पवनकली र कृष्णप्रसादको प्रेम

सागर दाहाल

ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको तबेलामा पुग्दा हात्तीलाई पराल दिइरहेका थिए कृष्णप्रसाद आचार्य । चिडियाखानामा रहेको उक्त हात्तीको नाम हो– ‘पवनकली’ । पवनकली कृष्णप्रसादलाई सुँडले सुम्सुम्याउँदै पराल माग्दै थिई ।

कृष्णप्रसाद र पवनकलीको भेट भर्खर भएको होइन, उनीहरूबीचको सम्बन्ध लामो छ । पवनकलीसँग झापाका कृष्णप्रसादको भेट भएको तीस वर्ष भयो । पवनकलीसँग भेट हुँदा कृष्णप्रसाद तेईसवर्षे जवान थिए भने पवनकली छत्तीस वर्षकी । वि.सं. २०४६ सालमा उनीहरूबीच भेट भएको हो ।

अहिले कृष्णप्रसादले ५३ वसन्त पार गरिसके, पवनकली सतसट्टी वर्षकी भई । चितवन राष्ट्रिय निकुञ्जबाट सरेर छत्तीस वर्षको उमेरमा जाउलाखेलस्थित सदर चिडियाखानामा भित्रिएकी हो पवनकली । कोशी टप्पुमा जागिरे भएको दुई वर्षपछि पवनकलीसँग कृष्णप्रसादको भेट भयो ।

माउतेदेखि फनितसम्म

कोशी टप्पु वन्यजन्तु आरक्षण (आरक्ष) बाट हात्ती स्याहार्ने कामका लागि ‘जागिरे’ भएका कृष्णप्रसाद यो उमेरसम्म पनि हात्तीसँगै रमाइरहेका छन् । हात्तीको माउतेबाट उनको जागिर सुरु भएको हो । केही समय माउतेको तहमा काम गरेपछि उनी ‘पछुवा’ तहमा बढुवा भए ।

पछुवाबाट पनि बढुवा भएर अहिले उनी ‘फनित’ तहमा छन् । योभन्दा माथिल्लो तहमा बढुवा हुने अवधि पुगिसके तापनि चिडियाखानामा योभन्दा माथिल्लो तहको व्यवस्था नै नरहेको उनी बताउँछन् ।

परिवारभन्दा पवनकलीसँगै बढ्ता समय

कृष्णप्रसाद परिवारसँगभन्दा पवनकलीसँगै बढी समय बिताउँछन् । उनलाई घरमा बस्ने मौका कमै मात्र मिल्छ । ‘पवनकलीले मलाई खोजिहाल्छे,’ कृष्णप्रसाद भन्छन्– ‘घर त बस्नै पाउँदिनँ ।’ त्यसो त पवनकलीलाई केही समय नदेख्दा उनी पनि न्याश्रिन्छन् । उनी पवनकलीकै स्याहारसुसारमा हरदम चिडियाखानामै जुटिरहन्छन्; पवनकलीलाई घुमाइरहन्छन् ।

पवनकली र कृष्णप्रसादबीच सुमधुर आत्मीयता छ । पवनकली बिरामी हुँदा उनी घरै जाँदैनन् । ‘श्रीमती, छोराछोरी बिरामी हुँदा त उपचार गर्ने मान्छे हुन्छन्, अस्पताल लान सकिन्छ,’ कृष्णप्रसाद भन्छन्– ‘तर पवनकली बोल्न सक्तिन, बिरामी परे कसले उपचार गर्ने ?’ पवनकली बिरामी पर्दा कृष्णप्रसादलाई हेर्दै बररर्र आँशु झार्छे, उनैलाई सुम्सुम्याउँछे र सुँडको इशाराले नजिक बोलाउँछे । पवनकलीले खानेकुरा समेत खान नसकेको देख्दा कृष्णप्रसादका पनि आँखा रसाउँछन् । पवनकली बिरामी परेको अवस्थामा कृष्णप्रसादले तातो–चिसो पकाएर खान दिन्छन् ।

पवनकली बिरामी हुँदो त्यही चिन्ताले कृष्णप्रसाद राम्रोसँग निदाउन समेत सक्दैनन् । पवनकलीलाई बिमारले च्यापेको खण्डमा कृष्णप्रसाद राति नै भए पनि पशु चिकित्सकलाई बोलाइहाल्छन् । कृष्णप्रसादले फोन गर्ने वित्तिकै चिकित्सक पनि चिडियाखाना पुगिहाल्छन् । ‘फोन गरेपछि डाक्टर आइहाल्नुहुन्छ,’ उनी भन्छन्– ‘जति राति फोन गरे पनि डाक्टरसा’ब आइपुगिहाल्नुहुन्छ ।’ निको हुँदा पवनकलीलाई त हल्का हुने नै भयो, कृष्णप्रसाद समेत खुशी हुन्छन्; आनन्द मान्छन् । उसो त कृष्णप्रसाद बिरामी हुँदा पनि पवनकली सुर्ताउँछे । भन्छन्– ‘म बिरामी परेर खान दिन नसक्दा मलाई हेरिरहन्छे, खान मागिहाल्दिन ।’

वैवाहिक यात्रा र काठमाडौंमा घर

कृष्णप्रसादले वि.सं. २०५० मा कवितासँग लगनगाँठो कसे । आफूले दुलही पनि चिडियाखानामै भिœयाएको उनले सुनाए । ‘चिडियाखानाको हात्ती बस्ने हात्तीसारको छेउबाटै बेहुलो भएर दुलही लिन गएको थिएँ’– उनी सम्झन्छन् ।

कविता भित्रँदा कृष्णप्रसादकोे तलब १ हजार ६ सय १० रूपैयाँ थियो । त्यो तलबले परिवार धान्न धौ–धौ भएपछि उनले शनिबार छुट्टीका दिन चिडियाखानाकै अगाडि सडकमा बालबालिकाका खेलौना बेच्न थाले । कृष्णप्रसादको छुट्टी नहुँदा कविताले व्यापार गर्थिन् । हात्तीकै वरीपरि खेल्दै उनका छोरा र छोरी हुर्किए ।

सात कक्षासम्म मात्रै पढेर घर छाडेका कृष्णप्रसादको घरमा निकै दुःख थियो । जागिरको सुरुआतमा उनको तलब ४ सय १० रूपैयाँ मात्र थियो । सुरुआतताका काम ग्राह्रो लागेर भाग्न पनि भ्याए । तर, जागिर छाड्न मनले मानेन । भागेकै दिन फर्किएर फेरि हात्ती स्याहार्न थाले । जागिर नछाड्नु नै कृष्णप्रसादका लागि ‘भाग्य’ बन्यो ।

व्यापार गरेर उनले एक लाख जमाए । त्यही पैसाले कलङ्कीमा तीन आना जग्गा समेत जोडे । केही वर्षपछि त्यो जग्गा ५ लाखमा बिक्री गरे । ५ लाख रूपैयाँलाई फुर्मासमा खर्च गरेनन् । साढे तीन लाख रूपैयाँमा गोदावरीमा साढे चार आना जग्गा किने । १ लाख ५० हजार रूपैयाँ बचाए । ‘दुई वर्षपछि त्यो जग्गा २० लाखमा बेचें’– कृष्णप्रसादले भने । यसरी ‘खेलो’ गर्दै त्यही पैसाले आनाको साढे दुई लाखका दरले भैंसेपाटीमा तीन आना जग्गा किने । त्यहीं उनले तीन तलाको घर ठड्याए । काठमाडौंमा घर भएकामा उनमा कुनै अहम्ता छैन ।

हात्तीले नै आफ्नो परिवार धानेको हुनाले कविता पनि पवनकलीबाट टाढा नहुन कृष्णप्रसादलाई प्रोत्साहित गर्छिन् । ‘अब धेरै दुःख नगर्न’ छोराछोरीले भने कहिलेकहीं बुबासँग अनुरोध गर्छन् । तर, पवनकली जीवित रहुञ्जेल टाढिने मन छैन कृष्णप्रसादलाई । ‘पवनकलीलाई त एकछिन पनि छाड्न सक्तिनँ’– कृष्णप्रसाद भन्छन् । पवनकलीको स्याहारसुसार गर्नु उनका लागि नित्यकर्म जस्तै हो । पवनकलीको दिसा–पिसाब सोहोर्दा गन्हाउनुको सट्टा बासना आउने उनी बताउँछन् । कृष्णप्रसादले पवनकलीलाई आफ्नो घरमा समेत लगेका छन् । भैंसेपाटीमा जग्गा किनिसकेपछि घर बनाउनुपूर्व कृष्णप्रसादको जग्गामा दुई घन्टा बसेकी छ पवनकली ।

श्रीमती कवितालाई भने सम्पत्तिले मात्रै पुगेन । छोराछोरीले पढेको देखेर आफूलाई पनि पढ्न असाध्यै मन लाग्यो । कहिल्यै स्कुल नटेकेकी कविताले छोराछोरीसँग घरमै प्राथमिक तहको पढाइ भ्याइन् । ललितपुरको सातदोबाटोस्थित पाको उमेरका व्यक्ति पढ्ने एक स्कुलमा उनले सिधै पाँच कक्षामा नाम लेखाइन् । कविता अहिले सात कक्षामा पढिरहेको कृष्णप्रसादले सुनाए ।

कुराकानीको साङ्केतिक भाषा

भोकाएका बेला पवनकली सुँडले ढुङ्गो टिपेर कृष्णप्रसादलाई हिर्काउँछे । कृष्णप्रसादले खानेकुरा दिन ढिलो गरे भने ढुङ्गाले हान्न थालिहाल्छे । ढुङ्गाले हान्न थालेपछि पवनकलीलाई भोक लागेको बुझिहाल्छन् कृष्णप्रसाद । र, त्यसपछि तुरुन्तै खान दिन्छन् ।

खुट्टामा काँडा, ढुङ्गा, कुनै छेस्का बिझेका बेला कृष्णप्रसादलाई देख्ने वित्तिकै पवनकलीले खुट्टा उचालिदिन्छे । उसको साङ्केतिक भाषा बुझेर कृष्णप्रसाद खुट्टामा पसेको वस्तु झिकिदिन्छन् । पवनकलीलाई बस् भन्नुपर्दा ‘ब्वाइठ’, उठ् भन्नुपर्दा ‘म्वाइल’, सुत् भन्नुपर्दा ‘सुत्’, हिँड् भन्नुपर्दा ‘अगत्’, पछाडि सर् भन्नुपर्दा ‘छौ’, उभिइराख् तथा बद्मासी नगर् भन्नुपर्दा ‘र’ भन्ने साङ्केतिक भाषा प्रयोग गर्छन् कृष्णप्रसाद । कृष्णप्रसाद–पवनकली दुवैले साङ्केतिकरूपमै दोहोरो संवाद गर्छन् र दुवैले बुझ्छन् ।

कहिलेकहीं रिस

कहिलेकहीं भने पवनकली रिसाउँछे । पवनकलीलाई रिस उठेका बेला आँखा डेरा पारेर हेर्छे । ‘जिउ, कान केही पनि चलाउँदिन,’ उनी भन्छन्– ‘रिसाएका बेला फकाउनुपर्छ ।’ पवनकलीलाई कुट्न–पिट्न भने उनलाई लाई सह्रै माया लाग्छ; हत्तपत्त कुटिहाल्दैनन् ।

पवनकलीले अहिलेसम्म आफूलाई कुनै पनि नराम्रो व्यवहार नगरेको कृष्णप्रसादले सुनाए । ‘असाध्यै गुनी छे,’ उनी भन्छन्– ‘राम्रो हो कि खराब मानिस हो भन्ने कुरा उसले छुट्याउन सक्छे, जाँड–रक्सी खाने मानिससँग रिसाउँछे ।’

पवनकलीले झुक्किएर एक दिने भने एउटा गल्ती गरेको कृष्णप्रसादले सुनाए । केही वर्ष अगाडि घाँस लिन इमाडोल जाँदा कुकुरले पछाडिबाट पवनकलीलाई टोक्न आएछ । ‘के आयो भनी तर्सेएर पछाडिको कुकुरलाई तात्ताले हानी, कुकुर फ्याट्टै मर्‍यो,’ कृष्णप्रसादले भने– ‘त्यो बाहेक यसले कुनै पनि बदमासी गरेकी छैन ।’ आफूले भनेका कुरा पवनकलीले मान्नु नै आफूप्रतिको माया ठान्छन् कृष्णप्रसाद ।

बुढ्यौलीसँगैको अटेरी

एक वर्ष अघिसम्म हात्ती सवार गर्ने मानिसहरूलाई सवार गराउँथी पवनकली । उसले अहिले त मान्छे बोक्न छाडेकी छ । मान्छे बोक्नुपर्छ भनेर अल्छीले चिडियाखानाको पोखरीमा खेल्दै टहलिएर पवनकलीले बाहिर निस्कनै ढिलो गर्न थालेकी थिई ।

‘बोलाउँदा पनि आउँदैनथी,’ कृष्णप्रसाद भन्छन्– ‘आज चाहिँ मान्छे बोक्नुपर्छ भन्ने कुरा उसलाई ठ्याक्कै थाहा हुन्थ्यो ।’ अहिले पनि उसको त्यो बानी गएको छैन । कहीलेकहीं अटेरी गरेपछि फकाएर बोलाउनुपर्छ ।

पाको उमेर : ठप्प कामकाज, घट्दो खानपान

पवनकलीले एक पटकमा चार जना वयस्क व्यक्तिलाई सवार गराउँथी । दैनिक करिव तीस जना सवार गराउँथी । तर, पवनकली अहिले भने वृद्धावस्थामा पुगिसकी । कृष्णप्रसाद भन्छन्– ‘अब पवनकलीले मान्छे बोक्न सक्दिन ।’ अहिले उनी पवनकलीलाई चिडियाखानाभित्रकै पोखरीमा नुहाउन लान्छन्; दैनिक घुमाउँछन् ।

करिव उनान्सत्तरी वर्ष पुगेकी पवनकली वृद्ध हुँदै गएकाले धेरै हिँड्न र बोक्न नसक्ने भएकाले मान्छे बोक्न लगाउन छाडेको बताउँछन् कृष्णप्रसाद । आफैं घाँस बोकेर ल्याउने ऊ अहिले भने घाँस लिन पनि बाहिर निस्कन्न । अहिले राम्रोसँग खान पनि सक्तिन । वयस्कको जस्तो खानपान नगरे पनि उसको खानपानमा भने खासै कमी भने नआएको उनी बताउँछन् ।

पवनकलीले बेलुकी करिव एक ट्र्याक्टर डालेघाँस खान्छे, बिहानसम्म त्यसैले पुग्छ । दिउँसो एक बजेतिर खाजाका रूपमा बाह्र किलोग्राम फलफूल खान्छे । उसले बेलुका चार बजेभन्दा पहिले पन्ध्र किलोग्राम धान खान्थी । तर, अहिले पचाउन मुस्किल पर्ने भएकाले करिव चार किलोग्राम मात्रै खान्छे । धान धेरै खाँदा पचाउन नसकेर बिरामी पर्ने भएकाले चार किलो मात्रै दिन थालिएको उनले सुनाए । चार किलो धानमा ५०–६० वटा कुची दिइन्छ । धान, सख्खर, नुन, चना, बत्तीसाजस्ता १६ थरीका खाद्य पदार्थ मिसाएर, परालमा स–साना गाँठा पारेर कृष्णप्रसादले पवनकलीलाई खाजा दिन्छन् । गाठो पारेर दिइने यस्तो खानालाई ‘कुची’ भनिन्छ ।

नजिकिँदो विछोडमा कृष्णको चिन्ता

पवनकलीको उमेर पाको हुँदै गएकामा कृष्णप्रसाद चिन्तित छन् । मान्छे नदेखे पवनकली पनि दाम्लो चुँडाएर हिँडिदिन्छे । कृष्णप्रसाद रिटायर्ड हुन करिव नौ वर्ष बाँकी छ । तर, पवनकली जीवित होउञ्जेल र अफिसले माया गरुञ्जेल उसैको स्याहारमा जुटिरहने उनी बताउँछन् । पवनकली जिउँदै छँदा रिटायर्ड भएमा पनि बेला–बेला पवनकलीलाई हेर्न आइरहने सोचमा छन् उनी ।

‘पवनकलीलाई केही भैहाल्योे भने अरु हात्तीलाई हेर्न न त आउँदिन,’ कृष्णप्रसाद भन्छन्– ‘तर अझै १५–२० वर्ष पवनकलीलाई केही हुँदैन भन्नेमा म आशावादी छु ।’ आफूले पवनकलीसँग जीवनमा धेरै कुरा सिकेको मात्र होइन, जिउने आधार नै पाएको कृष्णप्रसादको बुझाइ छ । जीवनका सर्वाधिक महत्त्वपूर्ण धेरै वर्षहरू उनैसँग खेलेर बिताएका कृष्णप्रसादको मन पवनकलीलाई छाडेर जान मानेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)