कोरोना विभेद: सही सूचनाको अभावले फैलाएको भ्रम

शङ्कर क्षेत्री

नेपालमा कोरोनाभाइरस (कोभिड— १९) को भयले सामाजिक दूरी कामय गर्नुपर्ने प्रचार गरिएसँगै व्यक्तिहरूको भावनात्मक दूरी पनि टाढियो । रोगको डरका कारण कतिपय व्यक्तिले सङ्क्रमित व्यक्तिप्रति विभेदको दृष्टिले हेर्न थालेको देखियो । कतिपय ठाउँमा त सङ्क्रमित भएका स्वास्थ्यकर्मीको नजिक नपर्ने समाचार पनि बाहिरियो । यसको अर्थ व्यक्ति जसरी पनि आफू बाँच्ने धारणाले सङ्क्रमितबाट टाढा रहेको अर्थमा समाजशास्त्रीको बुझाइ छ ।
किन सङ्क्रमित व्यक्तिप्रति नकारात्मक धारण बन्न पुग्यो ? यसमा कसको दोष छ । र, यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि व्यक्तिगत दूरी कायम गरी सामाजिक सम्बन्ध कायम गर्नुपथ्र्यो । तर, जनचेतनाको अभावका कारण सामाजिक दूरी पनि टाढा भएकोप्रति जनस्वास्थ्यविज्ञले चिन्ता व्यक्त गरेका छन् । जनचेतनाको अभावका कारण नै यस्तो समस्या निम्तिएको जनस्वास्थ्यविज्ञ तथा समाजशास्त्रीको तर्क छ ।
जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेका अनुसार व्यक्तिको शारीरिक दूरी टाढा राखी सामाजिक दूरी नजिक हुनु आवश्यक छ । तर, नेपालमा समाजमा घुलमिल गर्दा समेत रोग सर्ने भयले सताउन थाल्यो । त्यसो त त्रि.वि. शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझा पनि कोरोनाका बारेमा जनचेतनाको कमी भएकाले सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा फरक परेको बताउँछन् । डा. वझाले भने– ‘पब्लिकले जे बुझेको छ, त्यही गर्ने हो । व्यक्तिको नेचर पनि फरक हुन्छ ।’

उपयुक्त जनचेतनाको अभाव

समाजशास्त्री डा. मीना उप्रेतीका अनुसार पहिलेको तुलनामा अहिले सूचनाको पहुँच धेरै छ । सूचना प्रविधिको हावीले तनावको स्थिति सिर्जना भयो । त्यसैले पहिलेका महामारीभन्दा अहिले फरक स्थिति छ । नेपाली समाज कोरोनाको महामारीले इटालीलगायतमा घटेका घटनाले डराएको स्थिति हो । डा. उप्रेती भन्छिन्– ‘नेपालमा कोरोना फैलनुपूर्व नै नेपाली समाजमा यसका बारेमा जानकारी हुँदा डरको स्थिति पैदा भयो ।’
नेपालमा कोरोना लागेको अवस्थामा औषधि उपचार नहुने र मृत्यु हुने प्रचार गरियो । यो रोग नै ठूलो भएकाले पनि आफूलाई पनि सङ्क्रमण हुने डरले सङ्क्रमित व्यक्तिप्रति विभेद हुने गरेको डा. वझाको तर्क छ । रोगको जटिलता, भ्रम र जनचेतनाको कमीले पनि भेदभाव भएको उनी बताउँछन् ।
तर, संसारभर कोरोना सङ्क्रमणले हुने मृत्युदर करिव साढे तीन प्रतिशत हाराहारी देखिन्छ । नेपालकै मृत्युदर हेर्ने हो भने पनि एक प्रतिशत पनि छैन । यो रोग लागे मान्छेको बढी मृत्यु हुने, औषधि नहुने प्रचार गरिएकाले सङ्क्रमितप्रति व्यक्तिको नकारात्मक धारणा बनेको डा. पाण्डेको तर्क छ । समाजमा रोग फैलनेभन्दा रोगको मनोसामाजिक भयका कारण व्यक्ति बढी त्रसित भएको चिकित्सक बताउँछन् ।
जनस्वास्थ्यविज्ञ डा. पाण्डेले एउटा प्रसङ्ग सुनाए– ‘एक जना व्यक्तिले ऋण लिएका रहेछन् । ती व्यक्तिलाई कोरोना सङ्क्रमण भएछ । ऋण दिने व्यक्तिलाई त्यो कुरा थाहा भएपछि ऋण लिने सङ्क्रमित व्यक्तिको मृत्यु भयो भने आफ्नो पैसा डुब्ने चिन्ताले सङ्क्रमित व्यक्तिलाई ऋण दिने व्यक्तिले बारम्बार फोन गर्न थालेछन्, जसले सङ्क्रमित व्यक्तिमा झन् तनावको स्थिति सिर्जना भयो ।’ जनचेतनाका लागि शिक्षा आवश्यक हुन्छ । तर, नेपालमा त्यता ध्यान गएको देखिँदैन । त्यसो त जनचेतना जगाउने सवालमा राज्यले नै महत्वपूर्ण भूमिका निभाउनुपर्ने डा. वझाको सुझाव छ । स्थानीय सरकार तथा मिडियाको जनचेतना जगाउने सवालमा महत्वपूर्ण भूमिका रहेको उनी बताउँछन् ।
कतिपय घरबेटीले भाडा तिर्न नसक्दा भाडामा बस्नेलाई कोठाबाट निकालिदिनुलाई विवेक हराउँदै गएको समाजका रूपमा डा. उप्रेती चित्रण गर्छिन् । सहरमा व्यक्तिवादी समाज छ, व्यक्तिवादी समाजले उपभोक्तावादी समाजको निर्माण गर्छ । र उपभोक्तावादी समाजले मानवता पछाडि पार्ने डा. उप्रेती बताउँछिन् ।

उपचार नहुने भयले तनाव

स्वास्थ्यकर्मीका पनि केही कमजोरी भएको जनस्वास्थ्यविज्ञ औंल्याउँछन् । अस्पताल पुगेका बिरामीको विभिन्न बहाना बनाई स्वास्थ्य जाँच नै नगर्दा पनि स्वास्थ्यकर्मीप्रति नकारात्मक धारणा बनेको जनस्वास्थ्यविज्ञको तर्क छ ।
कोरोना सङ्क्रमितका लागि उपचारको अभाव, जनशक्तिको अभावजस्ता समाचारले व्यक्तिमा तनावको स्थिति सिर्जना भएको मनोचिकित्सक बताउँछन् । सरकारी निकायद्वारा बारम्बार सङ्क्रमणदर उच्च भएको अवस्थामा उपचारको जिम्मा लिन नसकिने आशय व्यक्त भएकाले पनि सङ्क्रमित भैहाले के गर्ने भन्ने तनावले व्यक्तिलाई सताएको जनस्वास्थ्यविद्को तर्क छ । त्यसैले चिकित्सकको मतलाई आधार मान्दा सङ्क्रमण भैहालेको अवस्थामा उपचारै नपाई मरिने रहेछ भन्ने डरले कोरोना सङ्क्रमित व्यक्तिभन्दा धेरै टाढा रहने तथा सङ्क्रमित व्यक्तिप्रति नकारात्मक धारणा बनेको देखिन्छ । त्यसो त डा. उप्रेती पनि कोरोनाका बारेमा विज्ञले पनि बुझाउन नसकेकाले सङ्क्रमितलाई हेर्ने दृष्टिमा फरक परेको हुन सक्ने बताउँछिन् ।
फरक दृष्टिले हेर्नुका केही कारण डरसँग जोडिने र केही कारण सहरिया जीवनसँग, केही कारण विवेकसँग जोडिने उप्रतीको तर्क छ । कतिपय व्यक्तिले नबुझेर पनि सङ्क्रमितलाई फरक दृष्टिले हेरेको समाजशास्त्रीको तर्क छ । डा. उप्रेती समस्या समाधानका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताउँछिन् ।

भ्रमको खेती नगरौं

सरकार, केही युट्युबलगायतका सामाजिक सञ्जालले कोरोना फैलिएको भ्रम फैलाएका कारण पनि समस्या उत्पन्न भएको जनस्वाथ्यविज्ञको तर्क छ । त्यसो त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा भाइरोलोजिस्ट डा. बासुदेव पाण्डे पनि कोरोनाका बारेमा जनतामा भ्रम फैलिएकाले सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा फरक परेको स्वीकार्छन् । निर्देशक पाण्डेले भने– ‘डाक्टरलाई हेला गर्यो भने आफैं मरिन्छ भन्ने त मान्छेले बुझ्नुपर्यो नि ।’ नेपालमा विज्ञको रायभन्दा भ्रमपूर्ण समाचार सुन्दा समस्या उत्पन्न भएको उनी बताउँछन् । आफूले अपनाउनुपर्ने सुरक्षाका उपाय नअपनाउने तर राज्यलाई दोष दिने प्रवृत्ति भएको डा. पाण्डेको तर्क छ ।
कोरोनालाई डरलाग्दो गरी प्रचार गरिएकाले डराएर सङ्क्रमितप्रति हेर्ने दृष्टिकोणमा फरक परेको डा. उप्रेतीको तर्क छ । डा. उप्रेतीले भनिन्– ‘आफ्नै बुबा–आमाको किरिया गर्न जान नपाएको समेत देखियो, जसले गर्दा व्यक्तिमा म, मेरो समाज भन्ने कुरा आडम्बर मात्रै रहेछ भन्ने भावना जागृत भएको छ । सङ्कट पर्दा त कसैले सहयोग नगर्ने रहेछ भन्ने पर्यो ।’ डा. उप्रेतीले भनिन्– ‘मान्छेदेखि मान्छे नै डराउनुपर्ने भयो ।’ बुझ्ने र बुझाउने दृष्टिकोणमा फरक परेको समाजशास्त्री बताउँछन् ।
समाजमा आउने प्रभाव फरक हुन्छ । अन्योलताको अवस्थामा यस्ता समस्या हुन्छन् । त्यसैले जनतालाई धेरै डर देखाउनु हुँदैन । सङ्कट भनेको समाजमा बेलाबखत आइरहने कुरा हो । कोरोनाको निराशा र यसबाट सिक्ने पाटा पनि छन्, जब सहर बन्छ, जब प्रविधि आउँछ, जब संस्कारहरू ढल्छन्, तब समाजमा मानवता हराउँछ भन्ने पढेका थियौं ।
जनचेतनाको अभावमा आफन्त तथा छिमेकी सङ्क्रमित भएको अवस्थामा छिमेकीले नै छिमेकीलाई असहयोग गर्ने वातावरण बनेकोप्रति चिकित्सक तथा जनस्वास्थ्यविज्ञ चिन्तित छन् । जनस्वास्थ्यविज्ञ डा. पाण्डेले सङ्क्रमित भएका छिमेकी तथा आफन्तलाई सहयोग गर्नुपर्ने अवस्थामा छिमेकीको घरनजिकको बाटो हिँड्न छाड्ने व्यवहार गर्नुलाई जनचेतनाको अभावका रूपमा लिएका छन् । यस्तो हुनुमा सरकार तथा सरोकारवाला निकाय जिम्मेवार रहेको पनि जनस्वास्थ्यविज्ञको तर्क छ । कुनै अनैतिक काम गरेर सर्ने रोग होइन भनी जनचेतना जगाउनमा जोड दिनुपर्ने देखिएको जनस्वास्थ्यविज्ञ बताउँछन् ।
कोरोनाबाट धेरै डर भयो । त्यसैले व्यक्तिमा अप्ठ्यारो परेको समयमा कसैले सहयोग गर्दैन रहेछ भन्ने प¥यो । र, सङ्क्रमित व्यक्तिलाई फरक दृष्टिले हेरको डा. उप्रेतीको तर्क छ । भूकम्पमा एकै ठाउँमा भएको समाज महामारीले मानवीयतामा सङ्कट ल्याउने काम पनि गरेको उनी बताउँछिन् । त्यसैले मिडियाले पनि सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्ने उनको धारणा छ ।
डा. उप्रेती पहिले अपराधको दायरा सानो हुने भए पनि अहिले सूचना प्रविधिको पहुँचका कारण समाचारको दायरा फराकिलो हुने बताउँछिन् । नेगेटिभ समाचार धेरै सम्प्रेषण हुँदा समस्या उत्पन्न हुने जोखिम उनी औंल्याउँछिन् । सामाजिक सञ्जालको दुरूपयोगले पनि समाज डरलाग्दो अवस्थामा जाने उनी औंल्याउँछिन् । नैतिकताको खडेरी पर्दैगएको चित्रण गर्छिन् । अहिलेको समाजले तत्कालको फाइदा हेर्ने र दूरदर्शिता नहुँदा समस्या उत्पन्न हुने उनको तर्क छ । व्यक्तिले तत्काल फाइदा नदेख्दा अपराध गर्ने मुडमा पुग्ने बताउँछिन्, डा. उप्रेती ।

द्विविधैद्विविधा, समग्र उपचार

सामान्यतः पश्चिमाहरूमा नयाँ मानिसलाई भेट्ने, नयाँ साथी बनाउने, बार तथा रेस्टुराँमा पुगेर रमाउनेजस्ता सोसल लाइफ हुन्छन् । पश्चिमाहरूको पारिवारिक सम्बन्ध टाढा हुने तर नचिनेका मान्छेलाई भेट्ने किसिमको सामाजिक जीवन हुन्छ । तर, नेपालीमा परिवार, छिमेकी तथा आफन्तमा भेटघाट गर्ने किसिमको सामाजिक जीवन हुन्छ । नेपाली समाजमा स्थायी किसिमको सामाजिक जीवन हुन्छ भने पश्चिमाहरूको अस्थायी प्रकृतिको हुन्छ । नेपाली समाजमा परिवार, आफन्त र छरछिमेकी तथा पुराना साथीसँगको सामाजिक सम्बन्ध हुन्छ । सबैसँग हाइहेलो हुन्छ ।

स्वास्थ्यकर्मीप्रति नकारात्मक धारणा बन्ने कारण

स्वास्थ्यकर्मीले ज्वरो आएका बिरामीलाई नछुने, अस्पतालमा बेड भए पनि नभएको बहाना बनाएर बिरामीलाई फर्काउनेसम्म गरियो । बिरामी पर्दा सेवा गर्छन् भनेर भगवानकाे रूपमा मानिएका स्वास्थ्यकर्मीले बिरामी नै नजाँच्ने समाचार बाहिरिए ।
यसले पनि व्यक्तिको स्वास्थ्यकर्मीप्रति हेर्ने दृष्टिकोण नकारात्मक भयो । व्यक्तिमा भगवान्का रूपमा हेरिएका स्वास्थकर्मीले पनि धोका दिएको महसुस भयो । आपतमा अस्पतालले पनि उपचार नगर्ने रहेछन् भन्ने मानसिकता बन्यो ।

उपचार नहुने डर

यस्तो रोगको महामारीको अवस्थामा सरकारले जनतालाई ढाडस दिनुपर्ने हो । सङ्क्रमित भैहालेको अवस्थामा पनि सरकारले जसरी पनि उपचार गर्छ भन्नुपर्ने हो ।’ सतर्कता अपनाउनमा भने सरकाले जोड दिनुपर्छ ।
तर, सरकारले मास्क नलगाएको भन्दै जनतालाई गालीको भाषा प्रयोग गर्न थाल्यो । यसले एकातर्फ उचित उपचार नहुने र सरकारले गालीको भाषा पनि गर्न थालेपछि सरकारप्रति जनताको विश्वास भत्किएर अन्धविश्वास सुरु भयो ।

द्विविधैद्विुविधा

अहिले मास्क र स्यानिटाइजरले स्वास्थ्यमा असर पो गर्ने हो कि भन्ने व्यक्तिमा द्विविधाको स्थिति सिर्जना भएको छ, जसले गर्दा कयौं व्यक्तिमा मास्क, स्यानिटाइजर लगाउने कि नलगाउने भन्ने द्विविधा उत्पन्न भएको छ ।
नेपालमा गरिने लकडाउनले पनि व्यक्तिमा द्विविधाको स्थिति सिर्जना गरिदिएको छ । त्यसैगरी, लकडाउनमा घरमै बस्ने तथा खानाको अभाव हुने व्यक्तिका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने हो । गाँस, बास र कपासको व्यवस्था सरकारले मिलाउनुपर्छ ।
चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डजस्ता मुलुकमा मास्क लगाउने भएकाले सङ्क्रमण नै कम छ । सही तरिकाले अनिवार्यरूपमा मास्क लगाउने हो भने धेरै हदसम्म सङ्क्रमण फैलने जोखिमबाट बच्न सकिन्छ । त्यसैगरी, मास्क र स्यानिटाइजर निःशुल्क गर्नुपर्छ ।

‘होलिस्टिक एप्रोच’ मा जानुपर्छ

कोरोना महामारीको समाधानका लागि ‘होलिस्टिक एप्रोच’ मा जानुपर्छ । व्यक्तिका आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक सबै पक्षलाई ध्यान दिनुपर्छ । एकीकृत प्याकेजमा सम्बोधन गर्नुपर्छ । तर, नेपालमा यस्तो सम्बोधनको प्याकेज देखिँदैन । नेपालमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको मात्रै बढी भूमिका देखिन्छ । तर, सबै मन्त्रालयको समन्वयमा सक्रिय भूमिका आवश्यक छ ।

विवेक हराउँदैछ

विशेषगरी सहरिया नेपाली समाज बढी व्यक्तिवादी बन्दै गएको देखिन्छ । हुनेखाने र हुँदा खानेबीचको सम्बन्धमा खाडल देखियो । हुँदाखाने वर्गलाई महामारीले गाह्रो बनाएको छ । गरिखाने वर्गलाई गाह्रो बनाएको छ ।
सहरी क्षेत्रमा पनि मानवता हराउँदै गएको तीतो यथार्थ हो । जसरी पनि आफू बाँच्ने प्रवृत्ति बढ्दै मानवता हराउँदै गएको छ । मानवता हराउँदै जाने केही कारण छन् । व्यक्तिले आफू तथा आफ्नो परिवारलाई मात्रै केन्द्रमा राख्नु मानवता हराउने कारण हो । त्यसैगरी, सहरमा पैसाका कारण वर्गनिर्माण हुन्छ, जसले मानवता हराउँछ । अहिले पनि गाउँमा मानवता हराइसकेको अवस्था छैन । तर, सहरमा पढेलेखेका तथा बुझेका भनिएका व्यक्तिबाट मानवता हराएको देखिन्छ । हामी पढेका भनिएका सहरियाहरू बिस्तारै ‘आइसोलेट’ बन्दैछौं । हामीले कतिपय कुराहरू बुझ्नै चाहेनौं र कतिपय कुराहरू बुझ्नै सकेनौं, त्यसैले पनि समस्या आयो । हामी आइसोलेट बन्दैछौं, हामीमा विवेक हराउँदैछ ।

मनोवैज्ञानिक भय चिर्नुपर्छ

कोरोनाभाइरसका बारेमा पब्लिकमा जनचेतनाको कमी भयो । पब्लिकले जे बुझेको छ , त्यही गर्ने हो । व्यक्तिको नेचरमा पनि फरक पर्छ । त्यसैले कोरोना सङ्क्रमणको बुझाइमा पनि फरक पर्छ ।
अर्को कुरा, यो रोग नै ठूलो भएकाले व्यक्ति डराएर भेदभाव भएको हो । रोगको जटिलता, भ्रम र जनचेतनाको कमीले पनि भेदभाव भएको हो । सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा भेदभाव हुन नदिनका लागि जनचेतना जगाउनुपर्छ । जनचेतना जगाउन राज्यले नै भूमिका निभाउनुपर्छ । त्यसैगरी, स्थानीय सरकारले जनतासँग सहकार्य गर्नुपर्छ । स्थानीय मिडियाले पनि सकारात्मक भूमिका खेल्नुपर्छ । हामीमा पनि चेत ल्याउनुपर्छ ।
व्यक्तिका समस्या सबै तहबाट बुझ्नु आवश्यक छ । मनोवैज्ञानिक भयका कारण व्यक्तिले सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा फरक परेको हो । त्यसैले यो रोगका बारेमा भ्रम कम गर्नका लागि जनचेतना फैलाउनुपर्छ । व्यक्तिको मनोवैज्ञानिक भय चिर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)