सुरवीर पण्डितको जीवनशैली

उनमा ‘हिरो हुने’ रहर त जाग्यो तर कहिल्यै हुन सकेनन्

होलिस्टिक संवाददाता

सयौं फिल्म तथा टेलिसिरियलमा अभिनय गरेका कलाकार हुन् सुरवीर पण्डित । रेडियो नाटकबाट यात्रा सुरु गरेका उनी वि.सं. २०४३ देखि नै कलाकारितामा निरन्तर सक्रिय छन् । झ्याप्प दारी पालेका उनले यही क्यारेक्टरमा आफूलाई अगाडि बढाए । फिल्म खेल्ने रहरले एक पटक इन्डिया भासिएका सुरवीर उता रहनै सकेनन् ।

उनमा ‘हिरो हुने’ रहर त जाग्यो तर कहिल्यै हुन सकेनन् । बरु एक निर्देशकले युवा उमेरमै बूढाको रोल दिएका थिए, दर्शक तथा निर्देशकहरूले त्यही गेटअपमा उनलाई रुचाए । उनले कहिल्यै दारी काटेनन् । ‘मेरी बास्सै’ बाट ‘दारी बा’ उपनामले परिचित ५१ वर्षीय सुरवीरले आफ्नो स्वास्थ्यबारे होलिस्टिकसँग यसरी बताए–

सुत्ने–उठ्ने तालिका छैन

बिहान उठ्ने मेरो कुनै समयतालिका छैन । काम भयो भने चार बजे नै उठेर मुख धुनेलगायतका नित्यकर्म गरेर फ्रेस हुन्छु अनि खाजा–नास्ता भए खाएर हिँडिहाल्छु । काम परेको छैन भने आठ बजेसम्म पनि सुत्छु ।

मेरो सुत्ने पनि समयतालिका छैन । ठ्याक्कै यति बजे नै सुत्छु भन्ने कहिल्यै लागेन । काम भएन भने ९ बजेतिर सुतिसक्छु । नाटकलगायतका केही काम, याद गर्नुपर्‍यो भने रातको १–२ बजेसम्म पनि जागै हुन्छु । मलाई कामको बढी माया हुन्छ । अभिनय गर्दा सजिलो होस् भनेर पूर्वतयारीमा रातको समय बिताउँछु ।

मान्छेले नबुझ्ने अनौठो व्यायाम

शरीर स्वस्थ राख्नका लागि मेरो व्यायाम प्रक्रिया अलिक फरक छ, यस्तो अभ्यास जो–कसैले गर्ने गरेको छैन । बिहानै उठेर सुटिङमा वा अन्त कतै जानुपर्ने छ भने एक–दुई किलोमिटर मोटरसाइकल ठेलेर हिँड्छु, जसले गर्दा मेरो शरीरका सबै कोषहरूले काम गर्छन् । यसरी हिँड्दा शरीरमा पसिना आउँछ र फुर्तिलो बनाउँछ ।

‘सुरवीर त मोटरसाइकल ठेलेर हिँड्छ’ भनेर उडाउनेहरू पनि छन् । मैले त्यो ठेलेको होइन, व्यायाम गरेको भन्ने उनीहरूलाई के थाहा ! यस्तै व्यायामले मलाई जस्ताको तस्तै देखाएको हो । मलाई गाडी चढ्नभन्दा हिँड्न मन पर्छ । हिँड्दा नै आफूलाई व्यायाम पुगेको मलाई महसुस हुन्छ ।

समयमै खाने–लाउने भन्ने कुरा नेपालीहरूका लागि अलिक परको विषय हो; अझ हामीजस्ता मझौला खालका मान्छेलाई । कहिल्यै युवा नदेखिनु र बूढो पनि नदेखिनुको मेरो रहस्य यही हो । उमेरका हिसाबले ५१ वर्षको भएँ । तर, ६०–७० वर्षकाले पनि मलाई ‘बा’ भनेर बोलाउँछन् । उमेरमै बूढो भएको मान्छे, अहिले त झन् के कुरा गरौं ! हिजोभन्दा अहिले अलिक बूढो भएको फिल त मलाई पनि हुन्छ तर धेरैले ४० वर्ष हाराहारीकैमा गनिदिनुहुन्छ ।

खाने कुरामा बन्देज छैन

मेरा लागि यो खाने, त्यो नखाने भन्ने छैन । बिहान उठेर पेटभरि पानी पिउँछु, त्यसबाट आनन्द हुन्छ । ‘स्वस्थ रहन प्रशस्त पानी पिउनुपर्छ’ भन्ने भनाइलाई फलो गरेको छु । घरमा बसेका बेला ढिँडो–रोटी नै खान्छु । हामी गाउँका मान्छेलाई यो एकदमै मन पर्छ ।

घरमा हुँदा कहिले आफैं पकाएर त कहिले बूढीले पकाएर खाइन्छ । सुटिङ परेका बेला यतिबेला खाने, यो खाने, त्यो नखाने भन्ने हुँदैन । सकेसम्म अग्र्यानिक नै खाऊँ भन्ने त भैहाल्छ । तर, सुटिङको समयमा सोचेजस्तो हुँदैन; लोकेसन कता, के–कता ! बिहानै खाएको नास्ताकै भरमा भए पनि काम गर्नुपर्छ । यस्तो हुँदा ग्यास्ट्रिकको समस्या भएकालाई चाहिँ गाह्रो पर्छ ।

१८ हजार सकिँदा पत्तै लागेन, ६० रूपैयाँको औषधिले चट्

सुटिङमा धेरै पटक ग्यास्ट्रिकको समस्या भोगेको छु । सुटिङ स्पटमा बिरामी नै परेको छु । बिरामी त धेरै पटक भएको छु तर निकै गाह्रो पारेको चाहिँ ‘जय भोले’ फिल्मको सुटिङका क्रममा हो । झापामा सुटिङ भैरहेको थियो, साथीहरूले ‘कोदाको पिओर’ हो भन्नुभयो । सँगै बसेर पिइदिएको, म त साह्रै बिरामी पो भएँ । डाइरेक्टर सा’पले उठाएर हस्पिटल कुदाउनुभो । चेकअप र यताउति गर्दा १८ हजार सकियो तर रोग पत्ता नै लागेन । अन्त्यमा ६० रूपैयाँको ग्यास्ट्रिकको औषधि खाइदिएको, निको भयो । यो घटना भएको एक वर्षजति भयो ।

अर्को पटक, ‘रिसानी माफ’ सिरियलको सुटिङ चलिरहेको थियो । मलाई त एक्कासि के भयो, भयो ! बेहोस् नै होऔंला जस्तो भयो । डाइरेक्टर सा’पलगायतले हस्पिटल भर्ना गरिदिनुभयो । त्यो दिन त सुटिङ नै रोकियो ।

‘मेरी बास्सै’ सुटिङका क्रममा लिगामेन्ट च्यापियो । हस्पिटल भर्ना गनुपर्ने भयो । यसको अप्रेसनका क्रममा ८–१० दिन सिनामङ्गलस्थित केएमसी हस्पिटल बसें । स्वास्थ्यमा खेलबाड गर्दा यस्ता समस्या भोगिए जस्तो लाग्छ । खाना खाने समय हुँदैन, जे पायो त्यही खाइदिनाले पनि यस्तो भएजस्तो लाग्छ ।

सुटिङको ‘फेबरेट’ नै ‘जङ्कफुड’

जङ्कफुड त कलाकारको ‘फेबरेट’ खाजा नै हो जस्तो लाग्छ । खाना–खाजाको समय निश्चित हुँदैन, भोक लागिरहेका बेला जता बसेर पनि खान मिल्ने भएकाले चाउचाउलगायतका खाजा खाइरहेका हुन्छौं । त्यसैका भरमा दिनभरि काम गर्नुपर्ने स्थिति समेत आइपर्छ । मेरो खानपानमा अहिलेसम्म कुनै रोकतोक छैन ।

अर्ग्यानिक कमै पाइन्छ । काठमाडाैंमा अर्ग्यानिक खोजेर कहाँ पाइएला हजुर ! यहाँ बसेको मान्छेले अर्ग्यानिक खान के पाइएला र ? मिलेसम्म सागपात नै खाऊँ भन्ने हो । तर, खालि औषधि हालिएका खाने कुरा र यही चाउचाउ–चाउमिन त हो ।

‘धेरै हाँस्छु’

आफू कमेडियन कलाकार भएका कारण मेरा साथीहरू पनि कमेडियन नै हुनुहुन्छ । मेरा छोरा–बुहारी भएर खेलेका धुर्मुस–सुन्तलीसँगको सङ्गतका कारण पनि म तन्दुरुस्त देखिएको हुँ । उहाँहरू या अरु कमेडियनहरूसँग रहँदा सबैले मलाई हँसाइरहनुहुन्छ । म पनि हाँस्न कन्जुस्याइँ गर्दिनँ । ‘सङ्गत गुनाको फल’ भनेजस्तै ।

हाँस्नुका पनि धेरै फाइदा छन्, स्वास्थ्यका लागि पनि फाइदाको कुरा हो । अनेक थरीका टेन्सन हटाउन र स्वस्थ–तन्दुरुन्त देखिन हाँसोले राम्रै फाइदा पुर्‍याउँछ । म त दर्शकहरूलाई पनि निर्धक्क हाँस्न अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)