डाक्टर जोशी : व्यवसायजन्य स्वास्थ्यका अभियन्ता

शङ्कर क्षेत्री

स्वास्थ्यसम्बन्धी खोज तथा अनुसन्धानमा तल्लीन प्रा.डा. सुनिलकुमार जोशी काठमाडौंको नघल टोलमा जन्मिएका हुन् । काठमाडौं विश्वविद्यालयमा सामुदायिक चिकित्सा विषयका उनी पहिलो नेपाली प्राध्यापक हुन् । ५१ वर्षीय डा. सुनिल चिकित्सकीय पेशामा समर्पित भएको चौबीस वर्ष भयो । उनले जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सेवा प्रदान गरेका छन् र महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।

बाल्यकालदेखि नै विज्ञान तथा खोज–अनुसन्धान र प्राकृतिक वातावरणमा रमाउने उनी आज पनि खोज तथा अनुसन्धानमै क्रियाशील छन् । प्रा.डा. सुनिलले सिद्धार्थ वनस्थली माविबाट ०४१ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि अमृत साइन्स कलेज (अस्कल) बाट जीव विज्ञानमा प्रवीणता प्रमाणपत्र तहको शिक्षा हासिल गरे । त्यसपछि चिकित्सा क्षेत्रबाट उच्च शिक्षा हासिल गर्ने उद्देश्यका साथ उनी तत्कालीन सोभियत सङ्घ (ताजकिस्तान) पुगे । त्यहाँ उनले एमडी गरे ।

खिम्तीमा प्रस्फुटित चेतना

एमडी गरिसकेपछि नेपाल फर्किएका उनी काठमाडौंस्थित विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा काम गर्न थाले । यही सिलसिलामा डा. सुनिलले चिकित्सकका रूपमा दोलखास्थित खिम्ती जलविद्युत् आयोजनामा दुई वर्ष काम गरे । त्यहाँ रहँदा आयोजनाका कर्मचारी तथा कामदारको स्वास्थ्य हेरचाह गर्नु उनको मुख्य जिम्मेवारी थियो । विभिन्न तहमा गरी त्यहाँ २ हजार ६ सय कर्मचारी कार्यरत थिए ।

खिम्ती जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी–कामदारको स्वास्थ्यमा देखिएका अनेकौं समस्याले डा. सुनिलको मन छोयो । कुनै पनि संस्थामा काम गर्ने कर्मचारीको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी सम्बन्धित संस्था तथा राष्ट्रले लिनुपर्ने रहेछ भन्ने उनलाई लाग्यो । यो विषयलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने अनुभूति उनलाई भयो ।

पहिलो काम : नीति–नियम तर्जुमा

खिम्तीको अनुभव सँगालेका डा. सुनिल ‘व्यवसायजन्य स्वास्थ्य’ विषयमा स्नातकोत्तर गर्न सन् २००० मा नर्वे पुगे । त्यो अध्ययन पूरा गरी फर्किएपछि उनले नेपालमा व्यवसायजन्य स्वास्थ्यको विषयमा जनचेतना जगाउन थाले । विडम्बना ! सरकारी निकायमा भने व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका विषयमा खासै नीति–नियम नै थिएनन् । यो विषय सर्वप्रथम सरकारी तहलाई नै बुझाउनुपर्ने महशुस गरे । व्यवसायजन्य स्वास्थ्यबारे बिस्तारै सरकारका विभिन्न निकायलाई झक्झकाउन थाले ।

श्रम ऐन, २०४८ मा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाबारे केही व्यवस्था उल्लेख भए पनि प्रस्ट दृष्टिकोणसहितका व्यवस्थाहरू केही पनि थिएनन् । श्रम गर्ने क्रममा कुनै रोग लागेको खण्डमा कसरी स्वास्थ्य जाँच गर्ने, उपचार कसरी र कसले गर्ने भन्ने विषयमा अन्योलको अवस्था थियो ।

उपचारको अभावमा कर्मचारीले काम गर्न नसकेको अवस्थामा त्यस्ता कर्मचारीलाई क्षतिपूर्ति तथा जीवन निर्वाहका लागि आर्थिक भरथेग गरिदिने नियम थिएन । रोग लागेर कर्मचारी थलिएको अवस्थामा एकातर्फ उपचार खर्चको अभाव व्यहोर्नुपर्ने समस्या थियो भने अर्कोतर्फ जागिर नै गुमेर त्यसपछिको जीवन आर्थिक अभावमा बिताउनुपर्ने बाध्यता थियो ।

खिम्ती आयोजनामा काम गर्दादेखि नै डा. सुनिललाई कर्मचारीको स्वास्थ्यसम्बन्धी विविध समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने प्रश्नले नराम्ररी चिथोरिरहेको थियो । त्यसैकारण उनले नेपालको तत्कालीन श्रम तथा यातायात मन्त्रालय, श्रम विभाग र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका नीति निर्माण तहमा कार्यरत कर्मचारीलाई झक्झक्याउने काम गरे । सरकारी निकायमा नीति निर्माणको तहमा कार्यरत कर्मचारीलाई व्यवसायजन्य स्वास्थ्यबारे स्पष्ट नीति–नियम बनाउन उनले सुझाए । यस्तो समवेदनशील विषयलाई कतिपय कर्मचारीले एकदमै हल्का रूपमा पनि लिए भने केहीले राम्ररी चाहिँ चासो दिएर गम्भीररूपमा लिए ।

सरकारी निकायलाई ठीक ठाउँमा ल्याउन डा. सुनिलले केही वर्षसम्म मेहनत गर्नुपर्‍याे । अन्ततः उनको सकारात्मक सोच र सपना पूरा हुने लक्षण देखियो । उनको यस्तो विचारबारे सरकारी निकायमा पनि बहस हुन थाल्यो ।

व्यवसायजन्य रोगका विषयमा नीति बनाउनका लागि श्रम मन्त्रालयले डा. सुनिलसँग सल्लाह लियो । व्यवसायजन्य स्वास्थ्यका विषयमा मन्त्रालयले गठन गरेको कार्यसमितिमा उनी पनि सम्मिलित भए । सो समितिमा रहेर व्यवसायजन्य स्वास्थ्य तथा कर्मचारीमा लाग्ने रोगबारे केही प्रावधान राख्न डा. सुनिलले महत्त्वपूर्ण भूमिका खेले । फलस्वरूप २०७४ मा बनेको श्रम ऐनमा व्यवसायजन्य स्वास्थ्यबारे केही महत्त्वपूर्ण प्रावधान राखिए । श्रम नियामावली, २०७५ पनि बन्यो । व्यवसायजन्य रोगबारे नियमावलीमा विस्तृत उल्लेख गरियो ।

नियमावली बनिसकेपछि ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५’ बन्यो । यो कार्यविधिले कस्तो किसिमका रोग लागेको अवस्थामा व्यवसायजन्य रोग लागेको मान्ने भन्ने विषयको निर्क्योल गर्‍याे । कर्मचारीलाई व्यवसायजन्य रोग लागेको हो वा अन्य कारणले रोग लागेको हो भन्ने विषयमा निर्क्योल गर्न चिकित्सकहरूको समिति बनाउने प्रावधान पनि यो कार्यविधिमा राखियो ।

यो कार्यविधिले ‘कामको सिलसिलामा दुर्घटना भएको अवस्थामा कम्पनी वा संस्थाले त्यस्ता व्यक्तिको सुरक्षा गर्नुपर्ने’ व्यवस्था गरेको छ । कामको सिलसिलामा क्यान्सरलगायतका रोग लागेको अवस्थामा कार्यरत संस्थाले उपचार तथा सुरक्षाको व्यवस्था गर्नुपर्ने प्रावधान पनि यसमा समाविष्ट भयो । त्यसपछि ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६’ समेत बनिसकेको छ । यसमा पनि डा. सुनिलको महत्त्वपूर्ण भूमिका रह्यो ।

Prof. Joshi has been awarded with the Federation of Grill and Steel Fabricators Nepal National Honour 2076. Honourable Minister of Labour, Employment and Social Security of Nepal, Mr Gokarna Bist conferred upon the award to Prof. Joshi on 26th Baisakh 2076 (9th May 2019). Prof. Joshi has been honoured for his immense contribution to the development of Occupational health and safety in Nepal.

राष्ट्रसङ्घमै प्रभाव : सक्रिय पहरेदार

काम गर्ने सिलसिलामा विभिन्न किसिमका स्वास्थ्यसम्बन्धी समस्या आइपरेको खण्डमा कार्यरत कम्पनी तथा संस्थाले नै कामदार–कर्मचारीको सुरक्षा गर्नुपर्ने नीति–नियम बनेपछि डा. सुनिल आफ्नो चिन्तन तथा उद्देश्य सफल भएकोमा प्रसन्न भए । तर, अझै पनि कार्यान्वयनको चुनौती कायमै रहेकाले निरन्तर सरकार तथा सम्बन्धित संस्थालाई झक्झक्याउने तथा जनचेतना जगाउने कार्यमा उनी तल्लीन छन् ।

प्रा.डा. जोशी यतिमा मात्रै सीमित छैनन् । उनी नेपालमा मात्र होइन, सिङ्गै विश्व अर्थात् अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायजन्य स्वास्थ्यसम्बन्धी नीति–नियम र कार्यान्वयनको अध्ययन–अनुसन्धान गरिरहेका छन् । व्यवसायजन्य स्वास्थ्यको विषयलाई नेपालमा कसरी व्यवस्थितरूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने ध्येयका साथ अन्तर्राष्ट्रियरूपमा हुने सभा–सम्मेलन, कार्यशाला–गोष्ठीजस्ता कार्यक्रममा निरन्तर सहभागी भई कार्यान्वयनको पक्षलाई जोड दिन सक्रिय छन् ।

व्यवसायजन्य स्वास्थ्यसम्बन्धी विश्वको सबैभन्दा पुरानो संस्था ‘इन्टरनेसनल कमिसन अन अकुपेसनल हेल्थ’ (आईसीओएच) को बोर्ड सदस्य पनि छन्, डा. सुनिल । यो संस्थाको प्रधान कार्यालय इटालीमा छ । विश्वमै व्यवसायजन्य स्वास्थ्यको विषय प्रवर्द्धन गर्ने उपयुक्त थलो हो, उनका लागि यो संस्था । प्रा.डा. जोशीले यसमार्फत विश्वमा भएका व्यवसायजन्य स्वास्थ्यको अवस्थाबारे अध्ययन गर्ने राम्रो मौका पाएका छन् ।

यो संस्थाले केही समय अघि संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले आधारभूत व्यवसायजन्य स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सुरक्षा गर्नुपर्ने सुझाव दिएको थियो । यसको कार्यान्वयनका लागि राष्ट्रसङ्घले अनुमोदन समेत गरिसकेको उनी बताउँछन् । डा. सुनिलले सुनाए– ‘संयुक्त राष्ट्रसङ्घको यो निर्णयलाई व्यवसायजन्य स्वास्थ्य सुरक्षाका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा मान्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय जर्नलका प्रधान सम्पादक

प्रा.डा. जोशी व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी अध्ययन–अनुसन्धान र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रकाशनारम्भ गरिएको ‘इन्टरनेसनल जर्नल अफ अक्कुपेसनल सेफ्टी एन्ड हेल्थ’ नामक अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको जर्नलका प्रधान सम्पादक छन् । यस जर्नलमार्फत आफ्नो चासोअनुरूपका विषयमा अनुसन्धानात्मक खोज र लेख–रचना प्रकाशित गरेर जनचेतना जगाउन पाइएकामा उनी खुशी छन् ।

डा. सुनिलले चोटपटक, दुर्घटना र हिंसाको न्यूनीकरण विषयमा विद्यावारिधी (पीएचडी) गरेका छन् । उनले यिनै विषयमा ‘पोस्ट डक्टरल फेलोसिप’ समेत गरेका छन् । अहिले उनी काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागका प्रमुख छन् । उनी संयुक्त अधिराज्य (बेलायत) स्थित ‘युनिभर्सिटी अफ दि बेस्ट अफ इङ्ग्ल्याण्ड’ मा भिजिटिङ प्रोफेसरका रूपमा समेत कार्यरत छन् । उनले स्वास्थ्यसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा कार्यरत रहेर पनि खोज–अनुसन्धान गरिरहेका छन् ।

सरकारी वा निजी संस्थामा कार्यरत विभिन्न तहका कर्मचारीको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाका विषयमा आज विश्वका धेरै मुलुकहरूले सक्रियता देखाएको अवस्था छ । यो व्यवस्थाका लागि नेपालमा पनि नीति–नियम बनेका छन् । तर, कार्यान्वयनको पक्ष अझै पनि फितलो देखिएकाले त्यसतर्फ जोड दिनु आवश्यक रहेको डा. सुनिलको भनाइ छ ।

व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाका प्रावधानहरू कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको अपरिहार्यता छ । यी व्यवस्था कार्यान्वयन हुँदा कर्मचारी स्वस्थ र सुरक्षित त रहन्छन् नै, साथसाथै उत्पादकत्व पनि बढ्छ । यसबाट निजी क्षेत्र र सरकालाई दीर्घकालीन रूपमै फाइदा पुग्ने प्रा.डा. जोशीको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)