आँपको गुलियो, जिब्रो भुल्यो !

होलिस्टिक संवाददाता

आँपलाई फलफूलको ‘राजा’ मानिन्छ । धेरै किसिमका फलफूलमा पाइने पौष्टिक तत्व आँपमा पाइने भएकाले यसलाई ‘फलफूलको राजा’ मानिएको हो ।
आँपको उद्गमस्थल दक्षिण एसियाली क्षेत्र हो । औसत ३० देखि ४० डिग्री सेल्सियस तापक्रममा आँपको राम्रो उत्पादन हुन्छ । नेपालका तराई क्षेत्र र पहाडी क्षेत्रका तल्ला भूभागमा आँपको राम्रो उत्पादन हुन्छ । नेपालमा माल्दह, दसहरी, अम्रपाली, बम्बाई यल्लो, सुपारी, चौंसाजस्ता दर्जनभन्दा बढी प्रजातिका आँप पाइन्छन् ।
आँपको दानाको लम्बाई २० सेन्टीमिटरसम्म हुन्छ । औसतमा एउटा पाकेको आँपको दाना तीन सयदेखि चार सय ग्रामसम्म हुने भए पनि सप्रेको आँपको दानाको तौल एक किलोग्रामसम्म हुन्छ ।

आइटमको स्वाद

यो फल वर्षातकाे मौसममा पाक्छ । काँचो आँप पनि सिधै खाइन्छ र काँचो आँपका अचारलगायतका विभिन्न परिकार समेत बनाइन्छ तापनि अधिकाङ्शतः पाकेको आँप नै खान मन पराइन्छ । गुलियो आँप खान मन नपराउने व्यक्ति सायदै होला । आँपबाट जुसलगायतका पेय पदार्थ समेत उत्पादन गरिन्छ । आँप प्रशोधन गरेर जाम, जेली, क्यान्डी, माडा, तितौराजस्ता खाद्य पदार्थका आइटमको स्वाद लिन सकिन्छ ।
काँचो आँपमा अम्लीयपनको मात्रा बढी र सुगर (गुलियो) को मात्रा कम हुन्छ । काँचो आँप अचारका रूपमा खाँदा असाध्यै मिठो हुन्छ । काँचो आँपको अचार बनाउने विभिन्न घरेलु विधि छन् । पाकेको आँपमा सुगर (गुलियो) को मात्रा बढी हुन्छ भने अम्लीयपन कम हुन्छ ।
पहाडी भूभागमा बसोबास गर्नेहरू समेत आँप पाक्ने मौसममा आँप खान तराई झर्ने चलन छ । यो प्राकृतिकरूपमा आफैं पाक्ने फल हो । यो रुखमै पनि पाक्छ र टिपेर विभिन्न तरिकाले पनि पकाउन सकिन्छ । आँप टिपेर पकाउँदा ‘कार्बाइड’ नामक रासायनिक तत्व हालेर पकाउने गरिन्छ तर यसो गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक मानिँदैन । प्राकृतिकरूपमा असुराको पात हालेर पनि आँप पकाउन सकिन्छ । प्रजातिअनुसार पाकेका आँप पहेंला, सुन्तले, सिन्दुरे, राता र हरिया रङ्गका हुन्छन् ।

पोषिलो फल

आँपमा पाइने भिटामिन तथा पौष्टिक तत्वको स्थिति आँप कलिलो, काँचो वा पाकेको– कुन अवस्थामा छ भन्ने कुरामा भर पर्छ । आँप पाक्दै जाँदा ‘भिटामिन– सी’ को मात्रा कम हुँदै गई ‘भिटामिन– ए’ को मात्रा वृद्धि हुँदै जान्छ; यो भिटामिन स्वास्थ्यका निम्ति अत्यावश्यक हुन्छ । आँपमा पाइने यस्ता तत्व आँखाको तेज (दृष्टि क्षमता) कायम राख्नेलगायत अनेकौं शारीरिक प्रक्रियामा लाभदायक हुन्छन् ।
आँपमा ‘फोलेट’, ‘भिटामिन– बी’, ‘भिटामिन– के’, ‘भिटामिन– ई’ जस्ता तत्व पाइन्छन् । यी तत्वले शरीर मजबुत बनाउन ठूलो भूमिका खेल्छन् । आँपमा म्याग्नेसियम, पोटासियम र म्याग्नेफेरिनजस्ता एन्टिअक्सिडेन्ट तत्व समेत पाइन्छन् ।
आँपमा पाइने ‘भिटामिन– सी’ बाट छालामा चाउरीपना कम गर्न मद्धत मिल्छ भने ‘भिटामिन– ए’ बाट कपाल स्वस्थ बनाउन सहयोग पुग्छ । आँपमा पाइने ‘ल्युटिन’ र ‘जेयाजान्थिन’ तत्वबाट छालामा घामको किरणद्वारा हुन सक्ने नकारात्मक असरबाट जोगिन मद्धत मिल्छ । आँपमा पाइने यस्ता तत्वबाट मुटु स्वस्थ राख्न समेत सहयोग पुग्ने भएकाले सन्तुलितरूपमा आँप खानु निकै नै लाभदायक हुन्छ । पाचन प्रक्रियालाई सहज बनाउने विभिन्न किसिमका इन्जाइम, डायटरी फाइबर र पानीको मात्रा समेत आँपमा प्रशस्त पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)