गुनिला यी वनस्पतिका लाभैलाभ

होलिस्टिक संवाददाता

करेलाको कमाल

तितेकरेलालाई अङ्गे्रजीमा ‘बिटर गर्ड’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘मोमोर्डिका चारिन्टिया’ हो । विशेषतः वर्षे मौसममा फल्ने तितेकरेला लहरे प्रजातिको तरकारी हो । तितेकरेला सेतो र हरियो रङ्गको हुन्छ, पाकेपछि भने पहेंलो वा रातो देखिन्छ । करेला लाम्चो र डल्लो आकारका हुन्छन् । करेलाको बाहिरी सतहमा नरम खाले बाक्लै काँडा हुन्छन् तर चीनका रैथाने प्रजातिका तितेकरेलाको भने यस्तो काँडा कम हुन्छ ।
तितेकरेलालाई फ्राई गरेर, उसिनेर, सुप बनाएर, अचार बनाएर खान सकिन्छ । आजकल तितेकरेलालाई जुस, चिया तथा पाउडरका रूपमा समेत खाने प्रचलन सुरु भएको छ । यसको बियाँलाई पिसेर अचार बनाएर खान सकिन्छ । ताजा तितेकरेलाको परिकार स्वास्थ्यका निम्ति लाभदायक हुन्छ ।
खाँदा तितो हुने भए पनि यो निक्कै लाभदायक तरकारी हो । तितेकरेलामा ‘फाइबर’, ‘भिटामिन– सी’, ‘भिटामिन बी– ३ र बी– ९’, ‘भिटामिन– के’, ‘जिङ्क’, ‘पोटासियम’, ‘फस्फोरस’, ‘म्याग्नेसियम’ जस्ता लाभदायक पौष्टिक तत्व पाइन्छन् ।
तितेकरेलामा पाइने यी तत्वले रक्तचाप सन्तुलित राख्न सहयोग गर्छन् । सन्तुलितरूपमा तितेकरेलाको सेवन गर्नाले पेट, आन्द्रा, फोक्सो, स्तनजस्ता अङ्ग तथा शरीरका प्रणालीमा हुने क्यान्सरबाट बच्न सहयोग मिल्छ । तितेकरेलामा पाइने फाइबर (रेसाहरू) ले पाचन प्रणाली मजबुत बनाउनुका साथै खाना पचाउन सहज तुल्याउँछ, जसले गर्दा कब्जियत, पायल्स, फिस्टुला, फिसरजस्ता समस्याबाट बच्न सकिन्छ ।
परम्परागत प्राकृतिक चिकित्सकीय विधिमा समेत तितेकरेलाको प्रयोग गर्ने गरेको पाइन्छ । मधुमेह, पेटको दुखाइ, श्वास–प्रश्वाससम्बन्धी रोग, छालासम्बन्धी रोग, बाथ, अल्सरलगायतको समस्यामा तितेकरेलाको प्रयोग गरेर उपचार गर्ने गरेको पाइन्छ ।
तितेकरेला सामान्यतः बिहान खानु उचित हुन्छ । बेलुकी यसको सेवन गर्दा अम्लीयपन बढेर ग्याष्ट्रिकको समस्या हुने जोखिम हुन्छ । तितेकरेला धेरै खाएमा भने रक्तचाप असन्तुलित हुने जोखिम बढ्छ ।

तेजपातको तेज

तेजपात विभिन्न खानामा प्रयोग हुने मसला हो । तेजपातलाई अङ्ग्रेजीमा ‘बे–लिफ्’ भनिन्छ । यसको प्रयोग गर्दा शारीरिक तथा मानसिकरूपमा त लाभ मिल्छ नै, खाना स्वादिलो समेत हुन्छ ।
तेजपातमा भिटामिन– सी र ई तथा क्यारोटिनोइड्सजस्ता पोषण तत्व पाइन्छन् । तेजपातमा पाइने यस्ता तत्वले रक्तसञ्चार सन्तुलित र सहज राख्न सहयोग पुर्याउँछन् । युरिक एसिडको समस्याबाट बच्न समेत तेजपात लाभदायक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने किसिमका विभिन्न पोषण तत्व पनि तेजपातमा पाइन्छन् । पेट दुख्ने, सुन्निने, खाना अपच हुने, मुख गनाउने, घाँटी दुख्ने, चिसो लाग्नेजस्ता समस्याबाट बच्न यसले सघाउँछ ।
यो मसलाजन्य वनस्पतिको पातलाई पिसेर धुलो बनाएर वा नपिसिकन सग्लै चिया, तरकारी, मासुलगायतका विभिन्न परिकारमा प्रयोग गर्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रको जङ्गलभर व्यापक पाइने र त्यस क्षेत्रमा निःशुल्क नै उपलब्ध हुने भए तापनि यसको हरियो पात बजारमा भने महँगो नै छ । जडीबुटीका रूपमा सुकेको पातको तुलनामा यसको हरिया पात नै बढी लाभदायक र महत्वपूर्ण मानिन्छ ।

रोग भगाउने तिल

तिल हाम्रो भान्सामा प्रायः प्रयोग हुने तेलहन बालीअन्तर्गत पर्ने वनस्पति हो । तीन हजार वर्ष अघिदेखि प्रयोग हुन थालेको मानिने तिल तेल र अचारका विभिन्न परिकार बनाउन प्रयोग हुन्छ । तिलको दानालाई भिजाएर, भुटेर तथा टुसा उमारेर खाँदा स्वास्थ्यका निम्ति अझ बढी लाभदायक हुन्छ । तिलको लड्डुलगायतका विभिन्न परिकार बनाएर पनि खाइन्छ ।
तिलमा ‘स्वस्थ बोसो (हेल्दी फ्याट)’, ‘प्रोटिन’, ‘भिटामिन बी’, ‘फाइबर’ र ‘एन्टिअक्सिडेन्ट’ जस्ता तत्व पाइन्छन् । तिलमा जिङ्क, सेलेनियम, कपर, आइरनजस्ता खनिज तत्व समेत पाइन्छन् । यी तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन मद्धत पुर्याउँछ ।
तिलमा पाइने यी तत्वले रगतमा चिनीको मात्रा सन्तुलित गराई रगत स्वस्थ गराउनुका साथै रक्त–सञ्चार प्रक्रिया सहज तुल्याउन समेत मद्धत पुर्याउँछन् । तिलको सेवन गर्नाले हाडजोर्नी तथा हड्डीको दुखाइ कम गर्नुका साथै शरीरमा बोसो (कोलेस्टेरोल) को मात्रा कम गर्न पनि मद्धत मिल्छ ।
तिलको नियमित सेवनबाट शरीरमा रोग प्रतिरोधात्मक क्षमता मजबुत हुँदा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । तिलको नियमति सेवन स्वास्थ्यका निम्ति निकै लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)