रोचक–ज्ञानवर्द्धक सामग्रीका लागि साधुवाद !

होलिस्टिक संवाददाता

आज अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण स्वास्थ्यसम्बन्धी अनेकौं समस्या देखापरेका छन् । विभिन्न पोषण तत्त्वका माध्यमबाट मानव स्वास्थ्यमा देखिएका विभिन्न समस्याको समाधान गर्ने प्रयास गर्दै आएको होलिस्टिक हेल्थले ‘होलिस्टिक मासिक’ को प्रकाशनारम्भ गरेर निकै नै प्रशंसनीय काम गरेको छ ।

हिजोआज बजारमा उपलब्ध विभिन्न पत्रिकाहरूको तुलनामा ‘होलिस्टिक’ विशेष गरी मानव स्वास्थ्यसँग बढी सम्बन्धित भएकाले यसको बेग्लै महत्त्व र पहिचान कायम हुने निश्चित छ । स्वास्थ्यका दृष्टिकोणले खानपान के–कस्तो हुनुपर्छ र सन्तुलित एवम् मर्यादित जीवनशैली के–कसरी सम्भव हुन्छ भन्ने विषयमा केन्द्रित रहेर विविध सामग्री समावेश गरेको पाइयो । यसले पाठकवर्गमा बेग्लै सन्देश दिने प्रयास गरेको देखियो ।

‘होलिस्टिक’ का दुई अङ्क अध्ययन गर्दा पहिलो अङ्कमा पूर्वसुन्दरी सुगरिका केसीको र दोस्रो अङ्कमा चर्चित नायिका श्वेता खड्काको प्रेरणादायी व्यक्तित्वबारे महत्त्वपूर्ण जानकारी प्राप्त भयो । नायिका श्वेताको जीवनमा आइपरेका कठिनतम् परिस्थिति र समस्याहरूबारे ‘होलिस्टिक’ ले राम्ररी प्रकाश पारेको छ । निकै कठिन परिस्थितिमा समेत विचलित नभई आफ्नो क्रियाशीलता र समाजसेवामा अझ दृढताका साथ अघि बढ्ने उनको साहस साँच्चिकै अनुकरणीय छ ।

यसले पस्केका स्मार्ट ड्रेसअप गर्ने डाक्टर, बालबालिकाको पोषण, क्यान्सर जितेकी नर्स, दुई वर्ष जन्डिसले थलिएका जिग्री, बाघसँग हरिकृष्णको आत्मीयताजस्ता सबै सामग्री निकै रोचक, पठनीय एवम् ज्ञानवर्द्धक छन् । यस पत्रिकाका आगामी अङ्कहरू झनै स्तरीय, रोचक र पठनीय बनून्, यसले निरन्तरता पाओस्, यही शुभकामना छ ।

सुरेन्द्र गौतम
गोकर्णेश्वर– ४, माकलबारी, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)