हिमभन्ज्याङ फट्केर थोराङपास चुम्दा

डा. डीबी सुनुवार

आजको यात्रा विशेष प्रकारको छ किनभने याकखर्कमा बस्ने ठाउँ नमिलेकाले चुली लेडरमा बस्नु पर्नेछ, जुन ठाउँको उचाई चार हजार दुई सय मिटर छ । स्वास्थ्यका हिसाबले अलि चिन्ताको विषय थियो त्यो । ‘गोराहरूले थाम्न सक्लान् के त्यो उचाईलाई ?’ गन्गन् गर्दै थिए सरदार अगस्त दाइ ।

हिमालपारिको आजको यात्रा विशेष अनौठो लागिरहेको छ मलाई । चौंरीहरू डाँडामाथिबाट हुर्रिएर तल झर्दै थिए । हिमाली बाख्राहरू धुलो उडाउँदै सिँगौरी खेल्दै थिए । फनक्क फर्केर पछाडि हेर्दा आहा ! क्या राम्रो तिलिचो हिमालको दृश्य । समूहका सबैलाई एकै छिनका लागि अवरोध गर्दै दुई–तीन ‘क्लिक’ हानिहाल्यौं । याकहरू कराउँदै जुध्नका लागि तयार भएका थिए । बटुवाहरू होसियारीका साथ चारैतिर आँखा घुमाएर अघि बढ्दै थिए । अगस्त दाइ भनिरहेका थिए– ‘हप्ता दिनभित्र यहाँको मौसम खराब हुने सङ्केत हो यो ।’

दुई बजे नै उठेर हामीले भारी मिलाइसकेका छौं । आजको कठिनाइपूर्ण हिँडाइका लागि सरदारले विशेष सतर्कतापूर्ण तरिकाबाट हिजोदेखि नै सजग बनाइरहेका थिए– ‘अरू दिनको भन्दा विशेष प्रकारले हाई र जाडो छल्ने, विशेष प्रकारका कपडा लगाउनु पर्नेछ ।’ सारा तयारीका साथ आफ्ना भारी लिएर, सबैको शिरमा लाइट बालेर, एक–एक पाइला आकाशतिरको उचाईतिर उक्लिन तम्तयार भयौं ।

हामीभन्दा अघि कोही मानिस गएको हुनुपर्छ । तर, हाम्रो मध्यमस्तरको गतिअनुसार अरूले एक घन्टामा तय गर्ने बाटो हाम्रा लागिड डेढ घन्टाको हुने रहेछ । ‘समय, उचाई र हावाको दबावलाई अति सजगताका साथ विचार गरेर हिँड्नुपर्छ नि’– सरदार दाइ पटक–पटक सम्झाइरहेका छन् । हामीमध्येका एक जना चाहिँ उक्लन सक्दैनन् कि भन्ने उनलाई हिजोदेखि नै ठूलै पीर थियो । त्यसमाथि हिजोको डिनरमा पनि कमजोरी भयो भन्ने उनलाई लागेको थियो ।

हामी करिव आधा घन्टा उक्लिसकेका छौं । फेदीको होटल अब निकै तल परिसक्यो । के तल परिसक्यो भन्नु ! हामी नै माथि आइसकियो भन्नुपर्ला । तलबाट सुइँड्ढय सिट्टी बजाउँदै उक्लने तयारी गरेर हिँडेको जानकारी दिएजस्तो छ । ताराहरू गन्न सकिने गरी नजिकै देखिन्छन् । फौजी लस्करमा एकले अर्काका पाइलालाई पछ्याउँदै एक सुरमा एउटाले अर्कोलाई उज्यालो देखाउँदै एकै तालमा जुत्ताका तलुवा कतै चुच्चो कतै गोलो ढुङ्गाको टाउकामा टेक्दै पाँच हजारको उचाईतिर नजिकिँदै छौं । हामीलाई सरदारले सकेसम्म बत्ती नबालेरै हिँड्दा झन् राम्रो हुने सुझाव दिइरहेका थिए । तर, त्यसो गरेका चाहिँ थिएनाैं । हामीलाई उछिन्ने क्रममा एक हुल सहायकहरू ‘बत्तीले आँखा बिगार्छ, एक छिन निभाइदिनुहोला’ भन्ने अनुरोध गरे । त्यसै गर्नुपर्ने रहेछ भनेर मैले पनि बत्ती बाल्न छाडें ।

केही क्षणपछि मिर्मिर उज्यालोमै खुट्टाले टेक्न सक्ने गरी बाटो देखिन थाल्यो । नागबेली आकारमा उक्लिरहेका घोडेटा बाटाहरू । सास फेर्न अलि असजिलो जस्तो लागेको छ मलाई । अरूलाई सोध्ने अवस्था पनि थिएन । लामो लामो सास फेर्दै र प्राणायाम गर्दै जेनतेन इच्जत धान्ने काम गरिरहेको छु । फेदीबाट सँगै हिँडेकामध्ये हिँड्न सक्नेहरू हिजै हाई–क्याम्पमा पुगेर बसेका थिए ।

करिव एक घन्टामा, मुख्य उचाईको नजिकै पुग्न लाग्दा घाँटी (भन्ज्याङ) मा बिसौनी रहेछ । त्यहाँ पुगेपछि सरदारले सुस्ताउन आदेश दिए । म र भाइ निमालाई भने तातो कफी बनाउने आदेश दिन अघि जान अह्राए । केही बेर सुस्ताउनै नपाईकन हामी दुईले फेरि ठाडै उकालो सुइँकुच्चा लगायौं । तन्केर उक्लँदा–उक्लँदा छाती फुट्लाजस्तो भएको छ । पारिपट्टि अलि–अलि बत्ती बलेको देखियो । हाई–क्याम्पको होटलमा आइपुगियो भनेर खुशी भएँ । तर, अझै पनि निकै उक्लनैपर्ने पो रहेछ ।

सास पातलो गर्दै, हजार मिटरको दौड पार गरेर सीमानामा पुगेको धावकजस्तै गरी बल्लतल्ल हाई–क्याम्पको होटलमा आइपुगियो । सात कप कालो कफी बनाउने आदेश दियौं । मैले रेशी मसरुम पाउडर र लिञ्जी कफी पनि बोकेर हिँडेको थिएँ । त्यसलाई कालो कफीमा मिसाएर पिउने विचार गरें । साथीहरू आइपुगुन्जेलसम्ममा भने हाम्रो सास फेराइ केही सामान्य भएको छ । गोराहरू लखतरान भएर आइपुगेका रहेछन् । सबैका लागि कालो कफी र बिस्कुट तयार पारी राखिदिएका थियौं । करिव दस मिनेटमा त हिँडिहाल्नु पर्नेछ किनभने सरदार उक्साउँदै थिए– ‘समयमै उकालो काटिसक्नुपर्छ नत्र हावाका कारण उक्लन साह्रै गाह्रो हुन्छ । फेरि घोडा वा याक भाडामा लिनुप¥यो भने सय डलर लाग्छ ।’ हामी भने सकेसम्म त्यसो गर्नु नपरोस् भन्नेमा छौं ।

उक्लनका लागि आ–आफ्ना झोला बोकेर लामबद्ध भयौं । भुक्भुक् उज्यालो पनि भएको छैन । त्यस होटलमा बसेका अरुहरू हिँड्ने तरखरमा छन् । एकपछि अर्को गर्दै, माथि–माथि आकाशतिर उक्लिई नै रह्यौं । थोराङ्पासको नजिक–नजिक; एक करले, एक बलले अघि बढी नै रह्याैं ।

हामीभन्दा निकै पछि हिँडेका गोराहरू हामीलाई उछिन्न ‘एक्सक्युज’ मागिरहेका बेला हामी उनीहरूको बहादुरीलाई कम आँकिरहेका थिएनौं । बरु उक्साइरहेका थियौं– ‘वेल डन, किप इट अप’ भनेर । अब झिसमिसे हुन लागेजस्तो छ । पछिका धेरै समूहले हामीलाई उछिनिसकेका छन् । एक–दुई समूह भने हाम्रा साथ नै अघि बढिरहेका छन् । अब टी–हाउसमा पुग्ने तरखरमा छौं भनेर जानकारी आयो । त्यो यस्तो चौतारी हो, जहाँ बसेर करिव दुई घन्टा उकालो हिँड्दाकोे थकाइ मार्ने काम हुन्छ ।

हामी ‘समिट’ को नजिक पुगिरहेका छौं । अब घाम झलमल्ल भैसकेको छ । दुई पहाडका बीचको कापबाट निस्किएको सूर्य माथि पुगिसकेको छ र एकटक हामीतिरै हेरेर मुसुमुसु हाँसेको छ । ओहो ! कति मनोरम । आफ्ना सामान र झोला मिलाउँदै उकालो लाग्छौं निरन्तर, थोराङ्पासको अन्तिम विन्दुलाई छुन; जो हरेक नयाँ यात्रुका लागि कौतुहलताको विषय हुने गर्छ ।

समूहका गोरालाई घोडा वा याक चढाएर पार तार्नुपर्छ कि भन्ने बडो चिन्ता थियो सरदारलाई । कतिपय गोराहरू समूहलाई छाडेर अघि बढिसकेका छन् । सबैलाई सम्हाल्नुपर्ने चटारो । यतिबेला निकै विवेकले काम लिनुपर्ने छ । तिलक र निमा भाइ सबैभन्दा पछाडि पाइला गन्दैछन् । मैले भने गानोदर्माको कफी कालो चियामा मिसाएर पिएकाले ऊर्जाको कमी महशुस भएन । पाइलैपिच्छे बालुवामाथि बग्ने खाले गोलाकार ढुङ्गाहरू । सम्हालिनुपर्ने हिँडाइ थियो । निधारबाट तरतर पसिना चुहाउँदै बलिया–बाङ्गाहरू पासको विन्दु छुन खोजिरहेका छन् ।

एक–एक सासको दम भर्दै हामी पनि पाइला गन्दै छाैं । अगाडि पुग्नेहरूले हामीलाई स्वागतका हात हल्लाइरहेको प्रस्ट देखिन थालेको छ । एक–अर्काले ‘यस्’, ‘वेल–डन्’, ‘कङ्ग्राचुलेसन्स्’ जस्ता शब्दमार्फत एक–अर्कालाई उत्प्रेरित गरिरहेका छन् । वातावरण यस्तो छ– मानाैं, हामीले विश्वको सर्वोच्च शिखर सगरमाथाकै पो सफल आरोहण गरेका छौं !

भित्र–भित्रसम्म छेड्ने गरी हावाको सिरेटो चलेको छ, जसको प्रभावले गर्दा घामको उपस्थितिकै अर्थ थिएन । यतिबेला हामी पाँच हजार चार सयभन्दा माथिको उचाईमा पुगेका छौं । मैले पनि एक जना गोरालाई माथि पुग्न सहयोग गरिरहेको थिएँ । हातमा हात मिलाएर एक–अर्कालाई सहयोग गरी नै रहेका थियौं; त्यस अविस्मरणीय क्षणमा । हाम्रा ऐतिहासिक गर्विला पाइला शिखरको अन्तिम विन्दुमा पुग्ने बेला हाम्रो समूहका साथीहरू क्यामराको ‘क्लिक’ मार्दै विजय–अभिवादन गर्दैछन् ।

मलाई याद आइरहेछ– कक्षा आठमा पढ्दा ‘वीरेन्द्र शिल्ड’ प्रतियोगितामा धावनमा प्रथम हुँदा रातो रिबन पार गरेको । मानौं, विश्व ओलम्पिकमा प्रथम धावकले रिबन पार गरेपछि पाइने बधाई हो, यो सफल आरोहण !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)