गर्भवतीले संक्रमण छल्ने टेक्निक

शङ्कर क्षेत्री

कोरोनाभाइरस (कोभिड– १९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ । महामारीको प्रभावले गर्भवती तथा सुत्केरी महिलामा थप तनाव उत्पन्न हुने चिकित्सक बताउँछन् । यस्तो अवस्थामा गर्भवती तथा सुत्केरी महिलाले विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल (प्रसूतीगृह) थापाथलीका तत्कालीन निर्देशक एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यस्तो महामारीको समयमा गर्भवती महिलाले आफ्नो गर्भ चिकित्सकलाई जँचाएको अवस्थामा र सामान्य अवस्थामा स्वास्थ्य संस्था गइरहनु पर्दैन । पहिले शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाले भने सुत्केरी हुने समय (डेलिभरी डेट) भन्दा दुई हप्ता अगाडि अस्पताल पुग्नुपर्ने डा. गौतमको सुझाव छ । डा. गौतमले भने– ‘डेलिभरी डेट (४० हप्ता) कटेको अवस्थामा भोलिपल्टै स्वास्थ्य संस्था जानुपर्छ ।’
स्वास्थ्यमा कुनै समस्या भएको अवस्थामा भने गर्भवती महिला तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । योनीबाट रगत बगेको अवस्था, पेट दुखेको अवस्था, व्यथा लागेकोजस्तो अवस्थामा भने स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्ने डा. गौतमको सुझाव छ ।
त्यसो त वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. गेहनाथ बराल पनि महामारीको समयमा गर्भवती महिलाले सकेसम्म अस्पतालमा जँचाउन कमै मात्र जानुपर्ने सुझाउँछन् । डा. बरालका अनुसार गर्भ रहेको पहिलो तीन, पाँच, सात र आठ महिनामा भने गर्भ जाँच गराउन जानु नै उचित हुन्छ ।
प्रसूती तथा स्त्रीरोग विशेषज्ञका अनुसार गर्भवती भएको पहिलो तीन महिनामा स्वास्थ्य संस्थामा पुगी अल्ट्रासाउण्ड गराउनुपर्ने हुन्छ; रगत जाँच्नुपर्छ । पाँच महिनामा बच्चाको मुटुको कोठा बन्ने भएकाले तथा बच्चाको शरीरको भाग बनेको अवस्थाको अल्ट्रासाउण्ड गरेर हेरिन्छ । सात महिनामा बच्चाको साललगायतको विकासको अवस्था हेर्न सकिन्छ । गर्भवती भएको आठ महिनामा बच्चाको पूर्ण विकास भए–नभएको हेरिन्छ ।
पहिलो तीन महिनामा बच्चाको अङ्ग बनिसक्छ । यो समयमा स्वास्थ्य परीक्षण गरेर डेलिभरी हुने डेट मिलाउन सकिन्छ । पहिलो तीन महिनामा ‘भिटामिन–बी’, ‘फोलिक एसिड’ दिइन्छ । तीन महिनाछि आइरन, क्याल्सियम दिइन्छ । आइरन, क्याल्सियम नियमित खाइरहन मिल्ने डा. बराल सुझाउँछन् ।
‘टाउको दुख्ने वा कुनै स्वास्थ्य समस्या भएको अवस्था र सुत्केरी हुन दिएको मितिभन्दा एक हप्ता कटेको अवस्थामा भने तुरुन्तै स्वास्थ्य संस्था जानुपर्छ,’ डा. बरालले भने– ‘स्वास्थ्य समस्या भएको, रोग लागेको वा सङ्क्रमण भए जुनसुकै अवस्थामा पनि स्वास्थ्य संस्था जानुपर्छ ।’
डा. गौतम र डा. बरालको मतअनुसार यस्तो महामारीको समयमा गर्भवती महिलाको स्वास्थ्य सामान्य भएको अवस्थामा स्वास्थ्य संस्थामा हतारिएर पुग्नु पर्दैन । तर, स्वास्थ्य समस्या आएको अवस्थामा भने सुरक्षित तवरले तुरुन्तै स्वास्थ्य संस्थामा पुग्नुपर्ने उनीहरुको सुझाव छ । मनोचिकित्सकका अनुसार कोरोनाभाइरस (कोभिड– १९) कोे विपत्तिले गर्भवतीमा झन् तनाव बढ्न सक्छ । गर्भवतीलाई स्वास्थ्यमा कुनै सस्या आएर बिरामी भए उपचारका लागि कहाँ जाने भन्ने तनाव हुने त्रि.वि. शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझा बताउँछन् ।
यस्तै, विभिन्न किसिमले गर्दा सामान्य व्यक्तिमा भन्दा गर्भवतीमा विशेष तनाव पैदा हुन सक्ने डा. वझा बताउँछन् । गर्भवती भएको अवस्थामा शारीरिक त छँदैछ, मनोवैज्ञानिकरूपमा पनि तनाव हुन्छ । ‘शारीरिक तनाव भइरहेको अवस्थामा कोभिड– १९ ले मनोवैज्ञानिक तनाव थपियो,’ डा. वझा भन्छन्– ‘महामारीको अवस्थामा अस्पताल गएको खण्डमा अस्पतालबाटै कोरोनाभाइरस फैलेला कि भन्ने तनावले गर्भवतीलाई सताउन सक्छ ।’ तनाव व्यवस्थापनमा भने ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा तनाव लिनु नहुने चिकित्सकको सुझाव छ । उचित जीवनशैली अपनाएको अवस्थामा भने तनाव व्यवस्थापन गर्न सकिने उनी सु्झाउँछन् ।
त्यसैगरी, गर्भवती भएको अवस्थामा खानपानमा निकै ध्यान दिनुपर्छ । पोषणयुक्त खानपान गर्नु अत्यावश्यक हुन्छ । विशेषगरी भिटामिन सी, दूधजन्य पदार्थ, हरियो सागपात, माछामासु, गेडागुडी, र प्रशस्त पानी पिउन चिकित्सकको सुझाव छ । बिहान घाममा बस्दा ‘भिटामिन–डी’ पाइने भएकाले बिहान घाममा बस्न चिकित्सकको सुझाव छ । यस्तो अवस्थामा धूमपान तथा मद्यपान गर्नु हुँदैन ।

कोरोना महामारीबीचको गर्भवती अवस्था

पहिलो कुरा त गर्भवती अवस्था भनेको आफैंमा तनावयुक्त स्थिति हो । गर्भवती अवस्थामा शरीरमा हुने रासायनिक परिवर्तनका कारण आराम, पोषण, व्यायाम र तनावरहित अवस्थाको आवश्यकता हुन्छ । अझ, कोभिड– १९ को विपत्तिका बेला गर्भवतीमा झन् तनाव बढेको हुन्छ । केही गरी बिरामी भएमा कहाँ जाने भन्ने तनाव छ । यो अवस्थामा अरु विभिन्न किसिमका विशेष तनाव समेत हुन्छन् । गर्भवती अवस्थामा शारीरिक त छँदैछ, मनोवैज्ञानिकरूपमा समेत तनाव हुन्छ । शारीरिक तनाव छँदैथियो, अस्पतालबाटै कोरोना सङ्क्रमण होला भन्ने थप तनाव समेत छ ।

गर्भावस्थाको व्यवस्थापन

गर्भवती अवस्थालाई सही तरिकाले व्यवस्थापन गर्नुपर्छ । कोरोनाजस्ता विपत्ति प्राकृतिक प्रकोप भएकाले यिनलाई पनि सकारात्मक हिसाबले लिनुपर्ने हुन्छ । अहिले त प्रविधिको विकासले पर्याप्त जनचेतना विकसित भएको स्थिति छ । यतिबेला पहिलो कुरा त कोरोनाबाटै बच्नुपर्छ; स्वास्थ्य मन्त्रालयका गाइडलाइनहरू पालना गर्नुपर्छ ।
हामीले जहिल्यै सकारात्मक सोचाइ लिनुपर्छ; आत्मबल बलियो बनाउनुपर्छ । बढीभन्दा बढी घरमै बस्ने र पोषणयुक्त खानपान गर्ने कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । विशेषगरी भिटामिन सी, दूधजन्य पदार्थ, हरियो सागपात, माछा–मासु, गेडगुडी र प्रशस्त पानी पिउने गर्नुपर्छ ।
गर्भावस्थामा हल्का किसिमको तर नियमित व्यायाम गर्नुपर्छ । बिहान घाममा बस्दा भिटामिन डी पाइने भएकाले बिहान घाममा बस्ने गर्नुपर्छ । व्यायामले स्ट्रेस हर्मोन (कोर्टिसोल र एड्रिनालिन) घटाउँछ, जसले रक्तचाप र मधुमेह सन्तुलित हुन मद्धत पुर्याउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । राति सात–आठ घन्टा सुत्नुपर्छ । चुरोट–रक्सी खानु हुँदैन । गीत–सङ्गीत सुन्ने, भिडियो हेर्नेजस्ता क्रियाकलापबाट पर्याप्त मनोरञ्जन लिनुपर्छ ।
गर्भावस्थामा अत्यावश्यक पर्दा बाहेक मान्छे अनावश्यकरूपमा मरेको नहेर्ने । कोभिडको समाचार पनि दैनिक दुई पटकभन्दा बढी नहेर्ने । मान्छे मरेको समाचार हेरिरहँदा तनाव उत्पन्न हुन्छ । प्रायः सकारात्मक किसिमका समाचार मात्र हेर्ने गर्नुपर्छ । सोसल ⁄ फिजिकल डिस्ट्यान्स टाढा भए पनि सोसल कनेक्सन नजिक पार्ने प्रयत्न गर्नुपर्छ । ध्यान गर्नाले तनाव कम हुन्छ ।
कोभिड– १९ अचम्मको चिज होइन, प्राकृतिक प्रक्रिया नै हो त्यसैले सकारात्मकरूपमा नै लिनुपर्छ । कोभिडका कारण उत्पन्न प्राकृतिक तनावलाई सहजरूपमा ग्रहण गर्न प्रयास गर्नुपर्छ र सकारात्मक विचार राख्नुपर्छ । श्रीमान्, आमा–बुबा, सासू–ससुरासँग नजिक हुँदा तनाव कम हुन्छ । गर्भवतीमा तनाव कम हुँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ । यस्तो अवस्थामा सकारात्मक सोचको विकास गर्ने, आत्मबल बढाउने र स्वस्थ जीवनशैली अपनाउने गर्नुपर्छ ।

कोरोनाबीच यसरी गराऔं सुरक्षित डेलिभरी

कोभिड– १९ को महामारी फैलिइरहेको यसबेला गर्भवती महिलाले मात्र होइन, सबैले सामाजिक दूरी कायम गर्नुपर्छ; यसलाई हेलचेक्र्याइँ गर्नु हुँदैन । जरुरी नपरी घरबाहिर निस्कनै हुन्न । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, नाक–मुखमा हात नलानेजस्ता व्यवहार गर्न जनचेतना जगाउनुपर्छ ।
पहिले अप्रेसन गरेकाहरू ‘डेलिभरी डेट’ भन्दा दुई हप्ता अगाडि नै अस्पताल आउनुपर्छ । रगत आए, पेट दुखे, ब्यथा लागे अस्पताल आइहाल्नुपर्छ । डेट (४० हप्ता) कटे भोलिपल्टै अस्पताल वा स्वास्थ्य संस्थामा जानुपर्छ ।
सकेसम्म नजिकैको स्वास्थ्य संस्था रोज्नुपर्छ, घन्टौं हिँड्नु हुँदैन । कुरुवा पनि एक जना मात्रै जाने । ओपीडी जाँदा पनि एक जना मात्रै कुरुवा लाने । मिले–पाएसम्म सर्जिकल मास्क लगाउने, त्यो नपाइए दुई वटा लेयर भएको मास्क लगाउने । अस्पतालमा भीड नगर्ने । भर्ना हुने बिरामीको एक जनाका लागि मात्र पास मिलाइन्छ । भित्र–बाहिर जान कुरुवाको व्यवस्था छ । महिला–पुरुष दुवैलाई कुरुवाघरको व्यवस्था गरिएको छ । कुरुवासहित सबैले अनिवार्यतः मास्क लगाउनुपर्छ ।
अस्पताल आउने सबैले स्यानिटाइजर पनि बोक्ने । छालामा लगाउने स्यानिटाइजरले खराब असर गर्दैन । घरमा होइन, स्वास्थ्य संस्थामा नै डेलिभरी गर्नुपर्छ । कतिपय ठाउँमा भने घरमै पनि डेलिभरी गर्न सकिन्छ । सबैको घरमा स्वास्थ्यकर्मी पुग्न सम्भव छैन । विकसित मुलुकमा भने अस्पतालका चिकित्सक घरैमा गएर डेलिभरी गराउने पनि व्यवस्था छ तर हामीकहाँ त्यो सम्भव छैन ।
रोगमा परिवर्तन भए वा अरु विशेष समस्या उत्पन्न भए प्रसूतीगृह नै पुग्नुपर्छ भन्ने छैन । चिकित्सकको सल्लाहअनुसार आइरन र क्याल्सियम खाने र समस्या आएमा वा डेट क्रस गरेमा स्वास्थ्य संस्था पुग्ने ।
गर्भवती अवस्थामा राति आठ घन्टा र दिउँसो दुई घन्टा सुत्ने, पटक–पटक खाना खाने, रगत–पानी बगेमा वा अरु कुनै समस्या भएमा स्वास्थ्य संस्था गैहाल्ने । अत्यावश्यक खर्चको जोहो पनि गरिराख्ने । आमा र बच्चालाई चाहिने लुगा–कपडाको व्यवस्थापन पनि गरिराख्ने । गर्भावस्थामा पेटभरि खाने ।
गर्भवती अवस्थामै कोभिड– १९ को सङ्क्रमण भैहालेमा त्यस्ता महिलाले साबुन–पानीले राम्ररी हात धुने, ‘ब्रा’ लाई पनि स्यानिटाइज गर्ने । अनिवार्यरूपमा मास्क लगाउने । पेटभित्रैको बच्चामा कोरोना सर्ने सम्भावना अत्यन्तै न्यून छ, बाहिर भने सर्न सक्छ । बच्चा जन्मिसकेपछि सङ्क्रमणबाट जोगाउन राम्ररी ध्यान पुर्याउने ।

सङ्क्रमित आमाबाट जन्मने बच्चाको सुरक्षा

बच्चा जन्मेको पहिलो तीन महिना पर्याप्त उपायहरू अपनाउने । जन्मिसकेको बच्चालाई कोरोना सरिहाल्छ कि सर्दैन भन्ने थाहा छैन । गर्भको बच्चामा चाहिँ सर्यो भन्ने कुरा प्रमाणित छैन । जन्मेको पहिलो तीन महिनामा भाइरसले असर गर्दा बच्चा विकलाङ्ग हुने सम्भावना हुन्छ ।
कोरोना सङ्क्रमित महिलाले स्तनपान गराउँदा बच्चामा सरेको प्रमाणित छैन । आमाको दूधमा भाइरस भेटिएको छैन । सङ्क्रमित महिलाको ‘डाइरेक्ट कन्ट्याक्ट’ बाट बच्चामा कोरोना सर्न सक्छ । बच्चा जन्मँदा निस्कने रसायनबाट पनि सर्न सक्छ तर यो कुरा प्रमाणित छैन । सालबाट पनि बच्चामा सरेको प्रमाणित छैन ।
कोरोना सङ्क्रमित आमाले सुरक्षाका उपाय अपनाउनुपर्छ । यदि सुत्केरीमा कोरोना छ भने स्तनपान गराइसकेपछि बच्चालाई सँगै राख्नु हुँदैन; डेढ मिटरको दूरीमा राख्नुपर्छ । स्तनपान गराउनुपूर्व हात सफा गर्नुपर्छ । स्तन बाहिर निकालेर दूध चुसाउन सकिन्छ । सफा साबुन–पानीले हात र स्तन सफा गर्नुपर्छ ।
नवजात शिशुका लागि आमाको दूध नै सबैभन्दा महत्वपूर्ण पोषण हो । चारदेखि छ महिनासम्म आमाको दूध मात्रै खुवाए पनि पोषण पुग्छ । आमाले स्तनपान गराउन सम्भव नभए विकल्पमा अरु कसैको स्तन चुसाउनुपर्छ । त्यो पनि सम्भव नभए ‘फर्मुला फिड’ खुवाउन सकिन्छ ।
गर्भवती अवस्थामा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । यस्तो बेला पोषणयुक्त खानपान मनग्गे गर्नुपर्छ । कोरोना महामारीको अवधिभर गर्भवती महिला जँचाउन पनि सकेसम्म कम मात्र जानु राम्रो हुन्छ । तीन, पाँच, सात र आठ महिनामा भने सकेसम्म जँचाउनै पर्छ ।
पहिलो तीन महिनामा जँचाउनु पर्छ । यसबेला अल्ट्रासाउड गर्नुपर्छ र रगत पनि जाँच्नुपर्छ । पाँच महिनामा मुटुको कोठा बन्छ । गर्भभित्र रहेको शिशुको शरीरका भागहरू बन्दै गरेको अवस्थामा अल्ट्रासाउण्ड गरेर गर्भको स्थिति हेरिन्छ । सात महिनामा साल र बच्चाको विकास हेर्न सकिन्छ । आठ महिनामा बच्चाको पूर्ण विकास हेरिन्छ ।
टाउको दुख्ने वा कुनै समस्या भए बीचमा पनि जँचाउनु पर्छ । डेलिभरीका लागि दिइएको मितिभन्दा एक हप्ता कटेर पनि सुत्केरी नभए अस्पताल जानुपर्छ ।
गर्भवती भएको पहिलो तीन महिनामा शिशुका अङ्ग बनिसक्छन् । यसबेला डेट मिलाउन सकिन्छ । पहिलो तीन महिनामा भिटामिन– ‘बी’ र फोलिक एसिड दिइन्छ । तीन महिनापछि आइरन र क्याल्सियम दिइन्छ । गर्भवतीलाई कुनै रोग लागेमा वा कोरोना सङ्क्रमण भएमा भने जुनसुकै अवस्थामा पनि अस्पताल गैहाल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)