‘पत्रु खाना’ बाट जोगाऔं बालबालिकालाई

डा. अरुणा उप्रेती

‘मेरो दुई वर्षको बच्चाले खाना नै खाँदैन, फलफूल, आलुु, दाल र अण्डा खान्छ; चाउचाउ पनि खान्छ तर भात र रोटी खाँदैन । हामी चिन्तित छौं, लौ न के गर्ने होला ?’ एक जनाले दु:खी भएर मलाई लेखे अनि फोन नम्बर पनि मागे । मैले नम्बर दिएको केही समयपछि फोन गरी यही कुुरा उनले दोहोर्याए ।
मैले सोधें– ‘तपाईंको बच्चा लोसे भएर सुुतेको छ ? हाँस्ने गरेको छैन र झिजो मान्ने गरेको छ ? तपाईंले बोलाउँदा वास्ता नगर्ने र उफ्रने तथा खेल्ने गरेको छ कि छैन ?’ ती बच्चाका बाबुुले जवाफ दिए– ‘होइन, ऊ त दिनभरि चल्छ; कहिले यता, कहिले उता उफ्रन्छ, नाच्छ; बिहान उठेदेखि नै हल्ला गर्छ ।’
त्यसपछि मैले भनें– ‘त्यसो हो भने चिन्ता नलिनोस्, भात र रोटी नखाएर केही फरक पर्दैन; आलुु, तरकारी, दाल, फलफूल खाए पनि बच्चालाई शक्ति आउँछ, आलुु र भात उस्तै हो । बच्चाले आलु, भात, सबै खाओस् भनेर कोच्याएको कोच्याई नगर्नोस्; भोक लागेपछि बच्चाले खान्छ । ज्वरो आयो, सुुस्त भयो, पखाला लाग्यो भने मात्र चिन्ता लिने हो ।’
अहिले हामीकहाँ खाद्यान्न वा खाना भनेकै भात मात्र हो र खाजा भनेकै चाउचाउ मात्रै हो भन्ने बुझाइ छ । परम्परागत खाने कुराहरू– कोदो, मकै, फापरको रोटी, खिचडी, खीर, हलुवा, च्युराजस्ता सामग्रीको नाम सुन्नासाथ प्रायः बालबालिका वा किशोर–किशोरीले मुख खुम्च्याउँछन् । यस्ता खाने कुरा या खाजा त ‘फाल्न लायक पुराना कुरा’ वा ‘पत्रु’ जस्ता भएका छन् । कोदो–फापरको ढिँडोको स्वाद गाउँमा प्रायः बिर्सिइएको छ तर ठूला सहरका ‘विशेष’ रेस्टुरेन्ट र होटलमा चाहिँ महँगो रकम तिरेर नेपाली र विदेशीले खाने गरेका छन् । गाउँघरमा आजकल ढिँडो खाने चलन लोप हुँदै गएको देखिन्छ । ऋण गरेर विदेश गई दुःखपूर्ण काम गरेर मानिसहरूले घरमा पैसा पठाउँछन् । घरमा भने त्यो पैसाले केटाकेटीलाई बजारिया खाजा– पाउरोटी, बिस्कुट, चाउचाउ, कुरमुरे इत्यादि किनेर खान दिनु नै ‘सम्पन्नता’ को प्रतीकजस्तो भएको छ । ‘कोदो, फापर, रोटी, च्युरा खाएँ’ भन्दा त समाजबाट हेपाइ पो खाइन्छ ! खासमा त स्थानीय अन्न–भोजनलाई बिर्सेर महँगा बजारिया खाना र खाजामा पैसा तिरेपछि त स्वास्थ्य र पैसा दुवै नष्ट चाहिँ हुन्छ ।
बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका लागि जन्मेदेखि दुई वर्षसम्मको समय असाध्यै महत्वपूर्ण हुन्छ । यसैबेला शिशुको मस्तिष्क ८० प्रतिशत विकसित हुन्छ । यही समयमा खानपानमा ध्यान दिइए शिशुको जीवन उत्पादनशील र सफल हुने सम्भावना प्रबल हुन्छ । यसबेला खुवाइएका खानाले भोलिका दिनको स्वास्थ्यको खाका समेत कोरिन्छ । आमाको गर्भबाट नै भ्रुणले खाना शोषेर लिने हुनाले गर्भवती आमाका लागि पोषणको धेरै ठूलो महत्व हुन्छ । महिलाले गर्भावस्थामा कस्तो खाना खान्छन्, भोलि जन्मने शिशुको स्वास्थ्य र पोषणको निर्धारण त्यसैले गर्छ । यसर्थ, गर्भवती आमाको खानपान र स्वास्थ्यमा ध्यान पुर्याउनु निकै जरुरी छ ।

जन्मदेखि दुई वर्षसम्म

सामान्यतया जन्मदेखि छ महिनासम्म शिशुलाई आमाको दूधले नै आहार र पोषण पुग्छ । आमाको दूधमा खाना र पानी दुवै पाइने भएकाले शिशुलाई बाहिरको पानी नै खुवाउनु पर्दैन ।
छ महिना कटेपछि भने शिशुलाई ठोस आहार पनि चाहिन्छ । यो उमेरमा शिशु बामे सर्ने र धेरै चल्ने गर्छन् । यसबेला शरीर बढ्न चाहिने प्रोटिन आमाको दूधले मात्र पुग्दैन, शिशुलाई बाहिरी आहार चाहिन्छ ।
नेपालमा विभिन्न जातजातिको संस्कारअनुसार पाँच वा छ महिनामा ‘भातखुवाइ’ वा ‘पास्नी’ गर्ने महत्वपूर्ण प्रचलन छ । यसबेला शिशुलाई कसैले भात खुवाउँछन् त कसैले स्थानीय अन्नबाट बनेका अरु परिकार खुवाउँछन् । अरु परिकारभन्दा भात नै पचाउन सजिलो हुन्छ र आवश्यक पौष्टिक तत्वले भरिपूर्ण समेत हुन्छ त्यसैले ‘भातखुवाइ’ देखि शिशुलाई भात नै खुवाउनु राम्रो हुन्छ । पास्नीको प्रचलनले पनि स्पष्ट पार्दछ कि शिशुलाई छ महिनापछि ठोस आहार पनि चाहिन्छ ।
विदेशतिर पास्नीको चलन चाहिँ हुँदैन तर त्यहाँ पनि पाँच–छ महिनापछि आमा–बुबाले शिशुलाई ठोस आहार खुवाउन सुरु गर्छन् । छ महिनापछि नेपालमा शिशुलाई अन्नका साथै उसिनेको आलु, सुजीको हलुवा, केरा आदि तथा जाउलोमा घिउ हालेर खुवाइन्छ । ‘सर्वोत्तम पिठो’ ले पनि शिशुको बढ्दो शरीरका लागि चाहिने शक्ति प्रदान गर्छ । शिशुलाई खुवाउने जाउलो बनाउँदा चामलमा मुगीको दाल वा अन्न, गेडागुडी र साग पनि मिसाउनु राम्रो हुन्छ । यसो गर्दा शिशुको वृद्धिका लागि प्रोटिनको मात्रा पुग्छ । चामल र मुगी मिलाएर जाउलो बनाउँदा धेरै फाइदाजनक हुन्छ । चामलमा पाइने प्रोटिन (एमिनो एसिड) मुगीमा पाइँदैन र मुगीमा पाइने तत्व चामलमा पाइँदैन । दुवै मिसाएपछि एमिनो एसिड पूर्ण हुन्छ । यसरी मुगी र चामल हालेको जाउलोमा स्वादका लागि थोरै मात्रामा नुन हालिन्छ । विचार गर्नुपर्ने कुरा के छ भने शिशुहरूको लागि धेरै नुन हानिकारक हुन्छ । साना शिशुहरूको मिर्गौलाले धेरै नुन छान्न नसक्ने भएकाले मिर्गौलामा समस्या पर्न सक्ने सम्भावना हुन्छ ।
शिशुलाई प्याकेटमा राखिएका चाउचाउ, कुरमुरे आदि खुवाउनै हुँदैन । शिशुलाई बढी नुनिलोमा बानी पारेपछि वयस्क हुँदा पनि बढी नै नुन खाने बानी बस्छ र उच्च रक्तचापको समस्या हुन सक्छ । शिशुलाई स्वस्थ राख्न घरकै लिटो, जाउलो आदि खुवाउनुपर्छ ।
यो उमेरका शिशुलाई थरीथरीका स्वाद चखाउनु राम्रो हुन्छ । शिशुलाई सेरेलेकजस्ता बाहिरका वस्तु नखुवाएकै राम्रो हुन्छ; घरमा पाकेका खाने कुराका विभिन्न स्वादहरूमा बानी पार्नुपर्छ । थरीथरीका तरकारी र जाउलो पकाउँदा हरिया सागपात हाल्नु राम्रो हुन्छ । शिशुलाई उसिनेर मिचेको गाजर पनि खुवाउन सकिन्छ; उसिनेको आलु, लौका, चना आदि पनि मिचेर खुवाउन सकिन्छ । यीमध्ये कुनै न कुनै वस्तु हरेक दिन खुवाउनु राम्रो हुन्छ ।

दुईदेखि पाँच वर्षसम्म

यो उमेरमा बालबालिकाहरू हलक्क बढ्ने हुनाले स्वस्थ खाने कुरामा विशेष ध्यान दिनैपर्छ । यो उमेरका बालबालिकालाई स्थानीय र पौष्टिक तर विभिन्न स्वादका खाना खुवाउनुपर्छ । यो समय जीवनभरिकै लागि जिब्रोमा स्वाद बसाउने बेला भएकाले खाने कुरा कोच्याएर खुवाउनु हुँदैन; उनीहरूलाई आफैं खान प्रेरित गर्नुपर्छ । उनीहरूलाई आफैं खाने गरी दिएपछि बच्चाले ढिलो खाए पनि, फोहोर गरे पनि बिस्तारै खान थाल्छन् । समयअनुसार खाना र खाजा खुवाउनुपर्र्छ । कुनै शिशु कुचुक्–कुचुक् खाइरहने स्वभावका हुन्छन् । उनीहरूलाई मुख्य खानाको बीचमा फलफूल, काँक्रो, गाजर पनि दिन सकिन्छ ।
बालबालिकालाई सकेसम्म परिवारसँगै राखेर खुवाउनु राम्रो हुन्छ । यसो गर्दा बालबालिकाले हेरेर, नक्कल गरेर पनि खान सिक्छन् । उनीहरूले खाने खानामा पिरो हाल्नु हुँदैन ।
घरैमा गहुँको रोटी बनाई थोरै घिउ र सक्खर मिसाएर खुवाउनु राम्रो हुन्छ । कोदो, फापर, जौको पिठोमा अण्डा, दूध र चिनी मिसाएर रोटी बनाउन सकिन्छ । गहुँ वा कोदाको हलुवा, मासको बारा बनाएर वा अण्डा राखेर चटामरी बनाएर पनि खुवाउन सकिन्छ । चामलको पिठो र दालको माडा बनाएर पनि खुवाउँदा हुन्छ । नेपालका मेचीदेखि महाकालीसम्म धेरैथरी पौष्टिक र स्वादिला परिकार पाइन्छन् । आमा–बुबाले अलिकता जाँगर लगाएर पकाउन सक्छन् । यस्ता खाने कुरा खाएपछि बच्चाले जीवनभरका लागि ज्ञान सिक्छन् ।
मौसमअनुसार सुन्तला, नास्पाती, अम्बा बोटबाट टिपेर पेटभरि खानुको मज्जा नै बेग्लै हुन्छ । तर, सहरमा प्रायः केरा, स्याउ, अङ्गुर, अनारबाहेक अन्य फलफूलको बेवास्ता गरिन्छ । खासमा ती फलफूल चाहिँ सस्ता र बढ्ता पौष्टिक समेत हुन्छन्; तिनमा विभिन्न भिटामिन र खनिज तत्व हुन्छन् ।
यही उमेरमा शिशुहरूलाई पहेंला फलफूलको महत्व बुझाउनुपर्छ । यस्ता फलफूल खान प्रेरित गरे भिटामिन ‘ए’ को कमीबाट जोगाउन र आँखालाई सुरक्षित राख्न सकिन्छ । यस्ता फलफूल पर्याप्त खुवाइए भिटामिन ‘ए’ को क्याप्सुल खुवाउनु पर्दैन । यो उमेरमा बालबालिकालाई बिस्तारै फलफूल सफा गर्न, काट्न सिकाएर उनीहरूमा फलफूलप्रतिको लगाव बढाउन सकिन्छ । त्यसो गर्दा किशोर–किशोरी र वयस्क भएपछि पनि फलफूल खाने बानी बस्छ; पत्रु खानाको सट्टा स्वस्थ खाना खाने गर्दछन् ।

पाँचदेखि आठ वर्षसम्म

यो उमेरमा बालबालिकाहरूको शरीर हलक्क बढ्छ र दाँत तथा हड्डी पनि बढ्न सुरु हुन्छ । त्यसैले यो उमेरमा बालबालिकालाई पर्याप्त ऊर्जा दिने प्रोटिन, खनिज तत्व र क्लाल्सियम पाइने खाने कुरा बढी खुवाउनुपर्छ । यसको लागि विशेष खाना किन्नु पर्दैन; घरमै पाइने खाना, तरकारी र फलफूल भए हुन्छ ।

के–केमा पाइन्छ त क्याल्सियम ?

दूध र दूधबाट बनेका खाने कुराहरू– दही, पनिर, चिज आदिमा पर्याप्त क्याल्सियम पाइन्छ । मह वा बदाम राखेर दूध–दही स्वादिलो बनाउन सकिन्छ । बालबालिकालाई ‘हर्लिक्स’, ‘बर्नभिटा’ खुवाउनु पर्दैन । केटाकेटीलाई मिठो लागेन भन्दैमा दहीमा चिनी हालेर खुवाउँदा त्यसले स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ । दहीलाई थप स्वस्थ र स्वादिलो बनाउन केरा, स्याउ, अनार, अम्बा, ऐंसेलुजस्ता फलफूलहरू हाल्न सकिन्छ । दहीमा हरियो केराउ, गाजर पनि मिसाएर खान सकिन्छ ।
दहीका अनेकौं परिकार समेत बनाउन सकिन्छ । हजूरआमा–हजूरबा, बा–आमाले मोही पार्दा छेउमा बसेर नौनीको सानो डल्लो क्वाप्लाक्क पार्न पाउने गाउँका केटाकेटी ‘भाग्यमानी’ हुन्छन् । सहर–बजारमा त मोही पार्ने भनेकै के हो, थाहा नहुने जमात नै धेरै छ । मोही र दही भनेको पसलबाट मात्रै किन्न पाइने वस्तु हुन् भनिठान्छन् आजका धेरैजसो किशोर–किशोरी र युवा–युवतीहरू । बजारमा पाइनेभन्दा घरको नौनी बढ्ता गुणस्तरीय र सस्तो हुन्छ । तर, बजारकै नौनी र चिजमा पनि क्याल्सियम त हुन्छ नै, त्यसलाई रोटीमा राखेर खान सकिन्छ ।
भात भुट्दा समेत मसिनो पारी चिज हाल्न सकिन्छ । बाहिरका अस्वस्थकर बिस्कुट, पिज्जा, बर्गर होइन; घरमै पकाइएको रोटीमा अण्डा र चिज हालेर खाँदा स्वादिष्ट र स्वस्थकर हुन्छ । बदाम पौष्टिक र सस्तो अनि जताततै पाइने खाने कुरा हो । बदाममा भिटामिन बी कम्प्लेक्स, खनिज तत्वहरू र प्रोटिन पाइन्छन् । यसको स्वाद केटाकेटीहरूलाई मन पर्छ । भुटेको बदाम, चटपटेमा राखेर, च्युरासँग वा पुरन्दानामा राखेर पनि खान सकिन्छ । बदामको अचार बनाएर रोटी वा भातसँग पनि खान सकिन्छ । बदाम र चना मिसाई भुटेर पनि खान सकिन्छ । बदाम र सख्खर मिसाएर बनाएको लड्डु पनि राम्रो खाजा हो ।

आठदेखि बाह्र वर्षसम्म

यो उमेरमा बालिकामा बिस्तारै शारीरिक र मानसिक परिवर्तन सुरु हुन्छ । १०–१२ वर्षमा प्रायः बालिकाको महिनावारी पनि सुरु हुन्छ । यसरी शारीरिक परिवर्तन हुँदा कतिपय केटीहरूले खेल्नु, दौडनु हुँदैन भन्ने ठान्छन् तर खेलहरू खेल्न छोड्नु पर्दैन; स्वस्थकर खाना चाहिँ खानुपर्छ । अहिले सिकेको स्वस्थकर खाना खाने बानीले पछिसम्म बानी बस्छ । यो उमेर भनेको पौष्टिक खाना खान र बनाउन सिक्ने समय हो । रगतको कमी नहोस् भन्ने उद्देश्यले बदाम–तिलको लड्डु, चाकु, मेथीको खीर खानु राम्रो हुन्छ, पत्रु खाना खानु हुँदैन । यो उमेरमा मुख्यतः निम्न कुराहरूमा ध्यान दिनुपर्छ–
गर्मीका बेला स्वच्छ र सफा पानी पिउनुपर्छ । गर्मी महिनामै पर्ने पर्व– ‘अक्षय तृतीया’ ले सातु र सर्बतलाइ सम्झाउँछ । यस दिन सातु र सर्बत् खाइने धार्मिक प्रचलनको स्वास्थ्य क्षेत्रमा ठूलो महत्व छ । सातुमा पाइने क्याल्सियम, प्रोटिन आदि तत्वले शरीरलाई ऊर्जा दिन्छ ।
गर्मीका बेला सर्बत् पिउनाले शरीरमा पानीको मात्रा पुग्छ र सातुसँग खाँदा विभिन्न पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यो उमेरमा नयाँ–नयाँ खाने कुरा सँगसँगै बजारमा पाइने हल्का पेय पदार्थ– कोक–फ्यान्टा आदि पिउन मन लाग्छ । सञ्चार माध्यमबाट प्रशारित हुने विज्ञापन र साथीहरूसँगको सङ्गतले यस्ता पदार्थ पिउने परिस्थिति बन्नु स्वाभाविक हो । तर, यस्ता पदार्थमा पौष्टिक तत्व त हुँदैनन् नै झन् उल्टो तिनमा हुने फस्फरिक एसिडजस्ता रसायनले शरीरको पाचन प्रणालीलाई चाहिँ नराम्रो असर पुर्याउँछन् । यो कुरामा हेक्का राख्नु जरुरी छ । यस्ता पेय पदार्थले मोटोपनको समस्या बढाउँछन्, हड्डी कमजोर पार्छन् । त्यसैले बालबालिकालाई विभिन्न घरेलु एवम् पौष्टिक पेय पदार्थ खाने बानी लगाउनुपर्छ । कोक पिउनका लागि पैसा दिनुको सट्टा स्वस्थकर घरेलु पेय पदार्थ पिउने बानी पार्नुका साथै त्यस्ता पेय पदार्थ बनाउन सिकाउनुपर्छ ।
घरमै अनेक थरीका पौष्टिक र स्वादिला पेय पदार्थ बनाउन सकिन्छ । पानीमा कागती र पुदिना हालेर बनाइने सर्बत्ले पनि गर्मीका बेला एकदमै सितलता र स्वाद प्रदान गर्छ । गर्मीका बेला मोही पिउनु पनि स्वास्थ्यका हिसाबले निकै लाभदायक हुन्छ । सख्खर वा वीरेनुन हालेर पनि मोही बनाउन सकिन्छ; यसो गर्दा खाना पचाउन समेत मद्दत मिल्छ । मोहीमा पाइने क्याल्सियमले हड्डी स्वस्थ राख्न मद्धत मिल्छ ।

बच्चा अस्वस्थ र बढी तौलका नहोऊन् भन्ने इच्छा सबैको हुन्छ । तर, अस्वस्थ खाना बनाउने ठूूलठूूला कम्पनीहरू हाम्रा बच्चालाई नै लक्षित गरेर विभिन्न प्रतियोगिता, विज्ञापन र खेलौनाहरू लिएर आएका छन् । हाम्रा बच्चा तिनैको जालमा पर्छन्, त्यस्ता खाने कुुरा खान्छन् र बिरामी पर्छन् । हामीले बच्चालाई कति अस्वस्थ वातावरणमा हुुर्काइरहेका छौं !
बच्चा विद्यालय जान्छ, त्यहाँ बाहिरका खाने कुुरा खान विवश हुुन्छ । प्रायः स्कुलमा पनि घरमा बनेका खाना ल्याउनुुभन्दा बाहिरकै खान प्रेरित गरिन्छ । दुुर्भाग्यवश हाम्रा बच्चा अस्वस्थकर खाना बनाउने र बेच्ने बहुराष्ट्रिय र कतिपय राष्ट्रिय कम्पनीका ‘उपभोक्ता’ मा परिणत भएका छन् । उनीहरूको खाना के–कस्तो बनाउने भनेर बनाउनेले नै निर्धारण गर्छन् । मानौं कि ती कम्पनी ससाना प्राणी हुुन्, जो सम्पूूर्णरूपमा हामीमै निर्भर छन् । विभिन्न व्यापारीहरू हामीलाई पढाउँछन्– ‘तपाईंका लागि बाहिरका खाना नै महत्वपूूर्ण हुुन्छ !’ ठूलठूूला निजी स्कुलमा बच्चाको जन्मदिनमा केक र पिज्जाको ‘पार्टी’ हुुन्छ, त्यसको खर्च आमा–बुुबालाई तिराइन्छ ।
बजारमा पाइने पत्रुु खाने कुुरालाई ‘पोषण तत्वयुुक्त’ भन्दै गरिएको प्रचारवाजी विश्वासयोग्य छैन । पत्रुु खानामा ‘प्रोटिन छ, रेशादार पदार्थ छ, लौह तत्व छ…’ आदि भन्दै गलत विज्ञापन गर्ने गरिएको छ । ठूूला खाद्य कम्पनीहरूले यसै गरी पैसा कमाएका छन् । ‘भोजनभन्दा सूक्ष्म पोषण तत्वका आधारमा खाद्य पदार्थ प्रयोग गर्नुुपर्छ…’ भन्ने भ्रमपूर्ण प्रचारवाजीले बजार तताएको छ ।
प्रोटिन क्याप्सुुलमा होइन; भटमास, चना, दाल खाँदा नै शरीरले प्राप्त गर्छ । गलत विज्ञापनले मानिसलाई अलमल्ल पारिरहेको छ । स्वस्थ भोजन नखाई शरीर स्वस्थ्थ हुुँदैन; पत्रुु खाना कदापि स्वस्थ हुुँदैन । परम्परागत र मौसमअनुुसार स्थानीय ठाउँमा पाइने खाने कुुरालाई घरमा साधारण तरिकाले पकाएर खाँदा मात्र स्वस्थकर भोजन हुन्छ । बालबालिकालाई सानैदेखि यही कुरा सिकाउनुुपर्छ ।

उप्रेती जनस्वास्थ्यविद् हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)