उपासनाको ऊर्जा

केदारनाथ गौतम ⁄ शङ्कर क्षेत्री

तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी चर्चित कलाकारको नाम हो– उपासना नेम्बाङ । आधा दर्जन हाराहारीका फिल्ममा पनि उनको अभिनय हेर्न पाइन्छ । यस पटक हामीले उनै उदीयमान कलाकार उपासनाको जीवनवृत्त खोतल्ने जमर्को गरेका छौं ।

पूर्वाञ्चल ‘डान्सिङ क्वीन’

पूर्वी नेपालको झापा जिल्लास्थित बिर्तामोडमा जन्मिएकी २५ वर्षीया उपासनाले कलिलो उमेरमै अभिनय–यात्रामा हामफालेकी हुन् । सातौं कक्षामा पढिरहँदा १३ वर्षको उमेरमा नै उनले ‘पूर्वाञ्चल डान्सिङ क्वीन’ को उपाधि पाएकी थिइन् ।

आफूलाई ‘डान्स लभर’ भन्न रुचाउने उपासनाले त्यसबेला ‘फिदिम बजार…’ गीतमा मोडलिङ गरेकी थिइन् । आफू त्यस बेलासम्म राम्रै डान्सर भैसकेको उनी बताउँछिन् । अभिनय–कलाबारे भने उनमा ज्ञान थिएन । एक्कासि म्युजिक भिडियोमा अभिनयका निम्ति अफर आयो । त्यो कुरा परिवारमा सुनाइन् । उनका बुबा–आमाले छोरीलाई आएको त्यो अवसर गुमाउन दिएनन् । बुबा–आमालाई खुसी बनाउनकै निम्ति पूर्वेली भाकाको ‘फिदिम बजार…’ गीतमा उनले मोडलिङ गरिन् ।

उनको मस्तिष्कले ‘म्युजिक भिडियोमा किन खेलिरहेकी छु’ भन्ने भेऊ समेत राम्रोसँग पाउन सकेको थिएन । तर, खेलिन् । त्यो म्युजिक भिडियोलाई धेरैले मन पराए । कलिलो उमेरमा मोडलिङ गरेको म्युजिक भिडियोको सफलता सम्झँदै उपासनाले सुनाइन्– ‘म्युजिक भिडियो आएपछि ममी–बाबा कम्ता खुसी हुनुभएन ।’

यसपछि उपासनाको अभिनय–यात्रा रोकिएन । त्यसयता उनले ‘स्वर्गकी परी…’,‘भाग्यले कोही…, ‘कहाँ सोल्टिनी…’ लगायत तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

चलचित्र–यात्रा पनि कलिलैमा

उपासनाको फिल्मीयात्रा सुरुआतको प्रसङ्ग पनि रोचक छ । आठ कक्षामा पढ्दादेखि नै उनले फिल्ममा अभिनय गर्न थालेकी हुन् । पहिलो पटक उनलाई ‘सम्बन्ध’ डिजिटल चलचित्रमा अभिनेतृकी साथीको भूमिकामा अभिनय गर्ने मौका जुर्यो । यसको अफर पनि उनले बुबा–ममीलाई नै सुनाइन् । यस पटक पनि उनका बा–आमाले अवसर नगुमाउन छोरीलाई सुझाए ।

आठ कक्षामा पढ्दापढ्दै फिल्म खेलेको क्षण सम्झँदै उपासनाले भनिन्– ‘त्यो समयमा पनि म त इन्जोय गरेर नै अभिनय गर्थें तर किन गरिरहेकी छु भन्ने चाहिँ थाहै थिएन ।’ अभिनय क्षेत्रमै छिर्छु र यसैमा रम्छु भन्ने उनलाई लागेकै थिएन । उपासना भन्छिन्– ‘डान्सर बन्छु भन्ने थियो, त्योभन्दा बढी त त्यतिबेला केही पनि सोच्दैनथें ।’

राम्रो डान्सर बनिसकेकी उपासनालाई लगातार म्युजिक भिडियो र फिल्ममा अभिनयको अफर आइरहने अनि बा–आमाले पनि अवसर गुम्न नदिने भैरहँदा बिस्तारै उनमा अभिनयको बानी नै पर्न थाल्यो । र, अवसर पनि उनका सामु निरन्तर आई नै रहे ।

हाँसेकै कारण गाली खानुपर्दा

उपासनाको रमाइलो पक्ष रहेछ– अनौठो हाँसो । त्यो समयमा पनि हाँसो उठ्यो भने लगातार आधा घन्टासम्म हाँसिरहने गरेको उनले बताइन् । कलिलो उमेरमा फिल्म सुटिङको अनुभव हाँस्दै सुनाइन्– ‘एकचोटि हाँसें भने नन्स्टप हाँस्थें ।’

अपरिपक्व उमेरका कारण त्यो समयमा आफूले अभिनयका बारेमा राम्रोसँग नबुझेको र धैर्यता पनि नभएको हुन सक्ने आत्मसमीक्षा गर्दै कलिलो उमेरको सुटिङका क्षण उनले सुनाइन् । अभिनयका क्रममा आफूलाई दिइएको भूमिका भने सधैं नै इमानदारिताका साथ निभाउँदै आएको उनको भनाइ छ । सुटिङको चटारोमा धेरै हाँस्दा समेत गाली खानु परेको उनले सुनाइन् ।

कलिलो उमेरमा गाली खानुपर्दा उनलाई निकै चित्त दुख्थ्यो । त्यसबेलाको रुने हाँसो सम्झँदै उपासनाले भनिन्– ‘किन हाँसेको ? किन दाँत देखाइरहेको ?’ यस्ता प्रश्नले आफूलाई एकदमै ‘हर्ट’ हुने बताउँदै उनले भनिन्– ‘हाँस्दा पनि कसैले गाली गर्यो भने एकदम चित्त दुख्ने हगि, अनि रोइहाल्थें ।’

एसएलसीलगत्तै ठूलो पर्दामा

ठूलो पर्दाका चलचित्रमा उपासनाको यात्रा ‘दशगजा’ बाट भएको रहेछ । त्यसमा उनले राजेश हमालकी बहिनीको भूमिका निभाउने मौका पाइछन् । यसपछि भने ‘अब अभिनय–यात्रामा नै भविष्य बनाउँछु कि’ भन्ने लाग्न थाल्यो । अफर पनि निरन्तर आउन थाले । अभिनय–यात्रालाई नै अगाडि बढाउनुपर्छ भन्ने लाग्न थाल्यो । एसएलसी सकेलगत्तै खेलेको ‘दशगजा’ चलचित्र उनलाई निकै राम्रो लाग्छ ।

‘लभ इन चाइना बोर्डर’, ‘खुर्पा’, ‘काबेली’, ‘सेतो बाघ’, ‘रातो घर’ जस्ता चलचित्रमा उनले अभिनय गरेकी छन् । सहायक पात्रका रूपमा भूमिका निभाएकी उपासनालाई आफूले अभिनय गरेका मध्ये ‘रातो घर’ सबैभन्दा बढी मन परेको फिल्म रहेछ । उनले सुनाइन्– ‘रातो घर मलाई असाध्यै मन परेको फिल्म हो, मैले अभिनय गरेकामध्ये यो फिल्म निकै चर्चित पनि भयो ।’

बा–आमाको प्रेरणामै कलाकारिता

सानैदेखि डान्समा रुचि राख्ने उपासना पारिवारिक वातावरणकै कारण कलाकारितामा होमिएकी रहिछन् । उनका बुबा नवीन सुब्बा गीत गाउँथे । ‘बाबा गीत–सङ्गीतमा नै हुनुहुन्थ्यो, पहिलेदेखि नै र जनयुद्धकालतिर पनि गाउँ–ठाउँमा गीत गाउने, कार्यक्रम गर्ने गर्नुहुन्थ्यो’– उनले सुनाइन् ।

उनका बुबा नवीन गाउने मात्र होइन, शब्द लेख्ने र सङ्गीत भर्ने पनि काम गर्छन् । त्यसैले, सानैदेखि बुबाले गाएका गीत सुन्दै हुर्किएकी थिइन् उपासना । आमा आराधना नेम्बाङ कलाकार नभए तापनि छोरीको इच्छा र प्रतिभाको राम्रैसँग अध्ययन गर्थिन् । छोरीलाई कलाकारितामा प्रवेश गराउन र स्थापित गर्न उनले राम्रो प्रेरणा दिइन् । ‘आज म जे–जति, थोर–बहुत कलाकारका रूपमा चिनिन पाएकी छु, यसको क्रेडिट ममीलाई नै दिन चाहन्छु,’ उपासनाले भनिन्– ‘ममीले मेरो रुचि बुझेर ३–४ कक्षामा पढ्दा नै डान्स स्कुल भर्ना गरिदिनु भएको थियो ।’

विद्यालयस्तरदेखि नै विभिन्न नृत्य प्रतियोगितामा सहभागिता जनाएकी उपासना धेरैमा त ‘विनर’ नै बन्थिन् । उनले हाँस्दै भनिन्– ‘जेहोस्, पारिवारिक ब्लड कलाकारिता पनि धेरथोर आयो होला ।’

पाँच वर्ष पढाइ छुट्यो

विर्तामोडस्थित कन्काइ बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि सोही स्कुलमा कक्षा ११ मा भर्ना भए पनि उनी लगातारजसो सुटिङमै व्यस्त हुन थालिन् । पढाइभन्दा अभिनयको व्यस्तताका कारण प्लस टुको परीक्षा दिए पनि उत्तीर्ण हुन सकिनन् ।

त्यसपछि एयर होस्टेस बन्ने सपना बोकेर त्यसैको तालिम लिइन् । तर, आकाशमा उडेर हवाइ–यात्रुको सेवा गर्ने पेशाभन्दा अभिनय–यात्राले नै उपासनालाई तान्यो । त्यो पेशा नअँगाले तापनि तीनमहिने एयर होस्टेस तालिमले उनलाई मनग्ये आत्मविश्वास बढाएछ । उनी सुनाउँछिन्– ‘एयर होस्टेसको ट्रेनिङकै देनले इन्टरएक्सन गर्ने तरिका सिकियो र कन्फिडेन्स–लेभल पनि निकै बढ्यो ।’

०५२ मा कक्षा १२ को परीक्षा दिएपछि उनी लगातार पाँच वर्ष अभिनय कलामै रमाइन् । १२ कक्षापछि उनको परिवार काठमाडौंमै बस्न थाल्यो । पाँच वर्षपछि भने उनले पूर्णविराम लाग्नै थालेको पढाइ सुचारु गर्ने निर्णय गरिन् । पढ्नुपर्छ भन्ने महसुस आफैंलाई हुन थाल्यो । २०७५ मा काठमाडौंस्थित बानेश्वर क्याम्पसमा भर्ना भइन् । मुख्य विषय पत्रकारिता लिएर प्लस टु उत्तीर्ण गरिन् । र, उनी अहिले सोही विषयमा बानेश्वर क्याम्पसमै स्नातक तहमा अध्ययनरत छिन् ।

आफूलाई अभिनय यात्रामा ‘भाग्यले नै डोर्या  एको’ उनी बताउँछिन् । अभिनय यात्रामा पूर्णविराम लगाउने सोच आफूमा नभएको बताउँदै उनले भनिन्– ‘अभिनय यात्रा छाड्नेतर्फ मैले सोचेकै छैन, यसैलाई अगाडि बढाउने सोचमा छु ।’

सर्ट एण्ड स्वीट म्युजिक भिडियो

उनका बुबा काठमाडौंमै अग्र्यानिक सामग्रीको व्यापार गर्छन् । फुर्सदको समयमा उपासना बुबाको व्यवसायमा सघाउँछिन् ।

सिनेमामा काम गर्दा भने खूब मजा हुने बताउँदै उनी भन्छिन्– ‘तर, सर्ट एण्ड स्वीट भनेको त म्युजिक भिडियो नै रहेछ ।’ छिटो हुने भएकाले आर्थिक उपार्जनको दृष्टिले म्युजिक भिडियोमै काम गर्न सहज हुने बताउँदै उनले सुनाइन्– ‘आफ्नो ठाउँमा फिल्म र म्युजिक भिडियो दुवै राम्रा हुन् तर पैसा र कामको हिसाबले म्युजिक भिडियो चाहिँ छिटो–मिठो हुन्छ ।’

उनले कहिल्यै खालि हात काम गर्नु परेन । पहिलो पटक म्युजिक भिडियो खेल्दा नै पाँच हजार रूपैयाँ पारिश्रमिक पाएकी रहिछन् । त्यो समयमा अभिनय–कलाबाट पारिश्रमिक पाएको अनुभव सम्झँदै उपासनाले भनिन्– ‘पहिलो पटकको म्युजिक भिडियो ‘फिदिम बजार…’ खेल्दा पाँच हजार रूपैयाँ पारिश्रमिक पाएकी थिएँ । त्यो समयमा पाँच हजार हातमा पर्दा खुसीको सीमा नै रहेन ।’ अहिले आफ्नै कमाइले व्यक्तिगत व्यवस्थापन धानिएको उनले बताइन् ।

बिहान–बिहान कलेजमै

बिहान साढे चार बजे उठिसक्छिन् । कलेज जानु नपर्दा भने अलि ढिलै उठ्छिन् । उठेलगत्तै एक लिटर मनतातो पानी पिएपछि ग्रीन टी पिउँछिन् । त्यसपछि कलेजतर्फ लाग्छिन् । सातदोबाटोबाट ६ बज्दा नबज्दै बानेश्वर क्याम्पस पुगिसक्छिन् ।

कहिले ‘पठाओ–टुटल’ मा कलेज पुग्छिन् भने कहिले परिवारका सदस्यलाई नै पु¥याइमाग्छिन् । तर, प्रायः सार्वजनिक गाडीमै यात्रा गर्छिन् । दर्शकले नचिनून् भनेर सार्वजनिक गाडीमा यात्रा गर्दा सधैं मास्क लगाउँछिन्; यात्रा गरुञ्जेल खोल्दिनन् । ‘आफ्नो कामका लागि यात्रा गर्दा सकभर नचिनून् भन्ने नै लाग्छ,’ उनले भनिन्– ‘कक्षामा बस्दा पनि आफू कलाकार हो भन्ने कुरा साथीहरूलाई सुनाउँदिनँ । थाहा पाएपछि साथीहरूबीच दूरी बढ्ने डरले सकभर आफू कलाकार भएको नबताउने उनको भनाइ छ । कलेज सकेर एघार बज्दा घर पुग्छिन् र खानपान गर्छिन् ।

शाकाहारी भोजन : हट्टाकट्टा शरीर

६० किलो तौलकी उपासना ५ फिट ३ इन्च अग्ली छन् । उज्यालो र चम्किलो अनुहारकी उनी हँसिली छिन्, ज्यान हट्टाकट्टा छ ।

उनी शाकाहारी हुन् । दाल, भात, तरकारी रुचाउँछिन् । खानामा भरसक साग छुटाउँदिनन् । आलुका परिकार उनलाई असाध्यै मन पर्छन् । सानामा मासु खान्थिन् । बुबा–आमाले सुँगुरको मासु खाने भएकाले उनी पनि जबर्जस्ती मात्र खान्थिन्, खासै खान मन लाग्दैनथ्यो । आफू बाहुन–क्षेत्रीको सङ्गतमा हुर्किएको बताउँदै उपासना भन्छिन्– ‘छिमेकीहरू बाहुन, क्षेत्री र बिहारी थिए ।’ स्कुलका बालसखा पनि बाहुन, क्षेत्री र बङ्गाली थिए । लिम्बूकी छोरी त कक्षामा उनी एक जना मात्रै रहिछन् ।

स्कुलकी मिल्ने साथी नै बङ्गाली भएको उनले सुनाइन्– ‘मेरो बेस्ट फ्रेण्ड नै बिहारी ।’ बङ्गालीहरूले पूजा–पाठ गर्ने भएकाले त्यसैको प्रभावस्वरूप उपासनाले माछा–मासु नै खान छाडिछन् । आफूलाई आध्यात्मिकता मन पर्ने उनले बताइन् ।

खानपानपछि बुबाको व्यवसायमा सघाउँछिन् । दिउँसोका खाजाका रूपमा आलु–चना खान्छिन् । चटपटे, पानीपुरी असाध्यै मन पर्ने उपासना बताउँछिन् । सुटिङका बेला कतिपय अवस्थामा खानपानको व्यवस्थापन राम्रो नहुँदा तनाव हुन्छ । सुटिङका क्रममा बरु खाना नै नखाई फलफूल मात्र खान्छिन् तर मासुको ‘लटरपटर’ मा भोजन गर्दिनन् । साँझ पाँच बज्दा प्रायः घर पुगिसक्छिन् ।

कलेज जानु नपर्दा र सुटिङ नहुँदा आफैं खाना पकाउँछिन् । खाना बनाइसकेपछि बेलुकी करिव सात बजे ‘फिटनेस क्लब’ जान्छिन् । शरीरिक तथा मानसिक फिटनेसका लागि क्लबमा डान्स र जुम्बा गर्छिन् । ‘डान्स फर्ममै हुने भएकाले जुम्बा गर्न मलाई मजा लाग्छ’– उनले सुनाइन् ।

क्लबबाट फर्किएर खानपान गर्छिन् । बेलुकी सकभर भात खाँदिनन्; विभिन्न तरकारी, मिक्स भेजिटेबल, च्याउलगायतका सुप खान्छिन् । र, दस बजेतिर सुत्छिन् ।

चाउचाउप्रेमी तर  अर्ग्यानिक खानपान

खानपानमा उपासना निकै सचेत छिन् । सकभर अग्र्यानिक खानपानमै जोड दिन्छिन् । चाउचाउ उनलाई सानैदेखि मन पर्छ । ‘अहिले पनि मलाई एभ्रिडे नुडल्स खा, भात नखा भन्दा ओकेजस्तो लाग्छ,’ उनले सुनाइन्– ‘तर, आजकाल त एभ्वाइड गर्छु, जबर्जस्ती त्यागे पनि कहिलेकहीं भने चाउचाउ पनि खान्छु ।’

एक साता अस्पतालमा : पत्थरीको शल्यक्रिया

उनी छ–छ महिनामा स्वास्थ्य जाँच गराउँछिन् । तीन वर्षअघि पत्थरी भएर शल्यक्रिया नै गर्नुप¥यो । त्यसबेला एक साता अस्पतालमा बसेबाहेक बिरामी भएर अस्पताल बस्नु नपरेको उनले सुनाइन् । सामान्य रुघा–खोकी लाग्दा एन्टिबायोटिक्स खाँदिनन् । बरु घरेलु र आयुर्वेदिक औषधिहरू खान्छिन् । उनले भनिन्– ‘रुघा–खोकी लाग्दा समेत ग्रीन टीकै मात्रा बढाउँछु ।’

अनुहार (छाला) को चमकका निम्ति महिनामा एक पटक फेसियल गराउँछिन् । प्रशस्त पानी पिउँछिन् । सकारात्मक सोचले पनि अनुहार तथा शरीर स्वस्थ हुने उनी सुनाउँछिन् ।

सुटिङका बेला ‘हेभी मेकअप’ गर्नुपरे तापनि अरुबेला ‘सन्स् क्रिम’ मात्रै प्रयोग गर्छिन् । अनुहारको सौन्दर्यमा आफू अलि बढी नै समवेदनशील भएको बताउँदै सकभर विशेषज्ञ चिकित्सकको परामर्शमा मात्र कस्मेटिक्स प्रयोग गर्ने गरेको उनले सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)