बल्छी ध्रुवे ‘हिरो’, श्रीमती ‘हिरोइन’ !

होलिस्टिक संवाददाता

एक समय निकै चलेको र दर्शकमाझ लोकप्रिय बनेको हाँस्य–सिरियल हो– ‘मेरी बास्सै’ । त्यो श्रृङ्खलामा ‘बल्छी ध्रुवे’ का नामले परिचित थिए, मरिचमान श्रेष्ठ । मरिचमान श्रेष्ठ भन्दा अहिले पनि दर्शकले ठम्याउन सक्दैनन् तर बल्छी ध्रुवे भन्यो भने नचिन्ने सायदै होलान् ।
गोरखा घर भएका मरिचमान काठमाडौं आएको पन्ध्र वर्ष भइसकेको छ । काठमाडाैं आएपछि कलाकार बन्नका लागि उनी विभिन्न कलाकेन्द्रमा धाए । कतिले त उनको पैसा खाइदिए तर कलाकार भने बनाइदिएनन् ।

मरिचमानबाट बल्छी बन्दाको सङ्घर्ष

सरलरूपमा बितेका थिएन उनको जीवन । सानैदेखि कलाकार बन्ने सपना साँचेका मरिचमान विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन्थे । उनी पढ्ने स्कुलमा हरेक शुक्रबार हास्यव्यङ्ग्य तथा अन्य कार्यक्रमहरू हुन्थे । हास्यव्यङ्ग्यमा सहभागी भएर सबैलाई उछिन्न मन लाग्थ्यो उनलाई । ‘त्यो बेला कक्षा–कक्षाबीच हास्यव्यग्ङ्यको होडबाजी नै चल्थ्यो,’ मरिचमान भन्छन्– ‘कक्षा ९ मा पढिरहेका बेला चलेको यस्तै प्रतिस्पर्धामा प्रथम भएँ ।’
किशोरावस्थामा स्कुलमा सहभागी भएका कार्यक्रम सम्झँदै उनले भने– ‘त्यसरी नै ममा हास्यव्यङ्ग्यप्रतिको लगाव बढेको हो । तिनै कार्यक्रमले मलाई हौस्याए ।’ गाउँकै स्कुलबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययन र कलाकारिता सिक्नका लागि भन्दै मरिचमान काठमाडौं हानिए ।
काठमाडौ आएपछि पत्रिकामा छापिएको विज्ञापन हेरेर उनी एउटा कला केन्द्रमा भर्ना भए । ती दिन सम्झँदै बल्छी भन्छन्– ‘विज्ञापनमा चाहिँ त्यो कला केन्द्रमा अभिनय सिकाएर कलाकार बनाइन्छ भनिएको थियो तर भनेजस्तो भएन । त्यसपछि उनले दिपक क्षेत्रीसँग दुई वर्ष अभिनय सिके । त्यसबेला केही फिल्महरूमा कतै–कतै मात्र देखिने भूमिकामा अवसर पाए । टेलिफिल्मका ‘आयो है’ भन्न नपाउँदै ‘गइहाल्ने’ खाले सिनहरूमा काम गरे ।
‘मैले त्यसबेला लास्टै सङ्घर्ष गरेको हुँ, यो ठाउँसम्म आइपुग्दा निकै नै कष्ट भोगेको छु,’ उनी भन्छन्– ‘कलाकारहरूसँग बिस्तारै भेटघाट हुन थालेको थियो । जितु नेपाल त्यो बेलाका हिट हास्यकलाकार थिए । एकजना साथीबाट फोन नम्बर पाएँ अनि जितु दाइलाई फोन गर्न थालें । एकदिन उहाँले मलाई बोलाउनु भयो । मैले सानोतिनो, झलक–झलक आउने सिन पाएँ । त्यसलाई म पहिलो अवसरका रूपमा लिन्छु । लामो समयपछि मात्र मैले ‘कृषक–कृषक एक हौं’ भन्ने डाइलग पाएको थिएँ । अहिलजस्तो सजिलो थिएन, कलाकार बन्न निकै नै सङ्घर्ष गर्नुपथ्र्यो ।
‘मेरीबास्सै’ चम्कँदै थियो । कलाकारको नम्बर पाउन समेत कठिन थियो । बल्ल–बल्ल केदार घिमिरेको नम्बर पाए । उनलाई फोन गरिरहे । एकदिन केदारले ‘आउन चाहिँ आउनू, रोलचाहिँ छैन है’ भने । त्यति मात्र भए पनि पुग्छ भन्ने लाग्यो बल्छीलाई । उनमा आशा पलायो । सुटिङ स्पटमा गए । उनी सम्झन्छन्– ‘केदार दाइलाई मेरो काम मन पर्न थालेपछि, निकै पछि मात्र मैले बल्छी रोल पाएको हुँ ।’

कार्यक्रमबाट जुरेको प्रेम विवाह

‘मेरीबास्सै’ बाट बल्छी ध्रुवे नामले परिचित बन्दै गएका मरिचमानले पोहोरसाल विवाह गरे । करुणा खड्कासँग विवाह गरेपछि लमजुङमा उनको ससुराली बन्यो । एउटा कार्यक्रममा त्यता जाँदा मायाजालमा परेकी करुणालाई छ वर्षपछि दुलहीका रूपमा भित्र्याए ।
बल्छीसँग प्रेममा पर्नुका पछाडि रोचक कहानी भएको करुणाको भनाइ छ । ‘प्रेममा परिएला र विवाह होलाजस्तो लागेकै थिएन । कार्यक्रममा लम्जुङ पुग्नुभएका उहाँसँग गाउँकै एक दाइले ‘उहाँ बल्छी ध्रुवे’ भनेर चिनाउनुभयो । त्यसबेला सामान्य परिचय मात्र भएको थियो,’ अतीत सम्झँदै उनले भनिन्– ‘झट्ट हेदा मान्छे कालो–कालो लाग्याथ्यो । फोन नम्बर साटासाट गरेका थियौं । काम लागे पनि नलागे पनि कलाकार भएकैले नम्बर मागियो ।’
‘बिस्तारै फोनमा कुराकानी हुन थाल्यो, त्यो बेला स्कुल पढ्दै थिएँ, बिस्तारै एसएलसी पनि सकियो,’ कहानीको गाँठो फुकाउँदै उनले भनिन्– ‘पढ्नका लागि काठमाडौं आउनु नै थियो, यतै आउनका लागि उहाँले पनि फोर्स गर्नुभयो । पढ्नका लागि यतै आएँ । निरन्तर बोलचाल र भेटघाट हुन थालेपछि बिस्तारै माया–पिरती गाँसिएको पत्तै भएन ।’

लकडाउनमा अभिनय

सुरु–सुरुमा बल्छी ध्रुवेले श्रीमतीलाई अभिनयमा नल्याउने बताएका थिए । करुणाले पनि आफू कलाकारितामा नलाग्ने बताएकी थिइन् । स्कुल पढाइरहेकी उनले आफूलाई शिक्षण पेशा नै मन पर्ने बताएकी थिइन् ।
तर अहिले यो दम्पतीको कुरा बदलिएको छ । लकडाउनका बेला घरमै बसेर उनीहरूले सर्ट भिडियोहरू बनाए । ‘त्यस्तो सोच त छैन, शिक्षिका पेशा नै ठीक लाग्छ । श्रीमान् कलाकार हुँदैमा श्रीमती पनि कलाकार नै हुनुपर्छ भन्ने त छैन,’ करुणाजी ! कलाकार बन्ने इच्छा छैन ? श्रीमान् कलाकार भएपछि श्रीमती पनि कलाकार नै बन्ने चलन छ नि भन्ने होलिस्टिकको प्रश्नमा उनले भनिन्– ‘अहिले म पढ्दै छु र स्कुलमा पढाउँदै पनि छु, भोलिका दिनमा व्यापार गर्ने सोच छ । लकडाउनका बेला भने घरमा नै बसेर लकडाउन पालना गर्दा छोटा फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दियौं ।’
‘बल्छी ध्रुवे’ नामक युट्युब च्यानलबाट अपलोड गरिएका ती भिडियोमा श्रीमान्–श्रीमतीकै अभिनय देख्न सकिन्छ । उनीहरूले लकडाउनको मिठास दिएका छन् । हास्यकलाकार बल्छी आफैंले लेखन–निर्देशन गरेका ती भिडियोमा दुवैले अभिनय गरेका छन् । मरिचमान भन्छन्– ‘समय कटाउन र सङ्कटका बेला दर्शकलाई सान्त्वना दिन यसरी भिडियो बनाउनुपरेको हो ।’


कोरोनाको घाटा कति ?

कोरोना महामारीका कारण लगाइको लकडाउनका कारण हरेक व्यवसाय चौपट भएका बेला कलाकारहरू पनि अछुतो रहने कुरै भएन । लकडाउनले बल्छी ध्रुवेलाई पनि निकै घाटा लगायो । उनले भर्खरै मात्र फुटसल खोलेका थिए । लामो लडाउनले फुटसल बन्द हुँदा लाखौं घाटा लागेको उनी बताउँछन् । भन्छन्– ‘आम्दानी थोरै त भयो तर घाटाचाहिँ धेरै लाग्यो ।’
कलाकारहरूले एउटा कन्सर्टबाट कम्तिमा ५०–५० हजार लिने गरेका छन् । उनी भन्छन्– ‘ठाउँ र कार्यक्रमको प्रकृति हेरेर पारिश्रमिक निर्धारित हुने गरेको छ, धेरै मेला र महोत्सव क्यान्सिल भएका कारण पनि मेरो लाखौं आम्दानी गुम्यो ।’
लकडाउनका बीच युट्युबबाट पनि खासै आम्दानी छैन । कमाइने भनेको मेला–महोत्सवबाट नै हो तर अहिले सबै ठप्प छन् । लकडाउनका बेला घरमा समय दिन पाएकामा भने उनी खुसी छन् । कोरोना महामारीका कारण संसार आक्रान्त बनेका बेला आर्थिक घाटाको चर्चा गर्न अलि नसुहाउला कि भन्ने लाग्छ उनलाई । ‘बाँचे त भोलि कमाउन सकिएला, मान्छे नै भइएन भने के काम, हैन र ! कोरोनाबाट संसारका लाखौं मान्छेको मृत्यु भइसकेको छ, हामी त घरमै बसेर भए पनि अहिलेसम्म सुरक्षित छौं नि, होइन ?’

स्वास्थ्यप्रतिको सचेतता

‘घरमा होस् या बाहिर कतै जाँदा– आफ्नो स्वास्थ्यप्रति एकदमै सचेत छु । बिरामी भएर अहिलेसम्म कुनै समस्या भोग्नु परेको छैन । नियमित पानी पिउने र सकेसम्म ताजा खाने कुरा खाने गरेको छु । हुन त काठमाडौंमा के ताजा भन्नु र ! तर पनि सकेसम्म ताजा नै खोज्ने गरेका छौं’– उनले सुनाए ।
‘काठमाडौंमा अग्र्यानिक खान्छु भनेर पाइँदैन । यहाँ त खाजाका रूपमा चाउचाउ, बिस्कुट मःमः नै खानुपर्ने अवस्था छ । अरु त के खाने त ? यी त खासमा खानु नहुने कुरा हुन् तर के गर्नु ! बाध्यताले खानुपरेको छ’– सुटिङका बेला अत्यधिक खाइने कुरा भनेकै चाउचाउ भएको उल्लेख गर्दै उनी भन्छन्– ‘के गर्नु ! समय उत्तिकै बितिरहेको हुन्छ, खाने कुराको टुङ्गो नहुने भएपछि जङ्कफुडमै रमाउनुपरेको छ ।’
‘मेरीबास्सै’ सिरियलबाट चर्चामा आएसँगै उनले धेरै स्टेज कार्यक्रम गरिसकेका छन् । नेपाली दर्शक हँसाउन देश–विदेश घुमिसकेका छन् ।

भन्छन्– फुटबल टोली नै जन्माउँछु, तर छैन सुरसार

विवाह गरेको दुई वर्ष भइसक्यो छ, अहिलेसम्म सन्तान भएका छैनन् । बल्छी दम्पतीको भनाइ छ– ‘अहिले बच्चा पाइहाल्ने भन्ने छैन । त्यस्तो कुनै योजना पनि भएको छैन तर हामीले बिस्तारै यसबारे पनि सोच्न थालेका छौं ।’ ठट्यौली पारामा बल्छीले भने– ‘अहिले हामी परिपक्व भएका छैनौं कि जस्तो लागेको छ ।’
गतवर्ष उनले एउटा अन्तर्वार्तामा भनेका थिए– ‘एउटा फुटबल टोली नै जन्माउने विचार छ ।’ तर, अहिलेसम्म त्यसको सुरसार देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)