सुन्दरी सुगरिकाको सङ्घर्ष

केदार गौतम/शङ्कर क्षेत्री

सन् १९९४ देखि नेपाली संस्कृतिका क्षेत्रमा एउटा फरक र नयाँ अभ्यासको थालनी भयो, त्यो हो– ‘मिस नेपाल’ प्रतियोगिता । यो प्रतियोगितालाई नेपाली समाजको एक हिस्साले निरन्तर विरोध गर्दै र असहमति जनाउँदै आइरहेको छ भने अर्को हिस्सा त्यसका पक्षमा उभिँदै आएको छ । १९९४ मा नेपालमा आयोजित ‘मिस नेपाल’ को पहिलो प्रतिस्पर्धाबाट रुबी रानाले ‘मिस नेपाल’ को ताज पहिरिइन् । यो सिलसिला निरन्तर जारी नै छ । पछिल्लो ‘नेपाल सुन्दरी’ का रूपमा २०१९ मा अनुष्का श्रेष्ठले ‘मिस नेपाल’ को ताज पहिरिएकी छन् ।

यही श्रृङ्खलाको निरन्तरताबीच सुगरिका केसीले तेह्रौं ‘मिस नेपाल’ का रूपमा सन् २००५ मा पहिरिएको ताज २००६ भरि नै कायम रह्यो ।

यही श्रृङ्खलाको निरन्तरताबीच सुगरिका केसीले तेह्रौं ‘मिस नेपाल’ का रूपमा सन् २००५ मा पहिरिएको ताज २००६ भरि नै कायम रह्यो । बाल्यकालदेखि नै समाजसेवा र सामाजिक गतिविधिप्रति रुचि राख्ने सुगरिका ‘मिस नेपाल’ बनेपछि त सामाजिक सेवामा झन् सक्रिय हुने नै भइन् । त्यो यात्रा कायमै छ । ‘मिस नेपाल’ को ताजलाई शारीरिकभन्दा बौद्धिकता मापनको परिणाम ठान्छिन् उनी । पाँच फिट एघार इन्च उचाइकी र ‘स्लिम’ शारीरिक बनावटकी सुगरिकाको जीवनकथा–

छ महिनामै बज्रपात : एकल आमाकी एक्ली सन्तान

२९ कात्तिक, २०४३ मा ललितपुरको धापाखेलमा जन्मिएकी हुन् सुगरिका । मध्यमवर्गीय परिवारमा जन्मिए तापनि बाल्यकालमा आर्थिक अभाव भोग्नु परेन । आमा कर्मचारी सञ्चय कोषको जागिरे भएकाले अभावको अनुभूति गर्नु नपरेको उनी बताउँछिन् ।

नाम जुराइको पनि रोचक कथा छ; बुबा–आमाका नामको सुरु अक्षर जोडेर आफ्नो नाम जुराइएको सुगरिका बताउँछिन् । सुदर्शनकुमार र गमलाबीच लगनगाँठो कसिएको दोस्रो वर्ष सुगरिकाको जन्म भयो । बुबाको नामबाट ‘सु’ र आमाको नामबाट ‘ग’ टिपेर ‘रिका’ थपेपछि आफ्नो नाम बनेको उनले सुनाइन् । नाम ‘सुगरिका’ भए पनि सञ्चार माध्यमले ‘सुगारिका’ लेखिदिएकामा उनको दुःखेसो छ ।

सोचेको त सबैलाई कहाँ पुग्छ र ! सुगरिका छ महिनाको उमेरमा टेक्दाटेक्दै नसोचिएको बज्रपात सहन उनको परिवार बाध्य भयो । बुबा सुदर्शनले आमा गमला र उनलाई एक्लै पारेर छाडिदिए । ‘एकल आमाकी एक्ली सन्तान’ बनिन् सुगरिका । न सानी छोरीले बुबाको काखमा लुट्पुटिन पाइन् न त उनका बुबाले नै छोरीलाई न्यानो काखमा खेलाउन पाए; न बुबाले छोरी बामे सरेको हेर्न नै पाए । भावुक हुँदै सुनाइन्– ‘म छ महिनाकी हुँदै बुबा गुमिहाल्नु भएछ, त्यसपछि आमाले नै मप्रति बुबा–आमा दुवैको भूमिका निभाउनुभयो । एकल आमाले हुर्काएकी एक्ली सन्तान हुँ ।’

‘ती दिन आमाका निम्ति कम चुनौतीपूर्ण थिएनन्,’ विगत कोट्याँदै सुगरिकाले भनिन्– ‘एक त मेरो स्याहार–सुसार र हेरचाह गर्नुपर्ने दायित्व, अर्कातिर जीवन र दैनिकी चलाउनका लागि जागिर धान्नैपर्ने बाध्यता– निकै सकसपूर्ण थियो आमाको भूमिका ।’

‘छन त हजूरबुबा–हजूरआमा, काका–काकीलगायतका परिवारजन हुनुहुन्थ्यो,’ भावुक हुँदै उनले भनिन्– ‘उहाँहरूले पनि मलाई राम्रै साथ–सहयोग पुर्‍याउनु भएकै पनि हो तर बुबाविना एक्ली आमाको सन्तान हुनुको बेग्लै दर्द र पीडा हुँदोरहेछ, जुन कुरा भोग्नेलाई मात्र थाहा हुन्छ ।’ ‘तैपनि आमाले कहिल्यै बुबा नहुनुको पीडा र अभावको महशुस भने मलाई हुनै दिनुभएन, मेरा निम्ति जतिबेला जे चाहिन्थे, सबै पुर्‍याउनुभयो’– उनले भनिन् ।

आमाबाटै सिकिन् जीवन–सङ्घर्ष

जीवनयात्रामा कयौं ठेस लाग्छन् । बुबाको निधनपछि पनि त आमा–छोरीको यात्रा अघि बढ्नु नै थियो, बढ्दै गयो । महिलाको सशक्तता आमाबाटै देखेको र सिकेको सुनाउँदै सुगरिका भन्छिन्– ‘महिला कतिसम्म सशक्त हुन सक्छन् भन्ने कुरा आमाबाटै सिकेकी हुँ ।’ हुर्काइसँगसँगै सुगरिकामा आत्मविश्वास पनि चुलिँदै गयो । ‘आमाले मलाई बडो सङ्घर्ष गरेर हुर्काउनु भयो; ममा पनि केही गर्न सक्छु भन्ने भावनाको विकास हुँदै गयो,’ केसीले भनिन्– ‘इन्डिपेन्डेन्ट हुनुको आवश्यकताबोध हुँदै गयो, सङ्घर्ष गरेर जिउन सिक्नुपर्छ भन्ने ज्ञान बढ्दै गयो ।’

श्रीमान् गुमाउँदा गमला २२ वर्षकी जवान थिइन् तैपनि अर्को विवाह गर्ने सोच उनले कहिल्यै बनाइनन् । आफूलाई छोरीमै समर्पित गरिरहिन् । छोरी हुर्काएर असल र सक्षम बनाउनु नै उनको सपना थियो । दोस्रो विवाह गर्ने सोचसम्म नबनाई आफूलाई नै हुर्काउन र स्थापित गर्न आमा समर्पित भएकामा सुगरिका गौरवान्वित र कृतज्ञ छिन् । उनी सम्झन्छिन्– ‘सङ्घर्षपूर्ण जीवन जिउने अठोट गर्दै आमाले ठूलो त्याग गर्नुभयोे, सानैमा बुबा गुमाएकी मैले आमाको काखमा पनि हुर्कन नपाएको भए हालत के हुथ्यो होला !’

मिडियाप्रेम र एफएम क्रेज

आमा शिक्षित भएकैले आफू यहाँसम्म आइपुग्न सकेको उनको ठम्याइ छ । आमाकै कारण आफूले शिक्षाको महŒव र समाजप्रतिको दायित्व बुझ्न सकेको उनी बताउँछिन् । पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर उनी पढाइकै कारण जान्ने र सिक्ने मौका पाएको बताउँछिन् । बालदीक्षा सदन हाइस्कुलबाट कक्षा एकदेखि एसएलसीसम्म अध्ययन गरेकी सुगरिका आधारभूत शिक्षाको राम्रो जग बसेकैले अघि बढ्न सकिएको ठान्छिन् ।

आमाको रहर थियो– छोरीलाई डाक्टर बनाउने । सुगरिकाको झुकाव देख्दा छोरीलाई डाक्टर बनाउने गमलाको रहर क्रमशः टर्दै गयो । कला क्षेत्रले ध्यान तान्न थाल्यो; डाक्टरी पढ्न इच्छा लागेन सुगरिकालाई । युनाइटेड एकेडेमीबाट विज्ञानमा ‘प्लस टु’ गरिन् । छोरी डाक्टर बनेको हेर्ने आमाको रहरकै कारण उच्च माविमा विज्ञान पढेकी थिइन् । स्कुलदेखि नै सिर्जनात्मक–सामाजिक क्रियाकलापमा सक्रिय भैसकेकी सुगरिकाको ध्यान डाक्टरीतिर गएन ।

स्कुल–कलेजमा आयोजना हुने वक्तृत्वकला, नृत्य, खेलकुद, हाजिरीजवाफमा भाग लिन्थिन् र प्रायः सबैमा पदक समेत हात पार्थिन् । ‘बोल्ने कार्यक्रममा जहिल्यै नम्बर वनमा परिहाल्थें,’ रोमाञ्चित हुँदै केसी सम्झन्छिन्– ‘जब स्टेज र माइक्रोफोन देख्थें, गएर बोलिहालुँ जस्तो लाग्थ्यो ।’

उनी कथा–कविता लेख्थिन् । अरुका कुरा सुन्न रुचाउने र कथा भन्न मन लाग्ने स्वभाव थियो । सानैदेखि साथीभाइ, गुरुलगायत सबैसँग घुलमिल हुन सक्ने स्वभाव थियो । भनौं, त्यो उनको खुबी नै थियो । सानैदेखि घरकी मात्र होइन, स्कुल–कलेजमा समेत साथीभाइ र गुरुहरूकी प्यारी थिइन् ।

रेडियो खुबै सुन्थिन् । नेपालमा एफएमहरूको ‘स्वर्णयुग’ भन्दा पनि फरक नपर्ने समय थियो । अरुहरू रेडियोमा बोलेको सुन्दा सुगरिकालाई पनि हुटहुटी जाग्थ्यो । रेडियोमा बोलेरै छाड्छु भन्ने भाव जाग्थ्यो । रेडियोकलाबारे अभ्यास गर्न थालिन् । मासमा बोल्ने अभ्यास भैसकेकै थियो, डर–धक थिएन । कार्यक्रमहरूले आत्मविश्वास बढाइसकेकै थियो ।

रेडियोमा बोल्ने अवसर खोज्न थालिन् । बाह्रौं कक्षामा अध्ययनरत छँदा ‘क्लासिक एफएम’ ले भ्याकेन्सी खुलायो । आवेदन दिइन् र अन्तर्वार्ताबाट छनोट भइन् । ‘छनोट हुनेमध्ये म नै सबभन्दा कम उमेरकी थिएँ,’ केसीले भनिन् । रेडियोमा बोल्ने इच्छा पूरा हुने भएपछि फुरुङ्ग परिन् । तर, नयाँ एफएम, प्रशारण आरम्भ नै भएन ।

नेसनल कलेज अफ टेक्निकल साइन्सेजमा बीएस्सी पढ्न थालिन् । इच्छाअनुरूपकै ‘वातावरण’ विषयलाई मुख्य बनाइन् । कलेज ओहोर–दोहोर गर्दा माइक्रोबसमा ‘नेपाल एफएम’ घन्किइरहन्थ्यो । यात्रासँगै सोच्थिन्– ‘मेरै आवाजमा घन्टैपिच्छे समाचार बज्दो हो भने कति मजा आउँदो हो !’

पहिलो वर्षमा अध्ययन गर्दै गर्दा एक दिन कलेज ड्रेसमै ‘नेपाल एफएम’ को स्टुडियोमा पुगिन् । स्टेसन म्यानेजर सिर्जन नेपाललाई भेटिन् । आफ्नो बारेमा सररर्र बताइन् । स्टेसन म्यानेजरले पत्याइहालेनन् । ‘मलाई अवसर दिनैपर्छ, काम गर्न सक्छु’– उनले जिद्धी नछाडेपछि स्टुडियो म्यानेजरले अन्तर्वार्ता लिए । एफएमले उनलाई ‘इन्टर्नसिप’ मा राखेर रेडियोमा काम गर्ने अवसर दियो । रेडियोमा बोल्ने इच्छा ‘क्लासिक एफएम’ ले पूरा गरिदियो । त्यस दिनदेखि सुगरिका आम सञ्चार माध्यममा निरन्तर क्रियाशील छिन् ।

मिस नेपाल नै टर्निङ प्वाइन्ट

कलेज जाने र एफएममा काम गर्ने– यसैगरी चलिरहेको थियो दैनिकी । ‘मिस नेपाल’ प्रतियोगिताबारे थाहा पाइन् । सञ्चारकर्मी भएपछि झन् बढी बुझ्ने मौका मिल्ने नै भयो । सोचिन्– ‘अग्ली पनि छु, शारीरिक बनावट पनि ठीकै छ र बौद्धिक क्षमता पनि कम छैन ।’
‘एक्ला बुबा या एक्ली आमाले हुर्काएका छोराछोरी बिग्रन्छन्’– घरीघरी समाजमा सुनिने यस्ता कुराले उनलाई घोचिरहन्थे । एक्ली आमाले हुर्काएकी छोरी भएकैले यस्ता कुरा नराम्ररी बिझाउँथे । यी भ्रमलाई क्षमता र पौरखले चिरिछाड्ने सङ्कल्प थियो । कुनै न कुनै कर्म वा क्षेत्रबाट दह्रै सफलता हात नपारी हुँदैन भन्नेमा थिइन् ।

‘मिस नेपाल’ को भीडन्त राम्रो अवसर हुन सक्छ भन्ने लाग्यो । ‘मिस नेपाल’ को बाटोबाटै समाजसेवाको राजमार्ग खुल्न सक्छ भन्ने निष्कर्षमा पुगिन् । अलिअलि डराउँदै र थोरै धकाउँदै आमासँग सोधिन्– ‘मिस नेपालमा भाग लिऊँ भन्ने लागिरा’छ, के गरु ?’ मुस्कानका साथ आमाले जवाफ फर्काइन्– ‘मैले के भनुँ र ! सक्छ्यौ भने जाऊ न त ।’

अब केले नै पो छेक्थ्यो र ! जुटिहालिन् तयारीमा । ‘टिनएज’ नकट्दै, १८औं वसन्त पार गर्दानगर्दै सुगरिकाको शिरमा सजियो ‘मिस नेपाल’ को ताज । नेपाली समाज न हो । कयौंले तात्तातै विरोध जनाए त कतिले छेउ–कुनाबाट कुरा काटे । समाजको ठूलै तप्काले ‘मिस नेपाल’ लाई ‘विकृति’ का रूपमा बुझिरहेको थियो, त्यसै रूपमा अथ्र्याइरहेको थियो । धेरैले नकारात्मक रूपमा पनि लिए ।

भनिन्छ, ‘अँध्यारोपछि अवश्य नै उज्यालो आउँछ, केवल धैर्यता गर्न सक्नुपर्छ ।’ सुगरिकाको जीवनमा पनि ‘सुनौलो मोड’ आयो । ‘मिस नेपाल, २००५’ सुगरिकाको जीवनकै ‘टर्निङ–प्वाइन्ट’ नै थियो ।

सुनौलो मोडसँगै चुनौती

‘मिस नेपाल’ को छनोट चरणबाट क्रमशः अगाडि बढ्दै गइन् र ‘फाइनल’ प्रतिस्पर्धासम्म पुगिन् । अन्ततः प्रतिस्पर्धीहरूलाई उछिन्दै ‘मिस नेपाल’ को ताज पहिरन सफल भइन् । ताज पहिरिइरहँदा आँखामा आँशु छचल्कियो । हर्षाश्रुको वर्षा भयो । त्यसबेला उनले धेरै कुरा देखिनन्, रिमझिम उज्यालो र दर्शक दीर्घाको भीडभाडमाझ हराइरहेकी आमामाथि नजर प¥यो । आमा पनि सुगरिका झैं आँशु झादै रोइरहकी देखिइन् ।

सुगरिका भन्छिन्– ‘कुनामा बसेर आँशु झार्दै चिच्याइरहनु भएकी आमालाई स्टेजबाटै देखें । बुबालाई सफलता देखाउन नपाउँदा भने मन चस्किइरह्यो ।’ सुगरिकाको जीवनले नयाँ मोड लियो । आनन्द र खुशी त मिल्ने नै भयो, वास्तविक परिचय समेत दिलायो । र, ‘मिस वल्र्ड’ को प्रतियोगितासम्म डोर्‍यायो ।

‘मिस नेपाल’ प्रतियोगिता ‘शारीरिक सुन्दरताको मापन’ नभई बौद्धिक क्षमता र अभिव्यक्ति–कलाको परीक्षण भएको कुरामा सुगरिकाले पटक–पटक जोड दिइन् । केवल ‘शारीरिक सुन्दरताको मापन’ नै ‘मिस नेपाल’ प्रतियोगिता ठानिने र सोहीरूपमा प्रचार हुने गरेकाले विभिन्न क्षेत्रबाट भएको विरोधलाई आफूले गम्भीररूपमा ग्रहण गरेको तर विरोध गर्नेहरूप्रति पटक्कै चित्त नदुखाएको उनी बताउँछिन् । त्यतिबेलाका अग्रणी नेतृहरू हिसिला यमी, फम्फा भुसाल, शशी श्रेष्ठ, अञ्जना विशङ्खे आदिको अगुवाइमा ‘सिरियस्ली’ नै ‘मिस नेपाल’ प्रतियोगिताको विरोध गरिएको उनलाई याद छ । ‘वास्तवमा मिस नेपाल शारीरिक सुन्दरता मापनको प्रतियोगिता थिएन,’ सुगरिका भन्छिन्– ‘यदि त्यस्तै हुँदो हो भने म विजेता नहुन सक्थें ।’

परिस्थितिवश अर्को वर्ष ‘मिस नेपाल’ प्रतियोगिता आयोजना हुन सकेन । एक वर्षका लागि चुनिएकी सुगरिका नै दुई वर्षसम्म ‘मिस नेपाल’ कायम रहिन् । ताज कायम रहँदाको अवधि सर्वसाधारणले बुझेजस्तो ‘मालामाल हुने’ समय होइन रहेछ; केवल समाजसेवा गर्ने र सिक्ने अवधि रहेछ । ‘मिस नेपाल बनेकै दिनदेखि ‘सेलिब्रिटी’ जस्तो बन्न पुगें, अघिल्लो दिनसम्म सार्वजनिक यातायात र फुटपाथ प्रयोग गरिरहेकी मैले भोलिपल्टदेखि त्यसरी हिँड्न नसक्ने स्थिति बन्यो,’ मिस नेपाल रहँदाको अनुभूति शेयर गर्दै सुगरिका भन्छिन्– ‘आफ्नै सवारी साधन प्रयोग गर्ने हैसियत थिएन, सार्वजनिक सवारी प्रयोग गर्दा विभिन्न कठिनाइ थिए त्यसैले ‘मिस नेपाल छोरी’ को पकेट मनी र ट्याक्सी खर्च धान्न मात्रै पनि आमाले दुई वर्षसम्म निकै ठूलो आर्थिक बोझ थाम्नुपर्‍यो ।’

‘मिस नेपाल’ को ताज रहुञ्जेल कुनै कम्पनी या उत्पादनको ‘ब्राण्ड एम्बेस्डर’ नबनेकाले आर्थिक लाभ हुने कुरै भएन । उनी सम्झन्छिन्– ‘ती दुई वर्ष सामाजिक सेवामै मात्र सीमित नरहेको भए शायद अहिले यहाँसम्म आइपुग्न सक्दैनथें कि !’

उनले विश्व वन्यजन्तु कोषको युवा संरक्षण दूत, नेपाल अर्बुद्ध रोग निवारण सङ्घको सद्भावना दूत, स्वास्थ्य, शिक्षा, बालबालिका संरक्षण र उत्थानका अनेकौं क्षेत्र तथा लागू पदार्थ, दुर्व्यसनी विरुद्धका दर्जनौं क्षेत्रमा आबद्ध भएर सामाजिक काम गरिन् । बौद्धिकता त तिखारियो नै राष्ट्र र समाजलाई नजिकबाट चिन्ने अवसर समेत पाइन् । आत्मविश्वास झन् चुलियो, व्यक्तित्व विकासका अनेकौं कला सिकिन् ।

बक्स– १

दुई वर्ष घरमै : स्तनपान, सन्तानका लागि बरदान !

छोरो जन्मिएपछि सुगरिका दुई वर्षसम्म बाहिरी कार्यक्रमहरूमा निस्किइनन्, छोराकै स्याहारसुसारमा व्यस्त भइन् । ‘दुई महिनाकी हुँदादेखि नै मैले तिमीलाई छाड्नुपरेको थियो, तिमीले नातिलाई त्यसरी नछाड्नू’– आमा गमलाले उनलाई भनेकी थिइन् ।

बरु गर्भवती भएको आठ महिनासम्म कार्यक्रम सञ्चालनलगायतका काममा खटिरहेको उनले सुनाइन् । लगातार दुई वर्षसम्म काममा ननिस्कँदा आफू कमजोर भएको, समाज र बजारले बिर्सेको महशुस हुन्थ्यो उनलाई । फेरि पेशामा फर्केर स्थापित हुनै पो नसक्ने हुँ कि भनेझैं लाग्दा यदाकदा ‘फ्रस्टेटेड’ भएको पनि भान हुन्थ्यो ।

नियमित दिनचर्या र पेशाबाट कट्नु परेको पीडास्वरूप कहिलेकहीं त श्रीमान्सँग पनि ठाकठुक पर्ने गरेको सुनाउँदै भनिन्– ‘ज्यादै बोर लाग्दा कहिलेकहीं श्रीमानलाई घुर्क्याउँथें, उहाँ सम्झाउनुहुथ्यो । काम–व्यवहार बितेको पीडा हुँदा पनि छोराको अनुहार हेरेपछि भने खुशी लाग्थ्यो, आनन्दानुभूति हुन्थ्यो ।’

लामो समय जनचेतनामूलक र सामाजिक जागरणको काममा लागेकी हुँदा स्तनपानको महत्त्व उनलाई राम्ररी थाहा थियो । ‘स्तनपान : सन्तानका लागि बरदान’ भन्ने आदर्श व्यवहारमै लागू गर्न पाउँदा खुशी लागेको सुनाइन् ।

प्रोफेसनल करिअर र इन्कम सोर्स

‘मिस नेपाल’ नबनेको भए आफू क्रियाशील सञ्चारकर्मी नै बन्ने उनी बताउँछिन् । एफएमहरूका अतिरिक्त टेलिभिजन कार्यक्रम समेत चलाइसकेकी थिइन् । ‘मिस नेपाल’ पछि व्यक्तिगत हिसाबले अघि बढ्न अनेकौं अवसरले उनलाई पछ्याए । जिन्दगीका सुनौला ढोका खुल्दै गए, अवसरहरू जुट्दै गए । ‘फिल्म खेल्ने अफर पनि आए,’ उनी भन्छिन्– ‘फिल्मतिर रुचि भएन, समाजसेवा र आमसञ्चार क्षेत्रमै रमाएँ ।’

सुगरिकाको अभिरुचि, पहिचान र पेशा हो– उद्घोषण र प्रशिक्षण । उनले काम थालेपछि आमाको आर्थिक भार घट्न थाल्यो । मोटर बेच्ने एक कम्पनीमा जनसम्पर्क व्यवस्थापकका रूपमा काम गरिन् । राम्रो तलब र सुविधा हुँदाहुँदै पनि त्यो ‘जब’ ले सन्तुष्टि दिएन, छाडिदिइन् ।

एक टेलिभिजनमा होस्ट बनेर कार्यक्रम सञ्चालन गर्न थालिन् । एक कलेजमा पुगेर व्यक्तित्व विकासबारे आफ्ना अनुभव विद्यार्थीबीच ‘शेयर’ गरिन् । विद्यार्थीले मन पराए । आफैंले पनि ‘इन्ज्वाई’ फिल गरिन् । कयौं सङ्घ–संस्थाले उद्घोषण तथा सञ्चारबारे तालिमका निम्ति अफर गर्न थाले । भ्याईनभ्याई हुन थाल्यो ।

साथीहरूसँग मिलेर ०६८ मा ‘एक्सन डेभलपमेन्ट सेन्टर’ स्थापन गरिन् । कार्यक्रम सञ्चालन र सञ्चारबारे तालिम दिन थालिन् । करिव तीन वर्षपछि त्यो संस्थाका तीन जना तीनतिर लागे । श्रीमान् सनत न्यौपानेले स्थापना गरेको मिडिया कम्पनीमार्फत सोही कामलाई निरन्तरता दिइन् । व्यवसायपूर्वको योजना, व्यक्तित्व विकास, कर्पोरेट कल्चर, व्यवसायमा गरिने व्यवहार, कर्मचारीले एकापसमा गर्नुपर्ने व्यवहार, एक्स्टर्नल अफेयरजस्ता विषयमा तालिम दिनु उनको मुख्य कर्म हो ।

क्यान्सर केयर नेपाललगायत थुप्रै सङ्घ–संस्थामा आबद्ध भएर क्रियाशील सुगरिकाको रेडियो कार्यक्रम बिहीबार र शुक्रबार बिहान इमेज एफएममा सुन्न पाइन्छ । सामाजिक अभियन्ता, सञ्चार उद्यमी, सञ्चारकर्मी र प्रशिक्षकका रूपमा आत्मसन्तुष्टिका साथै आर्जन पनि राम्रै मिलिरहेको उनी बताउँछिन् ।

बक्स– २

ड्रेसमा मात्रै लाखाैं खर्च

खानामा सोख कम भए पनि पहिरनमा भने शौखिन छिन् सुगरिका । दैनिक बाहिरफेर हिँड्नुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले ‘स्मार्ट’ भएरै हिँड्नुपर्ने ठान्छिन् उनी ।

सुगरिका हल्का पोशाक मन पराउँछिन् । शरीरलाई सुहाउने र कम्फर्टेबल ड्रेस किन्छिन् । राम्रो ‘डे«सिङ सेन्स’ भएकाले श्रीमान्ले पनि आफैं छनोट गरेर श्रीमतीका लागि सरसामान किनेर ल्याइदिँदा रहेछन् । ब्याग, घडीजस्ता सामग्री सनतले नै ल्याइदिने रहेछन् ।

सिजनका प्रायः कपडा एकै पटक किन्छिन् । ‘एक सिजनमा करिव डेढ लाख जतिको कपडा किन्छु,’ उनी भन्छिन्– ‘वर्षमा करिव तीन लाख जति त ड्रेसमै खर्च हुन्छ किनकि कार्यक्रममा डिँड्डुल गर्दा टिपटप त हुनैपर्‍यो ।’

आफूलाई मन परेका कपडा र अरु सामान फुटपाथका पसलमै पनि किन्छिन् । ‘यहीं किन्नुपर्छ भन्ने छैन, कहिले सपिङ मलमा पनि किनिन्छ त कहिले फुटपाथ र वरपरका स–साना पसलबाट पनि लिइन्छ’– उनी भन्छिन् । सुट, घडी, ब्याग भने सकभर ब्रान्डेड नै छनोट गर्छिन् । क्रिमलगायतका कस्मेटिक्स किन्दा भने उनी सचेत हुन्छिन् ।

मेकअप र हेयर स्टाइल कसरी गर्ने भन्नेबारे आफैं जान्दछिन् । कहिलेकहीं साथीहरूसँग पनि सोध्छिन् । हेयर स्टाइल परिवर्तन गर्नुपर्दा चिनजानकै ठाउँमा जान्छिन् ।

वैवाहिक जीवन

१५ मङ्सिर, २०६९ मा भक्तपुरका सनत न्यौपानेसँग सुगरिकाको लगनगाँठो कसियो । सामाजिक कार्यक्रमकै सिलसिलामा विवाहभन्दा चार वर्षअघि सनतसँग भेट भएको थियो । साथीका रूपमा अगाडि बढेको सम्बन्ध प्रेममा रूपान्तरित भएपछि दुवै परिवारको सल्लाहबाट उनीहरू वैवाहिक जीवनमा प्रवेश गरे ।

एक्ली आमालाई छाडेर बुहारीका रूपमा अर्काे परिवारमा भित्रँदाको सुगरिकाको पीडा सकसपूर्ण थियो । आमा गमले नै उल्टै सम्झाइन् । अनिवार्य घटनाक्रमबाट दुःख नमान्न बरु रमाउन प्रेरित गरिन् । आमासँग दुःख–सुख बाँड्न सुगरिका हरेक सप्ताहन्तमा धापाखेल पुग्छिन् । शुक्रबार पुगेर आइतबार फर्कने रुटिनजस्तै छ । ‘बिदाको समय सकभर आमासँग बिताउने प्रयास गर्छु,’ सुगरिका भन्छिन्– ‘उपत्यका बाहिर पुगेको समयमा भने आमालाई भेट्ने अवसर पाइँदैन तैपनि प्रविधिले सजिलो बनाएको छ, भर्चुअल भेटघाट त भैहाल्छ ।’

न उनी विदेश गएर बस्न चाहन्छिन् न त श्रीमान् नै । सुगरिका–सनत दम्पतीमा पटक्कै विदेशमोह छैन । जे सकिन्छ, स्वदेशमै गर्नुपर्छ भन्नेमा उनीहरू दृढ छन् । सनत बिजनेस स्ट्राटेजी मेकर हुन् । उनीहरूका ६ वर्षका छोरा छन् ।

‘तपाईं त सेलीब्रिटी मान्छे, घर–परिवार सम्हाल्न अप्ठ्यारो हुँदैन ?’ प्रश्न खस्न नपाउँदै सुगरिका भन्छिन्– ‘म सेलिब्रिटी होइन, कर्मशील नारी हुँ, कहिल्यै आफूलाई सेलिब्रिटीका रूपमा लिइनँ । सेलिब्रिटी नै ठान्ने हो भने सनतजी पनि त आफ्नो ठाउँमा सेलिब्रिटी नै हुनुहुन्छ । उहाँ असल सहयात्री हुनुहुन्छ । कसरी पर्नु र अप्ठ्यारो ? सबै कुरा सहज छ, सुखद् छ ।’

‘मिस नेपाल’ पछिदेखि उनी प्रायः स्कुटीमा हुइँकिने गरेकी छन् । स्कुटी र मोटर दुवै राखेकी सुगरिका पहिले आफैं मोटर कुदाउँथिन् । छोराको स्तनपान सकिए पछिदेखि भने चालकको सहयोग लिन थालेकी छन् । साह्रो–गाह्रोमा तथा धेरै जाम नहुने समय र ठाउँ पर्दा मोटरमा गुड्ने सुगरिका हतार, जाम र भीडभाडमा अहिले पनि स्कुटीमै हुइँकिन्छिन् ।

व्यस्त दैनिकी, चुस्त खानपान

छोरी, बुहारी, श्रीमती र आमाको भूमिका निभाइरहेकी पूर्व ‘नेपाल सुन्दरी’ को दिनचर्या व्यस्त छ । बिहान पाँचै बजे उठिसक्छिन् । पकाएर ख्वाउने ‘साथीहरू’ भएको बताउँछिन् तैपनि भ्याएसम्म चिया र खाना आफैं पकाउन जाँगर चल्ने सुनाउँछिन् । बिहानै चिया बनाएर सासू–ससुरा तथा श्रीमान्लाई दिन्छिन् र आफू पनि पिउँछिन् ।

एक कक्षामा अध्ययनरत छोरालाई सात बजेसम्म स्कुल पठाइसक्न तयार पार्नु पनि उनको दैनिकी हो । खाना बनाएर परिवारलाई खुवाउन रमाइलो लाग्ने उनी बताउँछिन् । सबै घरै भएका बेला सँगै खाना खाएर काममा निस्कन्छिन् । तर, व्यस्तताका कारण प्रायः सँगै खाना खाने मौका जुर्दैन । सामान्यतः नौ बजेसम्ममा घरबाट निस्किइसक्छिन् ।

दिनभर व्यस्त भएर बेलुकी सात बजेतिर घर फर्कन्छिन् । कार्यक्रम पर्दा त्योभन्दा ढिलो पनि हुन्छ । आफू बढीभन्दा बढी काम गर्न रुचाउने व्यक्ति भएको पटक–पटक दोहोर्‍याउने सुगरिका मन परेकै कम गरेकाले थकित महशुस नहुने गरेको सुनाउँछिन् ।

व्यायम गर्दिनन् तर शारीर ‘फिट एन्ड फाइन’ देखिन्छ । ‘छोरालाई प्रायः उसैका हजुरबा–हजुरआमाले स्याहार्नुहुन्छ त्यसैले बाहिर काम गर्न मलाई सहज छ’– उनी भन्छिन् । सुगरिका शाकाहारी हुन्, माछा–मासु, अण्डा खान्नन् । परिवारका अरुले खाने भएकाले पकाएर भने दिन्छिन् । उनी चाहिँ दाल, भात, तरकारीमै रमाउँछिन् । सकभर घरमै खान्छिन् । मदिराजन्य पदार्थ त परकै कुरा भयो । उनी दूध पिउँदिनन् र घिउ खान पनि मन लाग्दैन । दूधजन्य अरु पदार्थ भने खान्छिन् ।

‘व्यायाम नगर्ने, दूध–घिउ नखाने, माछा–मासु नखाने र मदिराजन्य पदार्थ छुँदै नछुने अनि तपाईंको फिटनेस र सुन्दरताको रहस्यचाहिँ के त ?’ हाम्रो जिज्ञासामा उनको सरल जवाफ छ– ‘म खानाको शौखिन होइन । सक्रियता, समयमै दाल–भात–तरकारीको भोजन अनि एक दाना फलफूल नै काफी छ ।’

ब्यागमा एक–दुई वटा स्याउ, सुन्तला, केही ओखर, काजु, बदाम बोकेर हिँड्ने अनि भोक लाग्दा खाने सुनाउँदै उनले भनिन्– ‘पानी प्रशस्त पिउँछु, खाना भने प्रायः एक छाक मात्र खान्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)