जवान राख्ने जमरा

डा. डीबी सुनुवार

पहाडी तथा हिमाली भेगमा उत्पादन हुने एउटा प्रमुख खाद्यबालीमा पर्छ– जौ । हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले जौका परिकारलाई नै प्राथमिकतामा राख्छन् । जौको सातु, रोटी, ढिँडो, सुप, चम्पाजस्ता परिकार उच्च पहाडी तथा हिमाली क्षेत्रका मिठा र पोषिला परिकार हुन् ।

जौका परिकार खानाले शरीरमा ऊर्जा मिल्छ । चिसो ठाउँमा बस्ने व्यक्तिले जौका परिकार खानुको पनि खास कारण छ । एकातर्फ पहाडी तथा हिमाली भेगमा यसको उत्पादन नै राम्रो हुन्छ भने अर्कातिर यसका परिकार खानाले चिसो ठाउँमा बसोबास गर्ने व्यक्तिको शरीर न्यानो रहन समेत मद्धत पुग्छ । जौका परिकार खाँदा चिसो ठाउँमा बसोबास गर्नेहरूमा शारीरिक ऊर्जा बढ्ने भएकाले स्वस्थ तथा मजबुत रहन यो खाद्यबाली प्राकृतिकरूपमै उपयोगी छ ।

पूर्वीय संस्कारका विभिन्न कार्यमा जौ–तिलको प्रयोग गर्ने प्रचलन छ । दसैंमा समेत अरु बीउका साथसाथै जौकै आधिक्य रहने जमराको प्रयोग हुन्छ । यसबाट पनि थाहा हुन्छ– जौको कति महत्त्व छ !

चिसो भौगोलिक स्थान रहेका पश्चिमा मुलुकहरूमा पनि जौको प्रयोग कम छैन । अमेरिका–युरोपका विभिन्न मुुलुकहरूमा खानाको मुख्य परिकार नै जौबाट बनेका हुन्छन् । ती मुलुकमा जौबाट बनेका पाउरोटी (ब्राउन ब्रेड) मुख्य रूपमा खाइन्छ । संसारका थुप्रै चिसो भूभागयुक्त मुलुकमा जौबाट बनेका बियर तथा वाइनको चुस्की लिने संस्कार समेत प्रसिद्ध नै छ । उत्पादन मात्राका हिसाबले जौ नेपालको पाँचौं खाद्यबालीमा पर्छ ।

टुसाको पाउडर

जौका परिकारहरू मात्र होइन, यसको जमरा पनि स्वास्थ्यका लागि बहुउपयोगी हुन्छ । प्राकृतिक चिकित्सा र आयुर्वेदमा जौको जमराको महत्त्वबारे व्याख्या गरिएको छ । जौको जमराबाट तयार पारिएको ‘जुस’ र ‘पाउडर’ को सन्तुलित सेवन गर्नाले व्यक्ति स्वस्थ र मजबुत रहन्छ ।

परम्परागत प्राकृतिक चिकित्सामा जौको जमरा बनाउँदा केही सामान्य विधि अपनाइन्थ्यो । अहिले भने यो विधि परिष्कृत भएको छ । परिष्कृत एवम् आधुनिक विधिबाट जौको जमराबाट जुस तथा पाउडर तयार पार्ने विभिन्न विधि छन् ।

सबैभन्दा पहिले पहाडी तथा उच्च हिमाली भागमा टनेल तथा ग्रीनहाउस बनाइन्छ । यसरी ग्रीनहाउस बनाइएपछि कुनै रासायिक मलको प्रयोग नगरी माटो तयार पारेर जौको बीउ छरिन्छ । बीउ छरेको नौ दिनदेखि दुई हप्ताभित्रमा उम्रिइसक्छ । जमरा उम्रिएको करिव एक हप्तामा एकदेखि डेढ इन्चको टुसा बन्छ । डेढ इन्च लामो जमराको टुसालाई काटेर सूर्यको प्रत्यक्ष प्रकाश नपर्ने गरी हावामा सुकाइन्छ ।

सुकेपछि त्यसलाई पाउडर बनाइन्छ । यो पाउडरलाई आवश्यकताअनुसार पानीमा घोलेर पिउन सकिन्छ । प्रशोधित पाउडरलाई क्याप्सुल तथा चक्कीका रूपमा पनि तयार गर्न सकिन्छ । जौको जमराको जुस, पाउडर, क्याप्सुल तथा चक्कीलाई आवश्यकताअनुसार उपभोग गर्न सकिन्छ ।

जमराको शक्ति : पाचन शक्तिको वृद्धि

जौको जमरामा ‘आइरन’, ‘कपर’, ‘फोलिक एसिड’, ‘भिटामिन–सी’, ‘भिटामिन–बी सिक्स’, ‘भिटामिन–बी ट्वेल्भ (१२)’, प्रोटिनजस्ता पोषक तत्त्व र भिटामिन पाइन्छन् । जौको जमरामा पाइने यस्ता तत्त्वले शरीरमा ‘हेमोग्लोबिन’ को मात्रा बढाउन सहयोग पुग्छ । शरीरमा हेमोग्लोबिनको मात्रा सन्तुलित भएमा रक्तकणको मात्रामा वृद्धि भई शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ, जसका कारण विभिन्न रोग लाग्ने सम्भावनाबाट बच्न सकिन्छ ।

जौको जमरामा फाइबरको मात्रा अधिक हुन्छ । फाइबरको मात्रा पर्याप्त हुने भएकाले सन्तुलितरूपमा जौको जमरा उपभोग गरेमा आन्द्रामा टाँसिएर रहेको लेऊ सफा हुन्छ । यसो हुँदा हामीले खाएका खाद्य पदार्थको पोषण तत्त्व राम्रोसँग सोस्ने शक्ति आन्द्रामा विकसित हुन्छ । आन्द्रामा लेऊ नजम्दा आन्द्रा सफा भई पाचन प्रणाली नै मजबुत हुन्छ । पाचन प्रणाली मजबुत हुँदा खाना अपच हुने, कब्जियत हुनेजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । पाचन प्रक्रिया मजबुत भएपछि पायल्स, फिस्टुला, फिसरजस्ता रोगबाट पनि बच्न सकिन्छ । यो अवस्थामा शरीरमा आवश्यक पोषक तत्त्वको कमी समेत हुन पाउँदैन ।

सन्तुलितरूपमा जौको जमरा उपभोग गर्दा रगतमा अक्सिजनको मात्रा पुर्‍याउन समेत मद्धत मिल्छ । र, यसमा पाइने तत्त्वका कारण रगतको शुद्धीकरण समेत हुन्छ । यसमा पाइने इन्जाइमका कारण क्यान्सरबाट पनि बच्न सकिन्छ । जमरा वा यसको पाउडरबाट प्राप्त हुने रसले रगत पातलो गराउन सहयोग गर्ने भएकाले रक्त–प्रवाह सहज भई हृदयाघात तथा पक्षाघातको सम्भावनाबाट पनि बच्न सकिन्छ । जौको जमरा उपभोग गर्नाले प्रदूषणका कारण टाउको दुख्ने, नाक बन्द हुने समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

सन्तुलितरूपमा जौको जमरा उपभोग गर्नाले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्छ । यसबाट आनन्दले निद्रा लाग्न पनि मद्धत पुग्छ । जौको जमरामा ‘क्लोरोफल’ र ‘बेटाक्यारोटिन’ जस्ता तत्त्व पाइने भएकाले यो सबै उमेरसमूहका व्यक्तिले उपभोग गर्न सकिन्छ । यसमा आमाको दूधमा पाइने पोषण तत्त्व समेत पाइने भएकाले बच्चाले पनि सन्तुलितरूपमा उपभोग गर्दा हुन्छ । जौको जमरा गर्भवती महिलाले सन्तुलित रूपमा उपभोग गरेमा गर्भमा रहेको भ्रुण स्वस्थ रहन समेत सहयोग मिल्छ ।

जौमा हुने प्रोटिनलगायतका पोषक तत्त्वबाट शरीरमा ऊर्जा मिल्ने भएकाले जौको जमरालाई आहारपूरक पोषण (डायटरी सप्लिमेन्ट) का रूपमा पनि उपभोग गर्न सकिन्छ । जमराको जौको सन्तुलितरूपमा उपभोग गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले जवान रहिरहन पनि सहयोग मिल्छ ।

वयस्कलाई दैनिक १५ ग्राम जमरा

बिहान पानी तथा हल्का किसिमका खाजा खाएर प्राकृतिक विधिबाट तयार पारिएको जौको जमरा खानु उचित हुन्छ । यसमा क्षारीय तत्त्व समेत पाइने भएकाले जौको जमरालाई बिहानै खालि पेटमा पानीसँग समेत उपभोग गर्न सकिन्छ । वयस्क व्यक्तिले दिनमा तीन पटक गरी १५ ग्राम (पाँच ग्रामका दरले) जौको जमरा उपभोग गर्नु उचित हुन्छ ।

सुरुमा जौको जमरा उपभोग गर्दा रिँगटा चल्ने, पखाला लाग्नेजस्ता लक्षण देखिन सक्छन् । यस्ता लक्षण देखिएमा शरीरमा जमराले काम गर्न थालेको बुझ्न सकिन्छ । दीर्घरोगी तथा विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिले प्रशोधित जमरा उपभोग गर्न सकिने भए तापनि त्यस्ता व्यक्तिले भने प्राकृतिक चिकित्सक तथा पोषणविद्को सल्लाहमा मात्र सेवन गर्नु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)