भान्सामा मुसाबाट सङ्क्रमणकाे डर

होलिस्टिक संवाददाता

डा. शेरबहादुर पुन

घरमा मुसो आउनु तथा हामीले खाने खाद्य पदार्थ मुसाले खानु नौलो कुरा होइन । बनाएर तयारी अवस्थामा राखिएका खाना मुसाले खाइदिन्छ । भान्सामा आउने मुसाका कारण पनि हामी अस्वस्थ हुन सक्छौं । भान्सा स्वस्थ भए मात्र हामी स्वस्थ हुन सक्छौं ।

त्यसैले, घर र भान्सामा आउने मुसालाई सामान्यरूपमा लिनु हुँदैन । घर तथा भान्सामा कुद्ने मुसा सङ्क्रमित पनि हुन सक्छ । सङ्क्रमित मुसाले रोग सार्ने सम्भावना हुन्छ ।

मुसाले ल्याउने स्क्रब टाइफस

मुसाबाट ‘स्क्रब टाइफस’ जस्तो कीटजन्य रोग सर्न सक्छ । यो रोग नेपालमा पनि देखिन थालेको छ । स्क्रब टाइफस सर्ने सम्भावना वर्षात्को समयमा बढी हुने भए पनि मुसाबाट यो रोग सबै मौसममा सर्ने सम्भावना हुन्छ । त्यसैले मुसाबाट टाढा रहनुपर्छ ।

मुसामा ‘माइट’ नामक कीर्ना हुन्छ । विभिन्न किसिमका कीर्नामध्ये यो एक हो । सङ्क्रमित माइट कीर्नाले टोकेको अवस्थामा मात्र व्यक्तिमा स्क्रब टाइफस हुन्छ । मुसामा हुने यस्ता माइट कीर्नालाई आँखाले देख्न नसक्ने भएकाले भान्सामा छरिएर रहेका हुन सक्छन् र तिनले व्यक्तिको शरीरमा पनि सहजै प्रवेश गरी टोकेर सङ्क्रमित पार्न सक्छन् । यस्ता कीर्ना उपियाँभन्दा पनि साना (०.२ देखि ०.४ मिलिमिटर सम्मका) हुने भएकाले आँखाले देख्न सकिँदैन ।

भान्सामा भएका खाद्य पदार्थमा मुसो दौडिएको हुन सक्छ । त्यसरी दौडिएको मुसामा रहेका सङ्क्रमित कीर्ना खाद्य पदार्थमा खसेका हुन सक्छन् । यसरी खसेका कीर्ना हातले समाउँदा हातबाट शरीरमा हिँड्ने तथा टोकेर रोग सार्ने सम्भावना हुन्छ । यी कीर्ना हात–खुट्टाका कापमा बस्ने सम्भावना बढी हुन्छ; छाती र पेटमा प्रवेश गर्ने सम्भावना बढी हुन्छ ।

लक्षण र जोखिम

व्यक्तिमा स्क्रब टाइफस भए–नभएको लक्षणका आधारमा थाहा पाउन सकिन्छ । स्क्रब टाइफस भएको अवस्थामा सङ्क्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउँछ । ज्वरो १०४ डिग्रीभन्दा धेरै आउन सक्छ । स्क्रब टाइफस भएकाको शरीरमा भरर्र बिमिरा आउने, शरीर तथा हाडजोर्नी दुख्ने, विभिन्न भागका ग्रन्थी सुन्निनेजस्ता समस्या हुन्छन् । स्क्रब टाइफस भएको अवस्थामा आँखा राता–राता हुने, शरीरमा खलखल पसिना आउनेजस्ता लक्षण पनि देखिन्छन् । सङ्क्रमणका कारण श्वास–प्रश्वासमा असहजता हुन सक्छ । यस्तो अवस्थामा खेलाँची गर्नु हुँदैन ।

सङ्क्रमित माइट कीर्नाले व्यक्तिको शरीरमा टोक्दा बनेका घाउमा काला पाप्रा देखिन्छन् । यस्तो अवस्थामा घाउ चिलाउँछ । चिलाएपछि कालो पाप्रा बन्छ । यसरी देखिएका काला पाप्रालाई ‘स्कार’ नामले चिनिन्छ । सङ्क्रमित कीर्नाले टोकेका शरीरका सबै भागमा स्कार नदेखिन सक्छ । शरीरमा यस्ता लक्षण देखिएको अवस्थामा स्वास्थ्यजाँच गराउनु पर्छ । स्वस्थ्यजाँच नगराएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ । यसतर्फ सजग हुनु आवश्यक छ ।

मुसामा पाइने सङ्क्रमित कीर्नाले टोकेको अवस्थामा शरीरमा सङ्क्रमण फैलने सम्भावना प्रबल हुन्छ । यसरी सङ्क्रमण फैलँदा कलेजो, मिर्गौलाजस्ता अङ्गमा असर पुगी शारीरिक अङ्गले सहजरूपमा काम गर्न सक्दैनन् । र, व्यक्तिको ज्यानै जानेसम्मको जोखिम हुन्छ ।

उपचारपछि ठीक हुन्छ

बेलैमा समस्याको पहिचान गरेर उपचार गर्नाले स्क्रब टाइफसको निदान गर्न सकिन्छ । उपचार गर्दा ४८ घन्टासम्ममा ज्वरो पनि धेरै कम हुन्छ । मुसामा हुने सङ्क्रमित कीर्नाले टोकेको अवस्थामा चिकित्सकको सल्लाहमा ‘डक्सिसाइक्लिन’ नामक औषधि प्रयोग गर्न सकिन्छ ।

सङ्क्रमित मुसाको कीर्नाले टोकेर स्क्रब टाइफस भएका बिरामी अस्पतालमा आउने गरेका छन् । ‘डक्सिसाइक्लिन’ पनि बजारमा सहजै पाइन्छ र यो सस्तो पनि छ । तर, लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।

सामान्यतः आठ वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलालाई सङ्क्रमित मुसाको कीर्नाले टोकेको खण्डमा भने चिकित्सकको सल्लाहमा ‘एजिथ्रोमाइसिन’ नामक औषधि प्रयोग गर्न सकिन्छ ।

यसरी गर्नाेस् भान्सामा मुसाको नियन्त्रण

मुसामा सधैंजसो कीर्ना हुन सक्छन् । तर, गर्मी मौसममा शीतलताका निम्ति मानिस घरबाहिर सुत्न सक्छन् । घरबाहिर सुत्दा मुसाका कीर्नाको पहुँच सहज हुन्छ । घरभित्रको तुलनामा मुसा घरबाहिर नै बढी हुने भएकाले कीर्ना पनि बाहिरै हिँडिरहेका हुन सक्छन् । भान्सामा त जोगिनुपर्छ नै, घरबाहिर सुत्दा पनि राम्रोसँग लुगा टक्टक्याएर तथा घर बढारकुँडार गरेर मात्रै सुत्नुपर्छ ।

भाँडाकुँडा पनि राम्रोसँग सफा गर्नुपर्छ । खाद्य पदार्थ पनि राम्रोसँग पखालेर तथा सफा गरेर मात्रै खानुपर्छ । खाद्यवस्तुलाई राम्रोसँग छोपेर व्यवस्थित गर्नुपर्छ । भान्सामा व्यक्तिको धेरै चहलपहल हुने हुनाले भान्सामा मुसाबाट यस्ता सङ्क्रमण सर्ने सम्भावना बढी नै हुन्छ । रोक्ने उपायहरू अपनाउनुपर्छ ।

समस्या गाउँमा बढी

गाउँघरमा धान, मकै, कोदोजस्ता खाद्यान्न राखेको ठाउँ नजिकै मानिस सुत्ने चलन हुन्छ । त्यसैकारण सहरको तुलनामा गाउँमा बस्ने व्यक्तिलाई ‘स्क्रब टाइफस’ हुने सम्भावना बढी नै हुन्छ । नेपालको सन्दर्भमा पहाडी जिल्लामा बसोबास गर्ने व्यक्ति स्क्रब टाइफसको समस्या लिएर अस्पताल बढी पुग्ने गरेका देखिन्छन् ।

पहाडी जिल्लाबाट अस्पताल पुग्ने व्यक्तिमा स्क्रब टाइफसको समस्या बढी भेटिने गरेको छ । वर्षातको मौसमा टेकु अस्पतालमा यस्ता समस्या लिएर दर्जनभन्दा बढी बिरामी आइपुग्छन् । कीर्नाले टोकेको खण्डमा इन्सेफलाइटिस, मेनेन्जाइटिस आदि समेत हुन सक्छ । बालबालिकालाई यस्ता कीर्नाले टोकेको अवस्थामा ‘एक्युड इन्सेफलाइटिस सिन्ड्रम’ हुने सम्भावना हुन्छ ।

लेखक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटमा संयोजक छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)