उच्छृङ्खल यौन

गाेपाल ढकाल

यौन व्यक्तिगत अन्तरङ्ग सम्बन्ध हो । यो यौनजोडी बीचको आपसी सहमतिमा हुने गोप्य सम्बन्ध हो । यौन व्यक्तिको जैविक आवश्यकता हो । विपरीतलिङ्गी जोडीबीच यौन सम्पर्क भएर सन्तान उत्पत्ति गर्न सकिने भएकाले सृष्टि धान्नका लागि यौन आवश्यक हुन्छ ।

तर, यौनलाई मनोरञ्जनको साधनका रूपमा लिने जमातको पनि कमी छैन । खासमा यौनलाई मनोरञ्जनको साधनका रूपमा जोड दिनु उचित होइन । यौन जोडीबीच यौन सम्पर्क हुँदा खुसी दिने सेरोटोनिन्, डोपामिन, अक्सिटोसिनजस्ता मस्तिष्क रासायनिक तŒव शरीरमा वृद्धि हुन्छन्, जसबाट तनाव कम गर्न मद्धत मिल्छ । यसरी हेर्दा सन्तुलित तथा यौनजोडी बीचको सहमतिमा गरिने यौनले यौनजोडीका दुवै पक्षलाई आनन्द मिल्छ । त्यसैले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि सन्तुलित यौन लाभदायक हुन्छ ।

यौनमा अनुशासनको आवश्यकता हुन्छ । अनैतिकरूपमा, सामाजिक मूल्य–मान्यता, धर्म–संस्कृति, कानुनविपरीत गर्ने तथा देखाउने अस्वाभाविक यौन व्यवहार तथा क्रियाकलाप भने यौन उच्छृङ्खलता हो । अर्थात्, यौन अनुशासन पालना नगरी अस्वाभाविकरूपमा देखाइने यौन क्रियाकलाप यौन उच्छृङ्खलता हो । अर्को भाषामा भन्ने हो भने समाजले नरुचाउने र नपचाउने यौन व्यवहार नै यौन उच्छृङ्खलता हो । यौनसम्बन्धी कुन–कुन व्यवहार यौन उच्छृङ्खलतामा पर्छन् भन्ने कुरा समाज, भूगोल, परिवेशअनुसार फरक पर्छ । कतिपय मुलुकमा विपरीतलिङ्गी यौन जोडीबीच सार्वजनिक स्थलमा गरिने चुम्बनलाई सामान्यरूपमा लिइन्छ भने कतिपय समाजमा यस्तो व्यवहारलाई यौन उच्छृङ्खलताका रूपमा लिइन्छ ।

यौन–उच्छृङ्खल व्यक्तिले सामाजिक मूल्य–मान्यता विपरीत यौन क्रियाकलाप गर्ने, सार्वजनिक स्थलमा यौन क्रियाकलाप गर्ने, सार्वजनिक सवारी साधन तथा यात्राका क्रममा यौन क्रियाकलाप गर्नेजस्ता व्यवहार देखाउँछ । सार्वजनिक स्थलमा यौनको सङ्केत गर्ने, अश्लील शब्द बोल्नेजस्ता गतिविधि पनि यौन उच्छृङ्खलता नै हुन् । समाजमा अपाच्य हुने किसिमले यौनाङ्ग देखाउँदै हिँड्नुजस्ता व्यवहार पनि यौन उच्छृङ्खलताका सङ्केत हुन् ।

सिकाइले उच्छृङ्खलता

यौन उच्छृङ्खलताका विभिन्न कारण हुन्छन् । शारीरिक तथा मानसिक अवस्था, परिवार, समाजलगायतको प्रभावले यौन उच्छृङ्खलता जन्मन सक्छ । कसैले बाल्यावस्थामा यौन दुर्व्यवहार भोगेको छ भने त्यस्तो व्यक्ति पछि गएर यौन उच्छृङ्खल बन्ने सम्भावना हुन्छ ।

पारिवारिक वातावरण स्वस्थ नभएको अवस्थामा पनि व्यक्ति यौन उच्छृङ्खल बन्न सक्छ । उदाहरणका रूपमा, बुुबा–आमा यौन उच्छृङ्खल छन् भने त्यस्तो परिवारमा हुर्किएको बच्चा पनि भविष्यमा गएर यौन उच्छृङ्खल नै बन्ने सम्भावना हुन्छ । बुबा–आमाको व्यवहार बच्चाले पनि सिक्ने भएकाले बच्चा बढ्दै जाँदा उसमा पनि यौन उच्छृङ्खलता बढ्न सक्छ । त्यसैले परिवारका सदस्यले बालबालिकाका अगाडि कहिल्यै यौन उच्छृङ्खलता प्रदर्शन गर्नु हुँदैन ।

त्यस्तै, उचित यौन शिक्षाको अभाव, अप्राकृतिक यौनको लत, यौन–कुण्ठा, सामाजिक सञ्जालको प्रभाव, फिल्मको सिकोजस्ता कारणले समेत व्यक्ति यौन–उच्छृङ्खल बन्न सक्छ ।

साइको सेक्सुअल डिसअर्डर

‘साइको सेक्सुअल डिसअर्डर’ जस्ता मानसिक समस्याले निम्त्याउने यौन विचलनका कारण पनि यौन उच्छृङ्खलता उत्पन्न हुन सक्छ । ‘हाइपर सेक्सुआलिटी’ (अत्याधिक यौन चाहना) को समस्याका कारण यौन उच्छृङ्खलता उत्पन्न हुन्छ । विपरीतलिङ्गीका जुत्ता, मोजा तथा लुगाजस्ता वस्तुमा यौनाङ्ग घर्षण गरी यौन आनन्द लिनेजस्ता क्रियाकलापलाई पनि यौन उच्छृङ्खलताकै रूपमा लिइन्छ । मानसिक समस्याका कारण हुने यस्ता व्यवहारलाई चिकित्सकीय भाषामा ‘फेटिसिज्म’ भनिन्छ ।

अरुले यौन सम्पर्क गरेको लुकेर हेर्न खोज्ने व्यवहारलाई ‘भोयारिजम’ भनिन्छ । यस्ता व्यवहारलाई समेत यौन उच्छृङ्खलता नै मानिन्छ । सार्वजनिक स्थलमा भीडभाडबीच अपरिचित महिलाको पछाडिबाट पुरुषले लिङ्ग घर्षण गराएर यौनतृप्ति मेट्ने व्यवहार हद दर्जाको यौन उच्छृङ्खलता तथा दुर्व्यवहार हो ।

यस्तो व्यवहारलाई चिकित्सकीय भाषामा ‘फोटोरिज्म’ भनिन्छ । त्यसैगरी, सार्वजनिक स्थलमा यौनाङ्ग देखाएर यौन तृप्ति मेटाउन खोज्ने व्यवहारलाई ‘एक्हिभिसनिज्म’ भनिन्छ । यौन उच्छृङ्खलता पुरुष–महिला दुवैले प्रदर्शन गर्न सक्छन् । यी मानसिक समस्याका कारण पैदा हुने क्रियाकलाप हुन् ।

मानसिक रोग

मेनियाजस्तो मानसिक समस्याले यौनको मामलामा पनि उच्छृङ्खलता निम्त्याउँछ । ‘मेनिया’ शब्दको नेपाली रूपान्तर ‘उन्माद’ हो । यस्तो समस्या हुँदा व्यक्तिले उत्तेजनायुक्त गतिविधि देखाउँछ । र, यौनको मामलामा पनि यो लागू हुन्छ । मेनियाका कारण व्यक्ति अस्वाभाविकरूपमा, समाजको मूल्य–मान्यता विपरीत यौन क्रियाकलापमा अग्रसर भैहाल्छ ।

मेनियाग्रस्त पुरुष तथा महिलाले असुरक्षितरूपमा यौन सम्पर्क गर्ने जोखिम बढी नै हुन्छ । यस्तो समस्या भएका व्यक्तिले एकभन्दा बढी यौनजोडीसँग यौन क्रियाकलाप गर्ने सम्भावना प्रबल हुन्छ । पहिचान गरी उपचार गरेमा यो समस्याको समाधान हुन्छ । ‘एटेन्सन डिफिसिट हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी)’ जस्तो ध्यान केन्द्रित गर्न नसक्ने तथा चकचके व्यवहार देखाउने रोग/समस्या भएका व्यक्तिले पनि सोचविचार नगरी उच्छृङ्खलरूपमा यौन गतिविधि गर्न सक्छन् ।

शारीरिक समस्या

बच्चा हुर्कने क्रममा राम्रोसँग मानसिक विकास नभएमा त्यस्ता व्यक्तिले अञ्जानमै यौन उच्छृङ्खलता देखाउन सक्छन् । राम्रोसँग मानसिक विकास नहुनुलाई चिकित्सकीय भाषामा ‘इन्टलेक्चुअल डिसएबिलिटी’ भनिन्छ । यस्तो समस्यालाई सामान्य भाषामा ‘सुस्त मनस्थिति’ पनि भनिन्छ । त्यसैगरी, डिमेन्सिया रोगको सुरुआती अवस्था, पोस्टेट ग्रन्थीको वृद्धि, यौन हर्मोनको गडबडी आदिजस्ता अवस्थामा शारीरिक समस्याका कारण यौन उच्छृङ्खलता निम्तन सक्छ । यस्ता व्यक्तिले यौन अनुशासन कायम गर्न नसक्दा उच्छृङ्खलताको सम्भावना बढी हुन्छ ।

यौनको मामलामा शारीरिकरूपमा कमजोर व्यक्तिहरूले बोलीचाली तथा अरु विभिन्न किसिमले यौनको सङ्केत गरी उच्छृङ्खलता दर्शाउन सक्छन् । मद्यपान तथा लागू पदार्थ सेवन गरेको समयमा नशाका कारण पनि यौन उच्छृङ्खलताको सम्भावना हुन्छ । मद्यपान तथा लागू पदार्थ सेवन गरेको समयमा व्यक्ति यौन दुर्व्यवहार र बलात्कारमा उद्यत हुने सम्भावना हुन्छ ।

यसरी गर्ने उच्छृङ्खलताको व्यवस्थापन

यौन उच्छृङ्खलताका कारण समाजमा नकारात्मक प्रभाव पर्नुका साथै यौन हिंसा, दुव्र्यवहार तथा अपराध निम्तन्छन् । यस्तो उच्छृङ्खलतामाथि धार्मिक तथा कानुनी बन्देज छ । नेपाली समाजमा यौनलाई हेर्ने दृष्टिकोण अलि बढी सङ्कुचित पनि छ । यस्तो समाजमा यौन उच्छृङ्खलताले झन् बढी समस्या निम्त्याउँछ । यौन उच्छृङ्खल व्यक्तिलाई समाजले पनि विभिन्न लाञ्छना लगाउँछ । सामाजिक लाञ्छनाका कारण व्यक्ति झन् बढी मानसिक समस्यामा पर्ने जोखिम हुन्छ ।

त्यसैले गोप्यरूपमा, सन्तुलित तथा संयमित भई यौन व्यवहार गर्नुपर्छ । यौन उच्छृङ्खलताका विभिन्न कारण हुने भएकाले खास कारण के हो भन्ने पहिचान गरेर उपचार गरी यौन उच्छृङ्खलताको व्यवस्थापन गर्न सकिन्छ ।

यौन उच्छृङ्खलताबाट बच्न सानैदेखि उचित यौनशिक्षा दिनु आवश्यक छ । विभिन्न माध्यमबाट प्राप्त हुने अश्लील सामग्रीबाट बालबालिकालाई टाढा राख्नुपर्छ । सानै उमेरदेखि नैतिकवान् हुन सिकाएमा बच्चा हुर्कने क्रमसँगै यौनको मामलामा पनि अनुशासित बन्दै जान्छ । पारिवारिक वातावरण पनि अनुशासित एवम् सुमधुर हुनु आवश्यक छ । परिवारभित्र श्रीमान्–श्रीमतीले जथाभावी यौन क्रियाकलाप गर्नु हुँदैन; यौनलाई गोप्य तथा मर्यादित बनाउनुपर्छ ।

यौन उच्छृङ्खलता बढ्दै गएमा अनेकौं जटिलता निम्तने जोखिम भएकाले बेलैमा समस्याको पहिचान गरी उपचार गराउनु जरुरी हुन्छ । यौन उच्छृङ्खलताको व्यवस्थापनका निम्ति मनोपरामर्शदाताको सहयोग लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)