अनुहार चम्काउने भ्याम्पायरको चमत्कार

डा. रविन्द्र शर्मा

व्यक्तिले सुन्दर हुन चाहनु स्वाभाविकै हो । छालामा विभिन्न समस्या आई अनुहारको सुन्दरता बिग्रँदा व्यक्तिमा तनाव सिर्जना हुन्छ । व्यक्तिको अनुहार सुन्दर बनाउने विभिन्न उपाय हुन्छन् । सौन्दर्यमा निखारता ल्याउन दिनानुदिन विभिन्न नयाँ–नयाँ प्रविधिको विकास भइरहेकै छ ।

प्रतिस्पर्धात्मक प्रविधिको विकाससँगसँगै ‘भ्याम्पायर फेसियल’ लाई सुन्दरतामा निखार ल्याउने तुलनात्मकरूपमा उपयुक्त एक विधि मानिएको छ । फेसियल गरी अनुहारमा चमक ल्याउने अनेकौं विधिमध्येको यो एउटा भरपर्दो विधि हो । भ्याम्पायर फेसियल गरेर अनुहार चम्काउने व्यक्तिहरू दिनानुदिन बढिरहेका छन् ।

छाला चम्काउने रगत

भ्याम्पायर फेसियल विधिलाई ‘ब्लड’ फेसियल तथा ‘पीआरपी फेसियल’ पनि भनिन्छ । यो विधिमा फेसियल गर्ने व्यक्तिको आफ्नै शरीरबाट रगत निकालेर प्रशोधन गरिन्छ । रगतका सेता र राता कोषिकाहरू हटाइन्छ । प्रशोधन गरिएको ‘प्लेटलेट’ नामक कोषिकासहितको पहेंलो देखिने रगतलाई सामान्यतः सुईमा राखी थोपा–थोपा गर्दै अनुहारमा चुहाइन्छ र फेसियल गर्ने व्यक्तिको अनुहारमा दलिन्छ । छालामा दलिएको पीआरपीलाई मसिनो निडलले घोचेर छालाभित्र छिराइन्छ । अर्को तरिकाले फेसियल गर्दा भने सुईको माध्यमबाट सिधै छालाभित्र दिइन्छ ।

प्रशोधित रगतलाई पीआरपी (प्लेटलेट रिच प्लाज्मा) भनिन्छ । पीआरपी भनेकै प्लाज्मा भएकाले यसमा प्लेटलेट कोषिकाको मात्रा बढी हुन्छ । पीआरपी तत्त्वले छालालाई स्वस्थ बनाउन सहयोग गर्छ । यसले छालामा चमक तथा सुन्दरता ल्याउँछ । सामान्यतः यस्तो रगत माइक्रोनिडलले ‘इन्जेक्ट’ गर्दै अनुहारको छालाभित्र पसाइने भएकाले अनुहार चम्काउने यो विधिलाई ‘भ्याम्पायर’ भनिएको हो ।

प्रशोधन गरी पीआरपी तयार पार्नका लगि शरीरबाट करिव १५ एमएल रगत निकाल्नु आवश्यक हुन्छ । १५ एमएल रगत प्रशोधन गर्दा करिव पाँच एमएल पीआरपी तयार हुन्छ । पाँच एमएल प्रशोधित पीआरपी (रगत) भ्याम्पायर फेसियल गर्न पर्याप्त हुन्छ ।

‘सेन्टिफ्युज’ नामक मेसिनमा रगत प्रशोधन गरिन्छ । प्रशोधन गरिएको रगत ‘प्लाज्मा’ मा परिवर्तन हुँदा पहेंलो देखिन्छ । स्वस्थ छालाका लागि यस्तो रगत आवश्यक हुन्छ ।

निडलको भाइब्रेसन

सामान्यतः माइक्रोनिडलको प्रयोग गरी भ्याम्पायर फेसियल गर्न सकिन्छ । रोलरको माइक्रोनिडलिङमा करिव ५० देखि १०० वटा निकै मसिना सिया (निडल) हुन्छन् । अर्कातर्फ, कलमको बिर्को आकारमा रहेको वस्तुमा पनि करिव एक दर्जन निडल हुन्छन् ।

निडल भने ब्याक्टेरिया–फ्री (स्टेराइल) हुनु आवश्यक छ । त्यसैले तालिम प्राप्त छालारोग विशेषज्ञले नै भ्याम्पायर फेसियल गर्नु उचित हुन्छ । निर्मलीकरण गरिएका निडलको प्रयोग गर्दा यो विधि सुरक्षित हुन्छ ।

रोलरको प्रयोग गर्दा हातैले घोटिन्छ । माइक्रोपिनले गरिने भ्याम्पायर फेसियलमा विद्युत्मा माइक्रोनिडल जोडेपछि निडलमा भाइब्रेसन उत्पन्न हुन्छ । भाइब्रेसन आइरहेको अवस्थामा बिस्तारै अनुहारमा स्ट्याम्प हानेजस्तै गरी भ्याम्पायर फेसियल गरिन्छ ।

यसरी भ्याम्पायर फेसियल गर्ने क्रममा निडलको गहिराई मिलाउनुपर्छ । छालाको धेरै भित्री सतहमा गाडिने गरी निडल छिराउनुहुन्न । नाक, निधार, आँखाको वरिपरीका छाला पातलो हुने भएकाले यस्तो भागमा भ्याम्पायर फेसियल गर्दा निकै होस पु¥याउनुपर्ने हुन्छ । छाला पातलो भएको ठाउँमा निडलको लम्बाई घटाउनु आवश्यक हुन्छ । सामान्यतः गालाको छाला बाक्लो हुन्छ । छाला बाक्लो भएको ठाउँमा भने निडलको लम्बाई बढाउनुपर्छ ।

त्यसो त भ्याम्पायर फेरियल गर्ने प्रक्रियामा साना सुई छालाभित्र छिर्ने तथा निस्कने क्रम दोहोरिइरहने हुँदा आँखाले नदेखिने किसिमका मसिना प्वाल बन्छन् । छालाका त्यस्ता प्वालभित्र गहिराइसम्म पीआरपी पुग्छ । भ्याम्पायर फेसियलका क्रममा निडलले मृतावस्थामा रहेका छालाका कोषिका समेत बाहिर निकाल्छ । यस्ता कोषिका बाहिर निस्किएपछि छालामा स्वस्थ कोषिका मात्रै बाँकी रहने भएकाले छाला त स्वस्थ हुने नै भयो, साथसाथै छालामा चमक समेत आउँछ । निडलले छलामा रहेका विकार तत्त्व बाहिर निकाल्ने भएकाले छालमा डन्डिफोर, छिद्र आदि हटाउन समेत भ्याम्पायस फेसियलले सहयोग गर्छ ।

दुवै तह स्वस्थ

बाहिरी भागमा इपिडर्मिस र भित्री भाग डर्मिस गरी छालाको दुई तह हुन्छ । भित्री भागमा इलास्टिक तथा कोलेजन प्रोटिन बन्छ । छालामा यसरी बनेको प्रोटिन (पोषण तत्त्व) का कारण छालामा चमक आउनुका साथै छाला मुलायम र सुन्दर तथा स्वस्थ हुन्छ ।

यो विधिबाट फेसियल गर्ने क्रममा निडलको सहयोगले अनुहारको भित्री भागसम्मको छाला (डर्मिस तह) मा पीआरपी पुग्छ । यसरी पीआरपी छालाको भित्री सतहसम्म पुग्दा इलास्टिन तथा कोलेजनजस्ता प्रोटिनको मात्रा बढ्छ । छालाको भित्री (डर्मिस) सतहले प्रोटिन उत्पादन गर्दा छालामा आवश्यक पोषण तत्त्वको मात्रामा कमी हुन नपाउने भएकाले छाला स्वस्थ त रहन्छ नै छालामा चमकता समेत आउँछ ।

फेसियलका क्रममा निडलले छालाको भित्री भागमा मसिना घाउ बन्छन् तर यस्ता घाउ आँखाले भने देख्न सकिँदैन । घाउ पुर्नका लागि छालाले स्वचालितरूपमा प्रोटिन उत्पादन गर्छ, जसले छाला स्वस्थ रहन सहयोग पुग्छ । छालाको दुवै सतहका लागि यो विधि लाभदायक हुन्छ । भ्याम्पायर फेसियल गर्नाले छालामा दाग, धब्बा, रिङ्कल (चाउरीपना), खस्रोपना, फुस्रो हुनेजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यो विधि चाया, पोतो हटाउन समेत उपयोगी हुन्छ ।

छाला लत्रिने तथा चाउरिने कारणले समेत अनुहारमा दाग, धब्बा तथा छिद्र देखिन्छन् । भ्याम्पायर फेसियल गर्नाले छालामा प्रोटिनको मात्रा पुग्नाले छाला बाक्लो त हुन्छ नै टाइट भएर छाला लत्रिने समस्याबाट समेत बच्न सकिन्छ । त्यसैले छालामा चमकता ल्याई जवान देखिनका लागि भ्याम्पायर विधि लाभदायक छ ।

सुरक्षित विधि

भ्याम्पायर फेसियल गर्दा सहन सक्ने किसिमकै दुखाइ हुन्छ, उति धेरै दुख्दैन । यो अनुहार चम्काउने सुरक्षित विधि हो । यो विधिको फेरियल गर्न करिव ४५ मिनेट लाग्छ । फेसियल गरेका तीनदेखि पाँच घन्टामा मुख धुन सकिन्छ । फेसियल गरिसकेपछि अनुहारमा हल्का रगत देखिन सक्ने भएकाले करिव २४ घन्टासम्म अनुहारमा रातोपन देखिन सक्छ । अनुहारको छालाभित्रका मरेका छाला तथा कोषिका एक सातसम्ममा बाहिर निस्किई सुख्खा हुन सक्छ । मरेका कोषिका यसरी बाहिर निस्कनु राम्रो हो । यस्तो अवस्थामा मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । यसले दैनिकीमा असर गर्दैन ।

अन्य फेसियलको तुलनामा यो सुरक्षित विधि हो । अन्य विधिमा करिव एक हप्तासम्म अनुहार सुन्निने, दुख्ने, रातो हुनेजस्ता समस्या हुन्छन् तर यो विधिमा त्यस्तो हुँदैन । भ्याम्पायर फेसियल गर्दा यसको प्रतिफल उत्कृष्ट हुन्छ, जुन दीर्घकालसम्म लाभदायक रहन्छ । भ्याम्पायर फेसियल गरेको एक हप्तादेखि एक महिनासम्ममा प्रतिफल देखिइसक्छ र दुई वर्षसम्म कायम रहन सक्छ । भ्याम्पायर फेसियल गर्दा अनुहार रातो हुने भएकाले कतिपय व्यक्ति डराउँछन् तर यो सामान्य प्रक्रिया हो, जोखिम हुँदैन । औषधि प्रयोग नगरीकनै यो फेसियल गरिने भएकाले कुनै साइडइफेक्टको पनि डर हुँदैन ।

छालामा समस्या हुने कारण

छालामा आउने चाउरीपनका धेरै कारण हुन्छन् । उमेर पाको हुँदै जाँदा शरीरका अङ्ग नै पाको हुँदै जान्छन् । यसरी छाला पाको हुनु प्राकृतिक प्रक्रिया हो । यसरी पाको उमेर हुँदै जाँदा छला चाउरी पर्ने अवस्थालाई ‘इन्ट्रेन्जिक’ भनिन्छ । कतिपय व्यक्तिमा वङ्शाणु कारणले समेत छालाका समस्या निम्तन सक्छन् । बाहिरी तत्त्वका कारण पनि छाल चाउरी पर्न सक्छ ।

अत्यधिक घाम, छालाको सुख्खापन, दाग, धब्बाजस्ता कारणले पनि छालामा असर पर्छ । त्यसैगरी, नियमित धूम्रपान तथा मद्यपान गर्ने व्यक्तिको छालामा समस्या उत्पन्न हुने जोखि उच्च हुन्छ । तनाव व्यवस्थापन गर्न नसक्नु, सन्तुलित भोजन नगर्नुजस्ता कारणले पनि छालामा समस्या निम्तन्छ ।

शरीरमा पानीको अभावका कारण पनि छालामा समस्या उत्पन्न हुने भएकाले जाडो होस् वा गर्मी महिना– प्रशस्त पानी पिउनुपर्छ । दैनिक ३–४ लिटर पानी पिउनु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ ।

वयस्कले लिन्छन् बढी सेवा

छालाको चाउरीपन हटाउन तथा छालाजन्य समस्याबाट बच्न भ्याम्पायर फेसियल गरिन्छ । सामान्यतः ३५ नाघेका व्यक्तिको छलामा दाग, धब्बा तथा चाउरीपनको समस्या देखिन थाल्छ । छालामा समस्या देखिन सुरु गरेपछि भ्याम्पायर फेसियल गर्न सकिन्छ । करिव ३५ वर्षको उमेरदेखि नै भ्याम्पायर फेसियल गर्न थाल्ने हो भने छाला चाउरिने, डन्डीफोर आउनेलगायतका समस्याबाट बच्न सकिन्छ । चमकहीन छालामा समेत भ्याम्पायर फेसियल गरेर चमक ल्याउन सकिन्छ ।

छालामा समस्या देखिन थालेमा ३५ भन्दा कम उमेरमा पनि भ्याम्पायर फेसियल गर्न नसकिने होइन । कतिपय व्यक्तिमा कम उमेरमै छालासम्बन्धी समस्या आएमा यो विधि अपनाइन्छ । सामान्यतः अन्य उमेरसमूहको तुलनामा अनुहार सुन्दर बनाउने भ्याम्पायर फेसियल सेवा वयस्क व्यक्तिले नै बढी लिने गरेको देखिन्छ । पुरुषको तुलनामा महिला नै सौन्दर्यमा बढी सचेत हुने भएकाले यो सेवा प्रायः महिलाले नै बढी लिएको पाइन्छ ।

छालामा चमक ल्याउन तीनदेखि छ सेसनसम्म भ्याम्पायर फेसियल गर्नुपर्छ । प्रत्येक सेसन एक महिनाको अन्तरालमा गरिन्छ । त्यसपछि आवश्यक परेको खण्डमा चिकित्सकको सल्लाहमा गर्न यो विधि उपयोग गर्न सकिन्छ । नेपालमा एक पटक भ्याम्पायर फेसियल सेवा लिन करिव दस हजार रूपैयाँको हाराहारी खर्च हुन्छ ।

(लेखक सिभिल अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)