आठौं आश्चर्य : पेट्रा

डा. डीबी सुनुवार

संसारको सातौं आश्चर्य घुम्ने क्रममा यसपालि जोर्डनको पेट्रा परेको छ । धेरै व्यस्त कार्यतालिका भए पनि यात्राका लागि दस दिनको समय छुट्याइयो ।

बिहानको पारिलो घाम छिप्पिँदै गर्दा दस बजे अनिता र म विमानस्थल पुग्यौं । दोहा र अम्मानमा अरु साथीहरूसँग भेट्ने योजना छ । साँझ सात बजे अम्मानमा पुग्यौं । हाम्रो स्वागतका लागि ओमर अध्यागमनमै आइपुगेका रहेछन् ।

हाम्रो आजको बसाइ अम्मानको स्यान्डी प्यालेसमा छ । चिसो हावा चलेको छ । यतिखेर आँखाका अगाडि मरुभूमिमा सेतै भवनहरू र स–साना पहाडहरू देखिन्छन् । झिलिमिली बत्ती वारिपारि पार गर्दै एक घन्टापछि स्यान्डी प्यालेस चेक–इन भयौं । भोलि बिहान सखारै संसारको सातौं आश्चर्यमा पर्ने पेट्राको भ्रमणका लागि तयार हुनु थियो । हल्का स्थानीय जोर्डनी खबुज स्वरमा डिनर लिइयो । अनौठो स्वादको अनुभूति भयो ।
अम्मानबाट पेट्रा करिव तीन घन्टाको बाटो हो । समयमै पुगियो ।

भ्रमण टिकटसँगै पर्यटक गाइडले सुरुमै आधा घन्टा ब्रिफिङ दिएपछि लन्चका लागि अर्को आधा घन्टा समय दियो । चर्को घाम लागेको छ, मरुभूमि हावा पनि त्यत्तिकै चलेको छ । एक घन्टाभन्दा बढी हिँड्नका लागि तयार भएका विभिन्न देशका मानिसहरू त्यहींको स्थानीय पहिरनमा समूह–समूहमा तयार छौं । हिँड्न नसक्नेहरूका लागि थरीथरीका गधा, घोडा र रथहरू पनि तयार थिए ।

ढुङ्गैढुङ्गाका पहाडका खोंच हुँदै जात्रामा जान लागेझैं अगाडि बढ्दैछौं । गाइड विभिन्न प्रकारका नियम र ऐतिहासिक विवरणहरू बताउँदै अगाडि बढ्दैछ । फोटो खिँच्नका लागि बीच–बीचमा रोकिँदै निरन्तर अगाडि बढ्दैछौं । प्राकृतिक रूपले बनेका विभिन्न सिंह, हात्ती, गरुढजस्ता पशुपक्षी आकार–प्रकारका आकृति देखिइरहेका छन् । तिनका अर्थ खोलिरहेका छन् हाम्रा गाइड ।

अब हामी यस्तो खोंचमा आइपुगेका छौं कि ढुङ्गाको चेपबाट माथि आकाश त एक धर्को मात्र देखिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत यो बाटो सारै अनौठो रहेछ । किनारको एक तर्फबाट मात्र हिँड्न पाइन्छ । रथ सवारहरू घोडाका टापको आवाजसँगै हुर्रिंदै ओरालो झरिरहेका छन् । घोडाको लिदी गन्हाएर ठाउँ–ठाउँमा त सास फेर्न पनि सकिँदैन । कुनै–कुनै पहाडका खोपाहरूमा त्यस समयका राजा–महाराजाहरूका चिहान रहेको गाइडले बताए ।

देश–विदेशका मानिसहरू समूह–समूहमा कराइरहेको, चिच्याइरहेको आवाज आयो । हामीलाई एकै लाइनमा लामबद्ध हुन आग्रह गरे गाइड नासरले ।

आँखा चिम्लन लगाई एउटाले अर्कोलाई डोर्‍याएर मध्यबाटोमा उभ्याई केही वाक्यमा विश्वासको सपथ ख्वाएर आँखा खोल्न लगाइयो । आँखा खोल्दा विशाल गुलाबी ढुङ्गाको पहाडमा कलात्मक दरबार देखिन्छ । संसारमा परिकल्पना गरिएको ठाउँ छैन त्यो । धेरै हजार मान्छेहरूले, धेरै समय लगाएर बनाएको इमारत हो ‘द ट्रेजरी’ । कल्पना गरेभन्दा बेग्लै दृश्यले सबै अवाक् भएका देखिन्छन् । सुन्दैनन् एक–अर्कालाई त्यहाँ । हेरेको हेर्‍यै भइन्छ । फोटोसम्म खिँच्न जाँगर चल्दैन । गाडधन राखिएको त्यस स्थानलाई मुश्लिमहरूले ‘अल खजना’ भन्दा रहेछन् ।

टिकट र गाइडको पैसा र समय सकिएछ । यसै प्वाइन्ट अफ ट्रेजररको ऐतिहासिक विवरण बताइसकेपछि मेरो साथ र समय सकिन्छ भन्नुभन्दा पहिले एउटा सल्लाह दिए । अब यस अल खजनाको प्राकृतिक र मौलिक स्थानबाट करिव पाँच किलोमिटर पर गुलाबी चट्टाने उकालो उक्लिएर द डायर पुग्ने तर्खरमा छौं ।

‘बाई–बाई… !’ गुलाबी चट्टानको भित्री खोंचमा पुगेका पर्यटकको भीडमा भेटिने र छुट्टिनेको आवाज सुनिन्छ । गाइडले बिदाइको हात हल्लाइसकेपछि हिँड्न नसक्नेले घोडा वा गधा चढ्न मोलमोलाई गर्न लागे । गधा–घोडा तुरुन्तै तयार भए । ठूला ज्यान भएकाका लागि घोडा, सानाका लागि गधा । उक्लनुपर्ने चट्टाने शिखर । शिखर द डायरमा पुग्नका लागि आठ सय पचासभन्दा बढी सिँढी उक्लनुपर्छ ।

दिउँसोको घाम ओइलाउन लाग्दैछ । छोरी मानिसहरू आगाडि लम्किसके । म बीच भागतिर लम्कँदैछु । पछाडिकाहरू आवाज दिइरहेका छन्– ‘पर्ख है ! हामी पनि आउँदैछौं ।’ ठूलठूलो आवाजले चट्टाने पहाड पर–परसम्म गुञ्जिइरहेको छ ।

ग्रीक भाषामा पेट्रो भनेको पिटर, चट्टान हो । प्रायः युरोपेली देशको साझा भाषाका रूपमा पेट्रुअस नाम पपुलर छ । यहाँका सबै पहाड गुलाबी चट्टाने भएकाले सुरुताका यो सहर ‘रोज सिटी’ का रूपमा पनि चिनिन्थ्यो ।

३१२ बी.सी. ताका पेट्रा ‘नवताइन्स’ को नामले चिनिन्थ्यो । त्यस समय यो सम्पूर्ण अरब राष्ट्रहरूको राजधानी थियो । तेस्रो शताब्दीमा जोहन हुडिगले यो सहरको सौन्दर्य र ऐतिहासिकता पत्ता लगाएर प्रबर्द्धन समेत गरेका थिए । अहिले पनि विश्व सम्पदा सूचीको एउटा महत्त्वपूर्ण स्थलका रूपमा रहेको यस ठाउँमा वर्षेनि लाखौं विदेशी पर्यटक आउँछन् । पेट्रा सन् २००७ मा सबैभन्दा बढी भोट पाएर विश्वको नयाँ (सातौं) आश्चर्यमा परेको थियो ।

समूह–समूहमा उकालो चढ्ने र ओरालो झर्ने मानिसहरूको भीड छ । केही हट्टाकट्टा जवानहरू बाहेक प्रायः घोडा–गधामा नै सवार छन् । मभन्दा अघिका लाहुरे बा ज्यान सानो भएकाले गधामा सवार थिए । त्यसको हिँडाइ (गति) कम थियो । अगाडिका साथीहरूको ‘चाँडै आऔ है’ भन्ने आवाज र पछाडिकाहरूको ‘छिटो हिँडौं है…’ भन्ने दबावले चाबुक वर्षाइराखेका थिए । उक्लनुपर्ने बाध्यता, भीरबाट खसिएला भन्ने डर र हिँडेर पुग्नै नसकिने विभिन्न बाध्यताका कारण लाहुरे बा ठूलठूलो आवाजले कराइरहेका छन् । देख्दादेख्दै एक जनालाई भित्तामा लगेर पछार्‍याे गधाले । ‘ऐय्या ! खुत्रुक्कै पो पार्‍याे  त…!’ स्टेप–स्टेपको चट्टाने गोरेटो । कम्ति रमाइलो छैन यहाँको वातावरण । हामी डायरको नजिक पुग्न लागिरहेका छौं ।

मिश्र देशबाट मोशा लाल समुद्र पार गरी यहाँ आइपुग्दा यो भाग पूरै जलमग्न भएको र चट्टानलाई काटेर पानी बाहिर पठाई ओबानो पारेपछि यात्रा अघि बढेको विश्वास गरिन्छ । पेट्राका अगाडि अहिले पनि ठूलो मन्दिरका रूपमा रहेको ‘वादी मुसा’ छ । करिव ६० वर्ग किलोमिटर क्षेत्रफलमा रहेको पेट्रा पूरै गुलाबी चट्टानले बनेको छ । यसको गहिराइमा रहेको द ट्रेजरी गाडधन राखिने स्थान अचम्मले बनाइएको छ । रोमन (ग्रीक) वास्तुशैलीमा विशाल इमारतको आधा फ्रन्ट–फेसको स्टोन कार्भिङ गरिएको छ ।

पहाडको शिखरको चट्टानलाई कार्भ गरेर पौराणिक अवस्थामा राज्यको बहुमूल्य धन राखिएको र पछिका राजाहरूको टुम्ब बनाएको अपुष्ट भनाइ छ । तर, त्यो ठाउँमा पस्न अहिलेसम्म पनि सर्वसाधारणलाई निषेधित छ ।

यतिबेला अस्ताउँदो घामले डायरको पूर्ण भाग छाएको छ । समूह–समूहमा फोटो खिँच्नेहरूको भीड छ । हामी सबैको सास बढेको छ । घोडा–गधालाई तल छाडेर करिव १५० सिँढी माथि उक्लनुपर्ने रहेछ । घामको अन्तिम उपस्थितिभित्रै डायरलाई नेपथ्य बनाएर हामीले पनि पेट्राको अन्तिम दृश्य क्यामरामा कैद गर्‍यौं, जसै घामको किरणले डायरलाई छाड्यो ।

यो आठौं आश्चर्यलाई मेरो आइटिनरीमा प्रस्तुत गरिएको छ । मेरो भ्रमण–अनुभवमा यहाँको खानपान र बसाइ युरोपेली देशहरूमा भन्दा पनि महँगो छ । यहाँ अरु देशहरूमा भन्दा फरक प्रकारको पर्यटन प्रणाली, भिसा र अध्यागमन व्यवस्थापन छ । पौराणिक तथा ऐतिहासिक आधारमा पनि आठौं आश्चर्यकै लाग्यो पेट्रा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)