव व्यवस्थापन गर्न असमर्थ भएमा वा आफन्त नै नभएमा भने कानुनी प्रक्रिया पुर्‍याएर शवको व्यवस्थापन गर्नु सरकारको जिम्मेवारी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)