नायिका श्वेताको बेग्लै व्यक्तित्व

केदार गौतम/शङ्कर क्षेत्री

नेपाली सिनेजगत्का निम्ति नौलो नाम होइन– श्वेता खड्का । २२ माघ, ०४४ मा काभ्रेको पनौतीस्थित खोपासीमा जन्मिएकी अभिनेतृ श्वेताको शारीरिक उचाई ५ फिट ४ इन्च छ भने तौल ५९ केजी । सधैं सुन्दर र स्मार्ट देखिने उनको दैनिकी निकै व्यस्त छ । नायिका श्वेता सिनेकलाकार मात्र होइनन्, उनी ठूलै स्केलकी सफल व्यवसायी समेत हुन् ।

नायिका श्वेता र चर्चित नायक श्रीकृष्ण श्रेष्ठबीच लगनगाँठो कसिएको महिना दिन पुग्दा नै श्रीकृष्णको दुःखद् निधन हुन पुग्यो । जीवनसाथी गुमाएको पीडामा करिव एक वर्ष अर्द्धचेत अवस्थामै रहेकी श्वेता बिस्तारै–बिस्तारै नियमित दैनिकीमा फर्किइन् । यतिबेला उनले व्यवसाय र समाज सेवाको निकै बोझिलो भार थामिरहेकी छन् ।

गुलियो चियासँगै दैनिकीको सुरुआत

बिहान साढे ६ बजे उठ्छिन् । उठ्नासाथ मनतातो पानी पिउँछिन् । त्यसपछि कहिले ब्ल्याक त कहिले मिल्क टी पिउँछिन् । उनलाई चिनी सहितको दूध चिया नै बढी मन पर्छ ।  भन्छिन्– ‘मलाई त दूध र चिनीसहितको मिठो चिया पो पिउनुपर्छ । ‘उठ्नेबित्तिकै खाने चिया पनि के नमिठो खानु ! दिनको सुरुआत त गुलियोबाट पो गर्नुपर्छ ।’ घरमा काम सघाउने दिदीले उनलाई चिया बनाएर दिन्छिन्, दिदी नहुँदा ममीले बनाउँछिन् ।

वनस्थलीस्थित निवासबाट आफैं गाडी हाँकेर जिम गर्न सात बजे सीटीसी मल पुग्छिन् । अफिस समयमा ड्राइभरले गाडी चलाउँछन् तर बिहान–बेलुका आफैं चालक भएर व्यवहार धान्नु श्वेताको दैनिकी हो । करिव दुई घन्टा जिम गर्छिन् र बालुवाटारस्थित आफ्नै आउटलेट ‘हिमालयन जाभा’ मा पुगी साढे नौ बजेतिर हल्का खानपान गर्छिन् । कहिलेकहीं बिहानको खाना जिमखानाकै क्यान्टिनमा खान्छिन् ।

‘बिहान लाइट ब्रेकफास्ट लिन्छु,’ श्वेता भन्छिन्– ‘ब्राउन ब्रेड्स र एग्स लिन्छु, ब्रेकफास्टमा कफी पनि टुट्दैन ।’ उनी फलफूल पनि पर्याप्त खान्छिन् । खरबुजा र मेवा उनका रोजाइ हुन् । बिहान सुन्तला खाँदिनन्, दिउँसो र बेलुकी भने सुन्तलाजन्य फलको जुस पिउँछिन् ।

व्यस्त सेड्युल, खुलस्त खानपान

खानपानपछि बालुवाटरमै भर्खरै खोलिएको रेस्ट्रो एण्ड बारको कार्यालय पुगेर काम थाल्छिन् । दिनभरको कार्यतालिका हेर्छिन् । स्टाफ मिटिङ राखिसकेपछि भेटघाटबाट दिनचर्या अघि बढ्छ । सामान्यतः दिउँसोको एक बज्दासम्म अफिसमै हुन्छिन् । दुई बजेतिर लन्च गर्छिन् । उनको लन्च आइटममा ब्वाइल राइस, दाल, भेजकरी, चिकेन पर्छन् । भन्छिन्– ‘ग्रेबी चिकेन र फिस औधि मन पर्छ ।’

लन्चपछि झन् बढ्छ श्वेताको व्यस्तता । ‘बोल्नेसम्म पनि फुर्सद हुँदैन, प्रायः प्याक सेड्युल नै हुन्छ’– उनले सुनाइन् । कन्स्ट्रक्सन, कन्स्ट्रक्सन मेटरियल सप्लाई, इन्टेरियर डिजाइन–डेकोरेसन र रेस्टुरेन्ट–आउटलेट उनका मुख्य व्यवसाय हुन् । लन्चपछि तिनैको कार्यप्रगति, अवलोकन र कार्यसम्पादनमा निस्कन्छिन् । सामान्यतः बेलुकी सात बजेसम्म अफिसमा बस्छिन् । साँझका मिटिङ र भेटघाट पर्दा नौ बजेतिर मात्रै घर पुग्छिन् । सात बजेपछिको समय भने व्यावसायिकभन्दा पनि परिवार र साथीभाइसँगको रमाइलोमा खर्चन्छिन् ।

बेलाबखत सपिङमा जान्छिन् । ड्रेसलगायत दैनिक उपयोगका सामान सपिङ गर्छिन् । दैनिक उपभोग्य सामग्रीको सपिङ गर्न भने समय नै हुँदैन । किन्ने र पकाउने काम ममीले नै गर्छिन् । भान्सामा छिर्ने समय उनीसँग हुँदैन । ‘मैले घरमा खानु खाइदिनु नै मेरो परिवारका लागि ठूलो कुरा हुन्छ,’ श्वेता भन्छिन्– ‘कहिलेकहीं खान मन नलागेर खान्नँ भन्दा पनि ममी, बुहारी, सहयोगी दिदी खाना लिएर रुममै आउनुहुन्छ ।’

खानपानमा उनी खासै कन्ट्रोल गर्दिनन् । मन लागेका चिज खाइहाल्छिन् । ‘म एकदमै फुड–लभर छु, यो भन्ने नै छैन; मिठो लागेको जे पनि खाइहाल्छु,’ उनी भन्छिन्– ‘स्वास्थ्यका लागि बरु जिम गर्छु, खानामा चाहिँ कन्ट्रोल गर्दिनँ ।’

कुकिज खान्छिन्, सकेसम्म चाउचाउ चाहिँ खाँदिनन्; त्यो पनि साथीभाइले खाइरहेका बेला नखानेचाहिँ होइन । बालुवाटारस्थित रेस्ट्रो एण्ड बारमा अवस्थित श्वेताको कार्यकक्षमा बाह्र बजेतिर होलिस्टिककर्मीले कुरा गरिरहँदासम्म उनले खाना खाएकी रहिनछन् । कुराकानीकै बीचमा भोक लाग्यो भन्दै चिया र कुकिज मगाइन् । सहयोगी दिदीले ल्याइदिइन्, अन्तर्वार्ता नै रोकेर खाइयो, त्यसपछि कुराकानी फेरि अघि बढ्यो ।

घरमा ह्याप्पी, सञ्जालमा राति

घरमा उनका बुबा–आमालगायतको संयुक्त परिवार छ । बेलुका घर पुग्दा एकदमै खुशी लाग्ने बताउँछिन् उनी । ‘घर पुग्दा एकदमै ह्याप्पी हुन्छु,’ श्वेता सुनाउँछिन्– ‘घरमा पुगेपछि संसारै अर्कै जस्तो लाग्छ; सानो बेबी पनि छ, उसलाई हेरेपछि त झन् दिनभरिका दुःख नै हराउँछन् ।’

घरमा कामकारोबार, व्यवसाय र अफिसका कुनै कुरा हुँदैनन् । सञ्चार माध्यमले सम्प्रेषित गरेका उनका अन्तर्वार्ता, समाचार, टिप्पणीबारे चाहिँ घरमा कुरा निस्कने उनी बताउँछिन् । ‘खाना खाएपछि एक घन्टाजति फेमिली टक हुन्छ,’ श्वेता भन्छिन्– ‘साढे दसपछि आ–आफ्नो बेडतिर लागिन्छ ।’

आफू १२ बजेपछि मात्रै सुत्ने उनी बताउँछिन् । बेडमै पल्टेर फोन र ल्यापटप खोल्छिन् । इमेल चेक गर्छिन्, सामाजिक सञ्जाल चलाउँछिन् । दिनभर आएका म्यासेज हेर्छिन्, आवश्यकताअनुसार रिप्लाई गर्छिन् । भन्छिन्– ‘नर्मल्ली छ घन्टा मात्रै सुत्छु । जिम जानु नपर्दा र बिदाका दिन भने अलि बढी सुत्छु र बिहान केही ढिलो उठ्छु ।’

पहिचान हिरोइन, व्यावसायिक कामैकाम

उनी एमआरएस एण्ड इन्जिनियरिङ प्रालि नामक विल्डर्स–कन्स्ट्रक्सन कम्पनी चलाउँछिन् । बालुवाटार र राइजिङ मलमा हिमालयन जाभाका आउटलेट सञ्चालन गर्छिन् । लिज, रियल स्टेट र प्रपर्टी डिलिङको व्यवसाय गर्छिन् । आफू विवाहअघि नै व्यवसायमा जमिसकेको उनले सुनाइन् । भन्छिन्– ‘फिल्म खेल्न श्रीदादाले मलाई सघाउनुभयो, व्यवसायमा लाग्न उहाँलाई मैले सघाएँ ।’

प्लस टुको पढाइ सक्नासाथ काठमाडौं आएर एउटा कम्पनीमा जागिर थालिन् । त्यहीं उनले मार्केटिङ र कन्स्ट्रक्सनसम्बन्धी काम सिक्ने मौका पाइन् । त्यो अनुभवलाई खेर जान दिइनन्, त्यसैको प्रेरणा र अनुभवबाट अघि बढिन् । ‘व्यवसाय सुरु गर्नुअघि डेढ वर्षजति कम्पनीमा काम गरें,’ श्वेता भन्छिन्– ‘त्यही अनुभवबाट मुभी इन्डष्ट्रिमा आउनुअघि नै कम्पनी खोलेर काम थालिसकेकी थिएँ ।’ उनले काया फिल्मस् प्रोडक्सन पनि चलाइरहेकी छन्, जसले फिल्म प्रोडक्सन गर्छ ।

अब उनी कृषि क्षेत्रमा समेत लगानी गर्ने योजनामा छिन् । चितवनमा ठूलै क्षेत्रफलमा कृषिफर्म सञ्चालन गर्नेबारे ‘वर्कआउट’ भैरहेको उनी बताउँछिन् । आधुनिक खेती गरेर अर्ग्यानिक तरकारी, फलफूललगायत उत्पादन गर्ने उनको योजना छ । आफूले हात हालेका सबै काममा राम्रै सफलता मिलेको भन्दै अबका काम पनि सफल हुने उनको विश्वास छ ।

माझी वस्ती र श्वेताश्री फाउन्डेसन

अहिले सिन्धुपाल्चोकमा माझी वस्ती बनाउन व्यस्त रहनु परेकाले फिल्म चाहिँ अर्को वर्ष मात्रै बनाइने उनले सुनाइन् । श्वेताश्री फाउन्डेसनमार्फत सिन्धुपाल्चोकको भीमटारमा ५४ घर बनाउने काम अन्तिम चरणमा पुगेको उनी बताउँछिन् ।

‘श्रीदादा जन्मेकै जिल्लामा माझी वस्ती बनाएर घरबारविहीनलाई राहत दिनुका साथै उहाँको स्मृति चीरस्थायी बनाउन लागिपरेकी हुँ,’ श्वेता भन्छिन्– ‘सुरुमा पकेटकै रकमबाट हातहातै खर्च गरेर काम थालियो । कतिपय शुभेच्छुकहरूले स्वतःस्फूर्त सहयोग गर्न थाल्नुभयो, सङ्गत–सहकार्यमा रहेका अरु कयौं सङ्घ–संस्थासँग अपिल गर्दा राम्रै सहयोग जुट्ने सम्भावना देखियो । त्यसैले व्यवस्थित काम होओस् र पारदर्शिता कायम रहोस् भनेर पछि मात्रै फाउन्डेसन बनाइयो ।’

माझी वस्ती अहिले ठूलै ऋणमा रहेको उनी बताउँछिन् । काम पूरा भएर ऋण सकिएलगत्तै त्यो फाउन्डेसन पनि माझी वस्तीलाई नै हस्तान्तरण गर्ने योजना उनले सुनाइन् । फाउन्डेसनमार्फत माझी वस्तीका लागि जुटेको/जुट्ने रकमको शतप्रतिशत त्यहीं नै खर्च भैरहेको र हुने श्वेताले उल्लेख गरिन् । त्यसको व्यवस्थापकीय, प्रशासकीय एवम् कार्यालयसँग सम्बन्धित अन्य खर्च समेत आफ्नै तर्फबाट व्यहोरिरहेको उनको भनाइ छ ।

‘मिस काभ्रे’ भनेर जिस्क्याउँथे…

स्कुल पढ्दा साथीहरूले उनलाई ‘मिस काभ्रे’ भनेर जिस्क्याउँथे । प्लस टु पढ्दा सुगरिका केसीबाट ‘पर्सनालिटी डेभलपमेन्ट’ को ट्रेनिङ लिने अवसर पाइन् । त्यसपछि श्वेतालाई ‘मिस नेपाल’ मा भाग लिन कलेजका धेरैले सुझाएछन् । सुन्दरी प्रतियोगितामा भाग लिने शोख उनमा थिएन ।

सानैदेखि सुन्दर र सक्रिय विद्यार्थी थिइन् । तेक्वान्दो खेल्ने भएकाले शरीर फिट थियो । भलिबलकी खेलाडी पनि रहिछन् । स्कुल–कलेज पढ्दा भलिबल खेलमा सिनियर कक्षाकालाई पराजित गरेको उनले सुनाइन् । खेलकुदमा सक्रिय हुन हौसला दिने चाहिँ बुबा रहेछन् ।

श्वेतालाई आर्मी अफिसर बनाउन चाहने उनका बुबा उनी ‘स्मार्ट र एक्टिभ’ भएको हेर्न चाहन्थे । बुबाले ब्वाइज–कट कपाल काटिदिने, हाप–पाइन्ट किनिदिने गरेको उनले सुनाइन् ।

कलाकार बन्ने कल्पनै थिएन

बुबा काठमाडौंमै बस्ने गरेकाले श्वेताका निम्ति राजधानी ओहोर–दोहोर कुनै नौलो कुरा भएन । बुबा आर्मीबाट रिटायर्ड भएपछि उनको परिवार पनौती छाडेर काठमाडौं बस्न थाल्यो ।

‘म जर्नेल भएको हेर्ने बाबाको ठूलो रहर थियो,’ छोरीलाई आर्मी नै बनाउने सपना आफूबाट पूरा नभएको सुनाउँदै श्वेताले भनिन्– ‘अहिले भने म जर्नेल नबनेकैमा उहाँलाई बढ्ता खुशी लागेको छ ।’

काठमाडौं बस्न सुरु भएदेखि नै जिम गर्न थालेको बताउने श्वेता भन्छिन्– ‘तर फिल्म खेल्ने उद्देश्यले जिम गरेकी थिइँन ।’ सिनेमा क्षेत्रमा प्रवेश गर्ने इच्छा र सोच थिएन ।१२ कक्षापछि सिनेमाको ‘अफर’ आएछ, त्यस बेलासम्म उनी मनोरञ्जन क्षेत्रका कुनै पनि कियाकलापमा सहभागी भएकी थिइनन् ।

अडिसन लिने श्रीकृष्ण

आर्मीमा भर्ना हुनका लागि फारम भरिसकेकी थिइन् । डान्स सिक्ने सिलसिलामा फेरि सिनेमा खेल्ने ‘अफर’ आएछ । श्रीकृष्ण श्रेष्ठले अडिसन लिए ।

संयोगवस उनले हेरेकामध्ये अधिकाङ्श सिनेमा श्रीकृष्णकै थिए । श्वेतालाई देख्नेबित्तिकै श्रीकृष्णले अडिसन दिन र सिनेमा खेल्न अनुरोध गरे । फिल्म खेल्ने चाहना नहुँदानहुँदै अडिसन दिइन् । ‘सेलेक्ट’ पनि भैहालिन् किनकि श्रीकृष्णले पहिल्यै उनलाई सम्भावित अभिनेतृका रूपमा सोचिसकेका थिए । छोरीलाई जर्नेल बनाउने बुबाको इच्छाका कारण ‘सिनेमा खेल्छु’ भनेर परिवारलाई मनाउन निकै नै हम्मे परेको थियो । तर, श्रीकृष्णले नै बुबासहित परिवारको चित्त बुझाए ।

‘कहाँ भेटिएला’ बाट ‘डेब्यु’ गरिन् । त्यो फिल्मले ‘इतिहास ब्रेक गरेको’ उनी सुनाउँछिन् । यो सिनेमाले उनलाई देश–विदेश घुम्ने अवसर दिलायो । त्यो सिनेमाले विदेशमा पनि राम्रै चर्चा पायो । श्वेता भन्छिन्– ‘कहाँ भेटिएलाले इन्टरनेसनल सोको इतिहास नै रचेको थियो ।’

पहिलो सिनेमाले सफलता दिलाएपछि सिनेमा खेल्ने क्रम त अघि बढ्ने नै भयो । त्यसपछि श्वेताले ‘हाँसिदेऊ एक फेर,’ ‘श्रीमान्–श्रीमती,’ ‘कोहिनुर,’ र ‘कान्छी’ मा अभिनय गरिन् । श्रीकृष्ण श्रेष्ठले नायक र श्वेताले नायिकाका रूपमा अभिनय गरेको कोहिनुरको उनी प्रोड्युसर समेत हुन् ।

श्रीकृष्ण काममा अत्यन्तै गम्भीर र मेहनती व्यक्ति भएको श्वेता बताउँछिन् । ‘काममा लागेपछि उहाँ खाना खानै बिर्सनुहुन्थ्यो’– श्वेताले सुनाइन् । ‘कहाँ भेटिएला’ र ‘कोहिनुर’ मा श्रीकृष्णसँगै काम गर्ने मौका पाएकी श्वेता श्रीकृष्णको लगनशीलताले नै आफूलाई नजिक्याएको सम्झन्छिन् । श्रीकृष्ण बच्चादेखि पाकासम्म सबैखाले व्यक्तिसँग रमाउन सक्ने र सधैं खुशी रहने व्यक्ति भएको बताउँदै श्वेता भन्छिन्– ‘उहाँ कमेडी, ह्याप्पी, वेल डिसिप्लेनका मान्छे हुनुहुन्थ्यो, मैले उहाँबाट धेरै सिकें ।’

श्वेता–श्रीकृष्ण : महिना दिनमै विछोड

श्रीकृष्णलाई आफूले व्यवसायमा र आफूलाई श्रीकृष्णले सिनेमा क्षेत्रमा प्रवेश गराएको श्वेता बताउँछिन् । सिनेमा र व्यावसायका माध्यमबाट एकदमै नजिकिएका उनीहरूबीच विवाह होओस् भन्ने शुभेच्छुकहरूबाट मात्र होइन, श्वेताकै घरपरिवारबाट समेत सुझाव आएपछि आफूहरू छोटो समयमै विवाहको निर्णयमा पुगेको र लगत्तै विवाह भएको उनी बताउँछिन् ।

‘कोहिनुर’ फिल्म रिलिज हुनुअघि (२३ असार, २०७१ मा) श्वेता–श्रीकृष्णबीच लगनगाँठो कसियो । विवाहको ठ्याक्कै एक महिनापछि ‘कोहिनुर’ रिलिज भयो । नेपालमा ‘कोहिनुर’ रिलिज भैरहँदा (लगनगाँठो गाँसिएको एक महिना पुग्नासाथ) क्यान्सरको उपचार गराइरहेका श्रीकृष्णको (२५ साउनमा) भारतमा निधन भयो ।

श्रीकृष्णको शव नेपाल ल्याइयो । अचेत अवस्थाकी श्वेता शवसँगै थिइन् । राष्ट्रिय सम्मानसँगै श्रीकृष्णको अन्त्येष्टि भयो ।

श्रीकृष्णलाई क्यान्सर : थाहा थिएन दुवैलाई

विवाह गर्दासम्म पनि आफूलाई क्यान्सर भएको श्रीकृष्णलाई थाहा नभएको श्वेताको भनाइ छ । ‘श्रीदादालाई क्यान्सर लागेको थाहा हुन्थ्यो भने न उहाँले मलाई विवाह गर्नुहुन्थ्यो न त मैले नै उहाँसँग विवाह गर्थें’– श्वेताले खुलाइन् ।

‘उहाँलाई कफका कारण गाह्रो हुँदै गैरहेको थियो; हामीबीच विवाह पनि भयो,’ कतिपयले क्यान्सर लागेको थाहा पाउँदा–पाउँदै विवाह गरेको भन्ने गरेकामा आफ्नो चित्त दुखेको बताउँदै श्वेताले भनिन्– ‘आफूलाई क्यान्सर लागेको थाहा भए श्रीदादाजस्तो व्यक्तिले कसैको जीवन बर्बाद पार्नु हुँदैनथ्यो ।’

काममा व्यस्त रहँदा खानपान व्यवस्थित थिएन । विवाहअघि नै उनलाई सुख्खा खोकी लाग्न थालेको श्वेता बताउँछिन् । विवाहको समयसम्म श्रीकृष्णलाई खोकीले अत्यन्तै कमजोर बनाएको थियो । विवाहपूर्व आन्द्रामा अल्सर भएर अप्रेसन गरिएको रहेछ ।

खोकी कम नभएकाले विवाहपछि स्वास्थ्य परीक्षणका लागि श्रीकृष्णलाई आफूले भारत लगेको बताउँदै श्वेताले भनिन्– ‘भारतमै फेमिली डाक्टर भएकाले त्यहीं लाँदा राम्रो हुन्छ भनेर उहाँलाई लगें ।’

भारतमा जाँज गराउँदा नौ दिनपछि अस्पताले ‘निमोनिया भएको’ बतायो । क्यान्सर यकिन नहुँदासम्म अस्पताले निमोनियाकै उपचर गरेको श्वेताको भनाइ छ । अस्पतालको बेडमा श्रीकृष्णले आफूलाई के कारण अझै ठीक नभएको भनी सोध्ने र दुःखित हुने गरेको श्वेता सम्झन्छिन् । भर्ना भएको २१औं दिनमा श्रीकृष्णलाई क्यान्सर भएको अस्पतालले यकिन गर्‍यो । किमो चलाइयो । किमोको पहिलो ‘साइकल’ सफल भए पनि दोस्रो ‘साइकल’ असफल हुँदा श्रीकृष्णले संसार छाडे । फोक्सोको क्यान्सर पत्ता लागेको श्वेताको भनाइ छ ।

अर्द्धचेत अवस्था र वर्ष लामो शिथिलता

श्वेतालाई श्रीकृष्णले जीवनभर साथ दिन सकेनन् । विवाहको छोटो समयपछि नै उनले श्वेतालाई छाडे । श्वेतालाई मात्र होइन, संसारै छाडे । उनको निधनपछि श्वेता अचेत अवस्थामा पुगिन् । करिव एक वर्ष सामान्य जीवनमा फर्कनै सकिनन् ।

श्वेताको शरीर यति शिथिल भयो कि सामान्य जीवनमा फर्कनै मुश्किल पर्‍यो । शारीरिक तथा मानसिक समस्या नै निम्तिए । ब्याकबोनको समस्या र डिप्रेसन भयो । नसा च्यापिने, हिँडडुल गर्न नसक्ने, तौल बढ्ने, ग्याष्ट्रिक बढ्ने जस्ता समस्या भए । श्वेता सम्झन्छिन्– ‘त्यो समयमा रुन मात्रै मन लाग्थ्यो ।’

सुतेको सुत्यै गर्दा स्वास्थ्य समस्या झन् बढ्न थाले । ‘पेनकिलर’ धेरै खाइसकेकी थिइन् । उपचारका लागि परिवारजनले अस्ट्रेलिया पुर्‍याए । त्यहाँ करिव एक महिना बस्दा पनि सुधार भएन । उनी बुबा–आमा तथा आफन्तको सल्लाहमा उपचारकै निम्ति अमेरिका पुगिन् ।

अमेरिकामा उपचारपछि बिस्तारै बिस्तारै सामान्य जीवनमा फर्किइन् । अमेरिका बस्दा पनि धेरैवटा स्टेजमा ‘कोहिनुर’ को च्यारिटी भयो । उनी सकीनसकी च्यारिटिमा जान्थिन् । शुभचिन्तकले खुशी हुने उपाय सिकाउँथे । तर, उनी रुन्थिन्–कराउँथिन् ।

क्रमशः सामान्य जीवनमा फर्कंदै गर्दा पनि दैनिक कामकाज र व्यवसायमा लाग्न मुश्किल पर्छजस्तो लाग्थ्यो । तौल बढेर ८७ किलो पुगेको थियो । नियमित जिम गर्न थालिन्; बिस्तारै तौल घटाउँदै लगिन् । साथीभाइसँग रमाउन थालिन् । श्रीकृष्णसँग विछोड भएको तीन वर्षपछि ‘कान्छी’ फिल्म बनाइन् ।

बाँच्ने साहस र करिअरमा कमब्याक

श्रीकृष्णको निधनपछि उनी माइतमै बस्छिन् । श्रीकृष्णको वार्षिक कर्म नसकुञ्जेल हप्ता–महिनामा आवत–जावत गरिरहिन्, त्यसपछि आउजाउ निकै पातलिएको छ । ‘मेरै फेमिलीसँग बसें,’ श्वेताले भनिन्– ‘श्रीदादाको घरमा त कसरी बस्न सक्छु र ! म बिरामी हुँदा श्रीदादाको परिवारजन भेट्न आइरहनुहुन्थ्यो, ममी (श्रीकृष्णकी आमा) पनि बित्नुभयो त्यसपछि त चाडपर्व, भोज र बिहेवारीमा मात्रै भेट हुन थालेको छ ।’

जीवनमा जे हुनु थियो/छ, भएरै छाड्छ भन्ने लाग्छ श्वेतालाई । योजनाअनुसार जीवन चल्ने कुरा मान्दिनन् उनी । भन्छिन्– ‘जीवनको अन्तिम दिन आजै हो भनेर काम गर्नुपर्छ, भोलि त कसैले देखेको छैन ।’

सुरुमा त उनी आफैं पनि कम ब्याक हुन चाहन्नथिइन् । जीवनबाट हरेश खाइसकेकी थिइन् । भूकम्पबाट आफन्त गुमाएकाहरू सम्हालिएको देखेर पनि बाँच्ने र जीवनमा केही गर्ने आशा जाग्दै गएको उनको भनाइ छ । मर्नु नहुने रहेछ भन्ने लाग्न थाल्यो । बिस्तारै बाँच्ने मन बढ्न थाल्यो । त्यसपछि आफू खुशी हुने विभिन्न उपाय अपनाउन थालिन् । समाजले के भन्ला भन्नेमा वास्ता गर्न छाडिन् । जे गर्दा खुशी भइन्छ, त्यही गर्न थालिन् । आफ्नै लागि बाँच्न थालिन् ।

साथमा श्रीकृष्ण नहुँदा पनि श्वेताले आफलाई ‘भाग्यमानी’ ठानेकी छन् । भन्छिन्– ‘धेरैले माया गर्ने श्रीकृष्णजस्ता व्यक्तिले विवाहका लागि मैलाई छान्नुभयो ।’ देहत्याग गरिसके तापनि ‘आत्मिक’ रूपमा आफू श्रीकृष्णकै साथमा रहेको उनको विश्वास छ । त्यो घटनाबाट कमब्याक हुनु नै निकै ठूलो उपलब्धि भएको उनी बताउँछिन् ।

‘काल’ बाट बचिन् : छ महिना मिडियामै बोलिनन्

पीडा श्रीकृष्ण गुमाउनुको मात्र होइन । रिकभर हुँदै गर्दा श्वेताको घाँटीमा ट्युमर भयो । टन्सिल धेरै हुन्थ्यो, भित्रभित्रै ट्युमर बढ्दै गएछ । क्यान्सरदेखि हतास उनी फेरि आफैंलाई पनि पो त्यही त भएन भनेर चिन्तित भइन् ।
जे भए पनि स्वीकार्ने मनस्थितिमा पुगेकी थिइन् । दिल्लीमा उपचार गराइन् । उपचारका क्रममा ‘सक्ड’ भइन् किनकि उनलाई जता लगिन्थ्यो, त्यो प्रायः क्यान्सरकै कक्ष हुन्थ्यो । करिव पाँच घन्टा लामो सर्जरीपछि होसमा आउँदा गालामा रगत बगिरहेको थियो ।

हिरोइन मान्छे, दाग नदेखियोस् भनेर ‘रोबटिक’ सर्जरी गरियो । सौभाग्यवश उनको त्यो ट्युमर क्यान्सर रहेनछ । सर्जरीपछि उनको मुख बाङ्गो भयो, बोल्न पनि गाह्रो भयो । बाङ्गै मुख लिएर एक महिनापछि नियमित काममा फर्किइन् र करिव छ महिनासम्म मिडियामै बोलिनन् । बोल्दा पनि आवाज निकै सानो गर्नुपर्थ्यो । तन्किएर बोल्दा इन्फेक्सन भएछ । फेरि त्यसको उपचार गर्नुपर्‍यो ।

फेरि विवाह : समयको जिम्मा

‘श्रीदादाको निधन भएको दिन सम्झँदा लाग्छ– त्यो श्वेता त त्यहीं मरिसकी; म त्यो श्वेता होइन, मैले अर्कै जन्म पाएँ; अप्रेसनपछि मैले पनि ‘सेकेन्ड लाइफ’ पाएँ’– उनको भनाइ छ ।

‘अब विवाह गर्छु वा गर्दिनँ, म भन्न सक्दिनँ । अहिले त म काममै बिजी हुन्छु, समय भए घुमघाम गर्छु । अबको जीवनमा के हुन्छ भन्ने कुरा म आफैंलाई थाहा हुँदैन । म त वर्तमानसँग मात्रै बाँचिरहेकी छु, पछि के हुन्छ– भविष्यकै जिम्मामा छाडेकी छु ।’

‘अबको लाइफ के हुन्छ भन्नेबारे केही सोचेकी छैन,’ कुराको बिट मार्दै श्वेताले भनिन्– ‘विवाह गर्ने कुनै योजना छैन ।’

पूरा हुनै बाँकी मास्टर्सको रहर !

श्वेताले विद्यालय शिक्षा काभ्रेकै खोपासीमा लिइन् । श्रीराम सेकेन्डरी हाईस्कुलबाट एसएलसी गरिन् । पनौतीस्थित ईन्द्रेश्वर कलेजबाट १२ कक्षा पास गरिन् । जेएमसी कलेजबाट स्नातक गरिन् । मानविकी र व्यवस्थापनमा स्नातक गरेको बताउने श्वेताले स्नातकोत्तर अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयमा भर्ना भइन् ।

वातावरण, ग्रामीण अर्थशास्त्रजस्ता विषयमा मास्टर्स गर्ने रहर थियो । त्रिवि भर्ना भएकै वर्ष उनका जीवनसाथी श्रीकृष्ण श्रेष्ठको दुःखद् निधन भयो । यही घटनाका कारण मास्टर्स पढ्ने सपना बिथोलिएको उनी बताउँछिन् । डिग्री गर्ने इच्छा मरेको छैन । ‘अझै उमेर र समय छ, मास्टर्स गर्ने रहर पूरा गर्छु,’ श्वेता भन्छिन्– ‘कुनै न कुनै विषय र समयमा मास्टर्स त गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)