कोदाेको शक्ति

रेश्मा सिंह

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई गाउँमा गएको समयमा कोदाका परिकार खान छुटाउँदैनन् । उनलाई कोदाको ढिँडो र लोकल कुखुराको मासु असाध्यै मन पर्छ । भट्टराईले भने– ‘खोटाङ पुगेपछि कोदाको ढिँडोसँग लोकल कुखुराको मासु नखाई मलाई त चित्तै बुझ्दैन ।’ उनी कोदाको रोटी पनि त्यत्तिकै मन पराउँछन् । गाउँमा बस्दा खाजाका रूपमा कोदाको रोटी खान्छन् । काठमाडौंमा बस्दा भने कोदाको ढिँडो बनाएर खान अलि झन्झट हुने नेता भट्टराईले बताए ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती हप्तामा तीन पटक कोदाको परिकार खान्छिन् । कोदाको ढिँडो, रोटी, सुपजस्ता परिकार बनाएर खान्छिन् उनी । ६१ वसन्त पार गरिसक्दा पनि हृष्टपुस्ट देखिने डा. उप्रेती आफूले हाइजेनिक खानपान गर्ने गरेको बताउँछिन् । डा. उप्रेतीले भनिन्– ‘म पत्रु खाना (जङ्कफुड) खान्नँ ।’

पोषणविद् भुपाल बानियाँ पनि हप्तामा करिव तीन पटक कोदाको परिकार खान्छन् । उनी थकाली होटलमा पुगेर कोदाको ढिँडोसँग खसीको मासु तथा गुन्द्रुकको अचारको स्वाद लिन्छन् । उनी पनि सकेसम्म ‘पत्रु खाना’ खाँदैनन् । बानियाँ भन्छन्– ‘मलाई कोदाको ढिँडो, खसीको मासु र गुन्द्रुकको अचार असाध्यै मन पर्छ ।’

नेपालमा कोदाको परिकार खाने जमात ठूलै छ । कोदाको ढिँडो, रोटी, सुपजस्ता परिकार बनाएर खान सकिन्छ । कुनै समयमा ‘हेला’ गरिने कोदाका परिकारहरूको महत्त्व पछिल्लो समय बढ्दै गएको यथार्थ छ । ‘अपहेलित बाली’ का रूपमा लिइँदै आएको कोदाको परिकार पछिल्लो समय ग्रामीण भेगमा खुलेका ‘होमस्टे’ हरूमा पर्यटक लोभ्याउने मुख्य खानाकै परिकारमध्येमा पर्छ । सहरी क्षेत्रका ‘रेष्टुराँ’ हरूमा समेत कोदाका परिकारले राम्रै स्थान पाउन थालेका छन् । काठमाडौं, पोखरालगायतका थकाली होटलमा त कोदाको ढिँडो तथा यसका परिकार व्यापारका मुख्य सामग्री नै बन्दै गएका छन् ।

गाउँमा एक पाथी कोदाको मूल्य करिव दुई सय रूपैयाँ पर्छ । काठमाडौं उपत्यकामा अहिले कोदाको पिठोको मूल्य प्रतिकेजी ९० रूपैयाँ छ । सहरी क्षेत्रका होटलमा सामान्यतः तीन सय पचास रूपैयाँमा एक छाक कोदाको ढिँडोको स्वाद लिन पाइन्छ ।

पकाउने टेक्निक

कोदाको ढिँडो बनाउँदा सबैभन्दा पहिले आवश्यकताअनुसार पिठो तयार पार्नुपर्छ । सामान्यतः पाँच वयस्क व्यक्तिका लागि करिव आठ सय ग्राम पिठो आवश्यक हुन्छ । पिठो तयार पारिसकेपछि कराईमा पानी तताउनुपर्छ । आठ सय ग्राम कोदाको पिठो पकाउन करिव दुई लिटर पानी उमाल्नुपर्छ । पानी उम्लिएपछि बिस्तारै पन्यूले चलाउँदै पिठो हाल्नुपर्छ । त्यसपछि चलाउँदै राम्ररी फत्काएर पाक्न दिनुपर्छ । पाकिसकेपछि पन्यूले मस्काउनुपर्छ ।

खाद्य प्राविधिक कञ्चन सिटौलाका अनुसार ढिँडोलाई फलामको कराईमै पकाउनु उचित हुन्छ । फलामको कराईमा पकाउँदा पकाइँदै गरेको भाँडाको सबै भागमा समानरूपमा ताप पुग्छ र सबै भागको ढिँडो राम्ररी पाक्न पाउँछ । अर्कोतर्फ, फलामको कराईमा पकाउँदा ढिँडोमा आइरनको मात्रा बढ्न जान्छ, जसले व्यक्तिको रक्तसञ्चारमा सहयोग पुग्छ र शरीर स्वस्थ एवम् मजबुत हुन मद्दत पुग्छ ।

खाने यसरी…

पाकिसकेपछि गुन्द्रुकको अचार, गुन्द्रुक र भटमास मिसाएर पकाइएको तरकारी, मासुको हल्का ग्रेवी, दाल, पिँडालुको तरकारी, आलु–तामा, विभिन्न गेडागुडीको तरकारी तथा दूधजन्य परिकारसँग मिलाएर खान सकिन्छ । ढिँडो पाकिसकेपछि तातै खानु उचित हुन्छ । सेलाएर खाँदा साह्रो हुने भएकाले खान पनि अप्ठ्यारो हुनुका साथै स्वाद र पौष्टिकतामा समेत कमी आउँछ ।

ढिँडो राम्ररी नपाकेर काँचो रहन गएको अवस्थामा अपच भई स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्छ । त्यसैले ढिँडोलगायतका परिकारलाई राम्रोसँग पकाएर खानुपर्ने चिकित्सकको सल्लाह छ ।

यस्ताे छ कोदोको शक्ति !

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कअनुसार कोदोमा ७२ प्रतिशत कार्बोहाइड्रेड, ७.३ प्रतिशत प्रोटिन र १.३ प्रतिशत चिल्लो (फ्याट), २.७ प्रतिशत खनिज पदार्थ, ३.६ प्रतिशत फाइबर र १३.७ प्रतिशत पानीको मात्रा (जलाङ्श) हुन्छ ।

खाद्य प्राविधिकका अनुसार मानव शरीरका लागि दैनिक करिव २ हजार ४ सय किलो क्यालोरी (एक हजार क्यालोरी बराबर एक किलो क्यालोरी हुन्छ) शक्ति आवश्यक हुन्छ । एक सय ग्राम कोदाको परिकार खाए ३ सय २८ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । यसर्थ, दैनिक एक सय ग्राम कोदाको परिकार खाँदा करिव १५ प्रतिशत क्यालोरी प्राप्त हुन्छ, बाँकी ८५ प्रतिशत क्यालोरीका लागि अन्य खाद्य पदार्थ खानु आवश्यक हुन्छ ।

व्यक्तिको पाचन क्षमताअनुसार कोदाको परिकार खानुपर्ने पोषणविद्को सुझाव छ । क्यालोरी बढाउने ध्याउन्नमा अपच हुने किसिमले खानुहुन्न । एकैचोटि धेरै खाँदा अपचको समस्या हुन सक्छ । शारीरिक परिश्रम कम गर्ने व्यक्तिको तुलनामा शारीरिक परिश्रम बढी गर्ने व्यक्तिले कोदाको परिकार धेरै खान सक्छ । डा. उप्रेतीका अनुसार यति नै मात्रामा खानुपर्छ भन्ने हुँदैन ।

सय ग्राम चामलको भात खाँदा १ सय २९ किलो क्यालोरी प्राप्त हुन्छ । ‘एक सय ग्राम चामलको भात खाँदा करिव पाँच प्रतिशत क्यालोरी प्राप्त हुन्छ,’ खाद्य प्राविधिक सिटौला भन्छन्– ‘एक सय ग्राम चामलको भात खानुभन्दा एक सय ग्राम कोदाको परिकार खाँदा १० प्रतिशत बढी शक्ति प्राप्त हुन्छ ।’

कोदोमा ‘बी–वान्’, ‘बी–टु’, ‘बी–थ्री’ जस्ता भिटामिन पाइन्छन्, जो व्यक्तिको शरीरका निम्ति अत्यावश्यक हुन्छन् । एक सय ग्र्राम कोदोमा क्याल्सियमको मात्रा ३ सय ४४ मिलिग्राम, फस्फोरसको मात्रा २ सय ८३ मिलिग्राम र आइरन ३.९ मिलिग्राम पाइन्छ । यसमा क्यारोटिन, थायमिन, रिबोफ्लाविन्, नायसिनजस्ता भिटामिन तत्त्व समेत पाइन्छन् ।

बहुगुणी कोदो…

डा. उप्रेतीका अनुसार गर्भवती, सुत्केरी, बालबालिका तथा शरीरमा रगतको कमी भएका, मधुमेहपीडित तथा उच्च रक्तचापजस्तो समस्या भएका व्यक्तिले कोदाको परिकार खानु निकै फाइदाजनक हुन्छ । कोदामा प्रशस्त फाइबर पाइने भएकाले सन्तुलितरूपमा कोदाको परिकार खाँदा यसले बोसो जम्न र कब्जियत हुन समेत दिँदैन ।

चिकित्सकका अनुसार कोदाका परिकारको सेवनबाट पत्थरीको जोखिम समेत कम हुन्छ । शरीरमा आवश्यक पौष्टिक तत्त्व पाइने भएकाले निद्रामा सहजता ल्याउन पनि यसले सहयोग गर्छ । कोदोमा पाइने पोषणका कारण छालालाई चम्किलो बनाउन समेत सहयोगी भूमिका खेल्ने, घाउ छिटो ठीक हुन सहयोग मिल्ने, मिर्गौला तथा कलेजो रोगको समस्या हुन नदिन सहयोगी भूमिका खेल्ने डा. उप्रेती बताउँछिन् ।

त्यसैगरी, श्वासप्रश्वासको समस्या हुन नदिन समेत कोदाको परिवार उपयोगी रहेको पोषणविद् बानियाँ बताउँछन् । कोदाको परिकार क्यान्सर, मधुमेह तथा मुटुसम्बन्धी रोगबाट बचाउन समेत सहयोगी हुने पोषणविदको भनाइ छ । सन्तुलितरूपमा कोदाको परिकार खानाले मोटोपनको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

ढिँडोको साथी गुन्द्रुक

मुख्यरूपमा तोरी, रायो, मुला, काउली आदिको सागबाट गुन्द्रुक बनाइन्छ । परम्परागतदेखि आधुनिकसम्मका खाद्य परिकारमा महŒवपूर्ण स्थान जमाएको गुन्द्रुक–ढिँडाको जोडी मुखको स्वादका निम्ति मात्र होइन, स्वस्थ शरीरका लागि समेत निकै लाभदायक छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कअनुसार एक सय ग्राम गुन्द्रुकमा सामान्यतः ११.७ ग्राम पानीको मात्रा, २.५ प्रतिशत क्याल्सियम, थोरै मात्रामा आइरनजस्ता खनिज तत्त्व पाइन्छन् । भिटामिन ‘ए’ उत्पादनका लागि सहयोग पु¥याउने क्यारोटिन नामक तŒव पनि यसमा पाइन्छ । अमिलो गुन्द्रुक स्वादिलो त हुने नै भयो, यसको तरकारी तथा अचारले खानाको रुचि बढाउन समेत सहयोग गर्ने पोषणविद्को भनाइ छ ।

पोषणविद् बानियाँका अनुसार गुन्द्रुकमा भिटामिन ‘बी– १२’ प्रशस्त मात्रामा पाइने भएकाले यसकोे सेवनबाट नसासम्बन्धी रोगबाट समेत बच्न सकिन्छ । क्यारोटिनले एन्टीअक्सिडेन्टको समेत काम गर्ने भएकाले शरीरका विकार तŒवलाई बाहिर निकाली व्यक्तिलाई स्वस्थ रहन यसले सहयोग पु¥याउँछ । यसले मानसिक समस्या कम गर्न समेत सहयोगी भूमिका खेल्ने पोषणविद् बताउँछन् । पाचन प्रक्रियालाई सहज बनाउन पनि गुन्द्रुकले मद्धत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन, रगतको मात्रा बढाउन र सुत्केरी महिलाको दूध उत्पादन वृद्धि गर्न समेत गुद्रुक उपयोगी हुने पोषणविद् बानियाँले बताए । बानियाँ भन्छन्– ‘रक्तचाप तथा मधुमेह सन्तुलित राख्न समेत गुन्द्रुकले सहयोग गर्छ ।’

चौथो बाली कोदो

कोदो मुख्यतः नेपालको पहाडी भूभागमा उत्पादन हुने भए तापनि नेपालका सबैजसो भूभागमा धेरथोर उत्पादन हुन्छ । पहाडी तथा हिमाली क्षेत्रमा कोदो, गहुँ, फापरजस्ता खाद्यान्नका परिकार बढी उपभोग हुने गरेको छ । कोदाका परिकारले जाडो मौसममा न्यानोपनको आभाष समेत गराउने पोषणविद्को तर्क छ ।

७५ वटै जिल्लामा खेती गरिने कोदो नेपालमा धान, मकै र गहुँपछिको चौथो बालीमा पर्छ । त्यसैगरी, नेपालमा जौ पाँचौं र फापर छैटौं बाली हो । कृषि तथा पशुपछी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा धानको उत्पादन ५१ लाख ५१ हजार, मकै २५ लाख ५५ हजार, गहुँ १९ लाख ४९ हजार, कोदो ३ लाख १३ हजार, जौ ३० हजार र फापर ११ हजार मेट्रिक टन उत्पादन भएको छ ।

बक्स–१

प्रत्येकका भान्सामा कोदाको परिकार

सानैदेखि मैले कोदाको ढिँडो, रोटी, खोलेजस्ता परिकार खाँदै आएँ । कोदो बहुउपयोगी खाद्यबाली हो । कोदोलाई पहिले–पहिले गरिबले खाने बालीका रूपमा लिइन्थ्यो । तर, अहिले अवस्था त्यस्तो छैन । कोदाको परिकार स्वास्थ्यका लागि लाभदायक रहेछ भन्ने जनचेतना बढ्दै गएको छ । गरिबले मात्रै खाने खाद्यका रूपमा चिनिने कोदाका परिकार अहिले धनीले अझ गौरवका साथ खान थालेका छन् ।

बहुउपयोगी खाद्यबाली भएकाले यसका परिकार प्रत्येकका भान्सामा पुग्नु आवश्यक छ । कोदोलाई विभिन्न किसिमले उपभोग गरिन्छ । मदिरा बनाउन समेत यसको व्यापक प्रयोग गरिन्छ । कोदाको जाँडको छोक्रा सुँगुर, कुखुरालाई आहारा समेत दिइन्छ । कोदाको भुस समेत खोलेमा प्रयोग गरिन्छ । यसको नरुवा (बोट) गाई–भैंसीका लागि बडो उयोगी घाँस हुन्छ । कोदोलाई मदिराभन्दा खाद्यन्नका रूपमा प्रयोग गर्न जोड दिनु उचित हुन्छ ।

कोदो सजिलै उत्पादन हुने बाली हो । पहाडी भेगमा यसको राम्रै उत्पादन हुन्छ । यसको उत्पादन अझै बढाउनु आवश्यक छ । कोदो बालीको उत्पादन बढाउने ठोस योजना अहिलेसम्म खोटाङमा नभए पनि मैले अनौपचारिकरूपमा आफ्नो क्षेत्रमा यसको उत्पादनमा जोड दिन किसानलाई सुझाउने गरेको छु । कोदाको उत्पादन वृद्धिका लागि राष्ट्रियरूपमै ठोस योजना बनाउनुपर्ने आवश्यकता महशुस गरेको छु ।

बक्स–२

काेदाेले बनाउँछ बलियाे हड्डी

सन्तुलितरूपमा कोदाको परिकार खानाले मुुटु रोगको जोखिम कम गर्न सहयोग गर्छ । कोदामा केही मात्रामा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरमा भएका विकार तत्त्व कम गर्न मद्धत गर्छ ।

कोदोमा पाइने क्याल्सियमले बालबालिकामा हड्डीको वृद्धि तथा विकास गर्न र दाँत मजबुद बनाउन सहयोग गर्छ । यसले शरीर मजबुद पार्न सघाउँछ । हातका औंलाजस्ता बाला हुने भएकाले कोदोलाई अङ्ग्रेजीमा ‘फिङ्गर मिलेट’ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)