स्मृतिमा ‘ग्रेट पिरामिड अफ गिजा’

डा. डीबी सुनुवार

२१ जनवरीको मध्याह्न बाह्र बजे । इजिप्ट भ्रमणका लागि तयार भयौं, हामी १६ जना । दुबई एयरलाइन्सको फ्लाइटबाट इजिप्टको एलेक्जेन्ड्रिया पुग्नु छ । आजै साँझ ७ बजे पुगिन्छ भन्ने हाम्रो ट्राभल आइटीनरीले बताउँछ । यसै ठाउँमा पहिले ‘एलेक्जेन्डर द ग्रेट’ बसेकाले यसको नाउँ ‘एलेक्जेन्ड्रिया’ रहन गएको हो । यसै ठाउँमा अहिले अन्तर्राष्ट्रिय विमानस्थल छ ।

दक्षिण–पूर्वबाट आउने पर्यटकलाई विशेष प्रकारले निरीक्षण गर्ने रहेछन् । हामी पनि राम्रै निरीक्षणमा पर्‍याैं । मानव–सभ्यताको सुरुआत भएको देश मिश्र । संसारको सबैभन्दा लामो नदी नाइल । चर्चित सुन्दरी क्लियोपात्र (क्लियोपेट्रा) । युरोप, एशिया र अफ्रिकी महादेशको सामरिक भूमि । साताैं ऐतिहासिक आश्चर्यमा पर्ने गिजाको पिरामिडमा आएका छौं हामी ।

२२ जनवरीको बिहान सखारै । एलेक्जेन्ड्रियाबाट कायरो पुग्नु छ । यो इजिप्टको राजधानी हो, अति नै व्यस्त सहर । तीनवटै महादेशबाट मानिस आएका भएर होला, मिश्रित अनुहार देखिन्छ । तर, जताततै, प्रायः युरोपेली अनुहारको बाहुल्यता देखिन्छ । यहाँका ८५ प्रतिशत मानिस इस्लाम धर्म मान्छन्, बाँकी इसाई र परम्परागत धर्म मान्नेहरू छन् ।

आज संसारकै सबैभन्दा लामो नदी ‘नाइल रिभर’ मा रात्रिभोजको आयोजना छ । दिनभरिको पिरामिड घुमाइ कम्ति रमाइलो रहेन । झमक्क साँझ पर्न आँटिसक्यो । ढिलो भएको कारण गाइड छटपटीमा थियो । लामो ट्राफिक जाम छिचोल्दै क्रुजसम्म पुग्यौं । मानिस जम्मा भैसकेपछि ‘रिभर क्रुज’ मा परम्परागत नाचगान र खानपिन सुरु भयो । आहा ! कति रोमाञ्चक म्युजिक अनि अर्धनग्न नर्तकीको नाच । टेबल–टेबलमा आएर व्यक्तिलाई ईशारा गर्दै प्रदर्शित नृत्यकला ।

फारो साम्राज्यका शक्तिशाली राजाको मृत शरीर राख्नका लागि बनाइएको ‘ट्युम’ हो पिरामिड । यस विधिलाई राजाका छोरा–नातिले पनि अनुशरण गरे । त्यसैले यहाँ धेरै पिरामिडहरू छन् । साताैं आश्चर्यमा पर्ने ‘ग्रेट पिरामिड’ मा फारो राजालाई राखिएको हो । पचासौं लाख चतुर्भुजका चालीस–पचास टनका लाइमस्टोन ब्लकहरूले बनेको ज्यामितीय त्रिकोणात्मक शैलीमा बनाइएको पिरामिड आश्चर्यलाग्दो छ । त्यो समय कुनै मेसिन वा मोटर–यातायात थिएनन् । मानिसहरूले घिसारेर ल्याई एक सय अठतीस मिटर अग्लो ढुङ्गाको पहाड बनाउनु कति आश्चर्यजनक काम ! कार्भ गरिएका जस्तै लाइमस्टोनलाई जोड्ने ‘सिमेन्ट’ पनि त्यत्तिकै रहस्यको छ ।

अब, पिरामिड चढ्न विशेष अनुमति पाइएको टिकट लिएका हामी माथि जाने भयौं । स्वास्थ्य ठीक भएकाहरूलाई मात्र माथि जानका निम्ति अनुमति रहेछ । ढुङ्गाको पहरामा चढ्दै सय मिटर माथिसम्म उक्लियौं । मान्छे मात्र छिर्ने खुड्किलोबाट सिधै आकाश छिचोल्ने दुलोबाट मुख्य महाराजको ममी (डेड बडी) राख्ने ‘गोल्डेन ट्युम’ मा पुग्यौं । चकमन्न छ यहाँ । सास फुलेको छ, बोली पनि निस्कँदैन । त्यत्तिकै ‘स्वर्ग’ जस्तो अनुभूति भयो । धेरै समय बस्न नमिल्ने, अरुलाई पनि पालो दिनुपर्ने रहेछ । स–साना पाइलाको चालमा फेरि तलतिरै फर्कने स्थानमा पुग्यौं ।

पहिले यहाँ राखिएको ममी (डेड बडी) अहिले भने राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ । यही ममीको विषयमा धैरै हलिउड फिल्महरू बनेका छन् । यही ठाउँलाई सङ्केत गरेर बाइबल, कुरानजस्ता धर्मग्रन्थहरूमा ऐतिहासिक तथ्यहरूको वर्णन गरिएको छ । भनिन्छ, येशूलाई पनि बेथलेहममा जन्मेको जेठो छोरा हेरोद राजाले मार्ने आज्ञा दिएकाले लुकाउन यसै भूमिमा ल्याएका रहेछन् । पिरामिड बनाउने कामका लागि इजरायलीहरू यहाँ धेरै समय रहेको र पछि तिनलाई लाल समुन्द्र पार गरी मोशाले प्रतिज्ञाको देशमा लगेको वर्णन छ । त्यसैले इजरायलीहरू यस भूमिलाई ‘दासत्वको देश’ भन्छन् । इजरायलीहरूलाई पिरामिड बनाउने ढुङ्गा ओसार्ने काम लगाइएको अनुमान गरिन्छ ।

मेडिटेरियन समुद्र र लाल समुद्र जोड्ने ‘स्वेज क्यानल’ दस वर्षमा तयार भएको थियो । यो क्यानल बनाउने क्रममा यहाँ धेरै मानिसको मृत्यु भएको थियो । यसलाई बेलायत र फ्रान्सले बनाएका थिए । यिनै दुई समुद्रले युरोप, एशिया र अफ्रिकी महादेशलाई छुट्याएका छन् । यस भूमिमा विभिन्न समयमा अनेक शक्तिशाली राजाहरूले राज गरे ।

विभिन्न समयमा कहिले ब्रिटेनको त कहिले रोमलगायत विभिन्न देशको उपनिवेश रहेको इजिप्ट अहिले पनि युद्धको मारमा छ । यहाँ पनि ‘अतिवादी’ र ‘आतङ्कवादी’ त्यत्तिकै सक्रिय छन् । हाट बजारमा पनि हातहतियारद्वारा सुसज्जित सिपाहीहरू बाक्लै देखिन्छन् ।

हाम्रो भ्रमण–तालिकामा स्वेज क्यानल पनि समावेश छ । हतियारवाला सुरक्षाकर्मी हामीसँग खटाइएका छन् । अर्को जिल्लाको सुरक्षा प्रशासनलाई जिम्मा लगाएर मात्र एक जिल्लाको प्रशासनले हामीलाई छाड्छ । हाम्रा लागि भने अगाडि–पछाडि यसरी सेक्युरिटीको पहरा लगाएर विदेशमा यात्रा गरेको यो नै पहिलो र अनौठो अनुभव हो । यत्तिको ऐतिहासिक तथा सामजिक ठाउँ भएर पनि द्वन्द्वका कारण नै इजिप्टको विकास हुन सकेको छैन । अहिलेको इजिप्ट देशलाई पहिले ‘मिश्र देश’ भनेर आदर्शका रूपमा हेरिन्थ्यो । ‘मिश्रको सभ्यता’ भनेर भूगोल र इतिहासमा पढ्नु पनि पथ्र्यो ।

संसारकै सबैभन्दा लामो नाइल रिभर अफ्रिकादेखि एलेक्जेन्ड्रियास्थित मेडिटेरियन समुद्रसम्म बग्छ । यसको लम्बाई ६ हजार ६ सय ९५ किलोमिटर छ । सुरुमा यो ऐतिहासिक नदी आसपासको ठाउँ ‘नाइल भ्याली’ का नामले प्रख्यात थियो । यसै नदी सेरोफेरोमा बस्दै यहाँको पानी पिएर नै मानव–सभ्यताको सुरुआत भएको मानिन्छ ।

ममीजलाई संरक्षण गरेर राख्ने उतिबेलाको कलालाई हेरेर पनि त्यस समयका मानिसहरू धेरै पढेलेखेका र जानकार रहेको मान्न सकिन्छ । मानिसको मृत्युपछि शरीरको पानीजन्य भाग (आन्द्रा–भुँडी आदि) लाई बाहिर निकाली विभिन्न जडीबुटीका लेप र सुगन्धित तेल लगाएर, पाइपारुसको चोयाले बाँधेर हजारौं वर्षसम्म सुरक्षित राख्न सक्ने प्रविधि साँच्चै नै महान् लाग्छ । हाल सङ्ग्रहालयमा राखिएको ममीजमा अहिले पनि हड्डी, छाला, रौं र नङ जस्ताका तस्तै छन् । त्यसैले, इजिप्टको इसेन्सियल ओयल र पफर््युमलाई अहिले पनि निकै महŒवका साथ उपयोग गरिन्छ ।

इजिप्टको अर्को रोचक कुरा क्लियोपात्र पनि हो । संसारकी सबैभन्दा सुन्दर नारी, अचम्मकी साहसी महिला । क्लियोपात्र, जसले संसारका शक्तिशाली शासकलाई उनको पञ्जामा पारिन् । बडो चासोको विषय– उनी पुरुषको रगतले नुहाउँथिन् । हामीले यस्ता अनौठो कुराबारे गाईडसँग सोध्यौं तर क्लियोपात्रलाई नकारात्मक रूपले लिइदेलान् कि भन्ठानेर होला, उनले खासै जानकारी दिन र धेरै व्याख्या गर्न चाहेनन् । जेहोस्, कौतुहलता मेटिएन । तर, कायरोमा क्लियोपात्रको पाइपारुस् (विशेष प्रकारको पेन्टिङ) भने खरिद गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)