डेस्टिनेसन ग्रेटवाल (भिडियाेसहित)

डा. डीबी सुनुवार

विश्व भ्रमण गर्ने इच्छा र सपना बाल्यकालदेखि नै मेरो दिमागमा गढेको थियो । टेलिभिजनमा चराजसरी हवाईजहाज उडेको देख्दा मलाई पनि उड्न मन लाग्थ्यो । सुन्दर पहाड, छहरा, हिमाल, समुद्र देख्दा ठूलो भएपछि आफू पनि त्यस्ता ठाउँमा पुग्ने सपना बुन्थें । स्कुल पढ्दादेखि नै साहित्य सिर्जनाको बाटोले मलाई डोहोर्‍याइरहन्थ्यो । प्राकृतिक वातावरणमा रमाउँदै सिर्जना गर्नु मेरो कलिलो उमेरदेखिकै शौख हो । म लेख्थें पनि । राम्रो साहित्य सिर्जना गर्नु मेरो सपना हो । कलिलो उमेरमा फगत सपना मात्रै बुन्थें तर बिस्तारै ती सपना साकार हुँदै जान थाले ।

ममा सन् १९९२ देखि घुम्ने लहड नै चलेको छ । म आफूले घुमेका सबै देश–ठाउँहरूका अनुभव प्रिय साथी–संगी र आत्मीयहरूलाई बाँड्न चाहन्थें । तर, विभिन्न सिलिसिला र कामको व्यस्तताले गर्दा सम्भव भएको थिएन । साहित्य तथा व्यावसायिक विषयमा कलम चलाउने बानीले गर्दा हुनुपर्छ, भ्रमणको वर्णनले क्रमशः सार्थक रूप लिँदै गएको छ । कुनै नौलो ठाउँको भ्रमण गर्ने क्रममा एउटा डायरीमा कलम सिउरिएर टिपोट गर्दै हिँड्दा मलाई औधी रमाइलो लाग्छ । यसरी टिपोट गर्नाले दुईवटा फाइदा हुँदारहेछन्– एउटा त त्यस ठाउँको इतिहास जान्न पाइँने र अर्कातिर त्यस ठाउँको अवस्थाबारे टिपोट गरी राख्दा व्यावसायिक योजना बनाउन सहज हुने ।

यसपालि मेरो यात्रा चीनको ग्रेटवालतर्फ छ । काठमाडौंबाट भारत पुग्छु । भारतमा बिहानको चिया–नास्तापछि हामी पाँच जनाको यात्रा इन्दिरा गान्धी इन्टरनेसनल एअरपोर्टतर्फ अघि बढ्छ । सुरक्षा जाँचपछि ९ः५५ को इथोपियन एअरलाइन्सबाट बेइजिङका लागि उडानको तयारी हुँदै छ । भारतीय राजधानी नयाँ दिल्लीका राम्रा–नराम्रा पक्षबारे चर्चा गर्दै केही समय बित्यो । गफैगफमा हामी सम्पूर्ण तयारीका साथ समयमै बोर्डिङ भयौं ।

हवार्ईजहाजमा प्रवेश गर्‍यौं । अफ्रिकाबाट आएको हवाईजहाज भएकाले थकाइका कारण लामो यात्राका यात्रुहरू लमतन्न परेर तीन सिटमै बग्रेल्ती पल्टिरहेका थिए । बेइजिङ जानेमध्येका एक चिनिया साथीले आफ्नै भाषामा ‘छाउ रण चपेन, चाउ चाउला’ (यहाँ गनाउनेहरू छन्, अघि जाऊ) भन्दै अघिल्तिर धकेले । निश्चित समयमा जहाज उड्यो ।

हवाईजहाजको झ्यालको छेउतिर बसेको थिएँ म । यसपालि आँखा तन्काई–तन्काई रमिता हेर्नु छ मलाई । हवाईजहाजले उचाई लिँदै जाँदा दिल्लीका ठूलठूला महलहरू हाम्रो आखाँबाट ससाना बाकसको आकारमा साँघुरिँदै, सलाईको बट्टाजस्तो हुँदै गइरहेका थिए ।

करिव आधा घन्टापछि । हामी बादलभन्दा माथि उडिरहेका थियौं । कतिपय ठाउँमा समतल भुइँमा कपास फिँजाएजस्तो दृश्य । त्यसमाथि बुच्का–बुच्का चहकिलो बादल बिस्तारै मडारिइरहेको । करिव एक घन्टापछि बिस्तारै–बिस्तारै घना बादल फाट्दै जान्छ । मधुरो–मधुरो, चेसबोर्डका कोठाजस्तो आकारमा खुल्दै जान्छ । शायद हामी नेपालको हिमाली भू–भागभन्दा माथि उड्दैछौं ।

नागबेली परेका खोलाहरू बेला–बेलामा गाढा आकारमा नजरमा आउँछन् । शायद त्यो समतल भूभागको छाती चिरेर बगेको ठूलो खोला हुनुपर्छ । बिस्तारै पुच्च–पुच्च बादलका थुप्रालाई पहाडको टुप्पोमा चीलले मुसालाई ध्यानपूर्वक नियालिरहेको जस्तो देखिन थाल्यो । हवाईजहाजबाट देखिने प्राकृतिक दृश्यमा म रोमाञ्चित छु । काली सुन्दरीहरू यसैबखत खाजा–नास्ताका र पेय सोध्न आइपुग्छन् । कालो छाला भएका सुन्दरीहरू । मोतीजस्तै सेता दाँत देखाउँदै मन्द मुस्कानका साथ फुड–टेबल मिलाउन सहायता गर्छन् ।

म आकाशमा उडिरहेको छु । मेरा मन र आँखा भने धर्तीतिरै तानिइरहेका छन् । पहाडको टुप्पामा रहेको कुनै वस्ती र गुजुमुज्ज परेका ती घरका छाना हुनुपर्छ । टलटल टल्किएका घरका छाना हीराको थुप्रो उरुङ लगाएजस्ता देखिन्छन् । हामी भने अझै पनि बादलमाथिको उडानमा छौं । अहिले चाहिँ हामी नेपाल र चीनको स्वशासित क्षेत्र तिब्वतबीचको हिमालयन रेन्जको माथि छौं । झ्यालबाट हेर्दा तल केही पनि स्पष्ट देखिएको छैन । बिस्तारै बादल फाट्दै जान्छ । कुनै जनावरको करङजस्तो देखिने पहाडको टुप्पोबाट दर–दरी परेर ठाउँ–ठाउँमा हरियो वनलाई चिरा–चिरा पारेको देखिन्छ ।

पहाडको बीचका गहिराइहरूमा गुजुमुज्ज परेका वस्तीहरू । घामको किरणले टललल्ल टल्किएका छन् । मन र मस्तिष्कले प्रकृतिको काखमा अपार मनोरम वस्तुहरू सजिएको महशुस गर्छ । ती पहाडबाट चिरिँदै बगेका खोला भुल्का–भुल्का परी जमेर ताल बनेको स्पष्ट देखिन्छ । अब हामी खाना खाने तयारीमा छौं । हवाईजहाज नेपाल र सिक्किमको सिमाना पार गर्दै चीनको भूभागतिर अघि बढिरहेको छ । थुम्का–थुम्का, डाँडाकाँडाका टुप्पामा, बुट्का–बुट्का रुईजस्ता बादल सल्बलाइरहेका देखिन्छन् । कुहिरोका लप्काहरू सेता भेंडाहरू गुजुमुज्ज भएर लर्को लागेका जस्तै देखिन्छन् ।

यो क्रम करिव चार घन्टा चल्छ । र, जूनकीरी झैं चम्कने बत्तीहरू देखापर्दछन् । सँगैका साथी आँखा तन्काएर भन्छन्, ‘लाईला बेइजिङ् लाईला’ (अब बेइजिङ आयो) ।

उसलाई सोध्छु– ‘साह्रै जाडो छ होला हगि ?’

‘माइनस एक–दुई डिग्री मात्र, त्यति धेरै त छैन’– उसले जवाफ दियो ।

माथिबाट बेइजिङको दृश्य हेर्दा लाग्यो, उत्सवमा सहरका हरेक घरहरूमा दीप जलाइएको छ । धागोले तानेर लेबल लगाएजस्ता, रुलरले खिँचेजस्ता, कोणाकार, वृत्ताकार– विभिन्न आकारमा बत्तीहरू बलिरहेका देखिन्थे । उडिरहँदा विभिन्न रङ्गीन दृश्यहरू तय गर्न करिव चालीस–पैंतालीस मिनेट लाग्यो । अन्त्यमा बेइजिङ विमानस्थलमा अवतरण गर्‍यौं ।

मङ्गोलियन, भारतीय, अफ्रिकी, चिनियाँ गरी करिव पाँच सय जना इथियोपियन एयरलाइन्सबाट चीनको भूमिमा अवतरित भयौं । हतारिँदै अध्यागमन र सुरक्षा जाँचमा लामबद्ध भइयो । थरीथरी अनुहारहरू, आ–आफ्नै भाषामा मस्त । यहाँका कर्मचारीहरू चुँ पनि बोल्दैनन् । विभिन्न होर्डिङ बोर्ड र आश्चर्यजनक बृहत् पर्खालका भित्ते तस्बिरहरूले स्वागत गरिरहेको महशुस हुन्थ्यो ।

विमानस्थल बाहिर ‘नेपालका पाहुनाहरूलाई स्वागत छ’ भनेर हामीलाई लिन होटलबाट आएको कार पर्खिरहेको रहेछ । ‘होटल जानुअघि खाना खान जानुपर्छ’ भन्ने गाइडको सल्लाहअनुसार हामी पाँच जना सिधै ‘पेकिङ डक’ भन्ने रेस्टुरेन्टमा गयौं । जहाँ फिलिपिन्सबाट आउने आगन्तुकहरूसँग परिचयात्मक कार्यक्रम निर्धारित थियो । यसै ठाउँमा फिलिपिन्स र इन्डोनेसियाका सम्पूर्ण अग्रजहरूसँग रात्रिभोजमा सरिक भइयो ।

दोस्रो दिन । बिहानको छ बजे । फोनको ‘वेक–अप’ घन्टी बज्छ । समय तालिकाअनुसार समयमा नै बिहानको खाजा–नास्ता खायाैं । लगत्तै विभिन्न अग्रजहरूबाट उत्प्रेरक गोष्ठीका लागि तयार हुनुपर्दथ्यो । नौदेखि एक बजेसम्म विभिन्न प्रेरणामूलक सभा सम्पन्न भए । त्यसपछि फेरि खानका लागि तयार हुनुपथ्र्याे ।

लगत्तै हामी सबैले शान्तिपूर्वक थरीथरीका परम्परागत चिनियाँ खाना लिइरहेका थियौं । वातावरणलाई परम्परागत चिनियाँ गायन र नृत्यले टेबल–टेबलसम्म पुगेर मनोरञ्जन दिइरहेका थिए । सहायताका लागि सुस्तसँग सल्बलाउँदै पर्खिबसेका बान्की परेका सुन्दरी ठिटीहरूले वातावरणलाई झन् रोमाञ्चक बनाइरहेका थिए । हामी असी जनामध्ये पाँच नेपाली, दुई इण्डोनेसियन र एक भारतीय छौं, बाँकी फिलिपिनीहरू छन् । उनीहरू हेर्दै खाइलाग्दा देखिन्छन् । दिल्लगी गर्न बढी रुचाउने फिलिपिनिहरूसँगको साथले झनै रौनक थपिएको छ ।

केही बेरको व्यावसायिक उत्प्रेरक प्रसङ्गपछि एउटा खेल खेल्ने नियमबारे बताउने काम भैरहेको छ । त्यसपछि भावी वर्षका योजना तयार पार्नका लागि कन्फरेन्स सुरु भयो । सहभागी सम्पूर्णलाई चार भागमा विभाजित गरिएको थियो । एउटा मुक्केवाजहरूको रिङजस्तो धागोले जेलेर चौकुने बनाइएको थियो । जाली पारिएको डोरीलाई नछोई भित्र पस्नु र पसाउन मद्दत गर्नु खेलको नियम थियो ।

बडो होसियारीका साथ खेल सुरु हुन्छ । अरू समूहजस्तै हाम्रो समूह पनि भित्र पस्दै थियो । चौथो चरणमा मेरो पालो आयो । सर्लक्क आँखा चिम्लिएर हात–खुट्टा तनक्क पारिदिए । सतर्कतापूर्वक बचाएर भित्र पस्न समूहले सफल पारिदियो । अब बाँकी आउनेलाई सहायता गर्नु मेरो काम थियो । एकदम होसियारका साथ नौजना रिङभित्र पसेर एक जनालाई ल्याउने कसरत भैरहेको थियो । सहभागी समूहमा कोहीलाई उत्तानो परेर त केहीलाई घोप्टो सुताएर जालीबाट भित्र छिराउने प्रयास भइरहेको थियो । अन्त्यमा, निरीक्षकले हाम्रो समूहलाई विजयी घोषणा गरिदिए ।

त्यसपछिको समय थियो– आफूखुशी घुम्न जाने । साथीहरू बाहिरिन थाले । बाहिरतिर लाग्ने क्रममा हामी नेपाली समूह नै तीनतिर छुट्टियौं । कोही अघि र कोही पछिल्लो हुलमा सामेल भयौं; कोही साथी नपाएर बाहिर जानु नै भएनछ । हामी बसेको ‘तियन्तान’ पाँचतारे होटल हो । यो नम्बर वन, ति यु गुआन रोड, बेइजिङको चौङ्ग ओइन् जिल्लामा पर्दछ । माइनस् दुई डिग्रीको चिसोले होटलबाहिर वा गाडीबाहिर निस्कनासाथ ओठ–तालु सुकाइरहेको छ ।

गाइडको सूचनाअनुसार भोलि माइनस् पन्ध्र डिग्रीको चिसोमा ग्रेटवाल (चिनियाँ पर्खाल) हेर्ने कार्यक्रम छ । बिहानको ब्रेकफास्टपछि चिसै वातावरणमा साहसका साथ जेड सुपरमार्केटमा छिर्‍यौं । सुपरमार्केटमा जुकाजस्तै सलबलाइरहेका, सामान बिक्री गर्ने सिलिक्क–सिलिक्क परेका केटीहरूले लेम्ठे–लेम्ठे पाराले अङ्गेजी बोलिरहेका छन् । बोल्नसम्म पनि फुर्सद छैन उनीहरूलाई । जेड फार्म (स्टोन कारखाना) भ्रमणका क्रममा संसारभरिकै मानिसहरूका अनुहार देखिन्छन् यहाँ ।

साँझको सात बजे । खानाका लागि होटल पुग्ने गाडी तयार थियो । रातको खाना खाने होटलमा रमाइलो गर्दै परम्परागत शैलीका सांस्कृतिक कार्यक्रममा मैले पनि केही समय बादशाहका रूपमा आसन ग्रहण गरें । राता–सेता रङ्गमा कलाकारहरू मेरो अगाडि नतमस्तक भएर नाचिरहेका थिए । मानौं, मेरा लागि आजको रात बडो मनोरञ्जनात्मक रात हो; उमङ्गको उत्सव हो । गोलमेचमा झुप्पा–झुप्पा फल झैं सजिएर दस–दस जना गरी सबै जना खाना खान तयार भएका देखिन्छन् । नाचगान गर्दागर्दै, रमाइलो हुँदाहुँदै भोलिको पूर्वतयारीको सूचनाका साथ आ–आफ्नो कोठामा आई विश्राम लियौं ।

नित्सेले ‘पर्खालमै तिम्रो बाटो छ’ भनेको झट्ट याद आयो यतिखेर । नित्सेको यो भनाइ बडो उत्प्रेरक लाग्छ । महान् काम गर्नेहरूका लागि कुनै कुरा रोक्न वा छेक्नका लागि पर्खाल बनाइएको हुन्छ । महान् उद्देश्यले गरिएको कामको इतिहासले पनि राम्रो मूल्याङ्कन गरिरहँदो रहेछ । महान् उद्देश्य राखेर गरिएका कामलाई कुनै पर्खालले छेक्न सक्दो रहेनछ; बरु त्यसको मापन चन्द्रमाबाट समेत हुँदोरहेछ । चिनियाँ ग्रेटवाल चन्द्रमाबाट समेत देखिने यथार्थताले नित्सेको सोही उक्तिको पुनर्पुष्टि गरेको मान्न सकिन्छ । महान् कामका लागि कि पर्खालमै बाटो बन्दोरहेछ कि त पूरै क्षितिज अनि आकाश खुला हुँदोरहेछ ।

आज यात्राको अर्को एउटा महŒवपूर्ण दिन । कार्यक्रम तालिकाअनुसार ‘डेस्टिनेसन ग्रेटवाल’ । चिनिया पर्खालको भ्रमणका लागि गाइडले हिजो नै सूचना दिइसकेकी थिइन् । बिहान सबेरै, ‘वेक अप’ कल बज्नासाथ सहभागी सबै जनालाई दुई समूहमा बाँडेर चिसो मौसममा लगाउने रातो र पहेंलो रङ्गका ज्याकेट उपहारस्वरूप दिइएको थियो । हामी नेपालीहरू रातो समूहमा परेका थियौं । छ बजेसम्म बिहानको खाना खाइसक्नुपर्ने र आठ बजे ग्रेटवाल हेर्नका लागि निस्किसक्नुपर्ने सूचनाअनुसार तयार भयौं । हामी असी जनाका दुई समूहमध्ये रातो समूह अघि र पहेंलो समूह पछि गरेर मोटो, बाक्लो कपडा लगाएर होटलबाट प्रस्थान गरे । त्यहाँबाट ग्रेटवालसम्म केवल एक घन्टा तीस मिनेटको बाटो हो । ग्रेटवाल जाने बाटोको बीचमा पर्ने जेम कारखानाको भ्रमण समेत कार्यक्रम सूचीमा थियो । तालिकाअनुसार टुर एजेन्सीहरूले करिव एक घन्टा जेम कारखाना भ्रमण गराउने चलन रहेछ ।

त्यसपछि ‘डिस्नेल्याण्ड’ हुँदै ग्रेटवाल पुगियो । मानवनिर्मित ग्रेटवालको भव्यताले कसको मन हर्दैन होला ! देशको सीमा सुरक्षाका लागि करिव सोह्रौं शताब्दीमा चिनियाँ शासकले बनाएको ग्रेटवाल अहिलेसम्मकै सबैभन्दा विशाल मानवनिर्मित पर्खाल हो । आज भारतीय पक्षले बारम्बार नेपाली भूमि मिचेको सुन्दा हामीलाई असाध्यै दुःख लाग्छ । सीमामा नेपालीले पनि बेलैमा त्यस्तै पर्खाल लगाइदिएको भए यस्ता समस्या हुने थिएनन् कि ? अझै पनि समय घर्किसकेको छैन ।

करिव छ हजार चार सय किलोमिटर लामो छ ग्रेटवाल । माटो, ढुङ्गा र इँट्टाले बनेको यो पर्खाल ठाउँअनुसार आठ मिटरसम्म अग्लो र पाँच मिटर चौडा छ । राष्ट्ररक्षाको उद्देश्यले बनाइएको यो ‘महान् पर्खाल’ मा शत्रुहरूबाट लुक्न–छिप्नका लागि रणनीतिक हिसाबले उचाई र लम्बाईका आधारमा तयार पारिएका सेन्ट्री गुम्बजहरू छन् । गोलाबारी गर्न मिल्ने किसिमले हरेक गुम्बजहरूमा बम र तोप राख्न अनि पड्काउन मिल्ने गरी प्वालहरू बनाइएका छन् । अचम्मलाग्दो छ यसको बनावट ।

यतिविघ्न ठूलठूला ढुङ्गाहरू र काँचो माटोले बनाइएका यमानका इँट्टाहरू हेर्दाहेर्दै सिरिङ्ग हुन्छ मन । अन्तरिक्षबाट पृथ्वीमा हेर्दा समेत प्रष्ट देखिने, मान्छेले बनाएको यस पर्खाललाई संसारको आश्चर्य मान्नु स्वाभाविकै हो । डिसेम्बरको चिसो हावाले कठ्यांग्रिए पनि आश्चर्यजनक र रोमाञ्चक दृश्यले जाडोको धेरै महशुस भएन । स्कुलमै पढेको त थिएँ ग्रेटवालका बारेमा । तर, आज भने ग्रेटवालमै टेक्ने सपना पूरा भएकाले गद्गद् छु । अरू विभिन्न समूहले जस्तै मैले पनि सोभिनियर सामानहरू किन्न र ऐतिहासिक लालबादशाहको पहिरनमा फोटो खिच्न समेत भ्याएँ ।

दुई घन्टापछि त्यहाँबाट परम्परागत खानाका लागि लोकल रेस्टुरेन्ट गइयो । खाना खाइसकेपछि म्याजिक मेडिसिन हर्बल तयार गर्ने एउटा फर्मास्युटिकल्स कम्पनी हेर्न गइयो । त्यसपछि ऐतिहासिक महत्त्वका मन्दिर, ताल, दरबार र गुम्बा हेरिसकेपछि फेरि रात्रि खाना खाएर चुङ्गी कम्फु शोका लागि होटलको पारिपट्टितिर लाग्यौं । अद्भूत परम्परागत कम्फु शो सकिएपछि स्थानीय चिनियाँ खाना खाएर विश्राम लियौं ।

निर्धारित कार्यक्रमअनुसार भोलिपल्ट बिहानै माओत्सेतुङको पार्थिव शरीर हेर्नका लागि तियानमेन स्क्वायर र फर्बिडेन सिटी गयौं । बिहान चारदेखि एघार बजेसम्म मात्र माओको सङ्ग्रहालयमा पस्न पाइने भएकाले गाइडले समयमै त्यहाँ लगेका थिए । जसले बिहानको चार बजे माओको पार्थिव शरीरमा फूल चढाउँछ, ऊ सफल र ज्ञानी हुन्छ भन्ने विश्वास रहेछ त्यहाँ । त्यसैले सकेसम्म बिहानै ‘दर्शन’ गर्न आउने मानिसहरूको भीड हुने रहेछ । बिहान नौ बजेतिर हामी पनि त्यही भीडमा लस्कर लाग्यौं ।

यहाँ कुनै पनि मानिसको एक कदम पनि रोकिनु हुँदैन । आँखाले हेर्दै, पाउ चाल्दै, अघि बढ्दै बाहिर निस्कनुपर्ने रहेछ । विशाल भवनमा सिसाको ठूलो बाकसभित्र दुबै तर्फबाट हेर्न मिल्ने गरी हँसिया–हथौडा अङ्कित रातो झन्डा ओढाएर अनुहारमा बत्तीको प्रकाश दिई माओलाई राखिएको रहेछ । बाहिरका सबै पसलमा राखिएका सम्पूर्ण उपहार–सामग्रीहरू माओको चित्र अङ्कित रहेछन् ।

तियानमेन स्क्वायर, टेम्पल अफ हेभन, फर्बिडन सिटी, लभ गार्डेन र बेइजिङ सहरमा भएका अरु ऐतिहासिक ठाउँहरूको समेत भ्रमण गरियो । मल र सुपर मार्केटहरूमा सपिङ पनि गरियो ।

जाडोमा लालसेनाले लाउने कानेटोपी बेच्नेले ‘खेदो गर्ने’ एउटा रमाइलो प्रसङ्ग छ यहाँको । एक सय पचास रिम्बेम भनेको टोपी मूल्य घटाएर बिहान आफूलाई नब्बे रिम्बेममै दिएकामा फूर्ति दिँदै थिए एक साथी । तर, दिउँसो अर्का एकजना सरले साह्रै कर गरेर पचास रिम्बेममै पो खरिद गरेछन् । साँझपख कानमा सिरेटो लाग्न सुरु भयो । होटलतिर फर्कने क्रममा ‘यहाँ त मोलमोलाई पो चल्ने रहेछ’ भनेर थाहा पाएपछि पहिले आफैंले बढी दाम तिरेर किनेको टोपीलाई बीस रिम्बेममा किनेको भनेर बार्गेनिङ गर्दा पच्चीस रिम्बेममै दियो । यहाँका ‘फिक्स्ड प्राइस’ मार्केटबाहेक सबैजसो मल र मार्केटहरूमा यस्तै बार्गेनिङ चल्दोरहेछ ।

भोलिपल्ट बिहान साढे चार बजे नै ‘वेक–अप कल’ आउँछ । त्यो दिन बेइजिङ घुम्दै अर्को सुन्दर सहर साङ्घाईको भ्रमणका लागि तयार हुनुपर्ने थियो । आ–आफ्ना झोला कसेर, पोका पारिएका खाजा लिएर बेइजिङबाट साङ्घाईतर्फ लाग्यौं । ग्रेटवाललाई सम्झनामा राखेर हामी सबैले बेइजिङ छाड्दैछौं । चीनको बदलिँदो विकासलाई हेर्दा लाग्छ, अब यो संसारकै महाशक्ति राष्ट्रहरूमा पर्छ । मनभरि सम्झना लिएर साङ्घाई भिजिटका लागि अघि बढ्दै ग्रेटवाललाई बाईबाईका हात हल्लायौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)