नोमपेन्हको हरियो यात्रा

डा. डीबी सुनुवार

नोभेम्बर ३० को बिहानीपख । करिव ५ बजेतिरको समय । बैङ्ककको न्यानो तर मन्द–मन्द हावा । साथी र म ट्रेन –यात्राको तर्खरमा छौं । थाइल्याण्ड र कम्बोडियाको बोर्डर, पोइपट हुँदै कम्बोडियाको राजधानी नोमपेन्ह जाने योजनामा थियौं । ‘सर तयार हुनु भो ?’ साथीको आवाज सुन्नुअघि नै म त तयार भैसकेकै थिएँ । हामी दुई भाइ सुखुम्भित रोड सोई आठबाट ट्याक्सी चढेर बैङ्ककस्थित सेन्ट्रल ट्रेन स्टेसनतिर हुइकियौं ।
बिहान सखारै, पाँच बजेको टिकट छ पोइपटको । एक–एक वटा सुटकेस र सानो हयण्ड क्यारी लिएर आँखा मिच्दै स्टेसनमा पुग्यौं । समयमै छुट्यो पोइपट जाने रेल । बैङ्ककबाट सीधै पूर्व दिशातर्फ रेल हुइँकिँदा हामी दुई भने कम्बोडियामा खाने–बस्नेबारेका कुरा गर्दै उत्साहित हुँदै थियाैं ।
नबोल्ने हो भने त यहाँ कसैले पनि ‘विदेशी’ भन्दैन हामीलाई । मङ्गोलियन अनुहार भएकाहरू दक्षिणपूर्वी एशियाका जुन देशमा जहाँ गए पनि भाषाले मात्रै हो छुट्याउने । रेलयात्रा गरिरहेका यात्रुहरू ठूल–ठूला स्टेसनमा मात्र चढ्ने र उत्रने गरेका छन् । तर, हामीलाई चढ्नु र उत्रनुको कुनै चिन्ता छैन किनकि अन्तिम स्टेसनमा नै हो हामी ओर्लनुपर्ने । करिव एक सय चालीस–पचासको गति हुनुपर्छ रेलको । तैपनि, भारतीय रेलको जस्तो कुनै आवाज आउँदैन । विशाल धान खेतका हरिया फाँटको बीचैबीचबाट घन्टौं–घन्टा उस्तै दृश्य । हरियो नै हरियो भएर अघि बढ्दै जाँदा लाग्थ्यो– थाइल्याण्ड हुनुको विशेषता नै हरियो हो । रेल हरियो, हामी बसेको सिट हरियो, हामी पनि हरियो र समग्रमा भन्नुपर्दा हाम्रो यो यात्रा नै हरियो यात्रा !
बेला–बेलामा खोलाका पुलहरू, ठूलठूला गरामा टक्क जमेर बसेको पानी, लामो घाँटी भएका सेता–सेता बकुल्लाहरू । च्याइँच्याइँ–चुइँचुइँ कराउने रूपीहरू । कतै झुप्प–झुप्प बसेका र कतै ह्वारर्र–ह्वारर्र बतासजस्तै बतासिएका देखिन्छन् बेपत्ताले बेगिएको रेलबाट । ‘फास्टफरवार्ड’ गरिएको फिल्मको सिनजस्तै दुईतले घरहरू भएका वस्तीहरूको दृश्य बेला–बेला फ्याट्ट–फ्याट्ट देखिँदै ओझेल पर्छन् । थाइल्याण्ड र कम्बोडियाको सिमानामा आइपुग्दा दिउँसोको दुई बज्यो । समय–समयमा चर्कने सीमा–विवादले दुई देशबीचको सम्बन्ध बिग्रिएको रहेछ । दुवैतिरका इमिग्रेसनमा कागजातको जाँचपड्ताल प्रक्रियाका काम हेर्दा अनुमान लगाउन सकिन्छ– सुरक्षा व्यवस्था त यतिबेला कडा नै रहेछ ।
कम्बोडिया सुरूमा फ्रान्सको उपनिवेश थियो । स्वतन्त्रताका लागि खमिर युद्ध र लामो समयसम्मको भियतनाम युद्ध चले । कम्बोडियालाई ती युद्धको प्रत्यक्ष प्रभाव पर्यो । बीस वर्ष अघि प्रधानमन्त्री रहेका पोलपोटको काण्डले त कम्बोडियालाई झनै जर्जर बनाएको छ । त्यस काण्डमा कम्बोडियाका धेरै लाख मानिसले ज्यान गुमाए । सीमा विवादको बहानामा थाइल्याण्डले कम्बोडियाको अङ्कोरवात आफ्नो भनी दाबी गरेको कुरा त बुद्धको जन्मस्थान लुम्बिनीलाई कुशीनगर देखाएर भारतले आफ्नो दाबी गरेजस्तै लाग्यो । कम्बोडियाली युद्ध र सीमा विवादको कुराले नेपालको माओवादी युद्ध र नेपाल–भारत सीमा विवादको कुरा याद गरायो । यदि यस्तै हुने हो भने नेपालको गति पनि त्यस्तै हुने निश्चित छ । त्यसैले हामीले बेलैमा पाठ सिक्नुपर्ने देखें । कुनै मरुभूमिमा बसालिएको वस्तीजस्तो फुङ्ग उडेको खैरो बालुवाले यहाँका घरहरू पनि खैरै देखिन्छन्, जताततै । बोर्डरपारि बलौटे, अव्यवस्थित पार्किङमा जताततै रोकेर राखिएका छन् लेडिज स्कुटर । व्यक्तिगत कारहरू बाहेक बोर्डरबाट होटलमा पुग्ने एक मात्र साधन हुन् यी स्कुटर । थाई इमिग्र्रेसनबाट ‘एक्जिट’ र कम्बोडियन इमिग्रेसनबाट ‘इन्ट्री’ को छाप लागेपछि एउटा स्कुटर लिएर पोइपटस्थित हिलटप होटलमा बस्न पुग्यौं, एक रातका लागि ।
हामीलाई भोलिपल्ट बिहानै कम्बोडियाको राजधानी नोमपेन्ह जाने गाडीको व्यवस्था मिलाउनु थियो । हामीले त्यो काम होटलको रिसेप्सनकी मिस त्रामलाई जिम्मा दियाैं । बस हप्तामा एक पटक मात्र जाने भएकाले टोयोटा कार र पिकअप भ्यान मात्र नोमपेन्ह जाने रहेछन् । टोयोटा पिकअप र कारको भाडादर दुई गुणा बढी रहेको बताइन् मिस त्रामले । कारमै जाँदा राम्रो हुने भयो । यात्रा कम्फर्टेबल हुनुपर्छ भन्ने मेरो पनि चाहना भएकोले कारबाट नै जाने निर्णय भयो ।
अङ्ग्रेजी भाषा कम बुझ्ने यहाँका केटा–केटीहरू रेस्टुरेन्ट तथा बारमा दिउँसैदेखि लट्ठिएका देखिन्छन् । ‘द्वन्द्वका कारण हाम्रोमा जस्तै मनले नचाहेर पनि यी बच्चाहरू यहाँ काम गरिरहेका छन्’– मैले मेरो देशलाई सम्झें । हाम्रो देशमा युद्ध चल्दैछ, भनौं युद्ध चरमोत्कर्षमा पुगेको छ । युद्धले नजितेको कम्बोडियाको कथा नेपालका नेताहरूले थाहा पाइदिए मेरो देशले यो नियति भोग्नु पर्दैनथ्यो कि ! तर, यो घटना–परिस्थिति हामीले मात्र थाहा पाएर के फरक पर्छ ? अहँ, केही फरक पर्दैन । सद्भाव प्रकट गर्नुबाहेक अरू के गर्न सकिन्छ र ! अझै अनर्थ नहोस् भन्ने कामना मात्र गर्न सकिन्छ ।
मजस्ता बाहिरबाट सतही प्रकारले हेर्ने–सुन्नेलाई कम्बोडिया र नेपालमा उडेको धूलो अनि खमिर युद्ध र नेपालको युद्ध उस्तै लाग्यो । माटोका लागि भनेर सहिद भएकाहरूको सपना र दुवै देशका जनताको अनुहारमा मडारिएको बादलको रङ्ग उज्यालो देखिएन । कालो आँशुजस्तै युद्धले सिँचित वर्तमान कम्बोडियालीको अनुहारमा मैले नेपालीको भविष्यको अनुहार देखें । ‘अहँ, नेताहरूले नेपालमा यस्तो गल्ती गर्नुहुन्न’– मनमनै सद्भाव प्रक्षेपण गरें ।
मिठो सपनाको निरन्तरतालाई एकाबिहानै कारको हर्नको आवाजले भङ्ग गरिदियो । जर्याकजुरूक उठेर पानीले अनुहार भिजाई घडीको सुई हेर्दा बिहानको पाँच बजेर तीस मिनेट गैसकेको रहेछ । घुँयेत्रोको मट्याङ्ग्रा उछिट्टिएजस्तो सुट्केस लिएर एकैचोटि आँगनबाहिरको कारमा ठोकिन पुगेछु । होचो कदकी चिम्री अनि नेप्टी, गोलो अनुहारकी मिस त्रामले मुस्कानबाटै शुभयात्रा भनिन् । मैले पनि मुस्कानकै भाषामा धन्यवाद फर्काएँ । लिने–दिने काम हिजै सकिएको थियो, मात्र सम्झना छाडियो यहाँ, मन पनि छाडियो मिस त्रामलाई ।
होटलबाट बाहिरिएपछि धूलाम्य सडकमा गुडिरहेको कारले दक्षिणपूर्वको दिशा ताक्यो । आधा सडक उप्किएको, आधा कालोपत्रे र आधा धूलो उड्ने कच्ची बाङ्गोटिङ्गो सडकमा तीब्र गति; सुरूमै खतराको सङ्केत थियो हाम्रो । नोमपेन्हसम्मको यात्रामा घुत्रुम नामका ड्राइभरसहित पाँच जनाको शरीर थियो । कार ड्राइभरलाई अङ्ग्रेजीका तीन शब्द मात्र थाहा रहेछन्– ‘एस, नो र ओके !’ बाँकी उसले बोलेको हामी बुझ्दैनौै, हामीले बोलेको उसले बुझ्दैन; क्या काइदाको यात्रा नोमपेन्हको !
नोमपेन्हस्थित होटल चिचाको नुरूल भाइलाई फोन गरेर बस्ने व्यवस्था मिलाइसकेका थियौं । पोइपटबाट पूरा ठेगानाको भिजिटिङ कार्ड लिएर हिँडेका थियौं । गुड्नचाहिँ हाम्रो कार नेसनल हाई–वेबाट नै गुडेको हो तर बैङ्ककको जस्तो भीड छैन यो बाटोमा । मात्र बेला–बेलामा सरकारी गाडीहरूले क्रस गरेका छन् हाम्रो कारलाई ।
कृषि र पर्यटन नै मुख्य आयस्रोत हो क्यार कम्बोडियाको । कम्बोडियाको भूमिमा दोस्रो दिन हुइँकिइरहेका छौं हामी । कार विशाल हरिया फाँट भएर अघि बढिरहेका बेला बुधबारको बिहान एघार बज्दो छ । आँखैले नभ्याउञ्जेल पर–पर, स–साना थुम्का पहाड पनि हो कि जस्ता लाग्छन् अगाडिको दृश्य हेर्दा । कारको गति तीव्र छ, बेला–बेलामा चक्कामा पर्ने जोल्ठिङ्ले कति पटक त गाडीलाई नै उछिट्याई धानखेतमा पुर्याइदेला जस्तो अवस्था भैसकेको छ । लडेर कुनै ठूलो खोलामा खस्नुपर्ने डर त छैन तर दस–बाह्र बल्ड्याङ्चाहिँ खाइने अनुमान गर्न सकिन्छ ।
यहाँको जनसङ्ख्या नेपालभन्दा करिव आधा जति छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, दुईवटा नेसनल हाई–वे र दुईवटा रेललाइन छन् । नेसनल हाई–वेको ताल हेरिहाल्याैं हामीले । रेल–वे लाइनको अवस्था पनि नेपालको एक मात्र रेल–वे लाइन (जनकपुर–जयनगर) को जस्तै होला भन्ने अनुमान गरें । समय र शक्ति सबै नै युद्धमा लगाएपछि कहाँबाट प्राथमिकता पाउनु विकासका कुराले ! आज नोमपेन्ह नपुगी नहुने भएर होला, गति घटाउन कार चालकले कहिल्यै मान्दैन, घन्टीको रालोजस्तै सिट, सिलिङ र वारि–पारिको भित्तामा जति पटक ठोकिए पनि उसको अर्जुनदृष्टि भङ्ग हुँदैन ।
साथीले भने– ‘हाम्रो इशाराले काम गरेन, पछाडिबाट घुच्चुकमा दिनुपर्छ कि क्या हो लिम्बू पाराले, डम्बर सर !’
‘नयाँ ठाउँमा फेरि अर्काे अनर्थ होला, त्यसो नगरौं बरू बचेर एकु मुठी सास मात्र लिएर नोमपेन्ह पुगियो भने त केही गराैंला नि सर’– मैले जवाफ दिएँ ।
‘उग्रवादी’ हरूजस्तै पातलो आँखा मात्र देखिने गरी गम्छा र चस्माले छोपेको छ चालकको अनुहार । झ्यालहरू पनि आधा ह्वाङ्गै खोलेर धूलोको मुस्लोले बेला–बेलामा आँखा ढपक्कै पारेर अपहरणको शैलीमा बत्ताइरहेको छ गाडी । दिउँसोको दुई बजे एउटा फुङ्ग धूलो उड्ने मरूभूमिजस्तो ठाउँको सानो होटलमा रोकेर खाना खाए तीन जनाले । हामी पनि केही लिनुपर्ने, भोक लागिसक्यो, खाऊँ–खाऊँ लाग्ने खाना केही छैन । हामीले ‘ मिनिरल वाटर’ लेखिएको एउटा धुलाम्मे बोतल किन्याैं, एक डलरले । ड्राइभरको कामदेखि विश्वास हराएका साथीलाई फेरि पानी पनि सिल नभएको परेछ । कस्तो बिजोग हो यो ! अर्काे उपाय छैन, नपिई भएको पनि छैन । तरान त राख्नु पर्यो पिऊँ, भन्दै चित्त बुझायौं । करिव दुई घन्टा राम्रै बाटो कुदेपछि फेरि पहिलेजस्तै खाल्डाखुल्डी र उबडखावड । जसरी कारको चक्का खाल्डा र ढुङ्गामा बज्रन्छ, त्यसरी नै बज्रन्छ हाम्रो टाउको । हाम्रो मूल चाहना भने जेहोस् एक मुठी सास मात्र लिएर भए पनि नोमपेन्हसम्म पुग्न पाए हुन्छ भन्ने नै छ ।
हाम्रो शरीरको पीडा घामले पनि महसुस गर्यो कि कुन्नि, घामले रुन्चे मुख लगाएर पश्चिम ढल्कँदै गर्दा स्थानीय समयअनुसार छ बजाएछ घडीले । कार र हाम्रो रङ्ग उस्तै फुस्रो भएको छ यतिबेला । कारका पार्टपुर्जा र हाम्रा अङ्ग–प्रत्यङ्गको अवस्था पनि लगभग उस्तै भएको अनुमान गर्न सकिन्छ ।
ठूलो नदीको किनारामा अवस्थित सहर नोमपेन्ह । हामीले दिएको ठेगाना हेर्दै ड्राइभरले कारलाई एउटा गल्लीमा छिरायो । चिचा होटलको आँगनमा लगेर बिसायो त्यो रुखो मान्छेले । ह्वात्त ढोका खोलेर निस्कन मात्र खोजेको, ज्यान त लाराकलुरुक भएछ । एक क्षण नचलिकन उभिई नै रहें । हातको इशाराले धन्यवाद दिएँ, अरू त दिनलाई बाँकी केही पनि थिएन । नुरूल भाइले सुटकेस लगिसकेछन् । अरू केही पनि गर्ने इच्छा राखिनँ मैले, मात्र चाँडो कोठामा पुगेर पछारिनु छ । आजका लागि कमसेकम बाँचेर त आइपुग्यौं । धन्य नोमपेन्ह यात्रा ! धन्य नोमपेन्ह ! कम्बोडियाको राजधानी ।


अङ्कोरबात, सिङ्हानोक भिल्ले र नोमपेन्ह भ्रमणका लागि कम्बोडियामा संसारभरिका पर्यटक आउँछन् । सिएमरिएप प्रोभिन्समा अवस्थित अङ्कोरबात खमिर पगोडा शैलीमा, ऐतिहासिक पार्कमा बनाइएको बौद्ध मन्दिर हो र सिङ्हानोक भिल्ले समुद्री किनारमा अवस्थित सुन्दर राजकीय दरबार हो भने नोमपेन्ह कम्बोडियाको राजधानी हो । पन्चानब्बे प्रतिशत थेरावादी बौद्ध धर्मावलम्बीको बसोवास रहेको कम्बोडियाको राष्ट्रिय भाषा खमिर भाषा हो । तर, सहरमा थाई, लाओ, भियतनामिक र चाइनिज भाषा पनि बुभ्mछन् । स्थानीय पैसा कम्बोडियन रियाल हो तर जता पनि अमेरिकी डलर नै चल्छ, रियाल सटही गरिराख्नु पर्दैन । नोमपेन्हमा डलर स्थानीय पैसा जत्तिकै ग्रहण हुन्छ ।
यहाँको खानाका परिकारहरूमा हरियो ताजा सागसँग ‘फ्रहाक’ नामको झिँगे माछालाई कुहाएर बनाइएको अचार स्थानीय मानिसहरू अति नै मन पराएर खान्छन् । सबैले त्यो परिकारको प्रशङ्सा गरे । तर, म भने नजिकसम्म पनि जान सकिनँ, वाक्कै आउने गन्ध; कस्तो हो कस्तो !
नोमपेन्ह तोन्लसाप नदी किनारमा अवस्थित छ । घुम्न जान मन लागेका ठाउँहरू धेरै थिए । उठ्नै सकिएन तीन दिनसम्म, थला नै परियो । मात्र एक बेलुकीपख, घाम पश्चिमबाट ओरालो झर्नै लाग्दा बिस्तारै नदी किनारमा टहलिन निस्कियौं । थाई र भियतनाम दुवै भिसा लागेर होटलमै आइसकेको थियो । यहाँ पनि भ्रष्टाचारको जरा निकै नै फैलिएको रहेछ, भिसामा लाग्ने शुल्कमा समेत घूस । घूस नदिएर भिसा त के पासपोर्ट फिर्ता दिन समेत इन्कार गर्यो हाकिमले । आम्मै ! यो भ्रष्टाचारको जरा त संसारभर नै पो फैलिएको छ कि कसो ? गरिब देशहरूमा प्रस्ट देखिने रहेछ, गरिबी व्याप्तताका कारण पनि भ्रष्टाचार बढी हुनेरहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)