सुन्दर अर्किडको औषधीय गुण

अनिता सुनुवार

अर्किड निकै नै मन पराइने सुन्दर फूल हो । यो फूल फुलिसकेपछि झन्डै चार महिना टिक्छ । अर्किड वनजङ्गलका रुखमा जराले टेकेर, रुखैमा टाँसिएर र झुन्डिएर फुल्छ । अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ । विशेषगरी पहाडी क्षेत्रको जङ्गलमा वसन्त ऋतुको पालुवासँगै सुनाखरी फूलले वनै मगमगाउँछ ।

आधुनिक समयमा भने हाइब्रिड गरेर पनि विभिन्न आकार र रङ्गमा आकर्षक तथा सुन्दर अर्किड फुलाउन सकिन्छ । जङ्गलको सुनाखरीलाई हाइब्रिड गरी घर तथा गार्डेनमा नै आकर्षक रूपमा फुलाउन सकिन्छ । घर तथा गार्डेनमा आकर्षक तरिकाले फुलाएर यसको सुन्दरतामा रमाउन सकिने हर्टिकल्चर व्यवसायी बताउँछन् । आजकल हाइब्रिड गरी धेरै रङ्गका अर्किड फुलाउन थालेको पाइन्छ । वर्षमा एक पटक फुल्ने यो फूल फुलाउन विशेष ज्ञानको आवश्यकता पर्ने फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् । काठ, कोइला र कुहिएको पत्करमा समेत राम्रो अर्किड फुलाउन सकिने उनले बताए । माटोमा भने अर्किड फुलाउन कठिन छ ।

प्राकृतिक औषधीय गुण

सुन्दरता मात्र होइन, अर्किडको प्राकृतिक औषधीय गुण पनि हुन्छ । प्राकृतिक चिकित्सकका अनुसार अर्किड फुलेको हेर्दा व्यक्तिको मनै प्रफुल्लित हुन्छ । अर्किड फूलको सुन्दर दृश्य तथा सुगन्धले मानिसको मन खुसी हुन्छ । मन खुसी भएको अवस्थामा सेरोटोनिन तथा डोपामिनजस्ता खुसी दिने हर्मोन सक्रिय भई मनै आनन्दित हुने चिकित्सक बताउँछन् ।

सिंहदरबार वैद्यखाना विकास समितिका उत्पादन अधिकृत डा. विनोद साहका अनुसार अर्किडको फूल सुगन्धका लागि प्रयोग गर्न सकिन्छ । त्यसैगरी, मसाज ओयल तथा वासनाका लागि पनि यो फूल फाइदाजनक रहेको डा. साहको भनाइ छ । डा. साहले भने– ‘कस्मेटिक्स सामग्रीमा वासनाका लागि अर्किडको प्रयोग गर्न सकिन्छ ।’

प्राकृतिक चिकित्सा विधिमा यसको फूललाई सुगन्धथेरापीका रूपमा समेत प्रयोग गरिन्छ । हेल्थ क्लबको गार्डेनमा अर्किड फुलाएर यसको वासना लिनाले व्यक्तिको मन आनन्दित हुन्छ, जसले तनाव कम गर्न सहयोग पु¥याउँछ । त्यसैले, जुनसुकै रोग लागेको व्यक्ति पनि अर्किड फुलेको बगैंचामा बस्नाले आनन्दित हुन्छ ।

त्यसो त मनोचिकित्सक पनि मानिसलाई तनावमुक्त हुन फूलको वासनाले सहयोग पुर्‍याउने बताउँछन् । इच्छाअनुसार प्राकृतिक वातावरणमा रमाउँदा व्यक्ति खुसी हुन सक्ने मेट्रो अस्पतालका मनोचिकित्सक डा. आलोक झा बताउँछन् । मनोवैज्ञानिकरूपमा खुसी तुल्याउनका लागि फूलको प्राकृतिक सुगन्ध प्रयोग गर्न सकिने उनको तर्क छ ।

डा. झाका अनुसार सुन्दर प्राकृतिक वातावरण देख्दा तथा हराभरा फूल फुल्दा व्यक्तिमा सेरोटोनिन, डोपामिनजस्ता खुसीका हर्मोन सक्रिय हुन सक्छन्, जसले व्यक्तिलाई आनन्द मिली तनाव कम हुन मद्दत मिल्छ । तर, सुगन्धथेरापी तथा फूलको वासना मन पराउने वा नपराउने भन्ने कुरा व्यक्तिको इच्छामा भर पर्ने मनोचिकित्सकको तर्क छ ।

अध्ययनअनुसार वनजङ्गल, बगैंचा र घरमा सुन्दर ढङ्गले हराभरा भई अर्किड फुल्नाले मनमा आनन्द प्रवाह भई नैराश्यताको तह घटाउन मद्दत पुग्छ । बहुरङ्गी अर्किड फुलेको बगैंचामा बस्नाले मस्तिष्कको रचनात्मक सोचाइको तह समेत वृद्धि हुने चिकित्सक बताँछन् । प्राकृतिक चिकित्सकका अनुसार बिहान दैनिकीको सुरुआतमा गार्डेनको बगैंचामा हराभरा अर्किड फुलेको देख्दा दिनभर नै व्यक्ति प्रफुल्लित तथा आनन्दित हुन्छ ।

चीनमा अर्किडको फूललाई सुकाएर चियामा पनि प्रयोग गर्ने प्रचलन रहेको प्राकृतिक चिकित्सक बताउँछन् । विभिन्न किसिमका सुगन्धित तेलका लागि पनि यो फूल प्रयोग गरिन्छ । प्राकृतिक चिकित्सकीय विधिमा सुगन्धथेरापीका रूपमा पनि यो फूलको प्रयोग गरिन्छ । क्यान्सर लागेका व्यक्तिमा तनाव कम गर्न समेत यो फूलको वासनाले मद्दत पुर्‍याउँछ ।

यो फूललाई प्रेम तथा सुगन्धको प्रतीकका रूपमा समेत लिइन्छ । यसले प्राकृतिकरूपमा हावाको शुद्धीकरण गर्ने बताइन्छ । यो फूलको आनन्दले तनाव कम हुने भएकाले मस्त निन्द्रा लाग्नुका साथै चाँडै पाको उमेरको देखिने समस्याबाट पनि बच्न सकिने प्राकृतिक चिकित्सक बताउँछन् ।

अर्किडको फूलले एकातिर आँखालाई पनि लाभ पु¥याउँछ भने अर्कातिर यो प्राकृतिक सुगन्धका रूपमा पनि लाभदायक छ । यस फूलको कस्मेटिक्स सामग्री प्रयोग गर्नाले छालामा चमक ल्याउनुका साथै छाला स्वस्थ रहन समेत फाइदा पुग्ने प्राकृतिक चिकित्सकको भनाइ छ । यो फूलको प्रयोग गर्नाले पेटको समस्याबाट समेत रोकी कब्जियतबाट समेत बच्न सकिने अध्ययनले देखाएको छ ।

यसको प्रयोगले थाइराइड, मूत्र–प्रणालीमा हुने सङ्क्रमणजस्ता समस्याबाट पनि बच्न सकिने प्राकृतिक चिकित्सक बताउँछन् । तौल घटाउन समेत यो उपयोगी हुने प्राकृतिक चिकित्सकको तर्क छ । चिकित्सकीय तवरमा यो फूलको प्रयोग गर्दा भने प्राकृतिक चिकित्सकको सल्लाह लिनु आवश्यक हुने प्राकृतिक चिकित्सकको सुझाव छ ।

आकर्षक सजावट

काठमाडौं उपत्यकामा पनि बगैंचा तथा घरमा अर्किड फुलाउनेको सङ्ख्या कम छैन । बानेश्वरस्थित रोजडेल नर्सरीका देवप्रकाश राईका अनुसार उपत्यकामा अर्किडको आकर्षण राम्रै छ । राइ भन्छन्– ‘अर्किड फुलेको समयमा नर्सरीमा राम्रै व्यापार हुन्छ ।’

हेर्दा सुन्दर तथा आकर्षक देखिने भएकाले यसको मूल्य पनि केही महँगै छ । एउटा गमलामा फुलेको अर्किडको मूल्य एक हजार पाँच सयदेखि दस हजार रूपैयाँसम्म पर्ने नर्सरी व्यवसायी बताउँछन् । यो फूलको थुँगा पनि सजावटका लागि बिक्री हुन्छ । गुणस्तरका आधारमा थुँगाको मूल्य निर्धारित हुन्छ ।

गोदावरीस्थित ग्रीन भ्यु अर्किड नर्सरीका व्यवसायी दिपकचन्द्र राई अर्किड सुन्दर फुल्ने र राम्रो माग हुने भए पनि यो फुलाउन भने निकै मेहनत पर्ने बताउँछन् । यो फूललाई राम्रो स्याहार गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

सफा हावापानी आवश्यक

हर्टिकल्चर विशेषज्ञका अनुसार माटोमा नफुल्ने अर्किडलाई काठमाडौं उपत्यकामा पनि गमलाको ग्रीन हाउसमा समेत राम्रैसँग फुलाउन सकिन्छ । उपत्यकामा सामान्यतः असोजदेखि वैशाखसम्म अर्किड फुलाउन सकिने रोजडेलका राई बताउँछन् । फुलिसकेपछि जेठतिर छुट्याएर यो फूललाई धेरै बनाउन सकिन्छ ।

अर्किड फुलाउनका लागि डीएपी मल पनि प्रयोग गरिन्छ । सकेसम्म प्राङ्गारिक मलकै प्रयोग गर्नु उचित हुन्छ । यसलाई सामान्यतः उच्च पहाडी भेगमा सजिलैसँग फुलाउन सकिन्छ । एक हजारदेखि दुई हजार आठ सय मिटरसम्म उचाईको भूगोलमा यसलाई राम्ररी फूलाउन सकिने श्रेष्ठ बताउँछन् ।

यो फूलका लागि सफा र स्वस्थ वातावरण आवश्यक हुने रोजडेलका राई बताउँछन् । राइले भने– ‘फोहोर वातावरणमा त फुलाउनै मुस्किल पर्छ ।’ रातो, पहेंलो, सेतो र मिक्स कलरका अर्किड धेरै मन पराइने राईले बताए ।

धेरै प्रजाति

नेपालमा फेलोनोप्सिस्, सिम्बिडियमजस्ता जातका अर्किड राम्ररी फूलाउन सकिने अध्यक्ष श्रेष्ठले बताए । डेन्ड्रोबियम जातको अर्किड थाइल्याण्डमा राम्रो व्यावसायिक उत्पादन भइरहेको हर्टिकल्चर विशेषज्ञ बताउँछन् ।

नेपालमा करिव साढे चार सय हाराहारी प्रजातिका सुनाखरी भएको तथ्याङ्क पाइन्छ । यीमध्ये करिव अठार प्रजातिका सुनाखरी भने नेपालमा मात्र पाइन्छन् । नेपालमा आजकल भारत, थाइल्याण्ड, नेदरल्याण्डजस्ता मुलुकबाट अर्किड आयात हुने गरेको श्रेष्ठले बताए ।

अर्किड शब्दको उद्गमथलो भने ग्रीक रहेको बताइन्छ । पश्चिमा मुलुकहरूका घर तथा गार्डेनमा सन् १९३९ देखि नै अर्किड फुलाएर सजाउने परम्परा रहेको पाइन्छ । यो अर्किडेसिय परिवारको फूल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)