पाको उमेरलाई यसरी बनाऔं सहज

होलिस्टिक संवाददाता

पाको उमेरका व्यक्ति शारीरिक, मानसिक, आर्थिक र सामाजिकरूपमा कमजोर तथा असुरक्षित भएको महशुस गर्छन् । पाको उमेरका अधिकाङ्श व्यक्ति आश्रित हुने भएकाले सहयोग र सहानुभूति खोज्छन् । अर्कातिर आफ्नो हिजोको इज्जत–प्रतिष्ठामा आँच आएको खण्डमा मन दुःखाउने प्रवृत्ति हुन्छ । यसमा परिवार तथा समाज पनि सचेत हुनु आवश्यक छ ।

राज्यले पाका उमेरका व्यक्तिलाई सुरक्षा र प्रोत्साहन गर्नु आवश्यक छ । पुराना आफ्ना चामत्कारिकता र आत्मकथा भन्न रुचाउने कालखण्ड हो व्यक्तिको पाको उमेर । यो उमेरमा कतिपयले त आफ्ना पुराना घटना र अनुभवलाई पुस्तकका रूपमा समेत प्रकाशित गर्छन् । पाको उमेरका व्यक्तिलाई पेशाअनुसार निवृत्त जीवनका रूपमा परिभाषित गर्ने गरेको पाइन्छ । कुनै पेशाबाट एउटा उमेरमा अवकाश हुन्छ भने कुनैमा अर्कै उमेरसमूहमा अवकाश हुन्छ । यो विषय पेशाअनुसार फरक पर्छ ।

नेपालको सन्दर्भमा सामान्यतः ६० वर्ष हाराहारीको उमेरसमूहलाई ‘रिटायर्ड लाइफ’ का रूपमा परिभाषित गरिन्छ । ६० कटिसकेकालाई पाको व्यक्तिका रूपमा चिनिन्छ । त्यसैले नेपालको सन्दर्भमा ६० नाघेका व्यक्तिलाई प्रौढ मान्न सकिन्छ ।

सामाजिक कार्यमा सक्रियता

पाको उमेरमा घरमै बसिरहने तथा सामान्य व्यायाम र हिँडडुल पनि नगर्ने गर्दा शारीरिक तथा मानसिक तन्दुरुस्तीमा असर पुग्न सक्छ । यसा हुँदा व्यक्तिको सक्रियतामा समेत समस्या निम्तन्छ । त्यसैले नेपालमा (विशेषगरी शिक्षित व्यक्ति) रिटायर्ड लाइफपछि सामाजिक कार्यमा सक्रिय भएका देखिन्छन् ।

यसरी सामाजिक सेवा÷कार्यमा सक्रिय भएको खण्डमा व्यक्तिलाई शारीरिक तथा मानिसिक रूपमा स्वस्थ रही सक्रिय हुन मद्धत पुग्दछ । यसरी सक्रिय नै रहे तापनि प्राकृतिकरूपमा हुने मानसिक एवम् शारीरिक क्षयीकरण त रोकिँदैन तर सन्तुलित रहन भने निकै मद्धत पुग्छ ।

व्यायाम

दैनिक योगाभ्यास, व्यायाम गर्नाले शरीरका माङ्शपेशी र हाडजोर्नी बलियो राख्न मद्धत पुग्छ । पाको उमेरमा यस्ता चाल दिने किसिमका व्यायाम आवश्यक हुन्छ ।

पाको उमेरमा कडा किसिमका व्यायाम भने नगर्नु नै उचित हुन्छ । कडा किसिमका व्यायाम गर्नाले मष्तिष्काघातको सम्भावना हुने भएकाले त्यसो गर्नु उचित हुँदैन । पाको उमेरमा कडा किसिमका व्यायाम गर्नाले हड्डी भाँचिने, सड्कनेजस्ता समस्या हुन सक्छन् ।

खानपानमा सजगता

पाको उमेरको खानपानमा सकेसम्म कार्बोहाइड्रेड, घिउ–तेलजस्ता चिल्ला पदार्थ र चामलको भात कम खानु उचित हुन्छ । सुगर बढ्ने तथा शिरा र धमनी (रक्तनली) बाक्लो हुने डर भएकाले रक्तसञ्चारमा असहजता आउन सक्छ । त्यसैले पाको उमेरका व्यक्तिले खानपानमा निकै ध्यान दिनुपर्छ ।

पाको उमेरमा सागसब्जी प्रशस्त खानुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । फलफूल, रोटी, मकै, गहुँका परिकार खानु उचित हुन्छ । सकेसम्म प्रशोधित खानपान गर्नु हुँदैन । चिया–कफीले मष्तिष्क सक्रिय गराउने भएकाले निद्रा नलाग्न सक्छ । त्यसैले चिया–कफी पनि सकेसम्म कम खानु वा नखानु नै उचित हुन्छ ।

मासु पनि कम

पाको उमेरमा माछा–मासु कमै खानु उचित हुन्छ । खसी, राँगा, बङ्गुरजस्ता प्राणीको मासु सकेसमम नखाएकै राम्रो । रातो मासुले कोलेस्टोरेल बढाउँछ । कुखुरा र माछा भने कम मात्रामा खान सकिन्छ । माछा–मासु खाँदा सँगसँगै उमालेको सागसब्जी पनि सन्तुलितरूपमा खानुपर्छ; जसले कब्जियतबाट बचाउँछ ।

शक्ति कम हुँदा बोली पनि कम

उमेर पाको हुँदै जाँदा व्यक्तिमा सुँघ्ने, सुन्ने, स्वाद लिने शक्ति पनि कम हुँदै जान्छ । स्पस्टरूपमा चेतन दिने शक्ति पनि कम हुन्छ ।
त्यसैले पाको उमेरका व्यक्तिले वादविवाद गर्नुभन्दा अरुका कुरा सुनेर निर्णय लिनु नै उचित हुन्छ । पाको उमेरमा प्राकृतिक कारणले नै मष्तिष्कका स्नायु गुजुल्टिएर बसेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)