काठमाडौंमा १३८ सहित थप ४८४ मा कोरोना : ९१ को मृत्यु, २४४३२ संक्रमित, १६७२८ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ९१ पुगेको छ । हालसम्म २४,४३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएकामा १६,७२८ जना डिस्चार्ज भैसकेका छन् भने ७,६१३ जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ गरी राजधानी उपत्यकामा १३८ सहित देशभरबाट ४८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १०,४८१ जनाको पीसीआर परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये ६४ जना बुधबार डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जनाएका छन् ।

मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनी मधुमेह र रक्तचापबाट पीडित थिइन् । त्यसैगरी, धादिङको नीलकण्ठ नगरपालिकाका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगबाट पीडित थिए ।

त्यस्तै, जनकपुर उपमहानगरपालिका– १, धनुषा निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । धनुषाकै ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ भने डाक्नेश्वरी नगरपालिका, सप्तरीका ७२ वर्षीय पुरुष र बुढीगंगा गाउँपालिका, मोरङका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.28

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.28#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mercredi 12 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)