डाक्टर अनन्त : मन पढ्ने चिकित्सक

शङ्कर क्षेत्री

मनोचिकित्सक डा. अनन्त अधिकारी लगनखेलस्थित मानसिक अस्पतालका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्ट हुन् । भद्र एवम् मिजासिलो स्वभावका डा. अधिकारीको घर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– २, कुशादेवी हो ।
बुवा रुद्रप्रसाद अधिकारी र आमा अम्बिका अधिकारीका छ सन्तानमध्येका उनी एक्ला भाइ हुन् । उनका पाँच दिदी–बहिनी छन् । सानैदेखि अध्ययनशील तथा लगनशील अधिकारीका बुबा पुरेत्याइँ गर्ने भएकाले पढ्नका लागि राम्रो पारिवारिक वातावरण थियो ।

आफ्नै गाउँमा रहेको श्री कुशादेवी माविबाट वि.सं. २०४६ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि अधिकारी काठमाडौं हानिए । एसएलसी दिएकै वर्ष त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रवीणता प्रमाणपत्र तहको फार्मेसी अध्ययनका लागि भर्ना भए । शिक्षक बन्ने उद्देश्यले काठमाडौं छिरेका अधिकारीले वि.सं. २०५० मा तीनवर्षे फार्मेसी उत्तीर्ण गरे ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमै ‘फार्मेसी सहायक’ का रूपमा केही महिना सेवा गरे । त्यसपछि अधिकारीले ‘फार्मेसी टेक्निसियन’ भएर वि.सं. २०५० देखि २०५३ सम्म पाटन अस्पतालमा सेवा गरे । पाटन अस्पतालको त्यो जागिर छाडेर केही महिना वनस्पति विभागअन्तर्गतको वनस्पति प्रयोगशालामा ‘ल्याब टेक्निसियन’ भई आफूले सेवा गरेको डा. अधिकारी सुनाउँछन् ।

पढाइको धोको पुगेकै थिएन । त्यसैले वि.सं. २०५४ मा एमबीबीएस अध्ययनका लागि चिकित्साशास्त्र अध्ययन संस्थानमा भर्ना भए । तीक्ष्ण क्षमताका उनी अध्ययनमा सफल नहुने कुरै थिएन । एमबीबीएस उत्तीर्ण हुँदाको क्षण सम्झँदै डा. अधिकारीले सुनाए– ‘२०५९ मा पाँचवर्षे एमबीबीएस उत्तीर्ण भएँ, पास हुँदा मन गद्गद् भयो; खुसीको त सीमा नै थिएन ।’

एकैसाथ ‘डबल’ खुसी

एमबीबीएस उत्तीर्ण भएकै वर्षको डा. अधिकारीसँग अर्को एउटा रमाइलो प्रसङ्ग पनि छ । एमबीबीएस उत्तीर्ण गरिसकेपछि सोही वर्ष नर्वदा खनालसँग डा. अधिकारीको वैवाहिक यात्रा सुरु भयो । विवाहको प्रसङ्ग कोट्याउँदै डा. अधिकारीले सम्झिए– ‘एमबीबीएस गरेपछि नर्वदासँग विवाह गरें, मेरो जीवनमा नयाँ आयाम थपियो ।’ उनको जीवनलाई अझ सिर्जनशील बनाउन नर्वदाले सहयोग गरिन् । त्यसो त नर्वदा पनि चिकित्सकीय पेशा नै अँगालेकी व्यक्ति हुन् । नर्वदा अहिले नेपाली सेनाको ‘मेजर प्राविधिक’ (नर्स) पदमा कार्यरत छिन् । दुवैको चिकित्सकीय पेशा भएकाले पनि एक–अर्काको पेशा/सेवा बुझ्ने अवसर मिल्यो, जसले डा. अनन्त र नर्स नर्वदाको दाम्पत्य जीवन अझै सहज भयो ।

चौध वर्षिया अनु र दस वर्षिया आभाश्रीका बुबा–आमा अधिकारी दम्पतिको दैनिकी व्यस्त भएकाले भान्साको काममा पनि दुवैजना खट्छन् । छोरीहरूलाई स्कुल पठाएर दुवैजना सँगै अस्पताल लाग्छन् । अनु र आभाश्री स्कुलबाट फर्किएपछि खानपानको व्यवस्था मिलाउने जिम्मा भने उनीहरूका हजुरबा–हजुरआमा (डा. अनन्तका बुबा–आमा) ले लिन्छन् । बेलुका अनन्त–नर्वदा घर फर्कंदा अबेर नै हुन्छ । यतिबेला चाहिँ नर्वदा सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (सेना) अन्तर्गतको सेवामा कार्यरत छिन् । नर्वदा नभएको यो समयमा डा. अनन्त छोरीहरूको हेरचाह एक्लै भ्याएर अस्पतालको ड्युटी धानिरहेका छन् । कहिलेकहीं भने घरधन्दा सघाइदिन उनका दिदी–बहिनी पनि आइपुग्छन् । व्यस्त जीवनशैली र कतिपय उतार–चढाव आए पनि चिकित्सकका रूपमा सेवा गर्न पाएकामा डा. अनन्त आफूलाई ‘भाग्यमानी’ ठान्छन् ।

वैवाहिक जीवनको सुरुआतसँगै डा. अधिकारीले वि.सं. २०६० मा त्रिवि शिक्षण अस्पतालको बालरोग विभागमा ‘मेडिकल अफिसर’ का रूपमा सेवा सुरु गरे । त्यो समयमा यो पदलाई ‘हाउस अफिसर’ भनिन्थ्यो । करार जागिरेका रूपमा करिव आठ महिना ‘मेडिकल अफिसर’ भई सेवा गरेका उनले त्यसबेला कान्ति बाल अस्पताल र शिक्षण अस्पताल दुवैमा काम गर्नुपर्थ्यो ।

जिरेलको ‘सिजोफेनिया’ अध्ययनले मोडिएको जीवन

शिक्षण अस्पतालमा सेवा गर्ने क्रममै उनलाई एउटा अवसर आयो । त्यो अवसर आर्थिक उपार्जनका हिसाबले समेत राम्रो थियो । एउटा आईएनजीओले मासिक ४० हजार रूपैयाँको जागिर अफर ग¥यो । थोरै तलबको सरकारी करार जागिरमा अल्झिइरहनुभन्दा आर्थिकरूपमा सबल भइने आईएनजीओको जागिर स्वीकार्नु उनले उचित ठाने । त्रिवि शिक्षण अस्पतालको जागिर छाडेर डा. अधिकारी दोलखाको जिरीतर्फ लागे । जिरीमा रहेको जिरेल वस्तीमा ‘सिजोफेनिया’ (मानसिक रोग) का बारे अध्ययन गर्नु उनको काम थियो । २०६० को अन्त्यदेखि २०६२ सम्म जिरेल वस्तीमा रहेर अध्ययन–अनुसन्धान गरे ।

यो कामबाट एकातिर उनको आर्थिक तनाव पनि कम भयो भने अर्कातिर अध्ययनले बौद्धिक क्षमतामा पनि अझ निखार ल्यायो । डा. अनन्तको जीवनका लागि यो जागिर ‘टर्निङ प्वाइन्ट’ नै बन्यो । जिरीको त्यो कार्यक्रम सकिएपछि (वि.सं. २०६२ मा) उनी गृहजिल्लाकै धुलिखेल अस्पतालको बालरोग विभागमा सेवा गर्न थाले । करारको त्यो जागिर फेरि छाडेर काठमाडौंको फर्पिङस्थित मनमोहन सामुदायिक अस्पतालमा केही महिना जागिर खाए ।

सरकारी मेडिकल अधिकृत

फर्पिङमा जागिरे रहँदै मेडिकल अफिसर पदका लागि सरकारले लोकसेवामार्फत विज्ञापन निकाल्यो । डा. अधिकारीले पनि फारम भरे र पास भए । यसरी वि.सं. २०६३ मा डा. अधिकारीको मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिर सुरु भयो । पहिलो पटक सरकारी जागिरमा नियुक्ति पाएपछि गृहजिल्लाकै ‘पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र’ मा त्यहाँको पहिलो डाक्टरका रूपमा सेवा गर्ने अवसर पाए । डा. अधिकारी त्यहाँ पुग्नुभन्दा केही अघि मात्रै हेल्थपोस्टबाट स्तरोन्नति भएर सो स्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) बनेको थियो । सो स्वास्थ्य केन्द्रमा करिव अढाई वर्ष सेवा गरेका उनले उक्त केन्द्रलाई अझ स्तरोन्नति गर्ने मौका पाए । आफ्नै पहलमा स्वास्थ्य केन्द्रलाई गुणस्तरीय तुल्याउने र स्तरोन्नति गर्ने मौका पाएकामा खुसी व्यक्त गर्दै डा. अधिकारी भन्छन्– ‘पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति तथा गर्भपतन सेवा सुरु गर्ने अवसर पाएँ, आफ्नै गृहजिल्लामा सेवा गर्न पाउँदा खुसी नहुने कुरै भएन ।’

डा. अधिकारीमा अध्ययनको भोक अझै मेटिएको थिएन । मनोचिकित्सा विषयमा सरकारी कोटामै स्नातकोत्तर तह (एमडी) अध्ययनका लागि वि.सं. २०६६ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा भर्ना भए । वि.सं. २०६९ मा तीनवर्षे स्नातकोत्तर उत्तीर्ण भएलगत्तै लगनखेलस्थित मानसिक अस्पतालमा पदस्थापन भयो । त्यसयता उनी निरन्तर त्यहीं सेवारत छन् । लगनशीलता तथा मेहनतअनुसार जिम्मेवारी पनि थपिँदै गए । वि.सं. २०७२ देखि प्रमुख कन्सल्टयान्ट साइक्याट्रिस्टका रूपमा सोही अस्पतालमा सेवारत छन् ।

स्नातकोत्तर गरेपछि शिक्षक बन्ने उनको धोको पनि पूरा भएको छ । डा. अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको मनोचिकित्सा विभागमा फ्याकल्टी डाक्टरका रूपमा समेत कार्यरत छन् । चिकित्सकका विभिन्न विधामध्ये तुलनात्मकरूपमा आर्थिक लाभ कम हुने विधा भए पनि मानिसको मन र भावना बुझ्न पाइने विषय भएकाले आफूले मनोचिकित्सक पेशा नै रोजेको उनले सुनाए । ‘व्यक्ति शारीरिकरूपमा मात्रै होइन, मानसिकरूपमा पनि स्वस्थ हुनु आवश्यक छ,’ डा. अनन्त भन्छन्– ‘विज्ञान र कलाको संयोजन गरेर उपचार विधि अपनाइने भएकाले मनोचिकित्सा पेशा तथा विधि नै मलाई मन पर्‍यो ।’ उनी व्यक्तिको मन पढ्न जान्दछन् । मन पढ्ने मात्र होइन, मनमा आएका विभिन्न उतार–चढावलाई उपचार विधि अपनाएर सन्तुलनमा ल्याउनु समेत उनको दैनिकी हो ।

आफ्नो बिरामी उपचारपछि ठीक भएका बेला उनी अत्यन्तै खुसी हुन्छन् । तर, कहिलेकहीं भने दुःखद् खबर पनि उनले सुन्नुपर्ने अवस्था आउँछ । आफ्ना बिरामीले आत्महत्या गरेको खबर सुन्दा उनी अत्यन्तै दुःखी हुन्छन् । यस्तो समाचारले मन पोल्छ ।

बस्यो कि कविता

व्यस्त जीवनबाट फ्रेस हुनका लागि उनी बेलाबखत घुमघाम गर्छन् । मिलेसम्म परिवारसँग घुमघाम गर्छन् । उनी जापान, अष्ट्रेलिया, भियतनाम, मलेसिया, केन्या, चीनजस्ता मुलुकमा पुगेका छन् । तिब्बतकोे कैलाश मानसरोवर पनि घुमेका छन् । आफू नेपालका अधिकाङ्श जिल्लामा पुगेको उनले सुनाए ।

घुमेका ठाउँमध्ये अनुशासनका हिसाबले उनलाई सबैभन्दा बढी मन परेको मुलुक हो– जापान । प्राकृतिक सुन्दरताका हिसाबले सबैभन्दा बढी मन परेको ठाउँ केन्यास्थित मसाइमारा राष्ट्रिय निकुञ्ज हो । नेपालमा भने खप्तड राष्ट्रिय निकुञ्जले उनको मन छोएको छ । फुर्सद भयो कि कविता फुराइहाल्छन् । उनमा समसामयिक विषयका कविता लेखेर मन्त्रमुग्ध बनाउने सिर्जनात्मक क्षमता छ । विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यममा उनका दर्जनौं कविता सम्प्रेषित छन् ।

समाजसेवी पनि…

डा. अधिकारीलाई सामाजिक काममा समेत चासो हुन्छ । सीमान्तीकृत तथा पिछडिएका वर्ग–समुदायप्रति आफ्नो विशेष चासो हुने उनी बताउँछन् । उनी समाज सेवाका विभिन्न क्षेत्रमा कार्यरत छन् ।  उनी आफ्नै गाउँको कुशादेवी क्याम्पस सभा सदस्य पनि छन् । काभ्रे सेवा समाज र मनोचिकित्सक समाजको आजीवन सदस्य रहेका उनी सेन्टर फर मेन्टल हेल्थ एन्ड काउन्सिलिङ (सीएमसी नेपाल) को पनि सदस्य छन् ।

नेपालमा मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको उनी बताउँछन् । प्रत्येक चारमध्ये एक घरमा मानसिक रोगी हुने भएकाले समस्या भएको अवस्थामा सचेत भई उपचार तथा परामर्शका लागि चिकित्सक तथा विशेषज्ञकहाँ बेलैमा पुग्नु उचित हुने डा. अधिकारीको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)