भान्सामा फ्लुकाे सङ्क्रमण

डा. शेरबहादुर पुन

भान्सा साझा प्रकृतिको ठाउँ हो । भान्साबाट विभिन्न किसिमका सङ्क्रमणको सम्भावना हुन्छ । भान्सामा धेरै व्यक्ति जम्मा भएर बसिने हुनाले भान्साबाट फ्लु सर्ने सम्भावनालाई नकार्न सकिँदैन । सङ्क्रमित व्यक्ति भान्सामा पुगेको तथा सङ्क्रमित व्यक्तिले नै भान्साको काम गरेको अवस्थामा अन्य व्यक्तिमा सजिलैसँग फ्लु सर्न सक्छ ।

चार इन्फ्लुएन्जा

एक प्रकारको भाइरसलाई इन्फ्लुएन्जा भनिन्छ, जसलाई फ्लु समेत भनिन्छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका इन्फ्लुएन्जा हुन्छन् । मौसमअनुसार इन्फ्लुएन्जा सङ्क्रमणको सम्भावना हुने भएकाले इन्फ्लुएन्जालाई ‘मौसमी फ्लु’ समेत भनिन्छ ।

प्रायः ‘डी’ इन्फ्लुएन्जा जनावर र ‘ए’, ‘बी’ तथा ‘सी’ इन्फ्लुएन्जा मानिससँग सम्बन्धित रहेका हुन्छन् । ‘ए’ र ‘बी’ कडा हुन सक्छन्, ‘सी’ ले त्यति कडा रूप लिएको देखिँदैन । ‘ए’ इन्फ्लुएन्जा अन्तर्गतका स्वाइन फ्लु, बर्ड फ्लु, हङकङ फ्लुले मानिसको ज्यानै लिन सक्छन् । ‘ए’ अन्तर्गत ‘एच वान एन वान पीडीएम– ०९’ र ‘एच थ्री एन टु’ इन्फ्लुएन्जा पर्दछन् ।

‘एच वान एन वान पीडीएम– ०९’ स्वाइन फ्लुका नामले चिनिन्छन् भने ‘एच थ्री एन टु’ हङकङ फ्लु नामले चिनिन्छ । नेपालमा सामान्यतया गर्मी मौसमको अगस्ट महिनामा र जाडो मौसम सुरु हुने समयमा फ्लुको सङ्क्रमण बढी देखिन्छ । यस्ता इन्फ्लुएन्जाले चैत–वैशाख र भदौ–असोज महिनामा बढी सताउने गरेको पाइन्छ ।

भान्सामा कुखुराको मासु लानु परेको अवस्थामा त्यसअघि उक्त कुखुरा कत्तिको स्वस्थ हो भन्ने कुराको ख्याल गर्नुपर्छ । कुखुराको र्‍यालबाट समेत बर्ड फ्लु सर्न सक्ने भएकाले कुखुरा समातिसकेपछि साबुन–पानीले राम्रोसँग हात धुनुपर्छ । कुखुराको मासुलाई राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

बर्ड फ्लु मान्छेबाट मान्छेमा सर्ने सम्भावना कमै हुन्छ । तर, पक्षीबाट मान्छेमा सर्छ । कतिपय अवस्थामा भान्सामै कुखुरा–हाँस आदि काटिन्छ भने प्वाँखबाट पनि इन्फ्लुएन्जा सर्न सक्छ । त्यसैले, सकभर घरभित्र वा भान्सामा ल्याएर कुखुरा नकाटेकै राम्रो; काट्दा पनि सरसफाइमा राम्ररी ध्यान दिनुपर्छ । काँचो मासु काटिसकेपछि हातखुट्टा राम्रोसँग धुनुपर्छ । कुखुरा रोगी हो वा होइन भन्ने पनि पनि ख्याल गर्नुपर्छ ।

कुखुरालगायतका सङ्क्रमित पक्षीबाट ‘एच फाइभ एन वान (एच ५ एन १)’ मानिसमा सर्न सक्छ । सन् १९९७ मा पहिलो पटक हङकङमा ‘एच ५ एन १’ फ्लुको सङ्क्रमण मानिसमा देखिएको थियो । बर्ड फ्लु सङ्क्रमित व्यक्तिमध्ये ६० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । फ्लुको सङ्क्रमणका कारण वर्षेनि केही व्यक्तिको ज्यान जाने गरेको छ ।

यसरी हुन्छ भान्सामा सङ्क्रमण

सामान्यतः भान्सा कोठामा बाहिरी हावा र स्वच्छ वातावरणको प्रवेश कमै हुने भएकाले गुम्म हुन्छ । त्यस्तो अवस्थामा हावामा वरिपरि भाइरस फैलन सक्छ र सानो भान्सा कोठामा फैलिएको भाइरस क्रमशः अन्यत्र पनि सर्न सक्छ । भाइरस घाममा भन्दा कोठाभित्रको ओसिलो ठाउँमा अलि बढी बाँच्न सक्ने भएकाले भान्सा कोठा सधैं सफा राख्नुपर्छ ।

फ्लु सङ्क्रमित व्यक्तिले भान्सामा खोक्दा तथा हाछ्युँ गर्दा सिँगान, थुक वा ¥यालको सानो–ठूलो अङ्श खाद्य सामग्रीमा पर्न सक्छ, जसबाट अन्य व्यक्तिमा भाइरस सर्न सक्छ । भान्सामा काम गर्ने सङ्क्रमित व्यक्तिले विभिन्न ठाउँमा सिँगान पुछ्दा तथा र्‍याल चुहाउँदा त्यस्तो ठाउँमा छुन पुग्ने अन्य व्यक्तिमा फ्लु सर्ने सम्भावना प्रबल हुन्छ ।

सङ्क्रमित व्यक्तिले खोक्दा थुक, र्‍याल सिँगानका स–साना छिटा हात, नाक, गाला, आँखा आदि भागमा पर्न सक्छ र त्यहाँबाट बिस्तारै अरुमा सर्न सक्छ । चक्कु, भाँडा आदिबाट पनि फ्लु सर्न सक्छ । यसर्थ, फ्लुको सङ्क्रमणबाट बच्नका लागि भान्सामा नै बढी सचेत हुनु आवश्यक छ ।

लक्षण तथा समस्या

‘स्वाइन’ तथा ‘हङकङ’ फ्लुका लक्षण मिल्दाजुल्दा हुन्छन् । फ्लुको सङ्क्रमण भएको अवस्थामा १००.४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आउन सक्ने भएकाले यसले शरीरलाई शिथिल बनाउँछ । खोकी लाग्नु, टाउको दुख्नु, शरीर तथा हाडजोर्नी दुख्नु, नाक बन्द हुनु आदि फ्लुका लक्षण हुन् । रुघा–खोकी लाग्नु, छाती दुख्नु, स्वर बस्नु/घाँटी दुख्नु, आँखाका दाना दुख्नु, पखाला लाग्नुजस्ता पनि मौसमी फ्लुका लक्षण हुन् ।

फ्लु सङ्क्रमित सुँगुर तथा बङ्गुरले खोक्दा र हाछ्युँ गर्दा र्‍यालका छिटा व्यक्तिको मुखमा परेको खण्डमा स्वाइन फ्लु सर्ने सम्भावना हुन्छ । त्यसैले पटक्कै हेलचेक्र्याइँ गर्नु हुँदैन ।

फ्लुका कारण निमोनिया समेत हुन सक्छ । समस्या बढ्दै गएर मिर्गौला, कलेजो, फोक्सोजस्ता अङ्गले काम नगर्ने र श्वास–प्रश्वासमा समेत गम्भीर असर पुगेर मानिसको ज्यान नै जान सक्छ ।

इन्फ्लुएन्जाबाट बच्न भ्याक्सिनको प्रयोग गर्न सकिन्छ । इन्फ्लुएन्जा हुनुपूर्व नै भ्याक्सिन लगाएको अवस्थामा शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ, जसका कारण इन्फ्लुएन्जाको सङ्क्रमणबाट बच्न सकिन्छ । भ्याक्सिन लगाउँदा सङ्क्रमणबाट बच्न सकिने सम्भावना ६० प्रतिशतसम्म हुन्छ । त्यसो त भाइसरले प्रत्येक वर्ष रूप फेर्न सक्ने भएकाले पूर्वतयारी गर्न समेत अप्ठ्यारो पर्छ ।

सावधानी र उपचार

शारीरिक अवस्था र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा फ्लु चाँडै सर्न सक्छ । त्यसैले, भान्सामा काम गर्ने वा भान्सामा पुग्ने कसैलाई सङ्क्रमण भएको अवस्थामा दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले निकै सावधानी अपनाउनु जरुरी हुन्छ ।

बालबालिका तथा दीर्घरोगीमा फ्लुको आक्रमण एकदमै छिटो हुन सक्छ । भीडबाट फ्लु सर्न सक्ने भएकाले त्यस्ता व्यक्ति भीडभाडबाट टाढा रहनु उचित हुन्छ । फ्लु सङ्क्रमित व्यक्तिबाट सामान्यतः ६ फिट टाढा रहँदा सर्ने सम्भावना त्यति हुँदैन । भान्सामा भने सानो कोठामा गुमुक्क परेर धेरै व्यक्ति एकै ठाउँमा बस्ने भएकाले सङ्क्रमित व्यक्ति भएको भान्साबाट फ्लु छिटो सर्ने सम्भावना हुन्छ । यसमा सचेत हुनु अत्यावश्यक छ । मास्क लगाएर हिँडडुल गर्नाले फ्लुको सङ्क्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।

सङ्क्रमित व्यक्तिले भान्साका सामग्री समाएपछि अन्य व्यक्तिले ती सामग्री समाउँदा अरुमा पनि सङ्क्रमणको सम्भावना प्रबल हुन्छ । त्यसैले भान्सामा काम गर्ने व्यक्तिले सकेसम्म आँखा तथा नाकमा हात लगाउनु हुँदैन, भान्सामा पनि मास्क लगाएर र कपाल ढाक्ने कपडा बेरेर काम गरेमा हाछ्युँ, खोकी तथा चाया–कपाल परेर सङ्क्रमण हुने सम्भावना धेरै कम हुन्छ । साबुन–पानीले राम्रोसँग हात धोएर मात्रै खानपान गर्दा फ्लुको सङ्क्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।

र, अन्त्यमा…

फ्लुको सङ्क्रमण भएका व्यक्तिले प्रशस्त मात्रामा गेडागुडी र झोलिलो पदार्थ खानुपर्छ । पानी पनि प्रशस्त पिउनुपर्छ । पौष्टिक तत्त्व भएका खाने कुरा खानुपर्छ । मौसमी फ्लुको सङ्क्रमण भएपछि सावधानीपूर्वक व्यवहार गरिएमा करिव दस दिनसम्ममा निको हुन्छ ।

सामान्य किसिमको फ्लु भएमा घरमै बसेर आराम गर्न सकिन्छ । तर, समस्या बढ्दै गएमा भने तुरुन्तै चिकित्सकको परामर्शमा उपचार विधि अपनाउनुपर्छ । फ्लुको समस्या बढ्दै गए ‘ओसेलटामिभिर’ नामक औषधि सेवन गर्न सकिन्छ । सामान्य उपचारबाटै फ्लुका प्रायः बिरामी निको हुन्छन् । फ्लु हुँदा लक्षणका आधारमा उपचार विधि अपनाइन्छ । रुघा लागेको लक्षण देखिए रुघाको उपचार गरिन्छ; निमोनियाको लक्षण देखिए निमोनियाकै उपचार गरिन्छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुुको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)