बाघसँग हरिकृष्णको आत्मीयता

सागर दाहाल

ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना पुग्दा ५६ वर्षीय हरिकृष्ण श्रेष्ठ बाघलाई खाना खुवाउने तयारीमा थिए । खाना खाइसकेपछि बाघ सुत्ने भएकाले दर्शकले बाघ हेर्न पाउँदैनन् भनेर बेलुकी तीन बजेतिर खाना खुवाउने प्रबन्ध मिलाइएको रहेछ । हरिकृष्णको दैनिकी हो– बाघको स्याहारसुसार । उनी बिहानदेखि बेलुकीसम्म नै बाघको हेरचाहमै व्यस्त रहन्छन् ।

सोह्र वर्षकै उमेरदेखि बाघसँग हरिकृष्णको ‘नजिकको सम्बन्ध’ थियो । ०३६ सालमा सदर चिडियाखानाको गार्ड बनेर जागिर खाएदेखि नै उनले बाघको ‘आनीबानी’ नियाल्ने मौका पाए । ललितपुरकै कुमारीपाटीका स्थायी वासिन्दा हरिकृष्णका लागि चिडियाखाना र बाघ सानैदेखि नौला कुरा थिएनन् । बुबा चिडियाखानाकै जागिरे भएकाले उनी बेलाबखत चिडियाखाना ओहोरदोहोर गरिरहन्थे । बुबा रिटायर्ड भएपछि सोही ठाउँमा उनी जागिरे भए । हरिकृष्णले सुनाए– ‘बुबाको ठाउँमा म जागिरे भएँ र करिव पाँच वर्ष गार्डका रूपमा काम गरें ।’

ठूली र सानीसँगको आत्मीयता

गार्डका रूपमा क्रियाशील रहँदै चिडियाखानाका पशुपक्षी नियालिरहेका हरिकृष्ण पशुपक्षीसँग अझै नजिकिन चाहन्थे । चिडियाखानामा भएका जीव–जनावर तथा चराचुरुङ्गीले उनको ध्यान तानी नै रहेका थिए । बाघ खेलिरहेको देख्दा मनमनै प्रश्न उब्जिन्थ्यो– ‘बाघसँग खेल्नचाहिँ सकिँदैन ?’ फेरि मनमनै उत्तर पनि दिन्थे– ‘अहँ, सकिँदैन ।’

तर, बाघसँग खेल्ने उनको धोको भने मेटिएन । त्यसैले त उनी चिडियाखानाभित्रकै जनावर हुर्काउने ‘नर्सरी विभाग’ मा सरुवा भए । नर्सरीमा जनावर तथा चराचुरुङ्गीका बच्चा हुर्काइन्छ । नर्सरीमा काम गर्दाको हरिकृष्णसँग रमाइलो अनुभव छ, जहाँ उनले आँखै नउघ्रिएका बाघका डमरु (बच्चा) सँग हुर्काउँदै खेल्ने मौका पाए ।

०४२ सालतिर चितवनबाट बाघका साना डमरु चिडियाखाना ल्याइएका थिए । भर्खरै मात्र डमरुका आँखा खुलेका थिए । ती जोडी डमरुको नाम चिडियाखानामा ‘ठूली’ र ‘सानी’ राखियो । आफ्नै छोराछोरी स्याहारेजस्तै गरी हरिकृष्णले ठूली र सानीलाई हुर्काउँदै गए । आफ्ना छोराछोरी सरह स्याहारसुसार गरे । ‘बोतलबाट ठूली–सानीलाई दूध खुवाउथें,’ हरिकृष्णले भने– ‘ती पनि मसँगसँगै हुर्किए ।’

हरिकृष्ण र ठूली–सानीबीच क्रमशः सुमधुर सम्बन्ध बन्दै गयो । ठूली–सानीले पनि हरिकृष्णसँग आफ्नो अभिभावकजस्तै व्यवहार गर्थे । उनको काखमै आएर लुटपुटिन्थे । सानो बच्चाले आफ्ना बा–आमासँग खाना मागेझैं ठूली–सानीले पनि आफूलाई भोक लागेको सङ्केत हरिकृष्णसँग गर्थे । हरिकृष्ण पनि उनीहरूको भाषा बुझेर खानपान गराउँथे ।

हरिकृष्ण र ठूली–सानीबीचको सम्बन्ध यति आत्मीय थियो कि उनीहरू तीनै जना चिडियाखानाभन्दा बाहिर समेत घुम्न जान्थे । चिडियाखाना बाहिर हरिकृष्णसँग घुम्न पाउँदा ठूली–सानी पनि दङ्ग पर्थे । ठूली–सानी ‘जर्मन–सेप्ड’ कुकुर जत्रा हुँदासम्म उनले चिडियाखाना बाहिर लगेर घुमाए । ‘सिक्रीले बाँधेर बाहिर घुमाउन लान्थें,’ हरिकृष्ण सम्झन्छन्– ‘मलाई तिनीहरू केही गर्दैनथे, अरुलाई भने झम्टन खोज्थे ।’

ठूली–सानी हरिकृष्णले भनेको बुझ्थे र मान्थे पनि । ‘उठ् भन्दा उठ्थे, बस् भन्दा बस्थे,’ ठूली र सानीसँग खेलेको सम्झँदै हरिकृष्ण अतीतमा फर्के– ‘उनीहरूसँगै खेलिन्थ्यो ।’ बाघको बच्चा न हो, वयस्क भएपछि के भर ! कहिलेकहीं त उनी झस्कन्थे– ‘खेल्दाखेल्दै क्याप्प पारिदियो भने के गर्ने !’

तर, उनीहरूलाई हुर्काउने क्रममा ठूली र सानीले भने कुनै गल्ती नगरेको उनले सुनाए । वयस्क हुँदै गएपछि भने चिडियाखानाको गञ्जीरमा राखियो । अब ठूली र सानी भित्र भए, हरिकृष्ण बाहिर । बाहिरैबाट खानपिन गराउँथे । सानैदेखि सँगै खेलेकाले ठूली–सानीले उनलाई चिनिहाल्थे । बोलाउँदा रमाउँदै आउँथे ।

बाहिर निस्कन भने उनीहरूलाई बन्देज थियो; भित्रै सानो ठाउँमा घुम्थे । आफ्नो लवजले दर्शकलाई ‘मनोरञ्जन’ दिन्थे । पाको भएपछि ठूली र सानी मरे । तिनको मृत्यु हुँदा हरिकृष्णलाई निकै चित्त दुख्यो । उनका आँखा रसाए ।

घुमीफिरी बाघमै…

तीन वर्षसम्म नर्सरी विभागमा रहेर उनले ठूली–सानी र अरु पशुपक्षीका बच्चा हुर्काए । त्यसपछि करिव चार वर्ष अफिसमा काम गरे । त्यसपछि जनावर रहेकै ‘सेक्सन– एक’ मा काम गर्न थाले । यो सेक्सनमा करिव आठ वर्ष काम गरेका उनी फेरि अफिसमै काम गर्न पुगे ।

बाघसँगै रहेर रमाउने धोको अझै पुगेको थिएन । केही समय अफिसमा काम गरिसकेपछि रोटेसनअनुसार ‘सेक्सन– दुई’ मा पुगे, जहाँ बाघसँग खेल्न पाइन्थ्यो । केही महिना यो सेक्सनमा काम गरे; बाघसँग रमाए, खेले । अझै यही सेक्सनमा बस्ने मन हुँदाहुँदै पनि रोटेसनमा चल्नुपर्दा उनी चरा सेक्सनमा पुगे । र, फेरि फर्किए ‘सेक्सन– एक’ मै । फेरि उनलाई जनावर तथा चराचुरुङ्गी हुर्काउने अवसर मिल्यो; जो उनको सौख समेत थियो । त्यसबेला पनि उनले करिव चार वर्षसम्म बच्चा हुर्काउने अवसर पाए । रोटेसनमा घुम्दै–फिर्दै उनी बाघ र पशुपक्षीसँगै खेल्छन्, रमाउँछन् ।

करिव चालीस वर्षसम्म चिडियाखानामा सेवारत रहँदा उनले त्यहाँका अधिकाङ्श विभागमा काम गरिसकेका छन् । तीमध्ये बाघको सेक्सनमा काम गर्दा नै उनलाई सबैभन्दा बढी आनन्द लाग्छ । तीन पटक गरी उनले करिव आठ वर्ष बाघ सेक्सनमा काम गरे ।

अहिले चार बाघको स्याहारमा

चिडियाखानामा अहिले चार वटा पाटेबाघ छन् । आठ महिनाअघि चितवनबाट सात वर्ष उमेर पुगेको ‘महाराजा’ नामक बाघ ल्याइएको छ । चितवनकै जगतपुरबाट गतवर्ष पुसमा पनि ‘जगाती’ नामक साढे दुईवर्षे महिला बाघ ल्याइएको थियो । जगतपुरबाट ल्याइएकाले यसको नाम ‘जगाती’ राखिएको चिडियाखानाले जनाएको छ ।

गतवर्ष जेठमा पर्साको प्रतापपुरबाट ‘प्रताप’ नामक बाघ ल्याइयो । प्रतापपुरबाट ल्याइएकाले छ वर्षीय जवान यस बाघको नाम ‘प्रताप’ राखिएको हो । अर्को ‘बाङ्गे’ नामक बाघ भने चिडियाखानाकै पुरानो बाघ हो । यसको उमेर बाह्र वर्ष लाग्यो । यो पनि २०७१ मा चितवनबाटै ल्याइएको हो ।

बाघको औसत आयु बाह्र वर्ष हो । यी चारवटै बाघ मान्छे खाएपछि समातेर चिडियाखानामा ल्याइएका हुन् । एक पटक मान्छे खाएको बाघले त फेरि–फेरि मान्छे खान्छ नै, त्यसबाट जन्मिएको बच्चाले समेत मान्छे खाने सम्भावना बढी नै हुने भएकाले त्यस्ता बाघलाई समातेर सुरक्षित ठाउँमा राख्नुपर्ने या मार्नुपर्ने अवस्था आउँछ । सोही कारण यी चार बाघ यहाँ ल्याइएको चिडियाखानाले जनाएको छ ।

यतिबेला चिडियाखानामा रहेका चारमध्ये जगाती मात्रै महिला बाघ हो । अरु तीन वटा भाले बाघ हुन् । प्रताप र जगातीलाई एकै ठाउँमा राखिएको छ । बाङ्गे र महाराजलाई भने छुट्टै राखिएको छ । भाले बाघ एकै ठाउँ हुँदा झगडा गर्ने भएकाले छुट्टै राखिएको हो ।

अहिले चिडियाखानामा रहेकामध्ये बाङ्गेले हरिकृष्णलाई अली बढी चिन्छ । हरिकृष्णका अनुसार ऊ अलि ‘इमानदार’ पनि छ र मान्छेसँग घुलमिल गर्न बानी परेको छ । हरिकृष्ण बाङ्गेको नजिक पर्दा झम्टिइहाल्दैन । ऊ हरिकृष्णको भाषा बुझ्न समेत अभ्यस्त भैसकेको छ । उनीसँग ‘कान्छो’ नामक बाघ अझ बढी नजिक थियो । ऊ मान्छेसँग घुलमिल हुन्थ्यो, खान दिँदा झम्टँदैनथ्यो । चिडियाखानामै जन्मिएको कान्छाको करिव एक वर्षअघि मृत्यु भएको हरिकृष्णले सुनाए ।

कहिलेकहीं डर…

आखिर बाघ न हो । आहारा दिँदा कहिलेकहीं हरिकृष्णलाई डर लाग्छ । उनी असाध्यै सचेत भएर काम गर्छन् । खाना दिँदा निकै सतर्क हुन्छन् । राम्रोसँग ताला–चाबी लगाउँछन् । बाघको गञ्जीरमा ताला–चाबी लगाउन कहिल्यै बिर्संदैनन् ।
पहिले–पहिले निकै डर लाग्ने भए पनि अहिले बानी परिसकेको छ । उति धेरै त डर लाग्दैन । ‘आफूले नै हुर्काएको बाघसँग बानी पर्ने भए पनि बाहिरबाट ल्याएको बाघदेखि डर हुन्छ’– उनको कथन छ ।

चिडियाखानाका यी चार बाघलाई हरिकृष्ण दैनिक छ किलोग्राम बफ (राँगा–भैंसीको मासु) को आहारा दिन्छन् । जगाती र प्रताप भने सानै भएकाले पाँच–पाँच किलोका दरले दिइन्छ । हड्डी पनि दिइन्छ । हप्तामा एक दिन (शनिबार) भने पेटको आरामका लागि बाघलाई खाना दिइँदैन । चिडियाखानाका अनुसार कहिलेकहीं बाघलाई जिउँदो खरायो पनि ख्वाइन्छ तर लामो समयको अन्तरालमा ।

बिरामीपन बुझ्नुपर्छ हाउभाउबाटै

बाघ बिरामी भए–नभएको हरिकृष्णले लवजबाट पत्ता लगाउँछन् । उनी चारै बाघको लवज र हाउभाउ हेर्छन् । दिसा पातलो भए–नभएको हेर्छन् । बाघ बिरामी भए–नभएको ठ्याक्कै थाहा पाउँछन् । बिरामीजस्तो देखे भने चिकित्सकलाई खबर गरिहाल्छन् ।

मुखबाट खुवाउनुपर्ने औषधि मासुमा हालेर दिइन्छ, इन्जेक्सन लगाउनु परेको अवस्थामा गनको सहायता लिइन्छ । अप्रेसन गर्नु परेको अवस्थामा भने नजिक बोलाइन्छ र बेहोस बनाइन्छ ।

अनौठो आकर्षण

हरिकृष्णले बाघबाटै धेरै कुरा सिकेका छन् । लामो समय चिडियाखानामा बाघसँगै खेलेका उनलाई बाघले घर्र… घुरेको आवाज असाध्यै मन पर्छ । नजिक पुगेका बेला बाघले यसरी घुर्दा उनलाई आनन्द आउँछ । उनी बाघलाई जिस्क्याउँछन् । मान्छेसँगै हुर्किएका बाघले मान्छेको भाषा बुझ्ने उनी बताउँछन् । लामो समय बाघसँग खेलेका उनलाई परिवारले पनि जागिर नछोड्न सुझाएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)