भान्सामा साङ्लाको रजाइँ

डा. शेरबहादुर पुन

भान्सामा देखिने एक प्रकारको कीरा हो– साङ्लो । साङ्लाबाट रोग सर्न सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । साङ्लाले विशेषगरी सङ्क्रामक रोगहरू सार्न सक्छ । साङ्लाका कारण निम्तने रोगका बारेमा खासै अनुसन्धान भएको पाइँदैन । साङ्लामार्फत सङ्क्रमित भएर रोग सारेको बारेमा ठोस अध्ययन भएको पाइँदैन । तर, साङ्लाले सङ्क्रमित फोहोरमा टेकेपछि खानेकुरामा टेकिदिएर सहजै रोग सार्न सक्दछ ।

फोहोरमार्फत विभिन्न तरिकाले शरीरभित्र सङ्क्रमण प्रवेश गर्दा झाडापखालाजस्ता सरुवा रोगहरूको महामारी नेपालमा वर्षेनि देखापर्दै आएको छ । साङ्लो कीरा विभिन्न फोहोरमा पुग्छ । त्यसपछि हाम्रो भान्सा बनिरहेका र बनिसकेका खानासम्म पुगेर खानालाई दूषित तथा सङ्क्रमित पार्ने जोखिम हुन्छ । दूषित खानाका कारण हामी बिरामी पर्छौं । साङ्लो कीराबाट विभिन्न किसिमका रोग सर्ने नै भए । साङ्लाबाट सर्ने रोगका बारेमा चर्चा गरौं–

हैजा

हैजाको सङ्क्रमणले नेपालमा हरेक वर्षजसो थुप्रै व्यक्तिहरूलाई सताउने गरेको छ । विभिन्न किसिमका फोहोरमा बसेर आएको साङ्लालो भान्साको खाद्य पदर्थलाई छुँदा सङ्क्रमणको जोखिम हुन्छ । हैजाको समस्या विशेष गरी गर्मीको मौसममा देखिन्छ । वर्षाको समयमा हैजाको सङ्क्रमणको जोखिम अझ बढी हुन्छ । साङ्लाले रोगका किटाणु खानामा सार्दा हैजाको जोखिम हुन्छ ।

अचानक तारन्तार बान्ता हुनु, चौलानीजस्तो पातलो दिसा लागिरहनु, पेट दुख्नु, शरीरका कुनै भाग तथा माङ्शपेशी बाउँडिनुजस्ता हैजाका लक्षण हुन् । समस्या बढ्दै गए व्यक्ति बेहोस हुन सक्छ । सामान्यतः हैजाको सङ्क्रमण भएको बाह्र घन्टादेखि पाँच दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । समयमै उचित उपचार नपाए केही घन्टामै व्यक्तिको ज्यान जाने जोखिम हुन्छ ।

यो रोग लाग्दा सामान्य जीवनजलको प्रयोगले पनि स्वस्थ हुन सकिन्छ । हैजाको लक्षण देखिए तुरुन्त स्वास्थ्य केन्द्र पुग्नुपर्छ र स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गर्नुपर्छ ।

आउँ

आउँको समस्या भएका बिरामी नेपालमा प्रशस्तै भेटिन्छन् । आउँको समस्या भएका बिरामी अस्पतालसम्म कमै मात्र पुग्ने भएकाले वर्षेनि कति व्यक्तिमा आउँ हुन्छ भन्ने यकिन तथ्याङ्क पाउन कठिन छ ।

आउँको समस्यालाई ‘रगतमासी’ भनेर पनि चिनिन्छ । आउँ भएको व्यक्तिलाई झाडापखाला लागेको अवस्थामा दिसामा रातो रगत देखिन्छ । विशेषगरी ‘शिगेला ब्याक्टेरिया’ वा ‘ई. हिस्टोलाइटिका’ नामक किटाणुका कारण आउँको समस्या हुन्छ । सामान्यतः आउँका लक्षण एकदेखि तीन दिनभित्र देखिन्छन् ।

आउँ भएको अवस्थामा झाडापखाला लाग्ने, बान्ता हुने, दिसामा सिँगानजस्तो दिल्लो पदार्थ जाने, दिसामा रगत देखिनेजस्ता लक्षण देखिन्छन् । बेलैमा समस्याको पहिचान गरी उपचार नगरे आउँका कारण व्यक्तिको ज्यानै जानेसम्मको जोखिम हुन्छ । भान्सामा साङ्लाले फोहोरमार्फत आउँका ब्याक्टेरिया तथा किटाणु सार्ने भएकाले यसबाट सजग हुनुपर्छ ।

टाइफाइड

टाइफाइडको नाम नसुन्ने व्यक्ति नेपालमा विरलै होलान् । ज्वरो आयो कि टाइफाइड होला भन्ने शङ्काले सताउँछ । सङ्क्रमित खाना तथा सङ्क्रमित पानीको उपभोग गर्दा टाइफाइडको जोखिम हुन्छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, वाक्वाकी लाग्नु, पेट दुख्नु आदि टाइफाइडका मुख्य लक्षण हुन् । कतिपयलाई भने शरीरमा बिमिरा देखिने, झाडापखाला लाग्ने वा कब्जियत हुनेजस्ता लक्षण पनि देखिन्छन् । टाइफाइडको सङ्क्रमण भएको ६ देखि ३० दिनभित्र यस्ता लक्षण देखिन सक्छन् । टाइफाइड भएको अवस्थामा कलेजो र फियो सुन्निन सक्छ । यस रोगका सङ्क्रमितमध्ये १० देखि ३० प्रतिशत व्यक्तिको समयमै उपचार नपाएर मृत्यु हुन पुगेको तथ्याङ्क छ ।

टाइफाइड सङ्क्रमितले दुईदेखि तीन हप्ताप्ताभन्दा बढी समयसम्म उपचार नपाएमा निकै ठूलो स्वास्थ्य जटिलता देखिन्छ । टाइफाइडको लक्षण देखिए चिकित्सकको परामर्शमा तुरुन्त रगतको परीक्षण गरी एन्टिबायोटिक्स औषधिको प्रयोग गरेर उपचार गर्नुपर्छ ।

फोहोरमा बसेको साङ्लाले टेकेर ल्याएको ब्याक्टेयरिया तथा सङ्क्रमण खानामा परेको अवस्थामा यस्तो रोगको जोखिम हुन्छ । भान्सामा हुने सङ्क्रमण तथा दूषित पानीजस्ता कारणले यो समस्या निम्तने भएकाले भान्साको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

प्लेग

यो रोग विशेषगरी मुसाबाट सर्ने भनिए तापनि साङ्लो कीराबाट पनि सर्न सक्दछ । ‘प्लेग’ नामक रोग नेपालमा पहिलो पटक सन् १९६७ मा पत्ता लागेको थियो । यो रोग लागेका व्यक्तिको मृत्युदर उच्च हुन्छ ।

प्लेग रोग लागेका व्यक्तिको ‘लिम्फ’ नामक ग्रन्थी र ‘फोक्सो’ मा गरी दुई प्रकारले आक्रमण हुन्छ । फोक्सोमा हुने सङ्क्रमण (निमोनिक प्लेग) अझ जटिल प्रकारको हुन्छ । यस्तो रोग भएका बिरामीले चौबीस घन्टाभित्रै सही उपचार नपाएको अवस्थामा मृत्युको जोखिम हुन्छ ।

तर, समयमै प्लेग विरुद्धको उपचार गरेको अवस्थामा भने निको हुन्छ । यो रोगबाट बच्नका लागि पनि साङ्लाबाट टाढा हुनु आवश्यक छ । विभिन्न खाद्य पदार्थको माध्यमबाट यो रोग सर्ने जोखिम हुने भएकाले भान्साको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खाद्य पदार्थहरूलाई राम्ररी छोपेर राख्ने गर्नुपर्छ ।

एलर्जी र आस्थमा

साङ्लाको सङ्सर्ग हुँदा कतिपय व्यक्तिमा एलर्जीको समस्या पनि देखिन्छ । शरीरमा साङ्लो हिँड्दा यो समस्या हुन सक्छ । दमका बिरामीमा यस्तो समस्या झन् बढी हुन सक्छ । ‘एलर्जी’ र ‘आस्थमा’ को समस्या भएको अवस्थामा छाला चिलाउने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् ।

यो समस्याबाट बच्न पनि साङ्लाबाट टाढा रहनु आवश्यक छ । भान्सामा साङ्ला नआउने उपाय अपनाउनु जरुरी हुन्छ ।

जुका

साङ्लाले जुकाका अण्डा सार्न सक्छ । खुट्टाले टेकेर ल्याएका अण्डा खानामा सार्दा पेटमा जुका पर्ने सम्भावना हुन्छ । त्यसैले साङ्लाबाट हुने सङ्क्रमणको जोखिमबाट सजग हुनु आवश्यक छ ।

भान्सामा सजगता

विभिन्न किसिमका ब्याक्टेरियाको सङ्क्रमण भई रोगको जोखिम हुने भएकाले साङ्ला परेका तथा साङ्ला हिँडेका खाद्यपदार्थ खानु हुँदैन । खाद्य पदार्थलाई राम्रोसँग पकाएर मात्रै खानुपर्छ । साङ्लाले दिसा, बान्ता आदि फोहरमा भएका सङ्क्रमणमा टेक्दछ । त्यसपछि फेरि भान्सामा पुगेर भाँडाकुँडा र खाने कुराहरूमाथि टेकिदिन्छ ।

यसरी साङ्लाले फोहरदेखि खाने कुराहरूसम्म सङ्क्रमणजन्य किटाणु ओसार्ने काम गर्दछ, जसको सङ्क्रमणबाट विभिन्न किसिमका रोगको जोखिम हुन्छ । उसले टेकेर ल्याएका ब्याक्टेरियाका कारण साङ्लाले हाम्रो शरीरमा छुँदा समेत सङ्क्रमण तथा एलर्जीको जोखिम हुन्छ । भान्सामा देखिने साङ्लाको नियन्त्रण नगरेको खण्डमा अनेकौं रोग सर्ने जोखिम भएकाले यसको नियन्त्रण अत्यावश्यक छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)