जीवनबुटी यार्शा : पढ्नाेस् पूरै नालीबेली

डा. डीबी सुनुवार

‘यार्शा’ लाई नेपालमा ‘यार्शाकुम्पु’, ‘यार्शाकुम्पा’ ‘यार्शागुम्पा’,‘यार्साकुम्भा’, ‘यार्शागुम्बा’ जस्ता स्थानीय नामले चिनिन्छ । यार्शा वर्षको छ महिना झुसिलकीरा र छ महिना घाँसका रूपमा रहन्छ । त्यसैले यसको नाम पनि ‘यार्शा’ र ‘कुम्पा’ मिलेर ‘यार्शाकुम्पा’ हुन गएको हो । यसको वैज्ञानिक नाम ‘कडिसेप सिनेन्सिस’ हो । तर, यो ‘यर्शागुम्बा’ नामले प्रचलित छ । यार्शागुम्बा उच्च पहाडी तथा हिमाली भेगमा पाइने जडीबुटी हो ।

अचम्मको जडीबुटी : न कीरा न बिरुवा !

हिउँ परेका बेला हिउँले ढाक्दा झुसिलकीरा मर्छ र मरेको त्यही कीराबाट ढुसी पलाउँछ । सोही ढुसीबाट घाँस उम्रन्छ र त्यो घाँस पनि जमराजस्तो पोषिलो भएर निस्कन्छ । यही घाँस नै यार्शागुम्बाका रूपमा प्रयोग हुन्छ । एशिया महादेशका चीन, भारत, पाकिस्तानजस्ता देशको हिमाली भेगमा यार्शागुम्बा पाइन्छ । नेपालको हिमाली भेगका विभिन्न स्थानमा यार्शा पाइन्छ । डोल्पा, मुगुजस्ता हिमाली क्षेत्रका यार्शालाई बढी गुणस्तरीय ठानिन्छ र बहुमूल्य तथा बहुउपयोगी मानिन्छ ।

यार्शा पाइने ठाउँ उच्च हिमालभन्दा केही तल अर्थात् हिमालको फेदी हो । विशेषतः चट्टान मात्रै हुने मुख्य हिमालहरूमा त बाह्रै महिना हिउँले ढाकिरहेकै हुन्छ तर त्यसभन्दा अलि तलको, माटो समेत हुने तहमा भने छ महिना हिउँ पर्छ र हिउँ पग्लिएपछिको छ महिना हिउँविहीन अवस्था रहन्छ । छ महिना हिउँ नहुने त्यही ठाउँमा यार्शा पाइन्छ । हिउँ नहुने असारदेखि भदौसम्मको अवधिमा यार्शा टिपिन्छ ।

यार्शा हिमाल वारिभन्दा हिमालपारि नै बढी पाइने भएकाले यसको बिक्रीवितरण, उपयोग र अध्ययन पनि चिनियाँ भेगमा नै धेरै हुन्छ । चिनियाँ परम्परागत औषधिमा त यार्शाको व्यापक प्रयोग छँदैथियो, पछिल्लो समय चिनियाँ आधुनिक चिकित्सामा समेत यसको प्रयोग निकै बढेको छ ।

नेपालबाट ‘मदरबोट’ का रूपमा लगिएको यार्शालाई चिनियाँहरूले ‘टिस्युकल्चर’ विधिबाट आधुनिक रूपमा समेत उत्पादन गर्न थालेका छन् । कृत्रिम रूपमा बनाइएका प्लान्टमा प्राकृतिक हिमालजस्तै तापक्रम मिलाएर उनीहरूले त्यस्ता मदरबोट यार्शाबाट पुनर्उत्पादन गर्ने गरेको पाइन्छ । यसरी आधुनिक प्रविधिको प्रायोग गरी प्राकृतिक सरहकै वातावरण बनाएर चीनमा गुणस्तरीय यार्शा उत्पादन भैरहेको छ । चिनियाँ हिमाली भेगहरूमा ग्रीनहाउस तथा टनेल बनाएर नेपालको डोल्पामा प्राकृतिक रूपमा पाइने जत्तिकै गुणस्तरीय यार्शा व्यावसायिक रूपमै उत्पादन भैरहेको पाइन्छ ।

ल्हासामा मोलमोलाइको अनौठो शैली

ल्हासामा यार्शाको रमाइलो प्रसङ्ग छ । त्यहाँ बिक्रीका लागि बोराका बोरा यार्शागुम्बा राखिएको हुन्छ । राम्रा किस्ती, नाङ्ला, सुनका थाल आदिमा यार्शा राखिएको हुन्छ । यार्शा खरिद गर्ने व्यापारी ल्हासा बजार पुगेर लाखौंमा मोलमोलाइ गर्छन् ।

तर, यसरी यार्शाको मोलमोलाई गर्दा न बिक्री गर्ने व्यापारी मुखले बोल्छन् न त किन्ने व्यक्ति नै मुखले बोल्छन्; केवल इशाराले नै यार्शाको मोलमोलाइ हुन्छ । ‘कोड’ भाषाको प्रयोग हुन्छ । किन्ने र बेच्ने दुवैले काखीमुनिबाट पछाडि हात फर्काउँछन् । एक लाख वा करोड भन्नुप¥यो भने हातको एउटा औंला देखाइन्छ, दुई लाख वा करोड भन्दा दुई वटा औंला देखाइन्छ । यसरी गरिएको यार्शाको मोलमोलाइबारे किनबेच गर्ने दुई जना बाहेक अरुलाई थाहै हुँदैन ।

नेपालमा ज्यानकै जोखिम मोलेर यार्शा सङ्कलन गरिन्छ तर यहाँको उत्पादन निकै सानो छ । चीनमा जस्तै आधुनिक र व्यावसायिक तरिकाले उत्पादन गर्न सकिए यो विदेशी मुद्रा आर्जनको राम्रो उपाय हुन सक्छ । यार्शाको विश्वबजार निकै ठूलो छ । नेपालमा पनि आधुनिक तरिकाले व्यावसायिक उत्पादन असम्भव छैन । यसबारे गहन अध्ययन गरेर प्रविधि तथा नीतिका क्षेत्रमा सरकारले वातावरण बनाउनु आवश्यक छ ।

सामग्री एक, लाभ अनेक

यार्शामा प्रचुर मात्रामा प्रोटिन पाइने भएकाले परापूर्वकालदेखि नै यसको उपभोग हुँदै आएको छ । सुरुसुरुमा हिमाली क्षेत्रमा बसोबास गर्ने जनजातिले यसलाई शक्ति आर्जन गर्ने जडीबुटीका रूपमा उपभोग गर्दै आएको पाइन्छ ।

यर्शाको गुणस्तरीयताबारे थाहा पाउनु आवश्यक छ । यार्शामा प्राकृतिक रूपमा प्रोटिन पाइन्छ, जसले शरीरको सम्पपूर्ण प्रणालीलाई नै मजबुत गराउँछ । प्राकृतिक रूपमै पाइने प्रोटिनले व्यक्तिलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ तुल्याई स्वस्थ–स्फूर्त रहन सहयोग गर्छ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुँदा रोग लाग्ने जोखिमबाट त बच्न सकिने नै भयो, चाँडै पाको हुनबाट समेत बच्न सकिन्छ । यार्शाले व्यक्तिमा जोस–जाँगर बढेको महशुस गराउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

हुन त प्रोटिनका स्रोत विभिन्न छन् । जनावर, वनस्पति तथा विविभ खाद्य पदार्थबाट प्रोटिन पाउन सकिन्छ । मासु खाँदा प्रोटिन पाउन सकिन्छ तर वनस्पतिमा पाइने प्रोटिन जनावरबाट पाइने प्रोटिनको तुलनामा बढी लाभदायक तथा स्वस्थ हुन्छ । यार्शाबाट पाइने प्रोटिनको नकारात्मक असर नहुने भएकाले यो स्वास्थ्यलाभका निम्ति निकै लाभदायक हुन्छ ।

यार्शाले यौनशक्ति बढाउँछ तर यो ‘भियाग्रा’ का रूपमा मात्रै प्रयोग हुने जडीबुटी होइन । यौन क्रियाकलापपूर्व एक स्टिक यार्शा खानाले त्यस रातको यौनशक्ति बढ्छ भन्ने धारणा छ । यौनशक्ति बढाए तापनि यार्शाको काम त्यतिमा मात्र सीमित छैन । यसले यौन उत्तेजना बढाउने मात्र काम गर्दैन, यसको बहुउपयोगिता छ किनकि यसले सिङ्गो शरीरलाई नै मजबुत बनाउँछ ।

यार्शाले रगत सफा गर्ने भएकाले यसको नियमित सेवनले रक्तसञ्चारमा सहजता ल्याउँछ । हर्मोनको गडबढी हुन नदिई सन्तुलित राख्न समेत यसले सघाउँछ । गर्भवतीले झन् मजाले यार्शा खाँदा हुन्छ । यसबाट आमालाई त पोषण पुग्छ नै, गर्भमा रहेको भ्रुणलाई समेत पोषणको मात्रा बढाएर स्वस्थ बच्चा जन्माउन सहयोग गर्छ; गर्भमा रहेको भ्रुणको वृद्धि विकासमा समेत सहयोग पुग्छ । तर, गर्भवती महिलाले प्राकृतिक चिकित्सकको सल्लाहमा मात्र यार्शा खानु उपयुक्त हुन्छ ।

व्यक्तिले खाएको खाना पाचन प्रक्रियाले पचाउन सामान्यतः १८ देखि २२ घन्टासम्म लाग्छ । ठ्याक्कै कति समयमा खाना पच्छ भन्ने कुरा उमेर तथा शरीरको पाचन पक्रियामा भर पर्छ । यार्शा खाएर पच्नासाथ यसले शरीरमा प्रभाव पार्छ । यसरी हेर्दा यार्शा खाएको १८ देखि २२ घन्टामा यसको प्रभाव शरीरमा पार्न थाल्छ । कतिपयमा भने योभन्दा चाँडो पनि काम गर्न थाल्छ र कतिपयमा चाहिँ अलि ढिलो काम गर्न सक्छ । सामान्यतः एक पटक खाएको एउटा गुणस्तरीय यार्शाले करिव दस दिनसम्म काम गर्न सक्छ । एक पटक खाएको यार्शाको सकारात्मक प्रभाव महिना दिनसम्म पनि कायम रहन सक्छ ।

कति र कसरी खाने ?

यार्शा नियमित खान मिल्छ । नियमित खाने हो भने व्यक्ति शारीरिक तथा मानसिक रूपमा निकै स्वस्थ र मजबुत हुन्छ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएपछि आयु समेत बढ्छ । त्यसैले यार्शा बिरामीले मात्रै खानुपर्छ भन्ने छैन ।

यार्शा विभिन्न तरिकाले खान सकिन्छ । परम्परागतरूपमा दूध हालेर, सुप बनाएर खाइन्थ्यो । पछिल्लो समयमा नेपाल, भारतजस्ता मुलुकमा जीवनबुटी तथा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुन थाल्यो । यार्शालाई धुलो बनाएर दूधमा फिटेर खान सकिन्छ; सिन्कै चपाएर पनि खान सकिन्छ । पछिल्लो समय बजारमा यार्शाको धुलो क्याप्सुललगायतमा पाइन्छ ।

वयस्क व्यक्तिले यार्शाको धुलो एकदेखि तीन ग्रामसम्म, दैनिक एकदेखि दुई पटकसम्म खालि पेटमा खानु उपयुक्त हुन्छ; जुनसुकै उमेरसमूहका व्यक्तिले खाँदा हुन्छ ।

(लेखक प्राकृतिक चिकित्सक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)