घरमै बनाउनोस् यी पाँच किसिमका मिठा परिकार !

स्वादिलो थाई सुप– ‘तोम् याम् कुङ्’

‘तोम् याम कुङ’ थाइल्याण्डको सुपरिचित सुप हो । थाइल्याण्डका प्रत्येक घरको भान्सामा अमिलो स्वादको यो सुप बन्दछ । यो सुप प्रायः सबै थाई रेस्टुरेन्टहरूको मेन्युमा समावेश हुन्छ ।

नेपालका कतिपय रेस्टुरेन्ट तथा होटलमा पनि यो आइटमको स्वाद लिन पाइन्छ । काठमाडौंको लाजिम्पाटस्थित ‘मण्डला होटल’ का सेफ सन्तोष अधिकारीले होलिस्टिककर्मीलाई ‘तोम् याम् कुङ्’ सुपको स्वाद चखाए । उनले यो सुप बनाउने टेक्निक समेत बताए ।

आवश्यक सामग्री

तोम् याम् कुङ् सुप बनाउने विभिन्न तरिका छन् । करिव पाँच जनाका लागि यो सुप बनाउन छ कप पानी तयार पार्नुपर्छ । माछामा राख्ने एक चम्चा सस पनि आवश्यक हुन्छ । त्यसपछि लेमनग्रास, दुई केस्रा पिसेको लसुन, करिव आठ वटा लसुनको पातसहित स्लाइस्ड फ्राइड गार्लिक, कोकोनट मिल्क र तोम् याम् पेस्ट तयार पारिन्छ ।

आवश्यकताअनुसार नुन र मरिच जम्मा गरिन्छ अनि करिव आधा किलोग्राम स्रिम्प (झिँगे माछा) तयार पारिन्छ । दुई दाना कागतीको रस, करिव दस बोट धनियाँको पात र तीन वटा हरियो खुर्सानी काटिन्छ । रुचिअनुसार करिव ५० ग्राम च्याउ पनि हाल्न सकिन्छ । तर, च्याउ अनिवार्य होइन ।

बनाउने टेक्निक

आवश्यक सामग्रीहरू तयार भैसकेपछि पानी, कोकोनट मिल्क, माछामा हाल्ने सस, लेमनग्रास, पिसेको लसुन, नुन र मरिचलाई एउटा भाँडोमा हाली उमाल्नुपर्छ । उम्लिसकेपछि आगो सानो पारेर करिव १५ मिनेट पकाउनुपर्छ । आगोबाट भाँडो निकालेर करिव दस मिनेट सेलाउनुपर्छ । यसरी पाकेपछि जालीबाट छोक्रा छानेर झोललाई अर्को भाँडामा राखिन्छ । र, त्यही झोल रहेको भाँडालाई फेरि आगोमा बसालिन्छ ।

भाँडामा स्रिम्प, धनियाँको पात, च्याउ हालेर राम्रोसँग चलाउनुपर्छ । आगो भने धेरै ठूलो बनाउनु हुँदैन । करिव पाँच मिनेट पकाएर कागतीको रस, लसुनको पात र खुर्सानी हालिसकेपछि तोम् याम् कुङ् तयार हुन्छ । तोम् याम् कुङलाई ताततातै खानु उपयुक्त हुन्छ ।

मासुको अचार

मासुका विभिन्न स्वादिष्ट परिकार बनाएर त खाने आम प्रचलन छँदै छ । मासुको स्वादिलो अचार समेत बनाएर खान सकिन्छ । खसीको मासुको अचार बनाउने तरिकाबारे जानौं–

आवश्यक सामग्री

मासुको अचार बनाउनका लागि हड्डी र बोसो नभएको खसीको मासु तयार पार्नुपर्छ । एक किलो मासुको अचार बनाउन आधा लिटर शुद्ध तेल आवश्यक हुन्छ । ३० ग्राम नुन, एक चम्चा बेसार, ३० ग्राम अदुवा र लसुनको पेस्ट, २० ग्राम जिराको धुलो, १० ग्राम धनियाँको धुलो र ३० ग्राम रायोको दानाको धुलो तयार पार्नुपर्छ । कागती वा निबुवाजस्ता अमिलोको पकाएको एक चम्चा रस, पाँच ग्राम गरम मसला र स्वादअनुसार खुर्सानीको धुलो तयार पार्नुपर्छ ।

बनाउने टेक्निक

अचारका लागि तयार पारिएको खसीको मासुलाई डेक्चीमा राखिन्छ । मासु राखिएको डेक्चीलाई केही बेर चुल्होमा पकाएर मासुलाई बफ्याइन्छ । मासु बाफिइसकेपछि चुल्होबाट निकालेर सेलाउन दिनुपर्छ । सेलाएको मासुलाई मसिना केस्रा–केस्रा बनाउँदै केलाउनुपर्छ ।

अब ताप्केमा तेल तताउनुपर्छ । तेल तातिसकेपछि बफ्याएर सेलाएको मासुलाई फ्राई गरिन्छ । फ्राई गरिएको मासु झुरुम–झुरुम भैसकेपछि केही बेर सेलाउनुपर्छ । पाकेको मासुलाई सुख्खा भाँडामा खन्याउनुपर्छ । त्यसपछि त्यही ताप्केलाई आगोमा बसाएर अदुवा, लसुनलाई राम्रोसँग तर नडढ्ने गरी फ्राई गर्नुपर्छ । हल्का रातो भएपछि मसला हालेर सेलाउनुपर्छ ।

यति गरिसकेपछि सुख्खा भाँडामा राखिएको मासुमा मरमसला तथा अमिलो हालेर काँटे चम्चाले राम्रोसँग चलाउनुपर्छ । अब मासुको अचार तयार भयो । तयार भैसकेपछि तत्कालै खान पनि सकिन्छ वा सिसाको भाँडामा राखेर पछि खान पनि मिल्छ ।

क्याबेज रोल

क्याबेज रोल ‘कन्टिनेन्टल खाना’ को आइटममा पर्छ । यो आइटम बनाउने विभिन्न विधि छन् । जानौं, ‘क्याबेज रोल’ बनाउने युरोपियन विधि–

आवश्यक सामग्री

क्याबेज रोल बनाउनका लागि मसिनो गरी टुक्रा पारिएको २५० ग्राम गोलभेंडा र मसिना टुक्रा नै पारिएको हड्डीविनाको आधा किलोग्राम खसीको मासु तयार पार्नुपर्छ । त्यसपछि सय ग्राम प्याज मसिनो गरी टुक्र्याउनुपर्छ । २० ग्राम पिसेको छ्यापी, एक पोटी पिसेको लसुन, २० ग्राम पिसेको अदुवा, १५ ग्राम नुन, मसिनो गरी काटेको एक कल्ली हरियो धनियाँ र आधा चम्चा टेस्टिङ पाउडर तयार पारिन्छ । बन्दागोभी उधारेर निकालिएका १० वटा सग्ला पत्ता, ३० मिलिलिटर तोरीको तेल र एक चम्चा जिराको धुलो आवश्यक हुन्छ ।

बनाउने टेक्निक

सबभन्दा पहिले बन्दागोभीको पत्तालाई राम्रोसँग सफा गरेर फराकिलो आरी (भाँडा) मा राखिन्छ । तयार पारिएको लसुन, अदुवा, छ्यापी, धनियाँ र प्याजको आधा भाग अर्को भाँडामा राख्नुपर्छ । यी सामग्रीमा नुन, टेस्टिङ पाउडर र जिराको धुलो राखेर राम्रोसँग फिट्नुपर्छ ।

अब कराईमा तेल तताउनुपर्छ र प्याजलाई रातो हुने गरी फ्राई गर्नुपर्छ । प्याजमा एक चम्चा नुन, आधा चम्चा बेसार र गोलभेंडा राखेर फ्राई गर्नुपर्छ । त्यसपछि कराईमा करिव आधा लिटर पानी हालेर उमाल्नुपर्छ । त्यसपछि बन्दाको पत्ताको डाँठलाई हल्का खुर्केर उम्लिरहेको पानीमा दुई मिनेट डुबाउनुपर्छ । अनि त्यसलाई पानीबाट झिकेर तर्‍याउनुपर्छ ।

अब अन्त्यमा, बाँकी रहेको आधा लसुन, अदुवा, छ्यापी, धनियाँ र प्याजलाई मासुसँग मोलेर बन्दाको पत्तामा बेर्नुपर्छ । मसलासँग मुछेर तयार पारिएको खसीको सबै मासु दस वटा बन्दाको पत्तामा बराबरी हुने गरी राखी पत्तामा हालिएको मासुलाई लाम्चो आकार हुने गरी बेर्नुपर्छ । त्यसपछि पात बाहिर मासु ननिस्कने गरी पातको दुबै छेउमा सिन्काले सिउन वा धागोले बेर्न सकिन्छ । गोलभेंडाको झोललाई मासु प्याक गरेर बेरिएको बन्दाको पत्तामाथि राखेर वा चोबेर खान सकिन्छ ।

कुकिज

घरमै बनाउन सकिने सजिलो बेकरी आइटम हो– कुकिज । कुकिज बनाउन आवश्यक समग्री र बनाउने तरिका पनि जानिराखौं–

आवश्यक सामग्री

डेढ किलो मैदाको कुकिज बनाउन चार वटा अण्डा, सय ग्राम बटर, ७५ ग्राम घ्यु, करिव ५० ग्राम आइसिङ सुगर तयार पार्नुपर्छ । आवश्यकता तथा स्वादअनुसार किसमिस, काजु, बदामका मसिना टुक्रा पनि तयार पार्नुपर्छ ।

बनाउने टेक्निक

कुकिज बनाउने सामग्री तयार भैसकेपछि एउटा भाँडामा बटर र आइसिङ सुगर मिसाएर फिटिन्छ । त्यसपछि सोही भाँडामा अलिअलि गर्दै क्रमशः अण्डा राख्दै फिटिन्छ । त्यसपछि मैदा मिसाएर मोल्नुपर्छ । स्वादअनुसार काजु, किसमिस, नरिवल, बदाम, आदि मिसाएर फिट्नुपर्छ ।

सबै सामग्री फिटिसकेपछि राम्रोसँग माडेर डल्लो बनाई करिव तीन घन्टा चिसो ठाउँमा राखिन्छ । त्यसपछि माइक्रोवेभ ओभनलाई ११५ डिग्री सेल्सियस तापक्रम हुने गरी करिव १० मिनेट तताउनुपर्छ । ओभनबाट ‘ट्रे’ लाई बाहिर निकालेर हल्का घ्यु दलेर इच्छाअनुसारका साइजमा काटी ‘डो’ (सानो रोटी) ‘ट्रे’ मा राखिन्छ । अब ‘ट्रे’ लाई तातो ओभनमा राखिन्छ र करिव १५ मिनेटसम्म सोही तापक्रममा पकाइन्छ ।
पाकेको कुकिजलाई ओभनबाट झिकेर सेलाएपछि खाइहाल्न पनि सकिन्छ वा हावा नपस्ने भाँडामा राखेर पछि खान पनि सकिन्छ ।

गाजरको हलुवा

गाजरको हलुवा लोकप्रिय नेपाली खाना हो । गाजरको हलुवा बनाउन आवश्यक पर्ने सामग्री तथा बनाउने तरिका निम्नानुसार छ–

आवश्यक सामग्री

एक किलोग्राम गाजरको हलुवा बनाउनका लागि ३५० ग्राम चिनी, एक कफ दूध, ५० ग्राम घ्यु, आधा चम्चा गरम मसलाको धुलो र करिव २० दाना बोक्रा छोडाएर टुत्र्याइएको बदाम मिसाउनुपर्छ ।

बनाउने टेक्निक

आवश्यक सामग्री तयार पारिसकेपछि गाजरलाई भुजुरी पारेर कुकरमा राखी दूध हालेर भाँडाको बिर्को बन्द गरी पकाउने । र, राम्रोसँग पाकिसकेपछि बिर्को उघारिन्छ । बिर्को उघारेपछि कुकरलाई फेरि आगोमा बसालिन्छ । आगोमा बसालिएको हलुवामा चिनी मसला र घ्यु हालेर करिव २० मिनेट पकाइन्छ । पाकिसकेको हलुवालाई झिकेर बटुकामा राख्न सकिन्छ । त्यसपछि हलुवामा बदाम हालेर सजाइन्छ । अब स्वादिलो हलुवा खान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)