जाने औषधि, नजाने दुर्गति

प्रा. डा. दिनेश बाँस्तोला

जीवित प्राणीमा लागेको रोगको निदान तथा उपचारका लागि प्रयोग गरिने पदार्थलाई औषधि भनिन्छ । नेपाली समाजमा ‘औषधि’ लाई ‘ओखती’ भन्ने पनि चलन छ । औषधिको भरमै जीवन धान्नुपर्ने परिस्थिति दिनानुदिन बढ्दै गएको देखिन्छ ।
संसारमा मानिसको मृत्युका विभिन्न प्रमुख कारणमध्ये गलत औषधिको प्रयोग पनि एक हो । त्यसैगरी, सडक दुर्घटना र एड्स पनि मुत्युको प्रमुख कारणमध्येमा पर्छन् । नेपालमा हरेक सरकारले गुणस्तरीय स्वास्थ्य सेवाका साथै चिकित्सा शिक्षामा जोड दिएको दावी गरिरहेको पाइन्छ । तर, आज पनि उपचारको अभावमा कयौंको ज्यान गैरहेको तीतो यथार्थ छ । औषधिको सही प्रयोगको अभावमा बिरामी पीडित छन् ।
नेपालमा अझै पनि बिरामीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमध्ये कसले औषधि वितरण (सिफारिस) गर्ने भन्नेबारे प्रभावकारी कानुनी व्यवस्था देखिँदैन । नेपालमा चिकित्सक परिषद्, स्वास्थ्य व्यावसायिक परिषद्, नेपाल नर्सिङ् परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल आयुर्वेदिक परिषद्जस्ता संस्था क्रियाशील छन् ।
बिरामीलाई कसले औषधि वितरण गर्ने भन्ने कुरामा पेशागत परिषद्का पदाधिकारी कि त मौन देखिन्छन् या त जसले औषधि लेख्ने अधिकार पाएको छ, उसैले औषधि वितरण गर्न पाउनुपर्छ भन्ने धारणा देखिन्छ । स्वास्थ्यसँग सम्बन्धित कतिपय पेशागत सङ्गठनको मनशाय आफ्नो सङ्गठनमा आबद्ध पेशाकर्मीले नै बिरामीका लागि औषधि वितरण गर्न पाउनुपर्छ भन्ने देखिन्छ । यसर्थ, नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार बिरामीलाई औषधि वितरणको बारेमा प्रष्ट कानुन बन्नु आवश्यक छ ।
औषधिको निर्माण, वितरण, भण्डारण, निरीक्षण, अनुगमन तथा सुपरीवेक्षण तालिम प्राप्त, योग्य फार्मेसिस्टले गर्नुपर्छ । आधुनिक चिकित्सामा फार्मेसिस्टले नै औषधि बिक्री–वितरण, भण्डारण र निरीक्षण गर्नुपर्ने हुन्छ । आयुर्वेद, युनानी र अन्य विधाका औषधिको बिक्री–वितरण पनि सम्बन्धित विषयको अध्ययन गरेका औषधिविज्ञले नै गर्नुपर्छ ।
तर, नेपालका ठूला सरकारी अस्पतालमा समेत अन्य विषय (स्वास्थ्यबाहेका विषय) अध्ययन गरेका व्यक्तिले समेत औषधिको भण्डारण तथा वितरण गरिरहेको तीतो यथार्थ छ । केन्द्रीय, सङ्घीय, प्रादेशिक, स्थानीय, निजी, शिक्षण, सामुदायिक अस्पतालहरुमा समेत औषधिविज्ञविना नै औषधिको बिक्री–वितरण गरिएको पाइन्छ; निजी अस्पताल, शिक्षण अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीको त कुरै छाडौं । स्वास्थ्य स्वयम्सेविका र ग्रामीण स्वास्थ्य कार्यकर्ताले समेत सरकारकै निर्देशनमा केही औषधिहरु वितरण गरेका छन् ।

औषधिविज्ञको आवश्यकता

नेपालका हजारौं औषधि पसलहरुमा औषधिविज्ञविना नै औषधिको बिक्री–वितरण गरिन्छ । त्यसैले, नेपालमा प्रतिजैविक औषधि, शरीरमा विकार उत्पन्न गर्ने औषधिहरु र अधिकाङ्श मनोरोगका औषधिहरुको दुरुपयोग भएको पाइन्छ । औषधि सहजै पाइँदा कयौं व्यक्तिहरू त औषधिको दुव्र्यसनमा समेत फसेका छन् भने कतिको जीवनलीला पनि समाप्त भएको छ ।
नेपालमा यसरी औषधिको सहज उपलब्धताले स्वास्थ्यमा खराब असर पर्नुका साथै औषधिको दुरुपयोग समेत भएको यथार्थलाई नकार्न सकिँदैन । नेपालमा जस्तो औषधिको उपलब्धता विश्वका विरलै मुलुकमा मात्र होला ।
बिरामीलाई औषधि दिने स्वास्थ्यकर्मीलाई त औषधिका बारेमा ज्ञान हुनु अनिवार्य भैहाल्यो, आफूले सेवन गर्ने औषधिका बारेमा स्वयम् बिरामीमा समेत ज्ञान हुनु आवश्यक छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले लेखिदिएको पुर्जा (प्रेस्क्रिप्सन) राम्रोसँग पढ्नुपर्छ । नबुझिएको कुरा फार्मेसिस्टलाई सोध्न भुल्नु हुँदैन । बिरामीका लागि लेखिएको औषधिको पुर्जाको केही अक्षर त औषधी पसलेले मात्रै बुझ्ने अवस्था छ; बिरामीले त बुझ्ने कुरै भएन । तर, औषधिको नाम, मात्रा, कति दिन र कति पटक खाने भन्ने जानकारी बिरामीले पाउनु अत्यावश्यक हुन्छ ।

औषधि किन्दा अपनाउनुपर्ने सावधानी

औषधि किन्दा बडो ध्यान दिनुपर्छ । अनुमति प्र्राप्त तथा भरपर्दो फर्मेसी र तालिम प्राप्त फार्मेसिस्टबाट मात्रै औषधि लिनुपर्छ । आफूले किन्न लागेको औषधि टुटफुट भएको, सिल तोडिएको, रङ परिवर्तन भएको जस्ता समस्या भए त्यो औषधि किन्नु हुँदैन ।
औषधि खरिद गर्दा औषधिको नाम र त्यसमा सम्मिलित रसायन पनि हेर्नुपर्छ । औषधि सही विधि र प्रक्रिया अपनाई भण्डारण गरेको छ वा छैन भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । उत्पादन र म्याद सकिने मिति राम्रोसँग हेरेर मात्रै औषधि खरिद गरी सेवन गर्नुपर्छ । औषधि उत्पादन गर्ने संस्था वा उद्योग पनि हेर्नुपर्छ ।
भ्याक्सिनलगायतका धेरै औषधिहरु उत्पादन हुने क्षेत्रदेखि नै बिरामीले लिने समयसम्म चिसो साङ्लो (कोल्ड चेन) को व्यवस्थापन गरेर वितरण गर्नुपर्ने खालका हुन्छन् । सम्मिलित रसायनहरु, उत्पादन मिति, म्याद सकिने मिति र उत्पादन गर्ने उद्योग तथा ठेगाना उल्लेख नभएको औषधि खरिद गरी सेवन गर्नु हुँदैन । यस्ता जानकारीहरू उल्लेख नभएका औषधि नक्कली हुन सक्छन् ।
औषधि खरिद गरिसकेपछि रसिद (बिल) लिन भुल्नुहुँदैन । आफूले खरिद गरेको औषधिको रसिद लिएको खण्डमा मूल्यलगायतमा ठगिने सम्भावनाबाट बच्न सकिन्छ । रसिद लिँदा औषधिमा कुनै किसिमले ठगिएछ भने कार्बाही प्रक्रियाका लागि समेत सहज हुन्छ ।
सकभर भिडभाड भएको ठाउँमा औषधि किन्नुहुँदैन । भिडभाड भएको ठाउँमा औषधि किन्दा झुक्किएर अरुको औषधि आफूलाई पर्न सक्छ । अरुलाई दिन तयार पारेको औषधि आफूलाई र आफ्नो औषधि अरुलाई परी त्यही सेवन गरेमा स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम हुन्छ ।

घरमा औषधि राख्ने तरिका

घरमा औषधि जहिल्यै सुख्खा, चिसो र घाम नपर्ने ठाउँमा राख्नुपर्छ । चिस्यानमा राख्नुपर्ने किसिमको औषधि भएमा त्यसबारे राम्रो जानकारी लिएर सही तापक्रममा राख्नुपर्छ । जथाभावी राखेमा औषधिले काम नगर्न सक्छ । औषधिलाई कहिल्यै बालबालिकाले देख्ने र भेट्ने ठाउँमा राख्नु हुँदैन । औषधिलाई झिँगा, मुसा, छुचुन्द्रो, कमिला, साङ्लालगायतका कीराहरूबाट जोगाएर सुरक्षित तवरले राख्नुपर्छ । झोल औषधि भए राम्रोसँग कसेर बिर्को लगाउनुपर्छ; चक्की भए स्ट्रिपमै सुरक्षित राख्नुपर्छ र स्ट्रिपबाट निकाल्नासाथ तुरुन्तै सेवन गर्नुपर्छ । सुईबाट लिनुपर्ने औषधि भए तालिम प्राप्त फार्मेसिस्टको सल्लाह पालना गर्नुपर्छ । एउटा औषधिको भाँडामा कहिल्यै अर्को औषधि मिसाएर राख्नु हुँदैन । एउटै भाँडामा मिसाएर राख्दा झुक्किएर उल्टोपाल्टो सेवन गर्ने जोखिम हुन्छ । प्रयोगमा नआएका औषधिको तुरुन्तै व्यवस्थापन गर्नुपर्छ । कतिपयले तनावको अवस्थामा जथाभावी औषधि सेवन गरेर ज्यान जोखिममा पार्न सक्छन् । सामान्य अवस्थामा ‘पछि काम लाग्ला’ भनेर घरमा औषधि भण्डारण गरी राख्नु हुँदैन ।

गर्भवती र आमाले नगरौं हेलचेक्र्याइँ

गर्भवती तथा बालबालिकाले औषधि सेवन गर्दा बडो ध्यान दिनुपर्छ । गर्भवती भएको वा बच्चालाई स्तनपान गराइरहेको अवस्थामा चिकित्सकको सल्लाहवमोजिम मात्रै औषधि सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवन गर्दा गर्भवती तथा बच्चालाई नकारात्मक असर पर्ने जोखिम बढी नै हुन्छ ।
बच्चालाई सुताएर औषधि सेवन गराउनु हुँदैन । आमाले सेवन गरेको औषधि स्तनपान गराउँदा बच्चामा पनि जाने भएकाले यस्ता महिलाले चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्नुपर्छ ।

औषधिविज्ञ–बिरामी सबन्ध

औषधि दिने मान्छे (औषधिविज्ञ) लाई बिरामी वा औषधि किन्न जाने बिरामीका आफन्तले रोगका बारेमा जानकारी गराउनुपर्छ । अरु कुनै औषधि खाए–नखाएको पनि बताउनुपर्छ । गर्भवतीले औषधि लिँदा आफू गर्भवती भएको जानकारी गराउनुपर्छ । स्तनपान गराइरहेकी आमाले औषधि सेवन गर्नुपर्ने भए सोको जनकारी गराउनुपर्छ ।
औषधि सेवन गर्दा कुनै प्रतिक्रिया (रियाक्सन) हुन्छ भने त्यसबारे पनि जानकारी दिएर र लिएर मात्र औषधिको सेवन गर्नुपर्छ । औषधि सेवन गर्दा जावे, जन्डिस, पिसाबमा रगत, रक्तचापको असन्तुलनजस्ता समस्या र बान्ता हुने, कान सुसाउने, धमिलो देख्ने, रक्तअल्पता, कालो दिसा, कान कम सुन्ने, रिँगटा लाग्ने, छाती दुख्ने, शरीर चिलाउने तथा शरीरमा डाबर देखिनेजस्ता समस्या भए तुरुन्तै सम्बन्धित चिकित्सक तथा औषधिविज्ञसँग सल्लाह लिनुपर्छ ।

औषधिविज्ञसँग यी जानकारी लिऔं

औषधि लिँदा औषधिको नाम, यसले गर्ने काम र प्रयोग गर्ने तरिकाबारे औषधिविज्ञबाट राम्रोसँग जानकारी लिनुपर्छ । औषधिका सकारात्मक तथा नकारात्मक असरबारे पनि जानकारी लिनु–दिनुपर्छ । बिरामीले औषधिको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी लिनुपर्छ । औषधिको सेवन गर्दा कुनै प्रतिक्रिया भए सम्पर्क गर्नुपर्ने ठाउँ तथा व्यक्तिको सम्पर्कबारे पनि जानकारी लिनुपर्छ ।

औषधि सेवन छाड्ने अवस्था

चिकित्सकले तोकेअनुसारको मात्रा र समय पुगेपछि औषधिको सेवन गर्न छाड्नुपर्छ । मात्रा र समय नै नपुगीकन समेत चिकित्सक वा स्वास्थ्यकर्मीले औषधि सेवन गर्न छाड्ने सल्लाह दिएमा पनि सेवन गर्न छादिदिनुपर्छ ।
प्रयोग गरिरहेको औषधिले नकारात्मक असर देखाएमा सेवन गर्न छाडिन्छ । बान्ता भए, पखाला लागे, आँखा धमिलो देखे, कान बजेको महसुस भए, रक्तचाप बढे वा घटेमा सेवन गरिरहेको औषधि छाडिन्छ । पिसाबमा रगत देखापरे, रक्तअल्पता देखिए, जाबे आए वा शरीर चिलाए, आँखा पहेंलो हुनेजस्ता असामान्य अवस्था सिर्जना भएमा पनि औषधि सेवन गर्न तुरुन्तै छाड्नुपर्छ । औषधिको नकारात्मक प्रतिक्रिया देखिए तत्कालै स्वास्थ्य संस्था पुग्नुपर्छ र औषधिविज्ञ तथा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

सचेत रहौं…

औषधि भनेको दुईतिर धार भएको तरबारजस्तै हो । औषधिको उचित सेवन गर्नाले जीवन बच्छ, उचित तरिकाले सेवन नगरेको अवस्थामा शरीका विभिन्न अङ्गहरुमा असर परी जीवनको अत्य हुने जोखिम बढ्छ । सही किसिले औषधिको सेवन नगर्दा एकातर्फ रोगको सही उपचार हुँदैन भने अर्कोतर्फ शरीरका विभिन्न अङ्गमा नकारात्मक असर परी ज्यानकै जोखिम समेत हुन सक्छ ।
औषधि सेवन उचित तरिकाले नगरेमा जीवनको दुर्गति तथा बर्बादीको समेत जोखिम भएकाले औषधिहरू सही तरिकाले प्रयोग गर्नु अत्यावश्यक हुन्छ । औषधिको सही र उचित प्रयोगका सम्बन्धमा सरोकारवाला सम्पूर्ण निकाय सचेत हुनु आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)