मृत्युको मुखबाट बौरिँदा…

डा. दिनेश बाँस्तोला

विक्रम सम्बत् २०६२ को पहिलो अर्थात् वैशाखको महिना । २४ गतेका दिन । बिरुवाले पालुवा फेरिरहेका थिए । मेरो जीवनमा पहिलो पटक मुटुमा ऐंठन भएको आभास भए पनि त्यसलाई गम्भीररूपमा लिइनँ । दैनिक कार्यमै व्यस्त रहें । त्यही वर्षको चैतमा बुबा टिकाराम बाँस्तोलालाई हृदयाघात भयो । पोखरास्थित मणिपाल अस्पतालमा सफलतापूर्वक बुबाको उपचार गरियो । बुबालाई हृदयाघात भएपछि मेरो छातीको ऐंठन पनि मुटुको समस्याकै कारणले पो हो कि भन्ने मेरो आशङ्कामा थप बल पुग्यो ।

पहिलो पटक ऐंठन भएको एक महिनापछि मलाई छाती निकै गहु्रँगो भएको अनुभूति भयो । २४ वैशाख, २०६३ मा त महाराजगञ्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षको सघन उपचार कक्ष (आईसीयू) मै बस्नुपर्‍यो । त्यसपछि पाँच थरी औषधिहरू खान थालें ।

रोगले गाँज्न थालेपछि मानसिक, आर्थिक, सामाजिकजस्ता अनेकौं चुनौती समेत निम्तँदा रहेछन् । मुटु अस्वस्थ भएपछि मनमा आँधिबेहरी मडारिन थाल्यो । सोचमग्न हुन थालें ।

मृत्युको पिरलो

यो स्थितिमा म र मेरी जीवनसाथी दिपेश्वरा नेपालबीचको फराकिलो उमेर अन्तरले मनमा च्वास्स घोच्थ्यो । मनमनै सोच्दै एकोहोरिन्थेंं– ‘कतै दिपेश्वरालाई वैवाहिक बन्धनमा बाँधेर अन्याय त गरिनँ !’ भर्खरै किशोरावस्थामा प्रवेश गरिरहेका छोरा आशिष र छोरी अस्मिताको अनुहार देख्दा गला नै अवरुद्ध हुन्थ्यो । छोराछोरीप्रति कर्तव्यविमुख पो हुन्छु कि भन्ने चिन्ताले एकान्तमा आँखा रसाउँथे अनि छट्पटाउँथे । परिवार भेट हुँदा ओठमा मुस्कान ल्याउने प्रयास गर्थें, मन भने चस्किरहन्थ्यो ।

औषधिको सहाराले आठ वर्ष बिताएँ । सभा, समारोह, गोष्ठी, निरीक्षण, अध्ययन–अध्यापन, गृहस्थी जीवन र स्वधर्मको पालना गर्दै ५७ वसन्त पार गरें । पारिवारिक खुशी, घर–व्यवहार, शुल्क, ऋणजस्ता चपेटामा पर्दै जाँदा आफ्नो स्वास्थ्य समस्या गौण हुँदै थियो । दैनिकी चलिरहेकै थियो । मङ्सिर, २०६७ मा बुबालाई पुनः रोगले च्याप्यो । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा बुबाको उपचार गरियो । एन्जीओग्राफी गर्दा मुटुका तीन वटै रक्तबाहिनी धमनीमा बाक्लो लेप लागेकाले डाई समेत पठाउन नसकिएको प्रतिवेदन आयो । यसो हुँदा बुबाको उपचारमा एन्जियोप्लास्टी अर्थात् मुटुको खुला शल्यक्रिया गर्ने ढोका बन्द भयो । अब उहाँको उपचार केवल १२ किसिमका औषधिमा मात्रै सीमित भयो ।

माघ, २०६९ को एक बिहान । झिसमिसे चार बजे । मौसम चिसो थियो । बुबालाई जाडो भएछ । उहाँले भन्नुभयो– ‘मलाई जाडो भयो, राम्रोसँग सिरक ओढाइदेऊ ।’ त्यसपछि बुबा कहिल्यै नब्युँझने गरी चिर निद्रामा पर्नुभयो । बुबाको निधन भएको आठ महिना पनि नपुग्दै छाती भारी हुने समस्याले मलाई सतायो । हिँड्दा बढी सताउँथ्यो । १०–१२ पाइला हिँड्यो कि छाती भारी भैहाल्ने ।

समस्याले सताउन थालेपछि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक डा. यादवदेव भट्टको शरणमा पुगें । डा. भट्टले जति सक्दो चाँडै एन्जिओग्राम गर्ने सल्लाह दिनुभयो । सम्भव भएसम्म एन्जिओग्राम गरेकै मौकामा एन्जियोप्लास्टी समेत गर्ने गरी तयार रहन सल्लाह दिनुभयो । तर, ‘म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भनेजस्तै भयो; सोचेजस्तो भएन । मलाई एन्जिओप्लास्टी गर्ने सम्भावना नै रहेन । जीवनमा ठूलै चोटको झट्का महसुस हुँदा छाती झन् भारी भयो । आफूले आफैंलाई धिक्कार्न थालें ।

त्यसपछि मनमनै जीवनको आयु गणना गर्न थालें । जीवनसाथी र छोराछोरीको अनुहार हेर्दै मनमनै आफ्नो जीवनको आयु गणना गर्दा मन कति कहालिएको थियो ! आज वर्णन गर्नै सक्दिनँ । बुबा–आमा, हजुरबुबा–हजुरआमा, मामा घरका सबैको आयु गणना गर्न पुगें । सबैको आयु गणना गरिसकेपछि म अझै २५ वर्ष बाँच्न सक्ने निष्कर्ष निकालें । मनमा अलिकति भए पनि आशाको दीप जाग्यो । तर, मुटुका तीन वटै धमनीमा रोगले च्यापेको छ । ९ ठाउँमा बाक्लै लेप लागेको छ । ९९ प्रतिशतसम्म रक्त–प्रवाह अवरुद्ध छ । सम्झँदा फेरि आफैंलाई कहाली लाग्छ ।

जीवनसाथी र छोराछोरीको अनुहारमा तनाव देख्दा न रातमा निद्रा लाग्छ न त दिनमा भोक नै । यसबाट मलाई थप पीडा हुन्थ्यो । डा. भट्टले शल्यचिकित्सकको राय लिन मलाई सुझाए । परिवार र आफन्तहरूमा ठूलै खेलाबैला मच्चियो । आफन्तहरूले मेदान्त, बैङ्गलोर र बैङ्ककजस्ता ठाउँमा पुगेर उपचार गराउन सल्लाह दिए । म बिरामीका लागि भने यस्ता सुझाव ‘कौडी न सौडी, बजार–बजार दौडी’ भनेजस्तै भयो ।

राजधानीकै बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गर्न त लाखौं रकमको जोहो गर्नुपर्छ भने विदेशमा उपचार गर्ने लफडामा पर्न मन मानेन । विदेशमा गएर उपचार गर्दा दसौं पोका रगत दान दिने आफन्त, रकम, बिरामीको हेरचाह गर्ने आफन्तको व्यवस्था मिलाउनु मेरा लागि चुनौतीपूर्ण काम थिए । विदेशमा गएर उपचार गर्ने कुरा सम्झँदा पनि कहाली लाग्थ्यो । सुरक्षित तरिकाले अस्पताल पुग्ने, सफल शल्यक्रियाका लागि चिकित्सक रोज्ने र विदेशमा उपचारपछि सकुशल नेपाल फर्कने विश्वास त मेरा लागि धेरै टाढाको विषयजस्तो लाग्यो । विदेशको उपचार मेरा लागि ‘आकाशको फल, आँखा तरी मर्’ भनेजस्तै लाग्यो ।

बरु आफ्नै देशमा, आफ्नै (नेपाली) मुटुरोग विशेषज्ञ तथा शल्य चिकित्सकसँग नै उपचार गराउने निक्र्योल गरें । उपचारका लागि २५ कात्तिक, २०७० मा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक डा. रामेशराज कोइरालाको टोलीमा पुगेंं । डा. कोइरालाको टोलीले मेरो उपचार थाल्यो । र, मुटुको खुला शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो ।

बाँच्ने आशाको पुनर्जागरण

मुटुको सफल शल्यक्रियापछि जीवनमा दोस्रो पटक आईसीयूबाट फर्किएँ । अस्पताल बसाइको पाँचौं दिन घर आइपुगें । मनमा पनि आशाको दीयो जाग्न थाल्यो । श्रीमती, छोराछोरीको अनुहार हेरें, शरीरमा पीडा भएर पनि मन्द मुस्कान छाडें । म बाँच्ने आशा देखेर उनीहरू पनि रमाउन थाले । तर, घर आइसकेपछि पनि समस्या देखिए ।

५० सेमीभन्दा बढी काटेर मर्मत गरिएको शरीरको भाग तथा चार ठाउँमा काटेर मर्मत गरिएको मुटुको बाहिरी पत्रमा प्रतिक्रियाजन्य रक्तश्राव भयो । देब्रे फोक्सोमा निमोनिया भएर प्ल्युरामा तरल जम्मा भयो । नितम्बको बीचमा छाला खस्रो भएर विभिन्न किसिमका जटिलता उत्पन्न भए । जीवनमा ठाडाको ठाडै रहेर (४५ देखि ९० डिग्रीमा ढल्किएर) सुत्नु र निदाउनु पर्दाको सकसको त कुरै नगरौं !

उपचारका क्रममा शरीरका पचासभन्दा बढी ठाउँमा सियोले खोपिएको थियो । यही शरीर करिव २० पटक एक्स–रेको विकिरणमा होमियो । एक डालो त औषधि नै लिएर पचायो शरीरले । बाँच्ने आशामै यी सब गरिए/भोगिए ।

प्रतिजैविक (एन्टिबायोटिक) औषधिको मात्रा पूरा गरिसकेको थिएँ । अन्य औषधिहरू सेवन गर्दै थिएँ । शल्यक्रिया गरेको एक हप्ता जतिमा एक्कासि श्वास–प्रश्वास कठिन भएपछि २६ कात्तिक, २०७० मा फेरि अस्पताल भर्ना भएँ । अस्पतालको शैड्ढयामा करिव १४ दिन बस्नुपर्‍यो । त्यसले फेरि परिवार र आफन्तजनमा भय, सङ्शय र सन्त्रास निम्त्यायो । जीवनसाथी, छोराछोरी तथा आफन्तको अनुहार मलिन भयो । तर, नयाँ जीवन लिएर घर फर्किएँ । फेरि परिवार तथा आफन्तजनमा मुस्कान खुल्यो; मेरो मनमा पनि आशाको दियो पलायो ।

त्यही मुटुले आजसम्म काम गरिरहेकै छ । त्यसैले त यी हरफ लेख्ने मौका पाएँ । शल्यक्रिया गरेको साठी दिनमा पनि यस्तै हरफ लेखेको थिएँ । चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता तथा सफल उपचारकै कारण बाँच्न सफल भएँ । मृत्युको मुखमा पुगिसकेको मैले नयाँ जीवन पाउँदा खुसी नलाग्ने कुरै भएन । बाँचेपछि त मैले न दिपेश्वरालाई छाड्नुपर्‍यो न त छोराछोरी, आफन्त, शुभचिन्तक र संसारलई नै ।

दृष्टिभ्रम र मतिभ्रम

मृत्युको मुखबाट फर्कन्छु कि फर्कन्नँ भन्ने चिन्ताकै कारण सफल उपचारअघि मैले दृष्टिभ्रम र मतिभ्रम महसुस गरेको थिएँ । आकाशमा चील, गिद्ध, बाज उडेकाजस्ता दिवासपना देख्थें । अस्पतालका पर्खाल, भुइँ र छतलगायतका ठाउँमा विभिन्न किसिमका आकृतिहरू स्पस्टै देख्थें । पूर्वजहरू आफ्ना शाखा–सन्तान भेट्न आएको देख्थें । शल्यक्रियाअघि र पछिको निराशाको घडी ज्यादै कठिन हुँदोरहेछ, त्यो पनि भोगियो । तर, बाँच्ने आशा थियो र बाँचियो पनि ।

समवेदनशील स्वास्थ्यकर्मीको स्नेह

गङ्गालालका वरिष्ठ चिकित्सकहरू रामेशराज कोइराला, अनिल आचार्य, निवेश राजभण्डारी, रविन्द्रभक्त तिमिला, मनबहादुर केसी, यादवदेव भट्ट, रवि मल्ल, चन्द्रमणि अधिकारी र अरुण मास्केप्रति म अति धेरै नै कृतज्ञ छु । सम्झना शाक्य, महेन्द्र लम्साल, सुधा लम्साललगायत सो अस्पतालका सम्पूर्ण नर्सिङ तथा सरोकारवाला कर्मचारीप्रति कृतज्ञ छु । पीडा हलुङ्गो हुन परिवार तथा आफन्तको स्नेहले निकै मद्धत मिल्यो ।

मेरो उपचारका क्रममा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले निकै मेहनत गरे, ज्यादै स्नेह दर्शाए । उहाँहरूको मेहनत र स्नेहकैै कारण मेरो जीवन बच्यो । बिरामीप्रति एउटा स्वास्थ्यकर्मी तथा चिकित्सक कति समवेदनशील हुन्छ भन्ने कुरा मैले भोगें ।

अहिले जताततै सरुवा रोगभन्दा नसर्ने रोगको समस्या बढिरहेको देखिन्छ । रोगहरूका बारेमा जनचेतना जगाउन अझै पुगेको छैन । नागरिकले स्थानीय तहसम्म नै सहजरूपले स्वास्थ्य सेवा पाउनु आजको आवश्यकता हो । आजको युगमा पनि उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताले बिरामीलाई शारीरिक मात्र होइन, मानसिक तनाव समेत निम्त्याउँछ ।

मेरो उपचारमा करिव चार लाख रूपैयाँ खर्च भयो । विदेशमा उपचार गरिएको भए त यति रकमले के भ्याउँथ्यो र ! आज पनि गङ्गालाल कहलिएको अस्पतालमा पर्छ । यहाँको स्वास्थ्य सेवा राम्रो छ । यसलाई समयसापेक्ष ढङ्गबाट अझै स्तरीकरण गर्नु आवश्यक छ । अस्पतालमा पुग्ने बिरामीका गोप्य समस्या पनि हुन सक्छन् । अस्पतालले बिरामीका समस्याका ‘गोप्य पोका’ पनि खोल्ने वातावरण बनाउनुपर्छ । चार लाख रूपैयाँ खर्च गरेर उपचार गर्दा मैले त तनावमा पर्नुपर्‍यो भने मभन्दा सामान्य व्यक्तिले त उपचार खर्च जुटाउनै नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ । हरेक प्रदेशमा गङ्गालालजस्तै अस्पतालको खाँचो छ ।

अहिलेको दैनिकी

शाश्वत सत्य त जन्म र मृत्यु नै हो । तर, मृत्यु जीवनकालको सबैभन्दा पीडादायी र सङ्घर्षमय अवस्था हुन्छ । जीवनको अन्तिम क्षणसम्म पनि ‘अझै बाँच्न पाए हुन्थ्यो’ भन्ने लाग्दो रहेछ । बाँच्ने तृष्णाले नै जीवनलाई डो¥याएको हुन्छ । तसर्थ, जीवनमा तीन पटक सघन उपचार कक्षबाट निस्किसक्दा पनि अझै बाँच्ने तृष्णा घटेको छैन ।

मृत्युको मुखबाट निस्किइसकेपछि जीवनशैलीमा निकै परिवर्तन गर्न थालें । खानपानमा निकै सचेत छु । जिउँने कला अँगालेको छु, बोसोयुक्त खाना वर्जित गरेको छु । नुन थोरै मात्र खान्छु । मद्यपान र धूमपान वर्जित गरेको छु । शल्यक्रिया गरेको छ महिनासम्म छातीमा चोटपटक लाग्नबाट बच्ने सल्लाह दिइएको थियो, त्यसप्रति सचेत रहें ।

दैनिक व्यायाम गर्छु । सेवामा रहँदा लोहसालबाट महाराजगञ्ज क्याम्पससम्म हिँडेरै ओहोरादोहोर गर्थें । अहिले सेवानिवृत्त भए पनि दैनिक हिँड्छु र हल्का व्यायाम पनि गर्छु, जसबाट शरीर र मन मजबुत बनाउन सहयोग मिलिरहेको छ । सेवाबाट अवकाश पाए पनि कहिल्यै खालि बसिनँ/बस्दिनँ । शरीर र मनलाई जहिल्यै व्यस्त राख्छु । पुस्तक पढ्नु तथा जनचेतना जगाउनु अहिलेका मेरा दैनिक काम हुन् । लेखपढ जस्तो ज्ञानको दीपले मन र शरीर मजबुत बनेका छन् ।

दिपेश्वरासँगको लामो सहयात्रा

मेरो जीवन सहज बनाउन जीवनसाथी दिपेश्वराले अतुलनीय भूमिका खेलेकी छन् । मेरो आयु लम्ब्याउन उनले कुनै कसर बाँकी राखेकी छैनन् । दिपेश्वराको गहिरो प्रेमबाट शरीरको दुखाइ समेत भाग्छ ।

आशा छ, अझै लामो समय बाँच्न सक्छु अनि दिपेश्वरा र म अझै लामो समय रमाउन सक्छौं । परिवार, आफन्त तथा शुभचिन्तकको न्यानो मायाका साथ अझै लामो यात्रामा यात्रारत छुु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)