कुपोषणको समस्यामा बालबालिका

होलिस्टिक संवाददाता

सागर दाहाल

कोटेश्वर, काठमाडौं बस्ने मीरा बस्नेत उनका १० वर्षे छोरालाई खाजाका रूपमा दिनहुँजसो नै चाउचाउ खुवाउँछिन् । काममा व्यस्त हुने भएकाले उनी अरु खाजा बनाइदिन भ्याउँदिनन् । त्यसैले छोरालाई खाजा खुवाउन चाउचाउ नै पहिलो रोजाइमा पर्छ । मीराले भन्छिन्– ‘काममा जानुपर्छ, खाजा बनाइदिनै भ्याउँदिन अनि चाउचाउ नखुवाएर के गर्नु ?’

मीरा मात्रै होइन, बबरमहलकी रेखा भट्टराईको पनि समस्या उस्तै छ । उनी पनि आफ्ना छोराछोरीलाई दैनिकजसो चाउचाउलगायतका जङ्क फुड नै खान दिन्छिन् । छोराछोरीलाई पनि घरमा बनाएका खाजाभन्दा चाउचाउ, बिस्कुटजस्ता रेडिमेड खाजा नै मन पर्छन् ।

मीरा र रेखाका बालबच्चा मात्र होइन, सहरी क्षेत्रमा बस्ने धेरै बालबालिका नियमितजसो जङ्कफुड नै खाजा खान्छन् । सहरमा मात्र होइन, गाउँघरमा समेत आजकाल व्यावासयिक रूपमा उत्पादन गरिएका रेडिमेड खाद्य पदार्थ जताततै र प्रशस्तै पाइन्छन् । यस्ता खाद्य पदार्थ बालबालिकाकै लागि भनेर विशेषरूपमा उत्पादन गरिएको भने कहीं–कतै पाइँदैन । त्यसैले बालबालिकामा कुपोषणको समस्या निम्तन सक्नेतर्फ सचेत गराउँछन् पोषणविदहरू ।

पर्याप्त मात्रामा पोषणयुक्त खानपानको अभावमा बालबालिका कुपोषणको शिकार हुने गरेको ‘बलियो नेपाल’ पोषण अभियानका प्रमुख कार्यकारी अधिकृत एवम् पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् । जङ्क फुडमा सूक्ष्म पोषण–तत्त्व नपाइने भएकाले बालबालिकामा कुपोषणको समस्या दिनानुदिन बढ्न थालेको उनको तर्क छ । पोषणविदका अनुसार चाउचाउ, चिप्सजस्ता जङ्क फुडमा क्यालोरी पाइन्छ तर आवश्यक सूक्ष्म पोषण–तत्त्वको अभावका कारण बालबालिकाले यस्ता खानेकुरा कम खानु नै उचित हुन्छ ।

बालबालिकामा दैनिक आवश्यक क्यालोरीमध्ये बजारमा पाइने यस्ता रेडिमेड खाद्य पदार्थबाट करिव २५ प्रतिशत क्यालोरी मात्रै पाइने गरेको पोषणविद्को भनाइ छ । विशेषज्ञका अनुसार व्यावसायिकरूपमा यसरी उत्पादन गरिएका जङ्क फुड दैनिक खाने बालबालिकामा होचोपनाको समस्या बढी देखिन्छ । सूक्ष्म पोषण–तत्त्वकै अभावका कारण यस्ता खाद्य पदार्थले कुपोषण बढाउने सम्भावना प्रबल छ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आयोडिन, आइरन, भिटामिन ‘ए’, क्याल्सियमजस्ता सूक्ष्म पौष्टिक तत्त्व चाहिन्छ । तर, प्याकिङ गरिएका जङ्क फुडमा यस्ता पौष्टिक तत्त्व नहुने पोषणविद् भुपाल बानियाँ बताउँछन् । बालबालिकाले नियमित रूपमा यस्ता खाद्य पदार्थ खानाले उमेर बढ्दै जाँदा विभिन्न रोग लाग्नुका साथै हृदयाघातको समेत सम्भावना हुन्छ ।

यस्ता छन् समस्या

नेपालको सन्दर्भमा खाद्य पदार्थको अभावका कारण कुपोषणको समस्या हुने समस्या एकातिर छ भने अर्कोतर्फ भएका खाद्य पदार्थ पनि राम्रोसँग बनाएर बालबालिकालाई खुवाउन नजान्दा बालबालिका कुपोषणको मारमा पर्ने गरेको डा. उपाध्याय बताउँछन् ।

गाउँ–सहर दुवै क्षेत्रका बालबालिकामा कुपोषणको समस्या देखिएको पोषणविद् बताउँछन् । काठमाडौं उपत्यकाका ७ सय ५० बालबालिकामा गरिएको अध्ययनमा दुईतिहाई बालबालिकाले रेडिमेड खाद्य पदार्थ खाने गरेको पाइएको डा. उपाध्यायले बताए । सामान्यतः गाउँघरमा हुर्किएका बालबालिका दुब्लो र होचो हुने (कुपोषणको समस्या) र सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा मोटोपनको समस्या बढी देखिएको पोषणविद् बानियाँ बताउँछन् ।

सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा जङक फुड खानाले यस्तो समस्या बढी भएको देखिन्छ । दैनिक बढी मात्रामा क्यालोरियुक्त खाद्य पदार्थ खानाले बालबालिकाको उमेर बढ्दै जाँदा सुगर, रक्तचापजस्ता समस्या निम्तन सक्नेतर्फ पोषणविद् सचेत गराउँछन् ।

‘हरेक बार खाना चार भन्ने नारा, नारामा मात्रै सीमित देखिन्छ,’ डा. उपाध्यायले भने– ‘जनचेतनाको अभावमा यो नारा प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।’ सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर बालबालिकामा हुने कुपोषणको समस्यालाई कम गर्न सक्ने उनी बताउँछन् ।

अभिभावक नै बालबालिकाको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने पोषणविदको सुझाव छ । छिटो–मिठोका लागि गुणस्तर नै नहेरी बालबालिकालाई खाद्य पदार्थ खुवाउनु नहुने उनीहरूको भनाइ छ ।

आमा नै हुनुपर्छ सचेत

गर्भवती महिलाले पोषणयुक्त खानपानमा जोड दिनुपर्ने पोषणविद्को सुझाव छ । गर्भवती अवस्थामा महिला कुपोषित भएको खण्डमा त्यस्ती महिलाबाट जन्मिएका बच्चा पनि कुपोषित हुने सम्भावना प्रबल भएकाले पोषणयुक्त खानपानमा ध्यान दिनु अत्यावश्यक हुन्छ । अर्को वङ्श समेत कुपोषित हुने भएकाले पोषणयुक्त खानपानमा सचेत हुन गर्भवती महिलालाई पोषणविद् बानियाँको सुझाव छ ।

नेपालका गण्डकी, वागमतीजस्ता प्रदेशमा ३० प्रतिशतको हाराहारीमा बालबालिका कुपोषणको समस्यामा परेका छन् । त्यसैगरी, औसत ३६ प्रतिशत बालबालिका कुपोषणको समस्यामा रहेको पोषणविद् बताउँछन् । नेपालका करिव ४० प्रतिशत घरमा कुनै न कुनै हिसाबले पोषणको अभाव भएको पाइएको पोषणविदको भनाइ छ ।

यसरी हुन्छ खानपानको सन्तुलन

बालबालिकालाई माछा–मासु, भात–दाल, गेडागुडी र हरिया सागपात तथा फलफूल सन्तुलितरूपमा खुवाउन बानियाँको सुझाव छ । तौल कम भएका बालबालिकाले माछा–मासु र दूध–दही, घ्यु सन्तुलितरूपमा खानुपर्छ । तौलको कमी र पुड्कोपनको समस्या भएकाले भिटामिन तथा खनिज पदार्थ सन्तुलितरूपमा खानुपर्ने पोषणविदको सुझाव छ ।

पोषणविदका अनुसार बालबालिकामा उमेर अनुसारको उचाइ हुनु आवश्यक छ । उमेरअनुसार उचाइ नभएका बालबालिकालाई पछि पोषणयुक्त खानपान गराएर पोषणको परिपूर्ति गरी उचाई बढाउन मुश्किल पर्छ । उमेर अनुसारको मोटाइ नभएका बालबालिका पौष्टिक तत्त्व भएका खानपान गराउँदा मोटोघाटो बन्न सहजता हुन्छ ।

स्वस्थ रहनका लागि विशेषगरी आमा र बालबालिकाले पोषणयुक्त खानपान गर्नुपर्छ, माछा–मासु खानुपर्छ । सन्तुलितरूपमा अण्डा तथा माछा–मासु नखाँदा कुपोषणको सम्भावना हुने भएकाले सन्तुलितरूपमा यस्ता खाद्य पदार्थ खान चिकित्सकको सुझाव छ ।

बालबालिकालाई खानपान गराउने तरिका

डा. उपाध्यायका अनुसार ६ महिनासम्मका शिशुले आमाको दूध खाए पुग्छ । आमाको दूध स्वस्थकर र पोषणयुक्त हुन्छ । ६ महिनाभन्दा साना शिशुलाई आमाको दूधबाहेक गाईको दूध, ल्याक्टोजिनजस्ता बाह्य खाद्य पदार्थ सकेसम्म नखुवाउनु नै उचित हुने पोषणविद्को सुझाव छ ।

शिशु ६ महिनाको भएपछि ९ महिनासम्म दैनिक तीन पटक खानपान गराउनुपर्छ; स्तनपान त छुटाउनै हुँदैन । ९ देखि १२ महिनासम्मका शिशुलाई दैनिक चार पटक खानपान गराउनुपर्ने हुन्छ । सामान्यतः १२ देखि २४ महिनाका शिशुलाई दैनिकरूपमा तीन पटक खाना र दुई पटक खाजा खुवाउन पोषणविद्को सल्लाह छ ।

खानपानमा सचेत नभए कुपोषण : डा. अतुल उपाध्याय
प्रमुख कार्यकारी अधिकृत, बलियो नेपाल पोषण अभियान

नेपालका धेरैजसो ठाउँमा अधिकाङ्श खाद्य पदार्थको अभाव नहुने भए पनि बालबालिका कुपोषणको शिकार भएका देखिन्छन् । सबै किसिमका खानपान पुगेका भए पनि त्यस्ता खानपानमा पर्याप्त मात्रामा प्रोटिन तथा विभिन्न सूक्ष्म पौष्टिक तत्त्वको अभाव हुने गरेको पाइन्छ ।

अझै पनि नेपालमा कुन र कस्तो किसिमको खानपान कसरी गर्ने तथा कुन गुणस्तरीय खानपान हो भन्ने सचेतनाको अभावमा बालबालिकाले कुपोषित हुनुपरेको तीतो यथार्थ छ । पोषण तत्त्व जीवनचक्रमै व्यस्थित हुनुपर्छ । एउटा उमेरमा मात्रै पोषणयुुक्त खानपान गर्दैमा जीवनभर पोषणको मात्रा पुग्छ भन्ने हुँदैन । गर्भवती महिला कुपोषित भएको अवस्थामा त्यस्ता महिलाबाट जन्मने बच्चा कुपोषित हुन पुग्छ, जसले सिङ्गो जीवनचक्रमा नै असर पर्छ ।

विशेषतः सहरी क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूले व्यस्तताका कारण बालबालिकालाई जङ्क फुड दिने गरेको पाइन्छ । जङ्क फुड खानु हुँदैन भन्ने चेतना हुँदाहुँदै पनि छिटो र सजिलोका लागि बालबालिकालाई खुवाउने गरेको पाइन्छ ।

बजारमा उपलब्ध अधिकाङ्श खाद्य पदार्थमा पर्याप्त मात्रामा सूक्ष्म पौष्टिक तत्त्वहरू पाइने गरेको छैन, जसका कारण बालबालिकामा कुपोषणको जोखिम हुन्छ । खाद्य पर्थमा पाइने सूक्ष्म पोषण तत्त्वका बारेमा जनचेतना नहुँदा यस्तो समस्या भएको देखिन्छ ।

आजकलका पिँढीहरूले केवल अघाउनका लागि खाने गरेको देखिन्छ; आफूले खाएको खाद्य पदार्थको गुणस्तरीयताका बारेमा ख्याल गर्ने गरेको देखिँदैन; शरीरलाई आवश्यक मात्रामा पौष्टिक तत्त्व पुगेको छ वा छैन भन्ने पत्तो हुँदैन । पर्याप्त मात्रामा भिटामिन र खनिज तत्त्व पाइने फलफूल, अण्डाहरू खानुपर्छ ।

तथ्याङ्कमा पोषणको अवस्था

नेपालका ९९ प्रतिशत बालबालिकालाई कुनै न कुनै मात्रामा स्तनपान गराइएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को रिपोर्टमा उल्लेख छ । सर्वेक्षणअनुसार आधाभन्दा बढी (५५ प्रतिशत) बालबालिकालाई जन्मेको एक घन्टाभित्रै स्तनपान गराइन्छ । दस बालबालिकामध्ये तीन जनालाई आमाको दूध मात्रै खुवाउनुपर्ने अवधिमा अन्य खाने कुरा पनि खुवाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को सुझावअनुसार ६ महिनासम्मका बालबालिकालाई पूर्णरूपमा स्तनपान मात्र गराउनु पर्दछ । नेपालमा ६ महिनाभन्दा मुनिका दुईतिहाई बालबालिकालाई पूर्णरूपमा स्तनपान गराउने गरिएको पाइएको छ । सर्वेक्षणअनुसार तीन वर्षभन्दा मुनिका बालबालिकालाई औसतमा ३०.५ महिनासम्म स्तनपान गराइएको पाइएको छ भने ४.३ महिनासम्म मात्र पूर्णरूपमा स्तनपान गराइएको पाइएको छ ।

बालबालिकालाई कुपोषणबाट जोगाउन ६ महिना पूरा भएपछि पूरक आहार खुवाउन सुरु गर्नु पर्दछ । नेपालमा ६ देखि ८ महिनाका बालबालिकामध्ये ८३ प्रतिशत बालबालिकालाई मात्र स्तनपानका साथै पूरक आहार पनि खुवाउने गरेको पाइएको छ ।

शारीरिक तथा मानसिक विकासका लागि आयोडिन एक अत्यावश्यक सूक्ष्म पोषक तत्त्व हो । आयोडिनको कमीबाट बच्न सामान्यतया आयोडिनयुक्त नुनको सेवन गर्नुपर्छ । नेपालमा ९५ प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुन प्रयोग गरेको पाइएको छ ।

भिटामिन र आइरन महत्त्वपूर्ण

नेपाल जानसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को रिपोर्टअनुसार सूक्ष्म पोषक भनेको अत्यावश्यक भिटामिन र खनिज (मिनरल) हो । भिटामिन ‘ए’ ले अन्धोपन तथा सङ्क्रमणबाट बचाउँछ । यो बच्चाहरूका लागि निकै महत्त्वपूर्ण छ ।

सर्वेक्षण अवधिकै २४ घन्टाभित्र ६ देखि २३ महिनाका ६३ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ युक्त खाने कुरा खाए । सर्वेक्षणभन्दा ६ महिना अघिदेखिको अवधिमा ६ देखि ५९ महिना उमेरसमूहका ८६ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ सप्लिमेन्ट पाए । बालबालिकाको मस्तिष्कको विकासका लागि आइरनयुक्त खानपान खानुपर्छ । सर्वेक्षणअनुसार ६ देखि २३ महिनाका ३५ प्रतिशत बालबालिकाले आइरनयुक्त खाना खाएका थिए ।

पोषणको अवस्था

रिपोर्टअनुसार पुड्कोपनले दीर्घकालीन कुपोषणलाई इङ्गित गर्दछ । नेपालमा पाँच वर्ष मुनिका एक तिहाईभन्दा बढी (३६ प्रतिशत) बालबालिकामा पुड्कोपन वा उमेरअनुसार उचाई नपुगी पुड्को (स्टन्टिङ) भएको पाइएको छ । सहरी क्षेत्र (३२ प्रतिशत) को तुलनामा ग्रामीण क्षेत्रका (४० प्रतिशत) बालबालिकामा पुड्कोपन बढी पाइएको छ ।

प्रदेशअनुसार हेर्दा प्रदेश– ३ र ४ मा २९ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ भने प्रदेश– ६ मा ५५ प्रतिशतसम्म पाइएको छ । सबैभन्दा कम आर्थिक अवस्था भएका घरपरिवारका ४९ प्रतिशत बालबालिका र शिक्षा हासिल नगरेका आमाहरूबाट जन्मिएका ४६ प्रतिशत बालबालिकामा पुड्कोपन बढी हुने गरेको पाइएको सर्वेक्षणमा उल्लेख छ ।

१० प्रतिशत बालबालिकाको उचाईअनुरूप तौल नपुगी ख्याउटे (वेस्टेड) भएको पाइएको छ; जुन दीर्घकालीन कुपोषणको लक्षण हो । यसका अतिरिक्त २७ प्रतिशत बालबालिका उमेरअनुसार कम तौल भएका पाइएका छन् । सर्वेक्षणअनुसार नेपालमा सन् १९९६ देखि यता बालबालिकाको पोषणको स्थितिमा सुधार आएको देखिन्छ । सन् १९९६ मा आधाभन्दा बढी (५७ प्रतिशत) बच्चा ख्याउटे थिए भने यो तथ्याङ्क सन् २०१६ मा ३६ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)