कोभिड– १९ : विश्व, राज्य, समाज र संस्कृति

सन् २०१९ को अन्त्यसँगै सुरु भएको कोरोनाभाइरस सङ्क्रमण (कोभिड– १९) ले क्रमशः विश्व महामारीको रूप लिएसँगै यसले संसारका विभिन्न मुलुक र त्यहाँका शासक–प्रशासकको मानवीयता, समवेदनशीलता, कार्यकुशलता, वास्तविकतामै स्रोत–साधनको उपलब्धताजस्ता यथार्थता छर्लङ्ग पारिदिएको छ । विकसित, सम्पन्न र सर्वसुविधायुक्त भनिएका राष्ट्रहरूको अन्तर्य र तिनको वास्तविक धरातल समेत कोभिड– १९ को महामारीले सबैका सामु उदाङ्गो पारिदिएको छ । यो महामारी राज्य र शासकहरूको मात्र नभई आविष्कार, प्रविधि, स्वास्थ्य विज्ञानलगायत समग्र मानव सभ्यताको विकासक्रमकै वर्तमान युगको सूचक र मानक समेत बन्न पुगेको छ ।

कोरोनाभाइरस महामारीको आयाम त्यतिमा मात्र सीमित छैन । सभ्यता, संस्कृति, शिष्टाचार, जीवनशैली, रहनसहन र सामाजिक मूल्य–मान्यता समेतमा पुनर्विचार, परिष्कार र परिमार्जन गर्न समेत कोभिड– १९ को महामारीले मानव समाजलाई बाध्य पारिदिएको छ । आदिमकालदेखि क्रमशः परिवार, समाज, समुदाय, राष्ट्र, क्षेत्र र विश्वव्यापीकरणका माध्यमबाट व्यापकरूपले सामूहिकतातर्फ अगाडि बढिरहेको मानवजाति यो महामारीबाट बच्नका निम्ति ‘क्वारेन्टाइन/सेल्फ–क्वारेन्टाइन’ हुँदै ‘आइसोलेसन’ मा रहन बाध्य भएको छ । ‘भूमण्डलीकृत विश्व’ को अवधारणामा आधारित आधुनिक/उत्तरआधुनिक विचारधारा होस् वा ‘सङ्घम शरणम् गच्छामि’ भन्ने बौद्ध दर्शनमा आधारित पूर्वीय सभ्यता नै किन नहोस्, आ–आफ्नो वैज्ञानिकता र सार्वभौमिकताप्रति पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

हुन त कोरोना महामारी सधैं कायम रहँदैन । र, सामूहिकता, सङ्गठनात्मकता, भीडभाड र जमघट अब सधैंका लागि बन्द भए वा हुन्छन् भन्ने पनि होइन । हवाई तथा स्थल यातायात, अन्तर्राष्ट्रिय सीमा र आवागमन एवम् देशभित्रै पनि विभिन्न स्थान वा इकाईबीचको आवतजावत सधैंका निम्ति बन्द रहनु पनि सम्भव कुरा होइन । विद्यालय/विश्वविद्यालय, उद्योग/कलकारखाना, व्यापार/विनिमय इत्यादि पनि निरन्तर बन्द रहने कुरा सोच्न सकिँदैन । तर, भाइरसजन्य प्रकोप, सरुवा रोग र महामारी जहिल्यै, जहाँसुकै र जुनसुकै समय र स्वरूपमा फेरि–फेरि नदोहोरिएलान् भन्ने पनि त कुनै ग्यारेन्टी छैन । त्यसैले यतिबेला अल्पकालीन हिसाबले लागू गरिएको लकडाउन, क्वारेन्टाइन र आइसोलेसन यही स्वरूपमा निरन्तर रहँदैनन्; रहनु हुँदैन र रहन सम्भव पनि छैन । यद्यपि यिनका केही गुण, चरित्र, मात्रा र अवधारणा भने सधैं अवलम्बन गर्न सकिन्छन् र गर्नु आवश्यक छ भन्ने यथार्थतालाई यो महामारीले पुष्टि गरेको छ ।

निरन्तर प्रकृतिसँग नजिकिनु वा प्रकृतितिरै फर्कनु; आयातीत र औद्योगिक सामग्रीमा भन्दा कृषि उपज, जडीबुटी, स्वउत्पादित र घरेलु सामग्रीमा भर पर्नु; परदेश या दूरभूमिमा भन्दा आफ्नै थातथलोमा रमाउँदै र भर पर्दै आ–आफ्नै भूमिलाई उर्वर एवम् हराभरा तुल्याउनु; विकास र प्रगतिका नाममा उपभोग्य र मनोरञ्जनात्मक क्षेत्रको तुलनामा स्वास्थ्य सेवा, प्रविधि, उपकरण र जनशक्तिमा लगानी एवम् सक्रियता बढाउनु; निजी स्वास्थ्य संस्थालाई प्रश्रय दिनुको सट्टा सरकारी/सार्वजनिक संस्थाहरूलाई सुदृढ एवम् व्यापक तुल्याउनु; आयातीत/अतिक्रमित एवम् अन्तर्सांस्कृतिक रमझमको सट्टा लोकसंस्कृति एवम् लोकपरम्परालाई संस्थागत गर्नु आदिजस्ता कर्म नै महामारी/महाव्याधिहरूबाट मानवजातिलाई जोगाउने अचूक उपाय हुन् भन्ने यथार्थतालाई कोभिड– १९ को महामारीले पुनर्पुष्टि गरेको छ ।

हात मिलाउने वा अङ्कमाल गर्ने आयातीत संस्कारको सट्टामा नमस्कार गर्ने हाम्रै लोकपरम्पराको अवलम्बन गर्नु; विद्यालय/विश्वविद्यालय, उद्योग/कलकारखाना, कार्यालय/कार्यस्थल, होटल/भोजभतेर, यात्रा/सवारी आदिमा निश्चित दूरी कायम गरेर व्यवहार गर्नु; जुठो नखानु; सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु; सफा, पौष्टिक एवम् सन्तुलित भोजन गर्नु; पञ्जा, चस्मा, मास्क र धूलो/प्रदूषण निरोधक वस्त्र पहिरनुजस्ता काम गर्न पनि कुनै महामारी या भाइरसलाई पर्खिरहनु पर्छ र ? शारीरिक एवम् मानसिक स्वास्थ्य र समृद्ध जीवनशैलीका निम्ति यी र यस्ता व्यवहार सधैं अपनाउन सकिन्छ/अपनाउनु आवश्यक हुन्छ ।

बरु यी र यस्ता जीवनशैली, रहनसहन तथा व्यवहारका निम्ति क–कसका के–कति दायित्व छन् ? यसबारे बहस चलाउनु, निस्कर्ष निकाल्नु र कार्यान्वयनमा जुट्नु आजको आवश्यकता हो । कुनै व्यक्तिले चाहेर पनि एक्लै यी कुरा सम्भव हुँदैनन् । सानादेखि ठूलासम्मका व्यवहारहरू व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व व्यवस्थासम्मै जेलिएका हुन्छन्; आपसी अन्तर्सम्बन्धमा आधारित हुन्छन् । विश्व व्यवस्थाले के–कस्ता नीति र परिवेश तयार पारिदिने, सम्बन्धित राष्ट्रको भूमिका र दायित्व के–कति हुने, समाज, परिवार र व्यक्तिका भूमिका, जिम्मेवारी र आचरण के–कस्ता हुनुपर्ने भन्ने कुरा निरूपण हुन सक्दा मात्र समग्रतामा स्वस्थ, सबल र समृद्ध जीवनशैली सम्भव हुन्छ । व्यक्तिले आङ्शिकरूपमा धेरै कुरा गर्न सक्दछ, परिवारले अझ बढी सक्दछ र समाजले झन् बढी सक्दछ; तर ती आङ्शिकरूपमा मात्र हुन्छन्, पूर्णता र समग्रतामा सम्भव हुँदैन । यसर्थ, अन्तर्राष्ट्रियजगत्, राष्ट्र, समाज र परिवार हुँदै व्यक्तिसम्म सबैले आ–आफ्नो स्थान, गच्छे, योग्यता र जिम्मेवारीअनुरूप कोभिड– १९ को महामारीबाट पाठ सिक्दै दायित्व निर्वाह गरौं; कोरोनाभाइरस र सम्भावित अरु महामारीबाट आफू, समाज र सन्ततिलाई जोगाऔं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)