प्रकृतिमा जीवन, यसैको दोहन !

होलिस्टिक संवाददाता

सजीव र निर्जीव सबैको आधार हो, प्रकृति । यसर्थ, मानव जीवन प्रकृतिमै निर्भर छ । बस्ने स्थान र ओत, खाने सामग्री, लगाउने सामग्री मात्र होइन; सास फेर्ने अक्सिजन समेत प्रकृतिबाटै प्राप्त हुन्छन् । अझ मौसम, पर्यावरण, तापक्रम, प्रकाश आदि समेतमा सम्पूर्ण भर प्रकृतिकै हुन्छ । तर, प्रकृतिको सबैभन्दा चेतनशील प्राणी भनिएको मान्छेले नै प्रकृतिको निरन्तर दोहन गरिरहनु चिन्ताको विषय भएको छ ।

नदी–खोलाबाट बालुवा, गिट्टी, ढुङ्गा निकाल्ने; विकास र सडक सञ्जालका नाममा पहाड, खेतबारी र थुम्का–ढिस्काहरूमा जथाभावी डोजर चलाउने; निर्माण र विकासकै नाममा अनि तस्करीका विभिन्न स्वरूपमा वन विनाश गर्ने; यात्रा, पर्यटन र अरु बहानामा बहुमूल्य जडीबुटी विदेशीका हातमा पुर्‍याउने आदिजस्ता कामबाट प्रकृतिमाथि चरम दोहन भैरहेको छ । श्रम गर्न सक्ने उमेरका अधिकाङ्श युवालाई वैदेशिक रोजगारीका नाममा सरकारले नै विदेश खेदिरहेको वर्तमान सन्दर्भमा यहाँका खेतबारी र पाखापखेरा बाँझै रहनाले अर्ग्यानिक खाद्य सामग्रीको उत्पादनमा निरन्तर ह्रास हुनु पनि प्रकृति–दोहनकै अर्को पक्ष हो । यो विडम्बना वातावरण र पर्यावरणको संरक्षणका दृष्टिले समेत निकै नै चिन्ताको विषय हो ।

नुनदेखि सुनसम्म आयात गरेर मात्रै जीविका चल्ने नेपाल र नेपालीको पुरानै बाध्यता आफ्नो ठाउँमा छँदै छ । पेट्रोलियम पदार्थमाथिको परनिर्भरता पनि नौलो कुरा भएन । वर्तमान भूमण्डलीकृत विश्व–सन्दर्भमा लत्ताकपडा, औषधिमूलो र प्रविधि आयात हुनु अनौठो कुरा होइन । चामल, दाल, आलु, प्याज र सागसम्म पनि विदेशबाटै मगाएर खानुपर्ने र कुनै बहानामा आयात रोकिँदा छटपटिनुपर्ने अवस्था भने हाम्रा लागि लज्जाको विषय हो । श्रमशक्ति विदेशमा बेचिरहने अनि दिगो विकासका आधार सुनिश्चित नगरी प्रकृति र पर्यावरणमाथिको दोहन कायमै राख्ने हो भने नेपालीको शिर कहिल्यै माथि उठ्दैन । जडीबुटी र कच्चा पदार्थहरू निरन्तर निकासी गर्ने अनि त्यसैबाट बनेका सामग्री आयात गर्ने क्रम जारी राख्ने हो भने समृद्धि कदापि सम्भव हुँदैन ।

हो, विकास निर्माण गर्नुपर्छ । युवाहरू विदेश पनि जानुपर्छ । मानवजातिले विश्वमा हासिल गरेका उपलब्धि र आर्जन गरेका ज्ञान–सिप र प्रविधिको प्रयोग गर्नुपर्छ । ढुङ्गा, बालुवा, गिट्टी, जडीबुटी, वनजङ्गल सबैको उपयोग गर्नुपर्छ; जहाँका तहीं, जस्ताका तस्तै राखिरहनुपर्छ भन्ने होइन । डोजर पनि चलाउनुपर्छ, पहाड पनि फोर्नुपर्छ । तर, ती सबैको दोहन होइन– उपयोग हुनुपर्छ; सदुपयोग हुनुपर्छ । जङ्गल बचाएर र अझ विस्तारित गराएर रुख काट्नुपर्छ; जडीबुटी सकिने गरी होइन, झन् झाङ्गिने वातावरण सुनिश्चित गराएर मात्रै टिप्नुपर्छ र कच्चा पदार्थ होइन, तयारी उत्पादन बेच्नुपर्छ । घरबार, खेतबारी, पाखापखेरा, वनजङ्गल र जडीबुटी पुरिने, बग्ने तथा नासिने गरी होइन; ठीक समयमा, ठीक गन्तव्यमा पुर्‍याउने गरी सडक र अरु संरचना बनाउन योजना र डिजाइनमा मात्रै डोजर चलाउनुपर्छ । विकास पर्याप्त गर्नुपर्छ तर ती दिगो हुनुपर्छ र प्रकृति–दोहन रोक्नुपर्छ । शिर झुकाएर र भीख मागेर होइन; स्रोत–साधन र शक्तिको सदुपयोगद्वारा भावी पुस्ताको भविष्य सुनिश्चित हुने गरी समृद्धिको मूल फुटाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)