क्यान्सर जितेकी नर्सको कथा

शङ्कर क्षेत्री

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष एवम् प्राध्यापक तारा पोखरेलले ४३ वर्षभन्दा बढी नर्सिङ पेशाका तिता–मिठा अनुभव बटुलेकी छन् । उनले नर्सिङ क्याम्पस महाराजगञ्जमा क्याम्पस प्रमुखका रूपमा समेत सेवा गरिन् ।

स्याङजाको कृष्णगण्डीमा वि.सं. २०११ मा जन्मिएकी ताराले स्थानीय देउराली प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा लिइन् । त्यस समय छोरीलाई पढाउने कुरा निकै अनौठो मानिन्थ्यो । झन् उपत्यका बाहिरका ग्रामीण क्षेत्रमा त छोरीले स्कुल जाने कुरा निकै चुनौतीपूर्ण थियो । सानैदेखि स्कुल पढ्ने तीब्र इच्छा भएकाले ताराले भने उनी स्कुल जाने र पढिछाड्ने हिम्मत गरिन् ।

घरबाट स्वीकृति नहुँदानहुँदै पनि नौ वर्षको उमेरमा उनी देउराली स्कुलको कक्षामा पसिन् । सानी बालिका कक्षामा पसेको देखेर विद्यार्थी मात्र होइन, शिक्षकहरू नै छक्क परे । सिङ्गै स्कुलमा १५–१६ जना विद्यार्थी हुँदा समेत बालिका पनि स्कुल पुगेको देख्दा विद्यार्थी र शिक्षक छक्क नपरून् पनि किन ! ‘देउराली स्कुलकी पहिलो महिला विद्यार्थी मै हुँ’– ताराले सुनाइन् ।

बडाहाकिम भेट्न स्कुल भर्ना

तारालाई स्कुल पढ्ने इच्छा लाग्नुको प्रसङ्ग पनि रोचक छ । त्यो गाउँमा एक दिन बडाहाकिम पुगेछन् । विद्यार्थीले लाइन लागेर बडाहाकिम भेट्न पाएछन् तर स्कुल नजाने बालबालिका भने बडाहाकिम भेट्ने अवसरबाट वञ्चित भएछन् । बडाहाकिम हेर्न तारा पनि दौडिइन् तर भेट्न पाइनन् र रुँदै घर फर्किइन् । उनलाई लाग्यो– स्कुल पढ्ने भएपछि त बडाहाकिम भेट्न पाइने रहेछ ।

त्यसपछि बुबा–आमासँग उनले ‘स्कुल जान्छु’ भन्दै जिद्धी गरिन् । हुर्किंदै गरेकी छोरीलाई स्कुल जान बुबा–आमाले कहाँ सजिलै स्वीकृति दिन्थे र ! निरन्तर जिद्धी गरेर दुई छाक खाना नै नखाइदिएपछि बुबा–आमाले मन कुड्याउँदै तारालाई स्कुल जाने अनुमति दिए । नौ वर्षको उमेरमा उनले ‘कखरा’ चिन्न थालिन् । र, तीन महिनामै कक्षा एकमा उक्लिइन् । त्यस समय एउटा कक्षाबाट अर्कोमा उक्लन वर्षभर कुरिरहनु नपर्ने व्यवस्था रहेको अनुभव उनले सुनाइन् । एकै वर्षमा उनी कक्षा दुईमा पुगिन् । त्यसपछि रूपन्देही पुगेर पढ्न थालिन् । रूपन्देहीमै कक्षा आठसम्मको अध्ययन पूरा गरिन् ।

आठ कक्षा सकिएपछि साथीहरूको लहैलहैमै उनले बुटवल पुगेर नर्स पढ्नका लागि ‘अनमी’ को प्रवेश परीक्षा दिइन् र पास पनि भइन् । अनमी पढ्न नेपालगञ्ज जानुपर्ने भयो । परिवारलाई मनाएर नेपालगञ्ज जानु उनका निम्ति अर्को निकै ठूलो चुनौती थियो । तारा युवावस्थामा अगाडि बढ्दै थिइन् । बुबा–आमाले ‘बढेकी छोरीलाई घरबाट टाढा नपठाउने’ अठोट गरे । तर, ताराकोे जिद्धीका अगाडि बुबा–आमाको केही चलेन ।

साथीहरूसँग उनी नेपालगञ्जस्थित सरकारी नर्सिङ स्कुलमा पुगिन् । उनले त्यहाँ दुईवर्षे अनमी कोर्ष पूरा गरिन् । अनमी पढ्दापढ्दै एसएलसीको परीक्षा दिएर उत्तीर्ण भइन् र अनमी पनि बनिन् । ‘बडाहाकिम हेर्ने उद्देश्यले स्कुल जान थालेकी’ ताराका दुवै हातमा लड्डु !

जागिर खाँदै, पढ्दै…

अनमी बनिसकेपछि जागिरेका रूपमा भोजपुर पुगिन् । त्यहाँ ८–९ महिना काम गरेपछि वि.सं. २०३१ मा उनी वीर अस्पताल सरुवा भइन् । त्यसपछि ललितपुर नर्सिङ क्याम्पसमा तीनवर्षे ‘पीसीएल नर्सिङ’ पढ्न थालिन् । पीसीएल नर्सिङ पास भैसकेपछि काजमा नेपालगञ्जको सरकारी क्याम्पसमा गएर सेवा गर्न थालिन् । करिव डेढ वर्ष त्यहाँ काम गरिसकेपछि वीरगञ्जको नर्सिङ क्याम्पसमा पुगेर सहायक प्रशिक्षक पदमा रहेर ०३५ देखि ०३६ सम्म सेवा गरिन् ।

वीरगञ्जमै रहँदा यज्ञप्रसाद शर्मा पोखरेलसँग उनको भेट भयो । उनीहरूबीच अङ्कुराएको प्रेम सम्बन्ध क्रमशः झाङ्गिएर वैवाहिक सम्बन्धमा परिणत भयो । २०३८ मा विवाह भएपछि उनी काठमाडौं फर्किइन् र नर्सिङ स्नातक (बीएन) तहमा भर्ना भइन् । स्नातक उत्तीर्ण गरिसकेपछि फेरि वीरगञ्ज र पोखरा गएर सेवा गरिन् । त्यसपछि काठमाडौं नै फर्किइन् ।

नेपालमै पहिलो पटक वि.सं. २०५२ मा नर्सिङ क्याम्पस महाराजगञ्जमा स्नातकोत्तर तहको नर्सिङ अध्यापन सुरु भएपछि ताराले पनि त्यसको पहिलो ब्याचमै भर्ना भएर अध्ययन थालिन् । नर्सका रूपमा सेवा गर्दै पढ्दै गरेर २०५४ मा स्नातकोत्तर पूरा गरिन् । त्यसपछि फेरि एक वर्ष पोखरामा सेवा गरेपछि महाराजगञ्ज नर्सिङ क्याम्पसमै फर्किएर सेवा गर्न थालिन् । र, महाराजगञ्ज क्याम्पसको प्रमुख भएर पनि जिम्मेवारी सम्हालिन् । २०६० मा उनले नर्सिङ परिषद् (नर्सिङ काउन्सिल) को अध्यक्षका रूपमा पनि सेवा गर्ने अवसर पाइन् । २०३० मा नर्स बनेर सेवा थालेकी उनले २०७३ सम्म सोही क्षेत्रमा रहेर सेवा गरिन् ।

‘नर्सिङमा प्रवेश गर्दा मलाई लाग्थ्यो, प्रत्येक घरमा नर्स हुनुपर्छ,’ कामको सिलसिलामा नर्सिङ पेशामा राम्रैसँग रमाएको अनुभव सुनाउँदै उनले भनिन्– ‘यो सम्मानित पेशा रहेछ, कयौं बिरामीको सेवा गरिन्छ ।’ शिक्षिका समेत भएकाले पछिल्लो समय उनको धेरै समय अस्पतालमा भन्दा शिक्षण पेशामै बित्यो ।

रमाइला–नरमाइला पक्ष

आफूमा अन्याय नसहने स्वभाव रहेको उनी बताउँछिन् । नर्सिङ सङ्घको अध्यक्ष भएपछि उनीकहाँ बारम्बार नर्सिङ क्षेत्रका पेशागत समस्याहरू र गुनासा निरन्तर आइरहन्छन् । बेला–बेला अनौपचारिक रूपमा ‘डाक्टरका अक्षर नर्सले नबुझेका’ गुनासा पनि आउँछन् । प्रशासनले नर्सप्रति गरेको ‘दुव्र्यवहार’ सुन्दा आफूलाई दुःख लाग्ने गरेको उनी सुनाउँछिन् । ‘स–साना बालबच्चा भएका नर्सलाई नाइट ड्युटी हालिदिनु अमानवीय व्यवहार हो’– तारा भन्छिन् । पैसा निकै कम दिने तर कामचाहिँ अति लामो समय लगाउने गरेको गुनासो पनि थुप्रै आउने गरेको उनी बताउँछिन् ।

नर्सिङ पेशाका महिलाका निम्ति सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ । नर्सिङ पेशाका महिला सरुवा भएर विभिन्न ठाउँमा पुग्नुपर्छ । घरपायक भन्दा अन्यत्र सरुवा भएर जाँदा बालबच्चा हुर्काउन ज्यादै असहज हुने उनको अनुभव छ । विवाहित नर्सहरूलाई घरपायक नै पोस्टिङ गर्नु सम्भव र जरुरी दुवै भएको उनको ठम्याइ छ । ‘पूर्व घर हुने नर्सलाई पश्चिममा र पश्चिम घर हुने नर्सलाई पूर्वमा सरुवा गर्दा निकै अप्ठ्यारो हुन्छ जबकि त्यसो गरिरहनुपर्ने आवश्यकता नै छैन,’ उनी भन्छिन्– ‘लखेट्न सकिनेलाई दुर्गममा लखेटेको लखेट्यै गर्ने प्रवृत्ति ठीक होइन ।’

ताराले नर्सिङ पेशाका नरमाइला पक्ष पनि ‘होलिस्टिक’ सँग शेयर गरिन् । ‘दुर्गममा सरुवा भएर पुगेकी नर्स सुगममा फर्कन निकै चर्को सङ्घर्ष गर्नुपर्छ,’ उनी भन्छिन्– ‘सोर्स–फोर्स लगाउने मान्छे ठाउँमा नभए त सुगममा फर्कनै मुस्किल ।’

दूधेबालक छाडेर सेवामा

आफूले पनि स–साना दूधे छोराछोरी घरमा छाडेर सेवाका लागि काठमाडौं बाहिर पुगेको अनुभव ताराले सुनाइन् । उनी सम्झन्छिन्– ‘दुई वर्षको बच्चालाई पनि काठमाडौंमै छाडेर मैले वीरगञ्ज र पोखरासम्म पुगेर सेवा गरेकी छु ।’ बच्चालाई राम्रोसँग स्तनपान गराउन अरुलाई उत्प्रेरित गर्ने तारा आफैंले भने छोराछोरीलाई नियमित स्तनपान गराउन पाइनन् । यसो हुँदा उनको मन कटक्क खान्थ्यो र पेशाप्रति समेत खिन्नता जाग्थ्यो । अहोरात्र अस्पतालमै खट्नुपर्दा उनी घरमा रहेका आफ्ना स–साना छोराछोरी सम्झन्थिन् । छोराछोरीलाई उनका श्रीमान् यज्ञप्रसादले नै हुर्काए; उनी भने बिरामीको सेवामै व्यस्त रहिन् ।

बच्चालाई कार्यक्षेत्रमै लगेर स्तनपान गराउने समुचित व्यवस्थापन नगरिएकामा उनको असन्तुष्टि छ । बच्चालाई पर्याप्त स्तनपान गराउन नपाएकामा उनको गुनासो छ । भन्छिन्– ‘ पेशागत जटिलताका कारण चारवटै बच्चा हुर्काउँदा पूरा समय दिन पाइएन ।’

बच्चाको मृत्यु : थामिएन मन, अडिएन आँशु

नेपालगञ्जमा अनमी दोस्रो वर्ष पढ्दापढ्दै घटेको एउटा दुःखद् घटना उनको दिमागमा ताजै छ; जतिबेला उनी १६–१७ वर्षकी थिइन् । एउटा सानो बच्चाको अस्पतालमा मृत्यु भयो । उनले त्यस बेलासम्म मान्छेको मृत्यु देखेकी थिइनन् । ‘त्यो बच्चाको मृत्यु हुँँदा बच्चाकी आमाभन्दा म धेरै रोएँ, त्यो सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ’– त्यो प्रसङ्ग आफ्ना लागि निकै दुःखदायी क्षण भएको उनी सम्झन्छिन् ।

सुत्केरी गराउँदा आनन्द

बिरामी सञ्चो भएर अस्पतालबाट डिस्चार्ज हुँदा उनलाई अत्यन्तै आनन्द लाग्छ, जुन सबै नर्समा लागू हुने नै कुरा भयो । उनलाई एउटा रमाइलो क्षणको याद छ । अनमी पढ्दापढ्दै एक पटक आफ्नो गाउँ गएकी थिइन् । एक महिला प्रसव–पीडाले छट्पटाइरहेकी रहिछन् । ती महिलालाई सकुशल सुत्केरी गराउन तारा सफल भइछन् । जन्मिएको बच्चाको स्वास्थ्य पनि राम्रै भएछ । प्रसव–पीडाले छट्पटाएकी आमा र बच्चालाई त्यसबेला बचाउन सकेको सम्झँदा तारालाई अहिले पनि खुशी लाग्छ ।

भर्खरै अनमी पढिरहेको अवस्थामा कसरी सुत्केरी गराउन सफल भएँ भन्ने प्रश्न अझै पनि ताराको मनमा छचल्किइरहन्छ । सुत्केरी गराएकोसम्म देखेको तर त्यति बेलासम्म आफैंले सुत्केरी नगराएको भए तापनि ती महिलालाई बचाउन सफल हुँदा आफूमा खुशीको सीमा नै नरहेको उनी बताउँछिन् ।

श्रीलङ्काबाट राम्रो पैसा

जोसुकै व्यक्तिले एउटा न एउटा पेशा अपनाउनै पर्ने भएकाले आफूले अँगालेको नर्स पेशालाई उनले सहजरूपमा लिएकी छन् । १५१ रूपैयाँ तलबबाट जागिर सुरु गरेकाले जागिरे जीवनको सुरुआतताका भने उनले आर्थिक अभावकै सामना गर्नुपर्‍यो ।

विवाहअघि उनी विश्व स्वास्थ्य सङ्गठनको एउटा तालिमको सिलसिलामा श्रीलङ्का पुगिन् । तीनमहिने शिक्षक तालिमका लागि उनी त्यहाँ गएकी हुन् । सो अवधिमा त्यहाँ उनले करिव ४५ हजार रूपैयाँ बचाइन् । त्यो समयमा त्यति रकमको निकै ठूलो महत्त्व थियो ।

क्यान्सर जितेर बा“चिन्…

पेशा नै स्वास्थ्य क्षेत्रकै भएकाले स्वभावतः आफ्नो स्वास्थ्यप्रति समेत सचेत हुने नै भइन् । स्वास्थ्यबारे अरुलाई सचेत गराउने ताराले आफ्नै छातीमा एउटा सानो गाँठो भेटिन् । चार वर्षअघि नुहाउने क्रममा छातीमा अनारको दानाजत्रो गाँठो देखेपछि उनले परीक्षण गराइन् । क्यान्सर भएको प्रमाणित भयो । महाराजगञ्ज क्याम्पसमा प्राध्यापनरत थिइन् । नेपालमै छातीको क्यान्सरको शल्यक्रिया गराई उपचार गरिन् । छ साइकल किमो चलाउनु पर्‍यो ।

क्यान्सर पहिलो चरणमा रहँदै थाहा पाएकाले उपचारपछि ठीक भएको उनी बताउँछिन् । उच्च आत्मबल भएकाले पनि आफूले क्यान्सरलाई जित्न सकेको उनको भनाइ छ । किमो चलाइरहेको अवस्थामा समेत आफू सक्रिय नै रहेको उनी बताउँछिन् । जो–कसैलाई क्यान्सर लागेमा नडराइकन बेलैमा उपचार गरे निको हुने उनी बताउँछिन् । ‘आत्मबल मजबुत भयो भने रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ,’ तारा भन्छिन्– ‘मर्दिनँ भन्ने लागेको थियो ।’

उनी वर्षेनि ‘होल बडी’ जाँच गराउँछिन् । क्यान्सर लागेकी आमालाई समेत उपचार गराएर २८ वर्षसम्म बचाउन सफल भएकाले पनि आफ्नोे आत्मबल बढेको अनुभव उनले सुनाइन् । बेलैमा पहिचान नगरी हेलचेक्र्याइँ गरेमा सामान्य रोग पनि जटिल हुने भएकाले बेलैमा पहिचान गरेर उपचार गराउनुपर्ने ताराको सुझाव छ ।

‘चिकित्सकीय पेशा अँगालेका व्यक्तिको जीवनको धेरैजसो समय अस्पतालमा बिरामीको सेवा गर्नैमा बित्दोरहेछ,’ उनको अनुभव छ– ‘यसो हुँदा आफ्नो पारिवारिक जीवनको व्यवस्थापन गर्न चाहिँ असहज नै हुँदोरहेछ ।’ सङ्घर्षपूर्ण जीवनका बाबजुद आफ्ना बालबच्चा हुर्काउन सफलता मिलेकामा भने उनी दङ्ग छिन् । ‘मेरो र परिवारको सफलतामा जीवनसाथी यज्ञप्रसादको निकै ठूलो भूमिका रह्यो’– कृतज्ञतापूर्वक उनले भनिन् ।

नर्सिङ पेशाबाट निवृत्त भैसके तापनि उनी अहिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ–संस्था तथा विश्वविद्यालयमा सल्लाह–सुझाव दिने तथा अध्ययन स्रोत (रिसोर्स पर्सन) का रूपमा व्यस्त नै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)