काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश : व्यस्त दैनिकी, स्वस्थ जीवनशैली

केदारनाथ गौतम

समकालीन नेपाली राजनीतिमा युवा पुस्ताका चर्चित नेता हुन्, विश्वप्रकाश शर्मा । ६ पुस, २०२७ मा झापाको शान्तिनगरमा जन्मेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

२०४७ मा नेविसङ्घकाे झापा जिल्ला सभापति बनेका शर्मा २०५७ मा सोही सङ्गठनको केन्द्रीय सभापति बने । शर्मा नेविसङ्घको सभापति हुँदा काङ्ग्रेसका अर्का चर्चित युवानेता गगनकुमार थापा उपसभापति थिए । २०५८ मा पहिलो पटक नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बनेका विश्वप्रकाश २०७२ मा पार्टीको केन्द्रीय सदस्य बने । विद्यार्थी राजनीतिबाट खारिँदै दसकौंदेखि काङ्ग्रेस राजनीतिमा जमेका शर्मा अहिले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता छन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा– १ बाट काङ्ग्रेस उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रेका विश्वप्रकाश तत्कालीन एमालेका रविन कोइरालासँग पराजित भए । शर्मा पछिल्लो आम चुनावमा पनि सङ्घीय प्रतिनिधिसभाको सदस्य बन्नबाट झिनो मतान्तरले वञ्चित भए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार (राम) कार्कीसँग उनको कडा चुनावी प्रतिस्पर्धा थियो । दुवै दलका बौद्धिक एवम् चर्चित उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा चलेको झापा– १ ले राष्ट्रकै ध्यान खिँचेको थियो । अन्ततः कार्कीले बाजी मारे; निकटतम प्रतिद्वन्द्वी शर्माले भने प्रतिस्पर्धी कार्कीलाई विजयको पहिलो माला पहिर्‍याइदिएर अङ्कमाल गरे अनि बधाई तथा शुभकामना दिए । शर्माको यो व्यवहारलाई उच्च लोकतान्त्रिक आचरण, हार्दिकता, शिष्टाचार र सहिष्णुताको अनुपम उदाहरणका रूपमा सर्वत्र स्वागत गरियो ।

राजनीतिसँगसँगै सिर्जनकर्म

युवानेता विश्वप्रकाश राजनीतिकर्मी मात्र नभई ऊर्जाशील स्रष्टा र सर्जक समेत हुन् । पत्रपत्रिकामा निरन्तर स्तम्भलेखनमा क्रियाशील उनी कविता र गीतहरू लेख्छन्, सङ्गीत सिर्जना गर्छन्, गाउँछन् र नाच्छन् पनि ।

मिठो भाषणशैली, कलात्मक वाक्चातुर्य र शालीन प्रस्तुति शर्माका विशेषता हुन् । शिल्प, शैली र विषयवस्तुका हिसाबले विश्वप्रकाशका ‘टक सो’ र अन्तर्वाताहरू निकै गहन हुन्छन्; सञ्चारकर्मी तथा दर्शक–श्रोता दुवै पक्षका निम्ति हेर्न लायक मात्र नभई ‘रेफरेन्स’ नै बन्छन् ।

आऊ माया गरौं, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौं…
आवाज मिलाऔं, कदम–कदम मिलाऔं
महामारीबाट संसार जोगाऔं, ब्रेक द चेन…

यी र यस्तै शब्दहरूद्वारा संरचित ‘ब्रेक द चेन’ बोलको गीत यतिबेला युट्युबमा लोकप्रिय छ । २३ मार्च, २०२० मा अपलोड भएको यो गीतलाई यी पङ्क्ति लेखिँदासम्म झन्डै डेढ लाखले हेरिसकेका छन् । विश्वप्रकाश शर्माको शब्द तथा सङ्गीतमा प्रमोद खरेल र शितल मोक्तानको स्वरलहरीले सजिएको यो गीत कोरोनाभाइरस महामारीको विषयवस्तुमा केन्द्रित छ ।

आफ्ना सिर्जनालाई ‘जागरण गीत’ को सङ्ज्ञा दिन रुचाउने शर्माले नेपाल जेसिसका केही गीत बनाएका छन् । समाज र नागरिकलाई देशभक्ति र राष्ट्रसेवाप्रति उत्प्रेरित गराउने केही गीत बनाएका शर्माले कतिपय भने काङ्ग्रेसको पक्षमा चुनावी माहोल बनाउने र पार्टीका अरु विभिन्न अभियानबारे प्रष्ट्याउने खालका सुमधुर गीत–सङ्गीत पनि सिर्जना गरेका छन् ।

बिहेअघि पनि गीत, कथा, निबन्ध लेख्थें तर खासै चर्चामा आउँदैनथे; लेख्दै थन्क्याउँदै गर्थें,’ शर्माले सुनाए– ‘विवाहपछि भने श्रीमतीको उत्प्रेरणा र छोरीको मायाका कारण छोरीकै नामबाट २०६८ सालतिर स्वीकृति नामक एल्बम निकालें ।’

प्रवक्ता शर्मा राम्रो सङ्गीतकार भएको कुरालाई उनले बनाएको र निरन्तर घन्किरहेको झापास्थित एक एफएमको ‘जिङ्गल’ ले पनि पुष्टि गर्दछ । र, उनले सिर्जना गरेका धेरै गीत–सङ्गीत त बहुभाषी समेत छन् । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बनाइएको एउटा गीत विभिन्न बाह्र भाषामा रेकर्ड भएको छ ।

हातमा तासको पत्ती र ह्विस्कीको गिलास बोक्नुभन्दा सिर्जना गर्नु धेरै हिसाबले राम्रो काम हो,’ शर्मा भन्छन्– ‘सङ्गीत सुन्दा र सिर्जना गर्दा मलाई निकै आनन्द लाग्छ ।’ आफू पेशेवर गीतकार–सङ्गीतकार नभएको सुनाउँदै उनले भने– ‘एकान्तमा बस्दैमा सिर्जना फुर्ने अनि भीडभाड र हल्ला हुँदैमा नफुर्ने भन्नेचाहिँ मलाई लाग्दैन ।’ शर्माकी छोरी पनि गीत–सङ्गीतमा रुचि राख्छिन् ।

चर्को व्यस्तता : काममा समयबद्धता

युवानेता विश्वप्रकाशको दैनिकी निकै व्यस्त छ । संसदमा नरहे तापनि प्रवक्ता शर्माको दैनिक व्यस्तता सांसद र कतिपय मन्त्रीहरूको भन्दा कम छैन । राष्ट्रिय राजनीतिक सन्दर्भमा दैनिकजसो परिआउने घटना–परिघटनाबारे पत्रकार सम्मेलन वा प्रेस ब्रिफिङ गरी पार्टीको धारणा, नीति र निर्णय सार्वजनिक गर्ने; विज्ञप्ति जारी गर्ने, सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने, अन्तर्वार्ता दिने, कार्यक्रमहरूमा सहभागी भएर पार्टीको प्रतिनिधित्व गर्ने तथा धारणा राख्नेजस्ता काम पार्टीको केन्द्रीय प्रवक्ताका नियमित जिम्मेवारी र कर्तव्य भैहाले । यीबाहेक लेख–रचना लेख्ने, सङ्गीत सिर्जना गर्ने, अध्ययन–चिन्तन गर्नेजस्ता रचनात्मक–सिर्जनात्मक काममा पनि उनी उत्तिकै व्यस्त रहन्छन् ।

प्रवक्ता शर्मा समाज र परिवारका निम्ति पनि जिम्मेवारीपूर्वक नै समयको व्यवस्थापन गर्छन् । आफन्तजन र पार्टीका साथीहरूले आमन्त्रण गर्ने विवाह, पार्टी, जन्मदिन, शोक–मृत्यु, पूजाआजाजस्ता हरेक कार्यमा सहभागिता जनाउन समय मिल्दासम्म उनी चुक्दैनन् ।

प्रवक्ता शर्मा समय परिपालनाका हिसाबले ज्यादै अनुशासित छन् । आफ्नो समय पटक्कै खेर फाल्दैनन् र आफ्ना कारण अरुको समय खेर नजाओस् भन्नेमा पनि निकै सचेत छन् । नेता–कार्यकर्तालाई तोकिएकै समयमा भेट्छन्, सञ्चारकर्मीलाई त झन् पटक्कै कुराउँदैनन् ।

राजनीतिक तथा सामाजिक भेटघाट र कार्यक्रममा व्यस्त रहँदारहँदै पनि सिर्जना र स्वास्थ्यप्रति निरन्तर ध्यान दिइराखिने उनको भनाइ छ । प्रवक्ता शर्मा पार्टी र भ्रातृसङ्गठनहरूमा मात्र नभई सामासेवामा पनि उत्तिकै क्रियाशील छन् ।

‘कमरेड पेवा होइन’ : किताब चाख्ने, भ्वाइस–रेस्ट गर्ने

नेपालमा प्रायः कम्युनिस्टहरूले मात्र प्रयोग गर्ने ‘कमरेड’ शब्दप्रति उनमा घृणा छैन । वाम नेताहरूसँगका भाषण र कुराकानीमा उनी पनि निर्धक्कसँग कमरेड शब्दको प्रयोग गर्छन् । ‘कमरेड शब्द कम्युनिस्टहरूको मात्र पेवा होइन,’ विश्वप्रकाश भन्छन्– ‘सोसलिस्ट इन्टरनेसनलमा कमरेड शब्द कमन छ, त्यहाँ सबैले सबैलाई कमरेड नै भन्छन्; र, हाम्रो नेपाली काङ्ग्रेस पनि त्यसको सदस्य छ ।’

‘निकै राम्रो वक्तृत्वकला छ, दमदार भाषण गर्नुहुन्छ, कसरी सिक्नुभयो ?’ हाम्रो जिज्ञासामा उनले भने– ‘अहिले के गरिन्छ र ! विद्यार्थी राजनीतिमा हुँदा पो गरिन्थ्यो भाषण; यसका लागि खास केही गरिएको छैन, अध्ययन र अभ्यासबाटै सिकिएको हो ।’

श्रृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, अद्भुत, वीभत्स र शान्त गरी नवै रसको प्रष्फुटन र संयोजन पाइने विश्वप्रकाशको प्रस्तुति शैली र तार्किकता कहाँबाट आयो ? कत्तिको पढ्छन् त पुस्तकहरू ? ‘कुनै पनि किताब पढ्न थालेपछि शिर–पुच्छर सिध्याउनतिर म लाग्दिनँ,’ उनले सुनाए– ‘एउटा पढ्छु, त्यो बीचैमा हुन्छ फेरि अर्को पढ्छु, जति चाहिन्छ र मन लाग्छ त्यति नै पढ्छु तर पढ्न चाहिँ पुस्तक पढिरहेकै हुन्छु ।’

निरन्तर बोल्दा कहिलेकहीं घाँटीको समस्या हुन्छ । आवाज घ्यार्घ्यार् हुन्छ । त्यस्तो बेला उनी धेरै बोल्दैनन्, ‘भ्वाइस रेस्ट’ गर्छन् । निरन्तर बोल्नुपर्ने भूमिका र घाँटीमा हुने समस्याका कारण चिकित्सकको सल्लाहमै चिसो र चिल्लो कम खाने गरेका छन्; धुलो–धुवाँबाट जोगिन प्रयास गर्छन् ।

पानीसँगै जडीबुटी, त्यसपछि व्यायाम

शारीरिक र मानसिक स्वास्थ्यप्रति निकै सचेत शर्मा दैनिक व्यायाम गर्छन् । ४९ वर्षीय उनको शरीर पटक्कै भद्धा छैन । निरन्तर व्यायाम, स्वस्थ खानपान र सन्तुलित जीवनशैलीकै कारण अनुहारमा पनि राम्रो चमक छ ।

बिहान सबेरै उठ्छन् । राति बाह्र बजेसम्म सुतिसक्ने उनी सामान्यतः पाँच बजे उठिसक्छन् । उठ्नासाथ मनतातो पानी पिएपछि पानीसँगै दुई पोटी लसुन पनि खान्छन् । सामान्यतया सातामा पाँच दिन लसुन खाने उनी लसुन नखाएका दिन भने पानीमा दालचिनी फिटेर पिउँछन् । कहिलेकहीं भने तातोपानीमा मह र कागती फिटेर पिउँछन् । यस्ता खानपानले उनको शरीर मजबुत हुने उनको विश्वास छ ।

त्यसपछि योगा र ध्यान गर्छन् । शारीरिक व्यायाम छुटेका दिन समेत ओछ्यानमै भए पनि योगा तथा ध्यान गर्न सकिने उनको अनुभव छ । घरमै हुँदा होस् वा बाहिरतिर रहँदा, योगा र ध्यान भने सकभर छुटाउँदैनन् । बुबा–आमालाई सम्झँदै ध्यान सुरु गर्ने र आमा–बुबाकै स्मृतिबाट अन्त्य गर्ने उनले सुनाए । ध्यान गर्दा शारीरिक, मानसिक र आध्यात्मिक आनन्द मिल्नुका साथै शरीरिक–मानसिक ऊर्जा समेत मिल्ने उनको भनाइ छ ।

ध्यानपछि आँगन वरिपरि नै घुमेर करिव अढाइ किलोमिटर दौडन्छन् । दौडेर व्यायाम गर्दा सानो छोरालाई प्रायः काँधमा बोक्छन् । यसो गर्दा आफू र छोरा समेत दुवैलाई व्यायाम हुने उनले बताए । दौडिसकेपछि स्किपिङ खेल्छन् र डिब्स गर्छन् । पेटको व्यायामका लागि प्र्याङ्क गर्छन् । ४५ मिनेटजतिमा सबै किसिमका व्यायाम सिध्याउँछन् । त्यसपछि नुहाएर पत्रपत्रिका पढ्न थाल्छन् । कहाँ जाने, के गर्ने– त्यस दिनको कार्यतालिका बनाउँछन् र फोन गर्न थाल्छन् ।

घरमै खनपान, शाकाहारीमा जोड

व्यायाम सकेर दैनिक दिउँसोको कार्यतालिका बनाइरहँदा खाजा खान्छन् । खाजा सामान्यतः रोटी र आलु–मटरको तरकारी हुन्छ । हतार भएको दिन रोटी–तरकारी र फलफुल खाएर निस्कन्छन्; हतार नभएको दिन भने खाजापछि खाना पनि खाएर मात्र हिँड्छन् । खानामा दाल, भात र तरकारी नै खान्छन् । दिउँसो प्रायः बाहिरै हुने भएकाले दिउँसोको खाजा घरबाहिरै हुन्छ । खाजा यही खाने भन्ने ठेगान हुँदैन, उपलब्धताअनुसार खान्छन् ।

बेलुका भने च्याउलगायतका सुप, भेजजस्ता हल्का खानपान गर्छन् । शर्मा र उनकी श्रीमतीले यस्ता खानपान गरे पनि छोराछारीलाई चाहिँ भात नै पकाइदिन्छन् । सुत्नुअघि परिवारका सबैले दूधमा हालेर बेसार खाने गरेको उनले बताए ।

मासु त खान्छन् तर त्यसमा खासै रुचि राख्दैनन् । शाकाहारी खानपानमै बढी जोड दिन्छन् । कहिलेकहीं जङ्कफुड पनि खान्छन् तर अग्र्यानिक खानपानमै जोड दिन्छन् ।

‘चार–स’ मा जोड दिने, राति मरेको नसुन्ने

आफू पूर्णतः स्वस्थ रहेको विश्वप्रकाश बताउँछन् । २०४७ मा टाइफाइड भएर चुनावकै समयमा नमज्जाले सताएछ । त्यसबेला झोलामा औषधि बोकेर भाषण गर्र्न हिँडेको उनले सुनाए । टाइफाइड ठीक भएयता औषधि खानु नपरेको उनको भनाइ छ । सामान्य रुघा–खोकी लाग्दा उनी औषधि खाँदैनन् ।

प्रवक्ता शर्मा चार ‘स’ लाई मूल मन्त्र मान्छन्– ‘स्वास्थ्य, सम्बन्ध, सम्पत्ति र सार्वजनिक प्रतिष्ठा ।’ उनी यिनै चार विषयलाई केन्द्रमा राखेर जीवनशैली अपनाउँछन् । रुचि राखेर नपिउने भए पनि कहीलेकहीं थोरै अल्कोहल पिइँने उनी बताउँछन् । जमघटको समयमा सहभागिताका लागि मात्र एकदमै सीमित मात्रामा पिइँने उनको भनाइ छ् । धूमपान भने उनी कहिल्यै गर्दैनन् ।

दिनभर बाहिरै व्यस्त रहने उनी बेलुकी भने बेलैमा घर पुग्छन् । साँझ वा राति कुनै काम परेर बाहिरै रात छिप्पिए पनि काम सकिएपछि घरमै पुग्न कोशिस गर्छन् । पारिवारिक पे्रमले मनोवैज्ञानिक स्वस्थता दिन्छ भन्ने ज्ञानका कारण उनी परिवारिक माहोललाई मनोरञ्जनात्मक बनाउँछन् ।

प्रवक्ता शर्मा सुत्ने समयमा कोही मरेको समाचार सुन्दैनन्; सकारात्मक किसिमका खबर मात्र सुन्छन् । सुत्ने बेला प्रायः मन पर्ने गीतहरू सुन्छन्, जसबाट सकारात्मक सोच बढाउन सहयोग मिल्ने उनको भनाइ छ । सुत्ने समयमा छोरालाई कथा सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)