घरको धन्दा : व्यायामको फाइदा

अनिता सुनुवार

मानिस शारीरिक तथा मानसिकरूपमा स्वस्थ तथा फिट हुनका लागि कुनै जिम हल तथा फिटनेस क्लबमा पुगेरै व्यायाम गर्नुपर्छ भन्ने छैन । घरमा गरिने विभिन्न काम–धन्दा तथा क्रियाकलापबाट पनि व्यायाम लिन सकिन्छ ।

शारीरिक तथा मानसिकरूपमा स्वस्थ तथा फिट रहनका लागि बिहान पाँचै बजे उठ्नु राम्रो हो । उठिसकेपछि सबैभन्दा पहिले एक गिलास मनतातो पानी पिउनुपर्छ । यसरी बिहानै पानी पिउनाले रातभरमा कम हुँदै गएको पानीको मात्रा शरीरमा पूरा हुन्छ । पानी पिउनाले शरीरमा भएका विकार तत्त्व बाहिर जान समेत मद्धत मिल्छ । बिहानै पानी पिउनाले दिसा–पिसाब गर्न पनि मद्धत पुग्छ ।

भान्सामा नै व्यायाम

पानी पिइसकेपछि हातमुख धोएर हातखुट्टालाई हल्का तान्याकतुनुक पार्दै ‘वार्मअप’ गर्दा राम्रो हुन्छ । घर वरिपरि तथा छत वा सिँढीमा उकालो–ओरालो गर्न सकिन्छ । सिँढीमा उकालो–ओरालो गर्दा सासको ‘रिदम’ मा खुट्टा चाल्नुपर्छ । सिँढी उक्लँदा कुप्रो पर्नु हुँदैन । कुप्रो परेर हिँड्दा ढाड तथा कम्मरमा बढी चाप परेर ढाड दुख्ने सम्भावना हुन्छ । त्यसैले हल्का किसिमले हिँड्नुपर्छ ।

त्यसपछि हल्का ब्रेकफास्ट खाएर प्राणायाम तथा ध्यान र व्यायाम गर्न सकिन्छ । कुनै फिटनेसका सामग्रीमै व्यायाम गर्नुपर्छ भन्ने छैन । घर सफा गर्दा तथा भाँडाकुँडा र भान्साको सरसफाइ गर्दा समेत व्यायाम पुग्छ । भान्सा पुछ्दा तथा भाँडा सफा गर्दा हातको राम्रो व्यायाम पुग्छ । खाना बनाउँदा पनि राम्रो व्यायाम हुन्छ । भान्साको काम गर्दा पनि कुप्रो परेर नगर्दा नै राम्रो । कुप्रो परेर काम गर्दा ढाड दुख्ने समस्या हुन सक्छ ।

यसर्थ, भान्सामा निहुरिएर काम गर्नु नपर्ने किसिमका टेबुल तथा किचन र्‍याक बनाउनु आवश्यक हुन्छ । उभिएर भान्साको काम गर्नाले एकातिर खुट्टाको व्यायाम पुगिरहेको हुन्छ भने अर्कातिर कम्मरको समेत व्यायाम पुगेर कम्मर दुख्ने समस्या कम हुन मद्धत मिल्छ ।

घर बढार्दा, कपडा धुँदा र बिछ्यौना मिलाउँदा पनि शरीरका विभिन्न भागको व्यायाम पुग्छ । कपडा पनि ननिहुरिइकन धुनु उचित हुन्छ । सकेसम्म बाटाभित्रका कपडा टेबलमा राखेर धोएमा हात तथा छातीका माङ्शपेशी मजबुत हुन्छन् । घरायसी काम गर्दा शरीरका प्रायः सबै अङ्ग चल्ने भएकाले शरीरका सबै भागको व्यायाम पुग्छ । त्यसैले घरको काम गर्न अल्छी नगरेकै राम्रो ।

महिला होस् वा पुरुष, घरायसी काम गर्दा शरीरलाई घाटा हुँदैन, फाइदा नै पुग्छ । बिहान आफूलाई मन पर्ने गीत–सङ्गीतको धुनमा घरमै नाच्नु पनि व्यायामका दृष्टिले निकै लाभदायक हुन्छ ।

व्यवस्थित खानपान

बिहानको एघार बजेतिर खानपान गर्नु उचित हुन्छ । खानपान गर्दा हरियो सागसब्जी तथा झोलिलो किसिमका गेडागुडीका रस, दाल खानु उचित हुन्छ । आवश्यकताअनुसार भात खान सकिन्छ । शारीरिकरूपमा कामको चाप कम भएको अवस्थामा भने हल्का किसिमका खानपान गर्नु नै उचित हुन्छ । धेरै अटेसमटेस हुने गरी खाना खाँदा शरीरलाई फाइदाभन्दा हानि पुग्न सक्छ ।

खानपान गरिसकेपछि दिउँसो मन पर्ने किसिमका पुस्तक पढ्न सकिन्छ । साहित्यिक तथा गैरसाहित्यिक जुनै पुस्तक पढ्दा हुन्छ । जुन पुस्तक पढ्दा आफूलाई आनन्द आउँछ, त्यही पुस्तक पढ्नु नै उचित हुन्छ । दिनभरि घरमा बस्दा पुस्तक पढ्ने तथा व्यायाम गने गर्नाले शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन मद्धत पुग्छ ।

दिउँसो पनि फलफूल तथा मकै–भटमासजस्ता खाजा खान सकिन्छ । बेलुकीको खानाका रूपमा भने रोटी तथा तरकारी खानु उचित हुन्छ । यसरी खानपान तथा व्यायाम गर्दा उमेरसमूहलाई पनि ख्याल गर्नुपर्छ । पाको उमेरका व्यक्तिले धेरै नखाएकै राम्रो । विशेषगरी बालबालिका तथा पाको उमेरका व्यक्तिको पोषणमा परिवारका सदस्यले ध्यान दिनु आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)