झिलीमिली ‘क्रिसमस–ट्री’ !

होलिस्टिक संवाददाता

विश्वभरका ईशाईहरूको वर्षभरिकै सर्वाधिक महŒवपूर्ण पर्व ‘क्रिसमस–डे’ को अवसरमा पछिल्लो समय नेपालमा पनि व्यापारिक क्षेत्र, बजार तथा घर सिँगार्ने क्रम बढिरहेको छ । यो अवसरमा ‘क्रिसमस–ट्री’ (एक प्रकारको कृत्रिम रुख) को व्यापार पनि राम्रै हुन थालेको व्यवसायी बताउँछन् । क्रिसमसको अवसरमा सजावटका लागि प्राकृतिक बोटबिरुवा मात्र होइन, कृत्रिमरूपले बनाइएका प्लास्टिक तथा नाइलनका ‘बिरुवा’ प्रशस्तै बिक्छन् । आजकल नेपालमा गैरक्रिश्चियनले पनि यस्ता बिरुवा सजाउन थालेको देखिन्छ । स्कुलहरूमा समेत यस्ता बिरुवा सजाउन थालेको पाइन्छ ।

‘क्रिसमस–डे’ भन्दा साताअघि नै काठमाडौंको गौशाला पुग्दा हातमा प्लास्टिकको ‘क्रिसमस–ट्री’ बोकेकी ३० वर्षिया कोपिला लामा भेटिइन् । क्रिसमसको अवसरमा घरमा सजाउन उक्त ‘ट्री’ किनेको उनले बताइन । ‘बच्चाहरू रहर गर्छन् त्यसैले यो रुख किनेकी’– लामालले भनिन् ।
क्रिसमसभन्दा आधा महिना अघि नै पुतलीसडकस्थित ‘विविध स्ट्रिट’ नामक एक पसलमा पुग्दा पनि प्लास्टिक तथा नाइलनका ‘क्रिसमस–ट्री’ बिक्री गर्नै व्यस्त थिए सञ्चालक सुशान्त श्रेष्ठ । ‘क्रिसमस–ट्री’ को व्यापार राम्रो हुन थालेको बताउँदै श्रेष्ठले भने– ‘पछिल्लो समय क्रिसमस ट्रीको व्यापार राम्रै हुन्छ; भनौं, आजकल यसको व्यापार फस्टाइरहेको छ ।’

‘क्रिसमस–डे’ सुरु हुनुभन्दा महिना दिन अगावै ‘क्रिसमस–ट्री’ किन्नेको सङ्ख्या ह्वात्तै बढ्ने गरेको व्यापारीको भनाइ छ । आवश्यकक प्लास्टिक तथा नाइलनका सामग्री विदेशबाट आयात गरी नेपालमै समेत यस्ता ‘ट्री’ तयार पारिने श्रेष्ठले बताए । कृत्रिम रूपमा बनाइएका यस्ता ‘रुख’ को उचाई तथा आकारअनुसार मूल्य नेपाली बजारमा एक सयदेखि बीस हजार रूपैयाँसम्म पर्छ ।

क्रिसमसको अवसरमा कृत्रिम मात्र होइन, प्राकृतिक रुखको समेत त्यत्तिकै व्यापार हुन्छ । क्रिसमसको समयमा नर्सरीहरूमा ‘क्रिसमस–ट्री’ का प्राकृतिक बिरुवाको व्यापार बढ्ने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कुसजु श्रेष्ठ बताउँछन् । प्राकृतिक बिरुवाकै ‘क्रिसमस–ट्री’ को पनि उचाइअनुसार मूल्य फरक–फरक हुने उनी बताउँछन् । ‘एउटा बिरुवाको तीन सयदेखि दस हजार रूपैयाँसम्म पर्छ,’ अध्यक्ष श्रेष्ठले भने– ‘क्रिसमसको समयमा क्रिश्चियन धर्मावलम्बीले नै यस्ता बिरुवा बढी खरिद गरेको देखिन्छ ।’

क्रिसमसको समयमै यो रुख सजाउनुको खास कारण छ । क्रिश्चियन धर्मावलम्बीले उत्सवका रूपमा यो पर्व मनाउँछन् । जाडो मौसममा हिउँ पर्ने भएकाले रुखमा हिउँको प्रतीकस्वरूप सेतो कपास सजाउने परम्परा छ । नेपाली ख्रिस्टियन समजका पूर्वअध्यक्ष वर्णवास श्रेष्ठका अनुसार क्रिसमसमा नओइलाउने ‘पाइन ट्री’ सजाउने चलन रहँदै आएको छ । ‘पाइन ट्रीको रुख नै सजाउने भन्ने त बाइबलमा उल्लेख छैन,’ श्रेष्ठ भन्छन्– ‘रमाइलोका रूपमा यही सजाइन्छ ।’

क्रिसमसमा पाइन ट्रीको बिरुवा सजाउने परम्परा सोह्रौं शताब्दीदेखि जर्मनबाट चलेको उनी बताउँछन् । ‘हिब्रु पात्रो’ अनुसार ‘जिसस क्राइस्ट’ को जन्मोत्सवका दिन २५ डिसेम्बरमा ‘क्रिसमस–डे’ मनाउन थालिएको क्रिश्चियन धर्मावलम्बी बताउँछन् । जिसस क्राइस्टकै जन्मका आधारमा अङ्ग्रेजी पात्रो बनाइएको मानिन्छ त्यसैले अङ्ग्रेजी सम्बत्लाई ‘इसवी सम्बत्’ भन्ने गरिएको छ । क्राइस्टको जन्मोत्सव मनाइएको पाँच दिनपछि अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ ।

‘क्रिसमस–ट्री’ मा रातभरि कपास, घन्टी, गिफ्टलगायतका सामग्री राखेर सजाउने धार्मिक मान्यता छ । ‘सन्त क्लाउज बाजे’ ले उपहार दिने धार्मिक मान्यताका कारण यस्ता सामग्री सजाउने परम्परा रहिआएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)