शक्ति बढाउने टङ्कटअली

डा. डीबी सुनुवार

सिमारोबाली फूल प्रजातिको एउटा औषधिजन्य वनस्पति हो– ‘टङ्कटअली’ । यसको रुख सिन्कौली, तेजपात आकारको र ठूलो हुन्छ । यो दक्षिणपूर्वी एसिया क्षेत्रको विशेषतः समुद्री तट नजिकको जङ्गलमा पाइने वनस्पति हो ।
इन्डोनेसियालाई आधार मानेर टङ्कटअलीको अध्ययन–अनुसन्धान सुरु भएको पाइन्छ । यसैकारण यसको वैज्ञानिक अर्थात् बोटानिकल नाम पनि इस्लामिक भाषामै ‘टङ्कटअली’ रहेको पाइन्छ । इस्लामिक भाषाबाट आएको ‘टङ्कटअली’ शब्दको नेपाली अर्थ ‘ईश्वरको लौरो’ हुन्छ । मलेशियामा यसलाई ‘मलेसियन जिन्सेङ’ का रूपमा चिनिन्छ । यो वनस्पति इन्डोनेसिया, मलेशिया, भियतनाम, कम्बोडियाजस्ता मुलुकमा पाइन्छ ।

पाइने तत्व

टङ्कटअलीकाे बैज्ञानिक नाम इरिकोमा लङ्गिफोलिया  हाे । यसमा अर्थोक्युनोन्स, कौमारिन्स, फ्ल्याभोनोल्स, आइसोलुइसिन, स्टेरिक एसिड, बिटा–कार्बोनाइल्सजस्ता तत्व समेत पाइन्छन् । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि यी तत्व निकै लाभदायक हुन्छन् ।

आनन्दमय यौनजीवन

यौन प्राकृतिक प्रक्रिया हो । यौनको मामलामा समान्यतया महिलाको तुलनामा पुरुष नै बढी सक्रिय हुनु स्वाभाविक हो । यौन–सक्रियताका लागि शारीरिक तथा मानसिकरूपमा स्वस्थ हुनु आवश्यक हुन्छ । शारीरिक तथा मानसिकरूपले स्वस्थ रहने विभिन्न उपाय हुन्छन्, जसमध्ये विभिन्न किसिमका वनस्पति तथा जडीबुटीको प्रयोग एउटा महत्वपूर्ण उपाय हो । वनस्पति तथा जडीबुटीको प्रयोगले शारीरिक तथा मानसिक स्फूर्ती बढ्नुका साथै यौन–सक्रियतामा महत्वपूर्ण योगदान पुग्छ । यौनवद्र्धक जडीबुटी तथा वनस्पतिको खोजी गर्ने क्रममा नै अनुसन्धाताहरूले टङ्कटअलीको औषधीय गुण पत्ता लगाए । यौनवद्र्धकता नै टङ्कटअलीको मुख्य औषधीय गुण भएकाले यसको प्रयोग बढ्दै गएको पाइन्छ ।
टङ्कटअलीमा पाइने तत्वले पुरुषमा टेस्टोस्टेरोन नामक हर्मोन वृद्धि गर्न सहयोग पुरयाउँछ । यसमा पाइने तत्वले स्ट्रोजेन हर्मोनको मात्रा कम गर्न सहयोग पुर्याउँछ, जसले शारीरिकरूपमा स्फूर्ति ल्याउनुका साथै मानसिक तनाव कम गर्न समेत मद्धत पुग्छ । तनाव कम हुँदा शारीरिक तथा मानसिक स्वस्थता बढ्नुका साथै यौन–शक्ति समेत बढ्छ ।
यौन–शक्ति बढ्नु भनेको शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहनु हो । टङ्कटअलीको उपभोगले व्यक्तिलाई शारीरिक तथा मानसिकरूपमा स्वस्थ तुल्याउने हुँदा यौनजीवन सहज र सुखमय हुन्छ र पारिवारिक जीवन धेरै हदसम्म सुखमय बन्छ । कयौं व्यक्तिको यौनजीवन तनावका कारण प्रभावित भएको हुन्छ । तनावमा सुखद् यौन गौण बन्न पुग्ने भएकाले शारीरिक तथा मानसिक स्वस्थता र सुखद् यौनजीवनका लागि टङ्कटअली महत्वपूर्ण सहयोगी बन्न सक्छ ।
यौनवद्र्धक हुने भएकैले टङ्कटअलीलाई वनस्पतीय ‘भियाग्रा’ का रूपमा समेत लिइन्छ । यसको सन्तुलित तथा नियमित सेवन गर्नाले यौन सम्पर्कका क्रममा चाँडै स्खलित हुने समस्याबाट समेत बच्न सकिन्छ । ज्ञातव्य नै छ कि यौन सम्पर्कका क्रममा चाँडै स्खलित नहुँदा लामो समयसम्म यौनक्रिडा गर्न सकिन्छ । सन्तुलितरूपमा लामो समयसम्म यौनक्रिडा गर्दा यौनजोडीका दुवै पक्षमा यौनानन्द मिल्छ, जसले यौन जोडीबीचको सम्बन्धलाई प्रगाढ गराउँछ ।

रोग प्रतिरोधात्मक शक्ति

यो वनस्पति तितो स्वादको हुन्छ । तितो भएकाले यसको नियमित तथा सन्तुलित सेवन गर्दा शरीरमा भएका विकार तत्व बाहिर जान मद्धत मिल्छ । विकार तत्व शरीरबाट बाहिर गएपछि शरीर स्वस्थ हुनुका साथै क्यान्सरलगायतका रोग लाग्ने जोखिमबाट बच्न सकिन्छ । क्यान्सर लागेको व्यक्तिमा समेत यो वनस्पतिको प्रयोगले निकै लाभ पुग्छ । टङ्कटअलीको प्रयोग गर्दा मलेरिया, डेंगुजस्ता रोगको सङ्क्रमणबाट बच्न सहयोग पुग्छ भने यस्ता रोग लागिसकेको अवस्थामा समेत यसबाट उपचार गर्न सकिन्छ । शरीरमा टङ्कटअलीको तेल लगाउँदा मच्छडको टोकाइबाट बच्न सकिन्छ । यसको तेल तथा क्रिमको सुगन्धद्वारा विभिन्न जीवाणुको टोकाइबाट बच्न सकिन्छ ।
यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले शरीर स्वस्थ तथा मजबुत त हुन्छ नै, रोग लाग्नबाट समेत बच्न सकिन्छ । यसको सन्तुलित सेवनले वयस्क व्यक्तिलाई थप मजबुत हुन सहयोग मिल्छ भने पाको उमेरका व्यक्तिलाई कमजोर चाँडै बुढ्यौलीपन झल्कने अवस्थाबाट बचाउँछ । यसको प्रयोगले अनुहारमा चमक आउनुका साथै अनुहारको चाउरीपनाबाट पनि छुटकारा मिल्छ ।

प्रयोगविधि र गुणस्तरीयता

यो वनस्पतिको जरालाई औषधीय प्रयोग गरिन्छ । जमिन खनेर टङ्कटअलीको जरा निकालेपछि त्यसलाई राम्ररी सफा गर्नुपर्छ । त्यसपछि स–साना टुक्रा बनाएर पानीका साथ कुनै भाँडामा उमालिन्छ । उम्लिसकेपछि सो तरल पदार्थलाई चिया, सर्वत र जुसका रूपमा खान सकिन्छ ।
आधुनिक आयुर्वेदिक चिकित्सा विधिमा पनि यो वनस्पति लोकप्रिय हुँदै गएको छ । आधुनिक प्रविधिको विकाससँगसँगै यसलाई प्रशोधन गरी पाउडरका रूपमा तयार पार्न थालिएको छ । टङ्कटअली आजकल त क्याप्सुलका रूपमा पनि पाइन्छ । विभिन्न सुगन्धित तेल तथा क्रिममा समेत यसको प्रयोग गरिन्छ ।
पश्चिमा मुलुकहरूमा भियाग्रा बनाउने कच्चा पदार्थका रूपमा पनि यो वनस्पतिको प्रयोग प्रयोग गरिन्छ । यो वनस्पतिको प्रयोगबारे कतिपयले अनेकौं अफवाह समेत फैलाउने भएकाले यसको गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ । कतिपय बिक्रेता र निर्माताद्वारा बजारमा उपलब्ध गराइएको यो वनस्पतिको झोल र पाउडर गुणस्तरहीन पाइएकाले उपभोक्तामा भने टङ्कटअलीकै प्रभावकारिता कम भएको भ्रम पर्न सक्छ । त्यसैले यसको गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ ।
सामान्यतया सबै उमेरसमूहका व्यक्तिले यो वनस्पतिको सेवन गर्न सक्दछन् । बालबालिका लागि भने यसको उपभोग त्यति आवश्यक हुँदैन । वयस्क तथा पाको उमेरका व्यक्तिले बिहान–बेलुका तीन–तीन ग्राम दैनिक सेवन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)