तन टाढा, मन छाडा…

गोपाल ढकाल

सजीव प्राणीका लागि यौन सम्पर्क स्वाभाविक प्राकृतिक प्रक्रिया हो । प्राणीजगत्का सबैका निम्ति यौन शारीरिक एवम् मानसिक आवश्यकता हो । सन्तुलितरूपमा गरिने स्वस्थ यौन सम्पर्कले शारीरिक र मानसिकरूपमा स्वस्थ रहन सहयोग मिल्छ ।

श्रीमान्–श्रीमती किन सँगै बस्ने ?

मनोरञ्जनका विभिन्न माध्यममध्ये यौन सम्पर्क पनि आनन्द प्राप्त गर्ने एक माध्यम हो । यौन जोडीबीच सन्तुलितरूपमा यौन सम्पर्क हुनाले त्यस्ता जोडी भावनात्मकरूपमा पनि एक–अर्काप्रति समर्पित हुन्छन् ।

विभिन्न धर्मग्रन्धमा पनि विवाहित श्रीमान्–श्रीमती सँगै बस्नुपर्ने कुरा उल्लेख भएको पाइन्छ । कुनै जोडीबीचको विवाहमा यौन तथा प्रजननको विषय सोझै समेटिन्छ । यौनकर्म सन्तान उत्पादनका लागि मात्र नभई यौन जोडीबीचको शारीरिक र मानसिक तृप्ति मेट्ने माध्यम समेत हो । यौन जोडीबीच एकापसको सहमतिमा यौन सम्पर्क गर्नाले त्यस्ता जोडी स्वस्थ हुने भएकाले उनीहरूलाई दैनिक क्रियाकलापमा सक्रिय हुन समेत सहयोग मिल्छ ।

आजभोलि यौनलाई आधारभूत आवश्यकताकै रूपमा लिन थालिएको छ । विभिन्न काम वा पेशा तथा अरु विभिन्न कारणले श्रीमान्–श्रीमती टाढिएर बस्नुपर्ने बाध्यता हुन सक्छ । तर, विवाहित जोडी यसरी टाढा बस्नु उचित हुँदैन । यौन जोडी लामो समय टाढिएर बस्नाले यौनतृप्ति मेट्ने चाहनामा तुषारापात हुन्छ, जसका कारण यौनकुण्ठा बढेर तनावको अवस्थामा पुग्ने सम्भावना हुन्छ । यौनकुण्ठा बढेर व्यक्ति तनावमा पुग्दा यौन विचलनको अवस्था सिर्जना हुन सक्छ ।

यौन विचलन र यौनजन्य मानसिक समस्या उत्पन्न हुँदा व्यक्ति यौन दुर्व्यवहार, बलात्कारजस्ता क्रियाकलापमा उद्यत हुन सक्छ । यौन सम्पर्कको वातावरण नमिल्दा मानसिक तनाव पैदा भई झनक्क रिसाउने, झर्कंने, निद्रा नलाग्ने, उदासिनता बढ्ने, काम गर्न मन नलाग्ने, टाउको दुख्ने, शरीर दुख्नेजस्ता मानसिक र शारीरिक समस्या देखिन सक्छन् ।

उचित यौनसम्कर्पको अभावका कारण महिलामा महिनावारी गडबढीको समस्या समेत हुन सक्छ । समस्या बढ्दै गए डिप्रेसनको चरणमा पुगी व्यक्तिले आत्महत्या सम्म गर्नेसम्मको सम्भावना हुन्छ । यसर्थ, यौन जोडीबीचको शारीरिक तथा मानसिक आवश्यकताका हिसाबले श्रीमान्–श्रीमती एक्लिएर टाढा बस्नु उचित होइन ।

यौनको ‘टाइम–टेबल’ र फाइदाहरू

यौन जोडीले आ–आफ्नो उमेर समूहअनुसार यौन सम्पर्क गर्न सक्दछन्, ठ्याक्कै यति नै पटक गर्नुपर्छ भन्ने हुँदैन । यौन जोडीबीचको रुचि, समझदारी तथा चाहनाअनुसार समय निर्धारण गरी सहमतिमा यौन सम्पर्क गर्न सकिन्छ ।

सामान्यतः हप्तामा तीन पटक यौन सम्पर्क गर्नु उचित मानिन्छ । सन्तुलित रूपमा यौन सम्पर्क गर्नाले अक्सिटोसिन, सेरोटोनिन्, डोपामिनजस्ता आनन्द दिने हर्मोनको सक्रियता बढ्छ, जसले आनन्द दिनुका साथै तनाव कम गर्न सहयोग पुग्छ । स्वस्थ र सन्तुलित यौन सम्पर्कले पूरा शरीरलाई नै पुनर्ताजगी दिलाउँछ । यौनानन्दबाट शरीरको पुनर्ताजगी भएपछि मन आनन्दित हुन्छ । र, आनन्दित मनले शारीरिक तथा मानसिक रोगबाट समेत बच्न सहयोग पु¥याउँछ । यसर्थ, शारीरिक स्वास्थ्यका हिसाबले पनि यौन सम्पर्क आवश्यक हुन्छ ।

यौन सम्पर्कलाई राम्रो व्यायामका रूपमा समेत लिइन्छ । सन्तुलित र स्वस्थ यौन सम्पर्क गर्नाले मुटुरोग लाग्ने सम्भावना समेत कम हुन्छ । नियमित र सन्तुलित यौन सम्पर्क गर्नाले व्यायाम पुग्दछ र शरीर स्वस्थ रहनुका साथै अनुहार र छालामा चमकता बढ्न जान्छ । यसो हुँदा बुढ्यौलीपन समेत केही पर धकेलिन पुग्छ । अध्ययनअनुसार नियमित र सन्तुलित यौन सम्पर्क गर्नाले व्यक्तिको आयु लम्बिन्छ ।

श्रीमान्–श्रीमती टाढा भएको अवस्थामा नियमित र सन्तुलित यौन सम्पर्कको आनन्द लिने अवसर मिल्दैन । वैकल्पिक जोडीसँगको यौन सम्पर्कले क्षणिक आनन्द दिए पनि त्यो दीर्घकालीन आनन्दका रूपमा रहँदैन । वैकल्पिक जोडीसँगको यौन सम्पर्कले पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक समस्या निम्तने सम्भावना प्रबल हुन्छ भने यौनरोगलगायत अरु विभिन्न रोगहरू समेत सर्ने सम्भावना हुन्छ ।

त्यसैले शारीरिकरूपमा यौन तृप्ति मेट्नका लागि वैकल्पिक यौन जोडीसँग सम्बन्ध राखे तापनि त्यसले दीर्घकालीनरूपमा पारिवारिक एवम् मानसिक तनाव निम्त्याउने सम्भावना बढी हुन्छ ।

भावनात्मक सम्बन्ध

यौन जोडीलाई भावनात्मकरूपमा नजिक्याउने एउटा उपयुक्त माध्यम हो– यौन सम्पर्क । आफ्नै जोडीबीच हुने यौन सम्पर्कले उनीहरूबीच शारीरिक रूपमा मात्रै होइन, भावनात्मकरूपमा पनि एक–आपसमा समर्पणभावको विकास हुन्छ ।

यौन सम्पर्क शारीरिक मात्रै नभएर मानसिक समेत आवश्यकता हो किनकि यौनको सुरुआत मनबाटै हुन्छ । मनमा यौनसोच आएपछि मात्र शरीरबाट यौन हर्मोनको सक्रियता बढ्छ र यौनाङ्ग उत्तेजित हुन्छन् । पुरुषको हकमा टेस्टोस्टेरोनलगायतका यौन हर्मोन सक्रिय हुन्छन् भने महिलाको हकमा स्ट्रोजेनजस्तो हर्मोन सक्रिय हुन्छ । भावना मिलेको यौन जोडीसँगको सामिप्यतामा मात्र यस्ता हर्मोनको सक्रियता बढ्छ ।

त्यसैले यौन सम्पर्क हुँदैमा यौन जोडी भावनात्मकरूपमा समर्पित भैहाल्छन् भन्ने धारणा गलत हो । यौन सम्पर्क हुँदैमा यौन जोडी भावनात्मकरूपमा एक नहुन पनि सक्छन् । आफ्नै श्रीमान्–श्रीमती वा यौन जोडीसँग बाहेक वैकल्पिक जोडीबीच यौन सम्पर्क हुँदा भावनात्मकरूपमा सन्तुष्टि प्राप्त गर्न भने मुस्किल पर्छ । त्यसैले यौन सम्पर्क गर्दा शारीरिकरूपको यौन तृप्ति र भावनात्मक विषयमा बढी सचेत हुनुपर्छ । श्रीमान्–श्रीमतीबीच सन्तुलितरूपमा हुने यौन सम्पर्कले शारीरिक तथा मानसिकरूपमा यौनेच्छा पूरा हुन्छ । र, एक–आपसमा भावना साटासाट गर्ने मौका समेत मिल्छ ।

जीवनकालमा विभिन्न किसिमका चुनौती आइपर्छन् । विवाहित जोडी सँगै भएको अवस्थामा यस्ता चुनौतीको समाधानमा सहजता हुन्छ । तर, श्रीमान्–श्रीमती टाढा भएको अवस्थामा आफूलाई परेको समस्या सुनिदिने र समाधानमा सघाउने उपयुक्त व्यक्तिको अभाव हुन्छ किनकि विवाहित व्यक्तिको सबैभन्दा नजिकको साथी नै श्रीमान् वा श्रीमती हो । श्रीमान् वा श्रीमती आफूसँग नभएको अवस्थामा व्यक्ति यौनतृप्तिको अभावमा रहने मात्र होइन, निरास समेत हुन सक्छ । श्रीमान्–श्रीमती टाढा भएको अवस्थामा यस्ता समस्याबाट बाहिर निस्कन र मनका कुण्ठा पोख्नका लागि समेत उपयुक्त जोडीको खाँचो महसुस हुन्छ ।

यसरी जोडीको खाँचो महसुस गर्दा वैकल्पिक यौन जोडीसँग नजिकिन पुग्ने अवस्था सिर्जना हुन्छ । यसकारण नजानिँदो रूपमा वैकल्पिक यौन जोडीसँग नजिकिएर त्यही जोडीबीच यौनेच्छा मेटाउने सम्भावना प्रबल हुन्छ । यसकारण पनि विवाहित जोडी एक–आपसमा टाढिएर बस्नु हुँदैन । यसरी टाढिएर बस्दा एकापसमा माया हुँदाहुँदै र मनमुटाव नहुँदानहुँदै समेत शारीरिक तथा मानसिक, यौन र अन्य आवश्यकताका कारण वैकल्पिक जोडीसँग सामिप्यता भई आफ्नो यौनजोडीसँग सम्बन्ध–विच्छेद हुने सम्भावना बलियो हुन्छ ।

नेपालकै उदाहरण हेर्ने हो भने पनि पछिल्लो समय विदेशिनेको सङ्ख्या कम छैन । विभिन्न पेशाको सिलसिलामा स्वदेशभित्रे पनि वैवाहिक जोडी टाढिएर बस्नु परेको अवस्था छ । वैवाहिक जोडी टाढिएर बस्नु परेका कारण पारिवारिक कलह सिर्जना हुनुका साथै विवाहित जोडीबीच सम्बन्ध–विच्छेदको सङ्ख्या बढ्दो क्रममा देखिन्छ । यस्तो समस्या व्यक्तिको शारीरिक, मानसिक तथा पारिवारिक र सामाजिक संरचनाका हिसाबले समेत गलत हो । यौन जोडी टाढिएर बस्दा घरेलु हिंसा हुने तथा श्रीमान्–श्रीमतीबीच नै आपराधिक घटना घट्ने सम्भावना हुन्छ । यौन जोडी टाढिएर बस्दा उनीहरूमा शङ्का उत्पन्न त हुने नै भयो; वैकल्पिक जोडीसँग लिप्त हुने सम्भावना पनि बढ्न सक्छ ।

हाम्रो समाजले विवाहलाई यौन आवश्यकता पूरा गर्ने माध्यमका रूपमा मात्र लिन्छ । विवाहलाई ‘यौनको वैधानिकता’ का रूपमा लिइन्छ । तर, यौन समझदारीको विषय हो, विवाहित श्रीमान्–श्रीमती बीचमा मात्र सीमित नहुन सक्छ ।

यौनको व्यवस्थापन

सकभर यौन जोडी टाढा भएर बस्नु ठीक होइन । टाढा भएको अवस्थामा पनि यौनलाई व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ । पहिलो कुरा त मानसिकरूपमा संयम अपनाउनुपर्छ । यौन चाहना शारीरिक आवश्यकतासँग जोडिएकाले वैकल्पिक साधनको प्रयोग गर्न सकिन्छ । सुरक्षितरूपमा ‘सेक्स टोय’ प्रयोग गरी यौन तृप्ति मेट्न सकिन्छ । हस्तमैथुनलगायतका विधि अपनाउन सकिन्छ । तर, सचेतना भने अपनाउनुपर्छ । यो पनि सन्तुलितरूपमा हुनु आवश्यक छ ।

त्यसैगरी, यौन जोडीसँग वार्तालाप गरेर मौखिकरूपमा भए पनि सन्तुष्टि लिन सकिन्छ । यौन सन्तुष्टिका लागि लिङ्ग र योनीकै सङ्सर्ग हुनैपर्छ भन्ने धारण गलत हो । एकापसमा टाढिएका यौन जोडीले यौनसम्पर्क गरिरहेको छु भन्ने यौन कल्पना गरेर पनि यौनानन्द लिन सक्छन् ।

मार्क नेपाल संस्थामा कार्यरत ढकाल मनोविद् हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)