‘छन्दे’ को छनोटमा नपर्ने चाउचाउ र बिस्कुट

होलिस्टिक संवाददाता

दुई दर्जनभन्दा धेरै फिल्ममा अभिनय गरेका हास्यकलाकार हुन्– गोपाल ढकाल अर्थात् छन्दे । वि.सं. २०४२ मा तनहुँमा जन्मेका उनी दाजुभाइमध्येका पाँचौं हुन् भने उनीभन्दा कान्छा पनि एक भाइ छन् । हालसम्म अविवाहितै रहेका उनले आफ्नो दैनिकीबारे होलिस्टिकसँग खुलेर बताए ।
एक समय दर्शकले अत्यधिक मन पराएको नेपाल टेलिभिजनबाट प्रशारित सिरियल ‘तीतो सत्य’ मा छन्देको भूमिकामा आएपछि दर्शकको ‘नोटिस’ मा परेका कलाकार हुन् उनी । ‘सालिमार’ सिमेन्टको विज्ञापनमा खेलेयता भने उनी बिस्तारै चर्चाको शिखर उक्लँदै छन् । उनका अभिनय टेलिभिजनका पर्दाहरूमा अहिले यत्रतत्र देखिन्छन् ।

कलाकारिताको छन्द

छन्देले ठूलो पर्दाका दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । ‘भाइमारा’, ‘पर्खिबसें’, ‘वडा नम्बर छ’, ‘पहिलो–पहिलो माया’, ‘सावधान’, ‘सपनाको नौलो संसार’, ‘विष’, ‘दाइको ससुराली’, ‘जुत्ता खाने बुहारी’, ‘इशारा’, ‘जङ्गबाज’, ‘खोज’, ‘मन परेपछि’, ‘नमस्ते नेपाल’ (जुन युरोपमा खिँचिएको थियो), ‘युद्ध’ लगायतका फिल्ममा उनले अभिनय गरेका छन् ।
‘टेन्सन साफ’ नामक सिरियल निर्माणमा समेत छन्दे आफैं लागिपरेका छन् । उनी ‘लाइफ ओके’ टेलिभिजनमार्फत पनि केही सामग्री प्रशारण गर्ने तयारीमा छन् । केही म्युजिक भिडियोमा पनि काम गरिरहेका छन्देले स्वेदश–विदेशका थुप्रै स्टेज सोहरूमा पनि कला प्रस्तुत गर्दै आइरहेका छन् ।

दैनिकी र खानपान

उनी बिहान ६ देखि ७ बजेभित्र उठिसक्छन् । सबैभन्दा पहिला एक लिटर जति पानी पिउँछन् । त्यसपछि चिया पिउँछन् । दैनिकीको खासै रुटिन छैन । समय अनुकूल हुँदा योगा गर्न रुचाउँछन् । खाना आफैं बनाउँछन् ।
‘उठेर दुई–तीन गिलास पानी पिएपछि बल्ल अरु कर्मकाण्ड गरिन्छ । मेरो कुनै सेड्युल छैन,’ उनी भन्छन्– ‘कार्यक्रम या सुटिङ परेका बेला जतिबेला पनि उठेर हिँड्नुपर्ने भएकाले कुन कुरा खाने वा नखाने र कति बेला, कहाँ खाने भन्ने निर्धारित समय छैन । जतिबेला, जे भेटिन्छ– त्यतिखेर, त्यही बजाइन्छ ।’
‘कार्यक्रमका लागि देशका सबै जिल्लामा पुगिसकेको छु, २७ भन्दा बढी फिल्ममा अभिनय गरिसेकेको छु र दर्जनौं सिरियलमा खेलिसकेको छु,’ छन्देले सुनाए– ‘कार्यक्रम वा सुटिङमा जाँदा कहिल्यै खानाको टुङ्गो नै हुँदैन ।’
काठमाडौंमा प्रायः सबैले खाने त्यही दाल–भात र तरकारी नै हो । छन्दे पनि त्यसैमा रमाउँछन् । खानाका नेपाली परिकार नै बढी मन पर्ने उनी बताउँछन् । उनलाई आफू ‘स्वस्थ छु’ भन्ने आत्मविश्वास छ त्यसैले ‘जिम जाने र के–के खाने’ गर्दैनन् । चुरोट–खैनी–तमाखुबाट टाढै रहेका उनी भन्छन्– ‘खै ! मलाई त त्यतातिरको इन्ट्रेस्ट नै कहिल्यै भएन ।’
‘मलाई चाउचाउ, बिस्कुटलगायतका हाइजेनिक खाने कुरा मन पर्दैनन्, सकेसम्म खाने गरेको छैन,’ छन्दे भन्छन्– ‘सकेसम्म अरु नै खाने कुरा खोज्छु, पाउँदै पाइएन भने चाहिँ त्यसैमा आँखा लगाउने हो ।’ सागपात उनका ‘फेबरेट’ खाने कुरा हुन् ।

आफैं पकाउने, एक्लै खाने

‘खाना सकेसम्म घरमै खाने गरेको छु, आफैं पकाएर एक्लै खान्छु,’ ठट्यौली पारामा उनले भने– ‘विवाह गरेको भए श्रीमतीले पकाउँथिन् होला, एक्लै छु, त्यसैले आफैं पकाउँछु, एक्लै खान्छु ।’
आफ्नो खानामा धेरे ‘भेराइटिज’ नहुने सुनाउँदै उनले भने– ‘एक्लो मान्छे भएपछि ती भेराइटी बनाउने फुर्सद पनि हुँदैन ।’ आफूलाई अकबरे खुर्सानी मन पर्ने सुनाउँदै छन्देले भने– ‘म योचाहिँ इलामबाट मगाउने गर्छु, इलामका साथीहरू हुनुहुन्छ; माया गरेर ल्याइदिनुहुन्छ ।’

जीवनशैली र स्वास्थ्य

बिरामी भएर या अरु कारणले अस्पताल बस्नुपरेको उनको रेकर्ड आजसम्म छैन । ‘कहिलेकहीं धेरै रुघा लागेका बेला साधारण औषधि खान्छु,’ सन्तोषपूर्वक उनी भन्छन्– ‘बढी टाउको दुख्दा सिटामोल, निको खाएबाहेक अहिलेसम्म अरु औषधि खानुपरेको छैन ।’
‘स्वस्थ रहने कुरा त अरुकै देखेर आफूले जान्नुपर्ने हो नि, म त्यही कुरा लागू गर्न चाहने मान्छे हुँ,’ छन्दे भन्छन्– ‘खाजा–खाना नखाई–नखाई काम गर्ने साथीहरू पनि छन्, यसरी कमाएर केही हुँदैन है भनेर तिनलाई सम्झाउने गरेको छु; मेरा धेरै साथीहरू ग्यास्ट्रिक–पीडित छन् तर ममा छजस्तो लाग्दैन ।’
‘स्वास्थ्यप्रति म अत्यधिक सचेत छु, के खाने र के नखाने भन्नेमा एकदमै सजग रहन्छु । स्वस्थ नै भइएन भने त के गर्ने !’ उनले सुनाए– ‘तर, खाने कुरामा भने म त्यति चुजी छैन, जे भेटे पनि नाइँ भन्ने चलन छैन ।’ पाएसम्म अग्र्यानिक नै खोज्ने तर त्यही खोजेर बसिनरहने उनले सुनाए ।
‘पर्खी बसें’ फिल्मको सुटिङका बेला उनलाई साह्रै टाउको दुखेको थियो । त्यसबेला जचाएर सिटामोल खाए । यसबाहेक सुटिङ र कार्यक्रममा अरु स्वास्थ्य समस्या भोग्नु नपरेको उनले सुनाए । फिल्म लाइन नै यस्तै भएको उल्लेख गर्दै उनले भने– ‘धेरेले तपाईं त जस्ताको तस्तै हुनुहुन्छ त भनेर प्रश्न गर्छन्, म भने पानी पिएरै शरीरलाई फुर्तिलो बनाएको बताइदिन्छु ।’
हात धुन र सरसफाइ गरेर बस्न स्कुलमै सिकाइएको हुनाले उनले आजसम्म पनि त्यसलाई सूत्रकै रूपमा अपनाइरहेका छन् । यतिबेला विश्व महामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको सङ्क्रमणमा पनि केही न केही रहस्य हुन सक्ने उनको ठम्याइ छ ।
झाडा–पखालालगायतका बिरामीको स्थिति देखेर पनि स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने उनको चेतनालाई अझ गाढा बनाएको छ । सुटिङका बेला समयमा खाना नखाएर साथीहरू बिरामी भएको देख्दा पनि उनी झन् सचेत हुन्छन् ।
‘जङ्क फुड त खाने चीज नै होइन, यसले धेरैलाई हानि पु¥याइरहेको पाएको छु,’ भनी भन्छन्– ‘यसको एउटै फाइदा के हो भने असाध्यै भोक लागेको तर केही पनि नपाइएको बेला यसो भोक मार्न काम चलाउनु ।’ आफूले पनि पटक्कै नखाने त होइन, बाध्यतावश खाने बताउँदै उनले आग्रह गरे– ‘कहिलेकहीं भनेको बेग्लै कुरा हो, सकेसम्म जङ्क फुड नखान सबैमा आग्रह गर्छु ।’
‘हामी स्वस्थ रहन अनेक थरीका नाटक गरिरहेका हुन्छौं तर त्यसो गर्नुको सट्टा मनलाई शान्त बनाउन सकारात्मक सोच राख्दा राम्रो हुन्छ, त्यसले मान्छेलाई तन्दुरुस्त राख्छ,’ छन्दे भन्छन्– ‘मान्छेका मनमा अनेकथरी कुरा खेलिराख्छन्, यसो गर्ने–उसो गर्ने भनेर दिमाग यताउता चलिरहेको हुन्छ । मेरो विचारमा त्यो पनि एउटा रोग हो । मान्छे फिट रहनका लागि सबभन्दा पहिले मानसिक रूपमा फिट हुनुपर्छ, त्यसपछि मात्रै शारीरिक रूपले फिट रहन सकिन्छ ।’

स्वास्थ्य परीक्षण नियमित

उनी बेलाबखत स्वास्थ्य परीक्षण गराइरहन्छन् । अलिक बढी ज्वरो आएको फिल हुनासाथ जचाउँछन् । केही भएकै छैन भने पनि ६–६ महिनाको अन्तरालमा जचाउँछन् । जाँच गराउँदा प्रायः ‘होलबडी चेकअप’ गराउँछन् । केही भएको पो छ कि भन्ने डर मनमा लागिरहन्छ ।
ज्वरो आउँदा र रुघा–खोकी लाग्दा छन्देले घरमै वा बाहिर जहाँ भए पनि बेसार–पानीलगायतका घरेलु विधि अपनाउने गरेका छन् । उनलाई अरु औषधिको त्यति धेरै विश्वास पनि लाग्दैन । ‘घरगाउँमा हुर्केका हामी, आमा–बुबाले सिकाएका विधि नै अपनाउँछौं’– उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)