नेपालमा कोरोना महामारी : यथार्थ र भ्रम

डा. शेरबहादुर पुन

कोरोनाभाइरस (कोभिड– १९) को महामारीले विश्व आतङ्कित छ । यी पङ्क्ति लेख्दासम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालमा पनि २२१ जना नागरिकको ज्यान गइसकेको छ । यतिबेला कोरोनाभाइरसका संक्रमितको संख्या ३८,५६१ पुगेको छ । यीमध्ये २२१ जनाको मृत्यु भैसकेको छ भने २०,८२२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,५१८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

सुरुआती दिनमा गर्मी मौसम र स्थानमा यसले महामारीको रूप लिँदैन कि भन्ने आँकलन गरिएको थियो । तर, अवस्था त्यस्तो भएन । यो भाइरसले जाडो र गर्मी दुवै मौसम र स्थानमा उत्तिकै आक्रमण गरेको देखियो । यो भाइरस गर्मीमा कति फैलन्छ भन्ने यकिन नभए तापनि त्यस्तो ठाउँ र मौसममा पनि सङ्क्रमण दर कम चाहिँ भएन । गर्मीमा कोरोनाभाइरस फैलँदैन भन्ने कुनै वैज्ञानिक आधार पनि त छैन ।

सामान्यरूपमा भन्नुपर्दा चिसो मौसम र स्थान भाइरसको सक्रियताका लागि अनुकूल हुन्छ । सुरुसुरुमा कोभिड– १९ को सक्रियता पनि चिसो मौसम र ठाउँमै बढी देखिए पनि यो भाइरस चिसो वा गर्मी कुन मौसममा बढी सक्रिय हुन्छ भन्ने कुरा थप अनुसन्धानको विषय नै बनेको छ ।

प्रभाव सबै वातावरणमा

चिसो मौसम वा ठाउँमा कोरोनाभाइरस फैलने डर बढी हुने कुरा नकार्न सकिँदैन । चिसो बढी हुने युरोप, अमेरिकाजस्ता कतिपय ठाउँमा यसले महामारीकै रूप लियो । तर, गर्मी बढी हुने अफ्रिका, इरान, साउदी अरेबियाजस्ता मध्यपूर्वी राष्ट्र, भारत, पाकिस्तान, बङ्गलादेश, दुबई (यूएई), कतारलगायतका मुलुकमा पनि कोरोनाभाइरसको गम्भीर प्रभाव परिरहेकै छ ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि यो भाइरसको सक्रियता अधिकाङ्श जिल्लामा बढिरहेकै छ । नेपालमा पनि गर्मी मौसमको सुरुआतसँगै कोरोनाभाइरसको सङ्क्रमण कम हुने आँकलन गरिएको थियो । सामान्यतया २५ डिग्रीभन्दा बढी तापक्रममा कोरोनाभाइरस बाँच्दैन भन्ने आँकलन थियो । तर, त्यो तापक्रममा कोरोनाभाइरस नष्ट हुन्छ भन्ने ठोस र विस्तृत अध्ययन भैसकेको छैन । तसर्थ, गर्मी बढ्दैमा ढुक्क भएर बस्ने अवस्था होइन ।

सन् २०१२ मा साउदी अरेबियामा मर्स कोरोनाभाइरस देखिएको थियो । उँटबाट सरेको मानिने मर्स कोरोनाभाइरस साउदी अरेबियाजस्तो गर्मी ठाउँमा महामारीका रूपमै फैलिएको थियो । यसको प्रभाव विशेषतः मध्यपूर्वी देशहरूमा सीमित देखिएकाले यसको नाम समेत ‘मिडल–इस्ट रेस्पिरेटरी सिन्ड्रम’ राखियो । अहिले विश्वमा देखिएको कोरोनाभाइरस (कोभिड– १९) पनि सोही भाइरसको अर्को एउटा प्रजाति हो । मध्यपूर्वी देशहरूजस्ता गर्मी मुलुकमा मर्स कोरोनाभाइरस देखिँदै आइरहेकाले कोभिड– १९ पनि गर्मी मौसममा फैलँदैन भन्ने आधार छैन ।

अनौठो रूप, अनौठै चरित्र

मौसमी परिवर्तनसँगै भाइरसको रूप भने परिवर्तन हुन सक्छ । महामारीका रूपमा फैलिएको रोग सामान्यतः २–३ महिनामा स्वतःस्फूर्तरूपमै कम हुने देखिन्छ । सार्स, स्वाइन फ्लुजस्ता रोगका भाइरसले एकै ठाउँमा लामो समयसम्म प्रभाव पारेका थिएनन् । ठीक त्यसैगरी कोभिड– १९ फैलिएको ठाउँमा पनि तीन महिनापछि कमजोर हुने आँकलन गरिएको थियो ।

तर, कोभिड– १९ को उद्गमस्थल चीनको वुहानस्थित हुबेई क्षेत्रमा पाँच महिनासम्ममा पनि यो भाइरस पूर्णरूपले नियन्त्रणमा आएको छैन । यो अवस्थालाई हेर्दा भने फैलिएको स्थानमा तीन महिनामै भाइरस नियन्त्रण भइहाल्छ भन्ने अवस्था छैन । अन्य मुलुकमा पनि तुरुन्तै नियन्त्रण भइहाल्ने अवस्था देखिँदैन ।

करिव १४ दिनमा भाइरसका लक्षण देखिइसक्छन् भन्ने सुरुआती चरणको मान्यताका कारण यो भाइरस प्रभावित स्थानबाट आएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भनियो । तर, पछिल्ला केही अनुसन्धानहरूमा ३७ दिनसम्म पनि शरीरबाट भाइरस बाहिर निक्लिरहेको पाइएकाले १४ दिन मात्रै क्वारेन्टाइनमा बसेर परिवार तथा समुदायमा जाने व्यक्तिले भाइरस सार्ने जोखिम देखिन्छ ।

नेपालमा किन कम देखिए लक्षण ?

हरेक भाइरस नयाँ ठाउँमा नौलो किसिमले नै फैलन सक्छ । रुघा–खोकी लाग्नेजस्ता ह्युमन कोरोना भाइरस नेपालमा पहिलेदेखि नै छँदैछ । यो भाइरस सामान्यतः कडा रूपमा देखिँदैन । यस हिसाबले कोरोनाभाइरस नेपालको सन्दर्भमा नौलो नभए पनि अहिले महामारीका रूपमा देखापरेको कोरोनाभाइरस (कोभिड–१९) प्रजाति भने नौलो नै हो ।

नेपालमा पत्ता लागेका अधिकाङ्श कोरोना सङ्क्रमितहरूमा लगभग कुनै पनि लक्षण देखिएका छैनन् । सङ्क्रमितहरू आफ्ना दैनिक काममै व्यस्त भैरहेको समेत देखिन्छ । यसो हुनुको कारण भने थाहा हुन सकेको छैन । यसबारे अनुसन्धानको आवश्यकता छ । विशेषतः भाइरस तथा मानवबीच के–कस्तो अन्तक्र्रिया भैरहेछ भनेर अनुसन्धान गर्न सकिए चाखलाग्दो नतिजा प्राप्त हुन सक्छ । र, त्यो नतिजा नेपालका लागि मात्र नभई विश्वकै निम्ति उपयोगी हुन सक्छ ।

आरडीटी र पीसीआर : भिन्नता र सुविधा

आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) किट भनेको शरीरमा रहेको सङ्क्रमण वा सो सङ्क्रमणका कारण विकसित हुने ‘एन्टीबडी’ पत्ता लगाउने किट हो । नेपालमा हाल प्रयोग भइरहेको किट भने सङ्क्रमणका कारण विकसित हुने एन्टीबडी मात्रै पत्ता लगाउने किट हो । यसले पत्ता लगाउने एन्टीबडी ‘आईजीएम’ र ‘आईजीजी’ गरी दुई प्रकारका हुन्छन् । सङ्क्रमणको सुरुआती दिनमा आईजीएम एन्टीबडी देखिन्छ भने सङ्क्रमण भएको करिव दुई हप्तापछि आईजीजी एन्टीबडी देखिने गर्छ ।

आरडीटी टेस्ट किटको क्षमता (सङ्क्रमण पत्ता लगाउने सामथ्र्य) कम हुन्छ । यो विधिको परीक्षणबाट सङ्क्रमित व्यक्ति पनि सङ्क्रमणविहीन ठहरिएर छुट्न सक्छन् । फेरि यसले कहिलेकहीं त अरु सङ्क्रमणलाई समेत ‘कोरोना पोजेटिभ’ देखाइदिन सक्छ । यो विधि विशेषतः ‘मास स्क्रिनिङ’ र ‘सर्भिलेन्स’ का लागि प्रयोग गरिन्छ । हाल छिमेकी भारतमा आरडीटी किटको प्रयोगमा बन्देज लगाइएको खबर सार्वजनिक भएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण भए–नभएको पत्ता लगाउनका निम्ति पीसीआर (पोलिमरेज चेन रियाक्सन) प्रविधि संसारभर प्रयोग भैरहेको स्ट्यान्डर्ड परीक्षण विधि–प्रविधि हो । यो प्रविधिको सङ्क्रमण पत्ता लगाउने क्षमता आरडीटीको भन्दा निकै बढी र भरपर्दो पनि हुन्छ । यसले भाइरसको जिन नै पत्ता लगाउने भएकाले त्यसबाट आवश्यकताअनुसार भाइरसको प्रकृति पनि पत्ता लगाउन सकिन्छ ।

सामान्यतया सङ्क्रमण भएको पहिलो–दोस्रो हप्ताभित्र यो प्रविधिको प्रयोग गर्दा भाइरस पत्ता लगाउन सजिलो हुन्छ । यद्यपि सङ्क्रमणको करिव २८ दिनसम्ममा पनि पीसीआरबाट भाइरस पत्ता लगाउन सकिने तथ्य केही अनुसन्धानले देखाएका छन् । तर, धेरै दिनपछि पत्ता लागेका ती भाइरस सक्रिय वा निष्क्रिय कस्ता हुन् भन्नेमा चाहिँ एकमत छैन । यसबारे अनुसन्धान जारी छ ।

यस हिसाबले भन्नुपर्दा कोरोनाभाइरसका सङ्क्रमित पत्ता लगाएर उपचार गर्न पीसीआर प्रविधिबाट परीक्षण गर्नु अनिवार्य देखिन्छ । यसबाट सङ्क्रमितको शरीरमा भाइरस कायम रहे–नरहेको देखिने भएकाले परीक्षण गरिएको व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गर्ने वा नगर्ने निर्णय लिन चिकित्सकलाई सहज हुन्छ ।

आरडीटी टेस्टबाट आईजीएम एन्टीबडी देखिएमा शरीरमा भाइरस सक्रिय रहेको हुन सक्ने भएकाले उपचारको आवश्यकता पर्न सक्छ । तर, आईजीजी एन्टीबडी देखिएमा कुनै समयमा सङ्क्रमित भएको तर हाल उपचारको आवश्यकता नपर्न सक्ने भनी बुझ्न सकिन्छ । आरडीटी टेस्ट नेगेटिभ हुँदैमा त्यो व्यक्तिमा कोरोनाभाइरस छैन भन्न सकिँदैन । तर, पीसीआर प्रविधिमा त्यस्तो सम्भावना धेरै कम हुन्छ । त्यसैले आरडीटी कि पीसीआर टेस्ट गर्ने भन्ने कुरा कुन लक्ष्यका साथ अगाडि बढ्ने भन्ने कुरामा भर पर्छ ।

नेपालमा प्रभाव : आँकलन मुस्किल

कोरोनाभाइरस महामारीले नेपालमा कस्तो रूप लेला भनेर आँकलन गर्न गाह्रो छ किनभने छिमेकी भारतबाट नेपालीहरू भित्रने क्रम जारी छ र लामै समय जारी रहने देखिन्छ । नेपाल प्रवेश गर्नेहरूलाई टेस्ट गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था फितलो छ ।

कति सङक्रमित भित्रँदैछन्, क्वारेन्टाइनभित्रै एक–अर्कालाई सार्ने सम्भवना कति होला, उनीहरूले आफ्नो गाउँ–ठाउँमा गएर अरु कतिलाई सार्न सक्छन् ? अधिकाङ्श प्रश्नको जवाफ पाइएको छैन; हिसाबकिताब देखिँदैन । यस्तो अवस्थामा समुदायस्तरमा कोरोनाभाइरसको प्रशारण हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

डिसइन्फेक्ट्यान्ट स्प्रे : लाभ कि हानि ?

कोरोनाभाइरस रोकथामका लागि भन्दै कतिपय ठाउँमा सामान र मानिसलाई डिसइन्फेक्ट्यान्ट औषधि छरिएको देखिन्छ । यसरी औषधि छर्दा सामान कत्तिको भाइरसरहित हुन्छ ? र, मान्छेमा छर्दा यसले पार्ने सकारात्मक र नकारात्मक प्रभाव के–के हुन सक्छन् ?

सामानहरूमा ‘डिसइन्फेक्ट्यान्ट’ औषधि छर्कनु सैद्धान्तिकरूपमा ठीकै देखिए तापनि मानिसको शरीरमा छर्कंदा भने अनेकौं स्वास्थ्य समस्या निम्तन सक्छन् । भाइरस शरीरभित्र हुने भएकाले शरीरबाहिर औषधि छर्कनु कोरोनाबाट बच्ने उपाय होइन । बरु यसको प्रयोगले छालामा एलर्जी, आँखामा समस्याजस्ता विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छन् । सम्बन्धित सरोकारवालाहरू र आम नागरिक समेत यसप्रति सजग हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)