तनाव कम, सुन्दरतामा दम

डा. प्रकृति ज्ञवाली

कोरोनाभाइरस (कोभिड– १९) को महामारीका कारण धेरै नागरिक तनावमा परे । महामारीको भय त आफ्नो ठाउँमा छँदैछ, झन् लकडाउनका कारण कयौंको दैनिकी अस्तव्यस्त भयो । यो स्थितिमा तनाव सिर्जना हुनु स्वाभाविकै हो । महामारी र लकडाउनजस्ता तनावयुक्त कारणबाट स्वास्थ्यका विभिन्न पक्षमध्ये छालामा समेत नकारात्मक असर पर्ने जोखिम हुन्छ ।
लकडाउनका कारण घरबाहिर निस्कन नपाउँदा छालामा भएका पहिलेका समस्या बल्झिएर समस्याहरू देखापर्न थालेको पाइएको छ । कतिपयमा छाला सुख्खा हुने तथा चिल्लो हुनेजस्ता समस्या देखिएका छन् ।

छालामा चमक ल्याउन तनावको व्यवस्थापन

लकडाउनको समयमा घरमै बस्दा र जतिबेला पनि सुत्नाले छालामा समस्या उत्पन्न हुन सक्छ । आवश्यकताभन्दा कम वा बढी र गलत समयमा (असन्तुलितरूपमा) सुत्नाले निद्रामा गढबढी हुन सक्छ । निद्राको कमीका कारण शरीरमा ‘मेलानोकर्टिन’ हर्मनको कमी हुन्छ, जसका कारण छालाको चमकमा कमी आउँछ ।
समान्यतया दिउँसो हिँडडुल गर्नाले छाला ड्यामेज हुन सक्छ । राति सुतेपछि ड्यामेज भएको छालामा पुनः सुधार हुन्छ । छाला पुनः सुधार हुने प्रक्रिया रातमा निदाएको बेला मात्रै हुन्छ । राति कम सुत्दा वा नसुत्दा यो प्रक्रिया अवरुद्ध हुन्छ । यसो हुँदा आँखाको वरिपरि कालो घेराजस्तो देखिने, आँखा वरिपरि रिङ्कल देखिने, चाया–पोतो बढ्ने, चाउरीपन देखिनेजस्ता समस्या हुन्छन् । त्यसैले सन्तुलितरूपमा र ठीक समयमा सुत्नुपर्छ । सामान्यतः सातदेखि आठ घन्टा सुत्नु उचित हुन्छ ।


तनावका कारण ‘कर्टिसोल’ नामक हर्मनको उत्पादन बढ्छ । यो हर्मनको असरका कारण छालामा चिल्लो निकाल्ने ग्रन्थीले तेल बढाउने मात्रा बढ्छ, जसले गर्दा छालामा चिल्लोपन बढी हुन्छ । छाला जति धेरै चिल्लो भयो, पिम्पल्स त्यति नै बढी आउँछन् । चिल्लोपन बढ्दा ब्याक्टेरियाका कारण इन्फेक्सन हुन्छ । लकडाउनका बेला युवतीहरूमा यो समस्या बढी देखिएको छ ।
छालाको आफ्नै किसिमको रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तनावका बेला छालाको रोग प्रतिरोधात्मक क्षमता कम हुँदा रोजेसा, इक्जिमा, सोर्यासिस (कत्ले रोग), पिम्पल्स, चायाजस्ता इन्फेक्सन र छालाको एलर्जी बढ्ने जोखिम हुन्छ । पहिले यस्ता समस्या भएका व्यक्तिमा यो समस्या झन् बढ्न सक्छ ।
तनाव व्यवस्थापन गरेर छालाका समस्या न्यूनीकरण गर्न सकिन्छ । तनाव व्यवस्थापनका लागि मेडिटेसन, योगा, डान्स, व्यायामलगायत गर्न सकिन्छ ।

घामको काम

लकडाउन तथा महामारीको समयमा बाहिर ननिस्कँदा छालामा घामको किरण उति धेरै पर्न पाउँदैन । घामबाट छालाले ‘भिटामिन– डी’ बनाउँछ तर घरबाहिर ननिस्कँदा भिटामिन– डीको कमी हुन्छ । भिटामिन– डीले नयाँ कोषिकाको पुनर्उत्पादन (रिपेयर) गर्छ, जसले गर्दा स–साना घाउहरू चाँडै निको हुन्छन् ।
लकडाउनको अवस्थामा भिटामिन– डीको कमीका कारण छालामा सुख्खापन बढ्छ र छाला रुखो देखिन्छ । घाममा बस्दा सन्स्क्रिन लगाएर बस्नु उचित हुन्छ, जसले गर्दा डढ्ने समस्या हुँदैन । बिहानीपखको घाममा बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
भिटामिन–डीका लागि सन्स्क्रिन लगाएर हप्तामा तीन दिन दैनिक १०–१५ मिनेट ढाडतिर घाम पारी अनुहार ढाकेर बस्नु उचित हुन्छ । घाममा धेरै बस्दा चाया–पोतो आउने सम्भावना हुन्छ । चाया–पोतो आउने प्रकृतिको छालालाई थोरै घामको किरणले पनि नकारात्मक असर गर्न सक्छ । भिटामिन– डीको परिपूर्तिका लागि भिटामिन– डी पाइने विभिन्न सप्लिमेन्ट पनि खान सकिन्छ । माछा, अण्डा इत्यादि खाएमा पनि शरीरमा भिटामिन– डी प्राप्त हुन्छ ।

विद्युतीय उपकरणको प्रयोगमा सजगता

राति मोबाइल र कम्प्युटरजस्ता उपकरणको बढी (धेरै समयसम्म) प्रयोग गर्दा ती उपकरणको प्रकाशले छालामा नकारात्मक असर गर्न सक्छ । त्यसैले मोबाइल, कम्प्युटरजस्ता उपकरण कम चलाउनु नै उचित हुन्छ ।

खानपानमा सजगता

महामारी तथा लकडाउनको समयमा खानपानमा सन्तुलन मिल्न कठिन हुन्छ । खानपिनको समय र खानपानको प्रकृतिका कारण पनि छालामा असर पर्छ । खानपानको रुटिन गडबड हुँदा छालामा असर पर्छ । जङ्क फुड खानाले पनि छालामा असर पर्छ ।
लकडाउनको समयमा घरभित्रै बसिरहँदा अल्कोहल पिउने सम्भावना बढी हुन्छ, जसले छालामा असर गर्छ । अल्कोहलका कारण छालामा सोर्यासिस, इक्जिमा रोजिसाजस्ता छालारोगको जोखिम बढ्छ ।
धेरै गुलियो र बढी दूधजन्य पदार्थ (डेरी प्रडक्ट) खानाले छालामा चिल्लो आई पिम्पल्स बढ्न सक्छन् ।

नियमित व्यायाम

नियमित व्यायामको अभावका कारण छालामा नकारात्मक असर पुग्छ । नियमित व्यायाम गर्दा तथा खुशी रहँदा ‘सेरोटोनिन’ जस्तो खुशी दिने हर्मोनको वृद्धि हुन्छ, जसले छालामा पनि सकारात्मक प्रभाव पर्छ ।
छालाको स्याहारका निम्ति मात्र होइन, समग्र स्वास्थ्यका लागि समेत नियमित व्यायाम आवश्यक हुन्छ । व्यायाम गर्दा शरीरबाट आउने तेल वा पसिनाले छालामा असर गर्न सक्छ । त्यसैले व्यायाम गर्ने व्यक्तिमा पिम्पल्स आउन सक्ने भएकाले व्यायाम गर्ने बित्तिकै नुहाउनुपर्छ ।

कोठामा बाफ

घरभित्र लामो समयसम्म बसिरहँदा कोठाभित्रको सुख्खापनका कारण छाला चिलाउने, सुख्खा हुनेजस्ता समस्या उत्पन्न हुन सक्छन् । यस्तो अवस्थामा ‘युमिडी फायर’ प्रयोग गर्न सकिन्छ । यसले बाफ फाल्छ र छाला सुख्खा हुने समस्याबाट बचाउँछ ।

धेरै तातो पानीले ननुहाउने

लामो समयसम्म तातो पानीमा नुहाइरहनाले पनि छाला सुख्खा हुने तथा चिलाउने समस्या हुन्छ । त्यसैले धेरै पटक र धेरै बेरसम्म तातो पानीमा नुहाउनु उचित हुँदैन । मनतातो पानीले नुहाउनु उत्तम हुन्छ । नुहाएपछि छाला ओसिलो बनाउन शरीरमा मोइस्चराइजर लगाउन सकिन्छ ।

घरायसी क्रिम जथाभाबी नलगाउने

युवतीहरूले छालामा क्रिम लगाउने प्रवृत्ति बढिरहेको छ । चिकित्सकसँग सल्लाह नगरी विभिन्न किसिमका कस्मेटिक्स सामग्री लगाउँदा पनि छालामा समस्या देखिन थालेको छ । रासायनिक तत्वले छालालाई असर गर्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र आवश्यक क्रिम वा औषधि छालामा प्रयोग गर्नुपर्छ ।

हात धुँदाको सचेतता

कोरोनाभाइरसका कारण अहिले हात धोइराख्ने चलन छ । कडा साबुनको प्रयोग गरेर पटक–पटक हात धुँदा वा स्यानिटाइजरको प्रयोग गरिरहँदा ‘एक्जिमा’ नामक रोग बढिरहेको देखिन्छ ।
स्यानिटाइजर र साबुन त प्रयोग गर्नैपर्यो तर मुलायम किसिमको साबुन प्रयोग गर्नुपर्छ । हातको छालामा हुने समस्याबाट बच्नका लागि साबुन तथा स्यानिटाइजर प्रयोग गरिसकेपछि पटक–पटक मोइस्चराइजर लगाउनु पर्छ ।

परामर्शपछि मात्र औषधिको प्रयोग

पहिलेदेखि छालामा समस्या भएकाहरूले औषधि प्रयोग गर्नुपर्ने हुन्छ । कतिपयमा भने नियमित प्रयोग गरिरहेका औषधि नपाएर थप समस्या बढेको देखिन्छ । लकडाउनको अवस्थामा घरमा आफैं बनाएर पनि औषधि प्रयोग गर्ने गरेको पाइएको छ ।
भान्सामा उपलब्ध खानपानका विभिन्न सामग्रीहरूलाई कस्मेटिक्सका रूपमा प्रयोग गर्दा छालाको समस्या झन् बढ्ने जोखिम हुन्छ । कुन सामग्री कसरी प्रयोग गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । फोन वा सम्पर्कका विभिन्न माध्यमबाट सकेसम्म चिकित्सकसँग परामर्श लिएर मात्र यस्ता सामग्री वा औषधिको प्रयोग गर्नु उचित हुन्छ ।
(डा. ज्ञवाली छालारोग तथा सौन्दर्य विशेषज्ञ हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)