निषेधित स्थानमा चुरोटको धुवाँ

लक्ष्मण बस्याल

नेपालमा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लागू छ । यो ऐन २०७२ मा सामान्य संशोधन समेत भएको हो । यो ऐनअनुसार सार्वजनिक ठाउँमा सूर्तीजन्य पदार्थ तथा धूमपान गर्न पाइँदैन ।

तर, नेपालका प्रायः सार्वजनिक स्थलमा आज पनि चुरोट, बिँडी, खैनीजस्ता सूर्तीजन्य पदार्थ निर्बाध सेवन गर्नेको सङ्ख्या कम छैन । यस्ता पदार्थको सेवन गर्नेलाई हुने स्वास्थ्य समस्या त आफ्नो ठाउँमा छँदैछ, सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्दा धूमपान नगर्ने व्यक्तिलाई झन् बढी समस्यामा पार्छ, टाउकै दुखाउँछ ।

यस्तो अवस्थामा कार्बाही गर्ने कानुन बनेको भए पनि कार्यान्वयन भने अत्यन्तै फितलो छ । नेपालको सन्दर्भमा हेर्दा बालबालिकादेखि पाको उमेरका व्यक्तिसम्मले धूमपान तथा सूर्ती सेवन गर्ने गरेको पाइन्छ । कसैले सौख त कसैले उच्च व्यक्तित्व देखाउने भ्रमका कारण धूमपान गरेको पनि देखिन्छ । कच्ची सडकमा गाडीले धूलो उडाए जसरी सार्वजनिक स्थलमा धूमपान गर्दा पनि सम्बन्धित निकाय चुप लागेर बस्नु विडम्बना हो ।

धूमपान गर्न नपाइने स्थल

नेपालमा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनले कस्तो ठाउँमा धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भन्ने प्रस्ट व्यवस्था गरेको छ । नेपालको कानुनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायु सेवा तथा सार्वजनिक सवारी साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय सार्वजनिक स्थल हुन् । त्यसैगरी, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र÷छात्रावास तथा अतिथिगृह, रङ्गशाला, कभर्ड हल, शारीरिक सुगठन÷व्यायाम केन्द्र, पौडीपोखरी तथा पुल हाउस, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टरका साथै घर तथा निजी सवारी साधनभित्र समेत धूमपान गर्न पाइँदैन । यस्ता स्थलबाहेक सरकारले कुनै ठाउँको महŒव र समवेदनशीलतालाई विचार गरी राजपत्रमा सूचना प्रकाशित गरेर तोकेका स्थलमा समेत धूमपान गर्न पाइँदैन ।

धूमपान तथा सूर्ती सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको कुरा यस ऐनमा समेत उल्लेखित छ । धूमपानका कारण व्यक्तिको जीवनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्न जाने कुरा समेत ऐनमा नै स्पस्टरूपमा उल्लेख छ । तर, सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिको अनुगमन तथा निरीक्षण गरी नियम कार्यान्वयन गर्ने कर्मचारी तोके पनि नियम कार्यान्वयनमा ठोस कदम चाल्न नसक्नु सरकारको अक्षमता मान्न सकिन्छ ।

के–कस्तो छ सजायको व्यवस्था ?

यसरी सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिलाई कार्बाहीको समेत व्यवस्था छ । तर, ती नियम ठोसरूपमा कार्यान्वयन भने नभएको अवस्था छ । यस ऐनको दफा १७ मा सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । सार्वजनिक स्थलमा धूमपान गर्न रोक लगाउने व्यवस्था यस ऐनले गरेको छ । धूमपान गर्न रोक लगाउँदा समेत नमानी धूमपान गर्ने व्यक्तिले पटक–पटक अटेरी गरेमा धूमपान गर्ने व्यक्तिलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रूपैयाँ जरिवाना वा दुवै सजाय गर्ने कानुनी व्यवस्था छ । अहिलेको समयमा यसरी सार्वजनिक स्थलमा धूमपान गरेवापत सय रूपैयाँ मात्रै जरिवाना निकै कम वा नाम मात्रको हो । पटक–पटक धूमपान गरेको अवस्थामा धूमपान गर्ने व्यक्तिलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने व्यवस्था भए पनि प्रभावकारी अनुगमनको अभावमा पटक–पटक धूमपान गरेको कुरा पहिचान गर्नै मुस्किल पर्छ ।

धूमपान तथा सूर्ती सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित वा कर्मचारी भएमा धूमपान तथा सूर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र पटक–पटक धूमपान वा सूर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी कर्मचारीको सेवा–शर्तसम्बन्धी कानुनवमोजिम सचेत गराउने वा अन्य विभागीय कार्बाही गर्ने व्यवस्था छ । सार्वजनिक स्थल व्यवस्थापकले पनि यो ऐनविपरीत सार्वजनिक स्थलमा धूमपान वा सूर्ती सेवन गरेको अवस्थामा अनुशासनमा नरहेको सरह मानी त्यस्ता कर्मचारीलाई अधिकार प्राप्त अधिकारीले कानुनवमोजिम सचेत गराउने वा विभागीय कार्बाही गर्ने व्यवस्था छ । तर, यो व्यवस्था न कर्मचारीमा लागू भएको पाइन्छ न त व्यवस्थापकमा नै ।

सार्वजनिक स्थलमा धूमपान गर्दा आफू मात्र होइन, त्यहाँ (सार्वजनिक स्थलमा) रहेका बालबालिका तथा अन्य व्यक्तिको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने जोखिम हुन्छ । धूमपानकै कारण एक व्यक्तिमा रहेका विभिन्न किसिमका सरुवा रोग अरुमा सर्ने समेत जोखिम हुन्छ । धूमपान गर्नेको स्वास्थ्यमा त्यसले निकै खराब किसिमले असर पु¥याउँछ भन्ने कुरा थाहा नपाउनेले मात्र होइन, थाहा पाउनेले समेत धूमपान गरिरहेको यत्रतत्र देखिन्छ । यस्तो अवस्थामा सबै नागरिक सचेत हुनु त आवश्यक छ नै, सरकारी तथा निजी सङ्घ–संस्था, नागरिक समाज तथा सम्बन्धित सरकारी निकायले प्रभावकारी कदम चाल्नु अत्यावश्यक छ ।

लेखक अधिवक्ता हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)